Successfully Copied

छालाको शत्रुबाट छुटकारा

स्वस्थ, स्वच्छ एवं दागरहित छालाले मानिसलाई सुन्दर तुल्याउँछ। अरूलाई सजिलै आफूतिर आकर्षित गर्न पनि छालाले नै सघाउँछ।

स्वस्थ, स्वच्छ एवं दागरहित छालाले मानिसलाई सुन्दर तुल्याउँछ। अरूलाई सजिलै आफूतिर आकर्षित गर्न पनि छालाले नै सघाउँछ। अहिलेको प्रदूषित वातावरणमा छालालाई दागरहित बनाउन कठिन छ। एक्ने, दाग, ब्ल्याक हेड्स एवं पिग्मेन्टेसन आदिले छालाको सुन्दरतालाई दुस्प्रभावित गर्छन्।

एक्ने

एक्नेको समस्या धेरैमा पाइन्छ। कतिपय अवस्थामा यो समस्या उमेरसँगै समाधान हुन्छ तर कतिपयमा भने यो उमेरको तेस्रो, चौथो र पाँचौं दशकसम्म पनि कायम रहन्छ।

समाधान

    छालालाई दिनहुँ सफा गर्नुपर्छ।

    आफ्नो छालाको प्रकृतिअनुरूप हल्का क्लिन्जर प्रयोग गर्नुपर्छ।

    छालाको सफाइपछि टोनर प्रयोग गर्नुपर्छ। टिस्यु वा कपास प्रयोग गरी आफ्नो छालामा उपयोग गरिने यो लिक्विड फर्मुलाले छालालाई कसिलो बनाउँछ र क्लिजिङपछि पनि बाँकी रहेको धूलोमैलो सफा गर्छ।

    हल्का स्क्रव गर्नुपर्छ। जोडले रगडे छालामा क्षति पुग्छ। त्यसैले वासक्लथको साटो हातले नै अनुहार धुनुपर्छ।

    खानपानमा ध्यान पुर्‍याउनुपर्छ। स्वस्थ भोजