Successfully Copied

इभाना मानन्धर, मिस नेपाल–२०१५

नाम घोषणा हुँदा म स्तब्ध भएकी थिएँ। अपेक्षा त थियो तैपनि अचम्मित भएँ। आफूलाई सम्हालें र एक्साइटेड पनि भएँ।

मिस नेपाल २०१५ हुँदाको अनुभव सुनाउनुहोस् न ?

नाम घोषणा हुँदा म स्तब्ध भएकी थिएँ। अपेक्षा त थियो तैपनि अचम्मित भएँ। आफूलाई सम्हालें र एक्साइटेड पनि भएँ। आफूले गरेको कडा मेहनतले दिएको परिणामबाट सार्‍है खुसी भएँ।

मिस नेपालमा प्रतिस्पर्धी हुने सोच कसरी बन्यो ?

सानैदेखि मिस नेपाल तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हेर्थंे र रमाउँथें। मैले आफ्नो ग्राजुएसन सकिएपछि मिस नेपालमा भाग लिने सोच बनाएकी थिएँ। त्यसैअनुरूप अमेरिकामा मार्केटिङमा स्नातक सकेर सधैंका लागि स्वदेश फर्किएर मिस नेपालमा भाग लिएँ।

तपाईंको विचारमा मिस नेपालको महत्व के छ ?

हाम्रो देशका लागि यो प्रतियोगिताको ठूलै महत्व छ। यो देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गराउने अवसर हो।

तपाईंमा त्यस्तो के गुण छ जसले सफलता हासिल गरायो ?

मेरो व्यक्तित्व, आत्मविश्वास, सबैसँग घुलमिल हुन सक्ने खुबी, सहयोगी भावना तथा मेरो कडा मेहनतकै कारण यो सफलता हात परेको हो।

तपाईं मिस नेपाल हुनुको फाइदा देशका लागि के होला ?

म अमेरिकामा पढेर आएकी हुँ। आफ्नो देश र समाजका लागि म आफूले हासिल गरेको ज्ञान लिएर अघि बढ्न चाहन्छु। नेपाली महिला तथा बालबालिकाहरूका लागि काम गर्नेछु। आफ्नो शिक्षाको भरपूर प्रयोग गर्दै शिक्षित महिलाहरूको समूह बनाउने सोच छ।

देशको प्रतिनिधित्व गर्दै मिस वल्र्डमा सहभागी हुँदा तपाईंको लक्ष्य के हुनेछ ?

पहिलो त नेपालबाट जितेर जानु नै ठूलो प्रतिस्पर्धा हो। त्यहाँ दुई सयभन्दा बढी देशबाट आएका शारीरिक एवं बौद्धिक रूपमा सुन्दर प्रतिस्पर्धीहरू हुनेछन्। त्यसमा खरो उत्रन कडा मेहनत गर्नेछु। सुरुमा त आफ्नो व्यक्तित्व विकास गर्नतर्फ लाग्नेछु। आफूलाई पूर्ण नेपाली महिलाका रूपमा उभ्याउनेछु। मिस वल्र्ड बन्न कुन–कुन कुरा आवश्यक हुन्छ त्यसको तयारीमा जुट्नेछु

एक वर्षपछि आफूलाई कहाँ पाउनु हुनेछ ?

एक वर्षपछि पनि म मिस नेपालकै रूपमा चिनिनेछु तर अहिलेको जस्तो जिम्मेवारी हुने छैन। पारिवारिक व्यवसायमा लाग्नेछु। सञ्चार क्षेत्र मन पर्ने भएकाले राम्रो टक शो संचालन गरेर महिला तथा बालबालिकाहरूको क्षेत्रमा काम गरिरहेकी हुनेछु।

फुर्सदको समय के गरेर बिताउनुहुन्छ ?

परिवारसँग बिताउन चाहन्छु। आफन्त एवं साथीहरूसँग भेटघाट गर्छु, आउटडोर गेमहरू खेल्छु। एक्लै हुँदा नाचेर वा गाएर बिताउँछु।

तपाईं कत्तिको फेसनेबल हुनुहुन्छ ?

म फेसन अपडेट छु। मलाई जस्तो पहिरन, मेकअप, आउटफिटले राम्रो र सजिलो लाग्छ त्यही लगाउँछु। कहाँ कुन फेसन भित्रिएको छ, कुन कलर चलेको छ सबै अपडेट भैरहन्छु।

मिस नेपालको समयमा तपाईं बढी नै कन्फिडेन्ट देखिनुभएको थियो हैन ?

न्फिडेन्टले नै म सफल भएँ नि, होइन र ?

देश अहिले भूकम्पका कारण विपत्तिमा छ ? के गर्दै हुनुहुन्छ ?

प्राकृतिक विपत्तिसँग कसैको केही लाग्दैन। नेपालमा त्यस्तै भयो, नेपालका धरोहर धरहरा, काठमाडौं, भक्तपुर तथा पाटनका दरबार स्क्वायरहरू भत्किए। जनता एकाएक सडकमा पुगे। यस्तो विपत्तिमा म सकेसम्म राहत लिएर विभिन्न जिल्लामा पुगिरहेकी छु, उनीहरूलाई सान्त्वना दिइरहेकी छु। मेरो फ्यान पेजबाट सहयोगको अपिल गरेकी छु, देशको अवस्थाका बारेमा अपडेट गरिरहेकी छु।

—————————————————————————————————

दिव्यता वैद्य, मिस नेपाल,

फस्ट रनर्स अप (मिस नेपाल अर्थ)

मिस नेपालमा फस्ट रनर्स अपका रूपमा आफ्नो नाम घोषणा हुँदा कस्तो अनुभव भयो ?

एकप्रकारको डर थियो, प्रतिस्पर्धा न हो, रिजल्ट कस्तो हुने हो भन्ने कौतूहलता थियो। फस्ट रनर्स अपका रूपमा नाम आउँदा खुसी लाग्यो।

मिस अर्थका लागि कसरी तयारी गर्ने योजना छ ?

मिस अर्थको मुख्य थिम इको टुरिजम हो तर हाम्रो देशको टुरिजम सेक्टर भूकम्पले गर्दा अस्तव्यस्त छ। भूकम्प आएको शनिबारको भोलिपल्टदेखि हाम्रो प्रशिक्षण थियो तर भूकम्पका कारण तीन साता सरेको छ। जनजीवन सुचारुरूपले चलेपछि कठोर प्रशिक्षणमा सहभागी हुनेछु।

मिस अर्थ नेपाल भएपछि आफूमा के परिवर्तन पाउनुभयो ?

पहिले म स्वतन्त्र थिएँ तर अहिले जिम्मेवारी बढेको छ। मैले आफूले जितेको उपाधिलाई बढी प्राथमिकता दिन थालेकी छु।

तपाईं कस्तो स्वभावकी हुनुहुन्छ ?

जे बोल्नुपर्छ, त्यही मात्र बोल्ने, साधारण तर केही गरौं भन्ने स्वभावकी।

तपाईंकी आदर्श मिस नेपाल ?

माल्भिका सुब्बा।

भूकम्प जाँदा कहाँ हुनुहुन्थ्यो ?

म मामाको घरमा थिएँ। आधा घन्टाअघि मात्र मम्मीसँग काष्ठमण्डप मन्दिरमा  गएकी थिएँ। भगवान्ले मलाई बचाए भन्ने लाग्छ। त्यतिबेला मैले केहीे सोच्नै सकिन। ममा एकप्रकारको डर थियो।

कहाँ बस्नुभयो ?

मामाघर बाहिर खाली जग्गामा बसें तर बेलुका पानी परेपछि भुइँ तल्लाको सटरमा बस्थ्यौं।

 

मिस अर्थ नेपालको नाताले भूकम्प पीडितहरूका लागि केही गर्नुभयो कि ?

विभिन्न ठाउँमा स्वयंसेवकका रूपमा काम गर्न गएँ, एउटा संस्थासँग मिलेर पछिसम्म स्वयंसेवकका रूपमा काम गर्ने सोच बनाएकी छु।

—————————————————————————————————

मेधा कोइराला, सेकेन्ड रनर्स अप

मिस इन्टरनेसनल नेपाल

मिस नेपालको शीर्ष टाइटल नपाउनुको कारण के होला ?

सबैले त्यो उपाधि कहाँ पाउँछन् र  ? मैले जे सोचें त्यो पाएँ यसैमा खुसी छु।

सेकेन्ड रनर अपमा तपाईंको नाम लिँदाकस्तो लाग्यो ?

मैले जे कुराको आशा गरें त्यो पाएँ, त्यसैले अचम्म मानेर एकछिन हाँसिरहें।

मिस नेपालमा भाग लिनुअघि र पछि आफूमा के–कस्तो परिवर्तन पाउनुभएको छ ?

पूरै परिवर्तन भएकी छु। म पहिले कलेज जान्थें, क्याजुअल पहिरन मात्र लगाउँथें, मिस नेपालपछि इलिगेन्ट हुने प्रयासमा छु। सोचेर बोल्ने, भएकी छु। एक महिनाको अवधिमाम  निकै परिपक्व भएजस्तो लाग्छ।

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?

पुस्तक पढ्न, टिभी हेर्न, चलचित्र हेर्न तथा घुम्न रुचाउँछु।

कस्ता पुस्तक पढ्नुहुन्छ ?

दार्शनिक टाइपको र बायोग्राफी बढी पढ्छु।

आफू कत्तिको फेसनेबल छु जस्तो लाग्छ ?

क्याजुअल, जिन्समा सजिलो महसुस गर्छु। सेलिब्रेटीको स्टाटस बनेपछि त मेकओभरको आवश्यकता पर्छ। मेकअप आट्रिस्ट तथा फेसन डिजाइनरहरूसँग सरसल्लाह गर्छु। फेसन ट्रेन्टप्रति अपडेट त भैरहेकै हुन्छु।

खानामा कत्तिको सौखिन हुनुहन्छ ?

मीठो खान कसलाई मन लाग्दैन होला ?

इन्टरनेटमा कत्तिको समय दिनुहुन्छ ?

अहिले इन्टरनेटलाई बेवास्ता गरियो भने त अन्धकारमा भइन्छ। हरेक कुरा इन्टरनेटबाटै थाहा पाइन्छ, थाहा दिइन्छ।

 Image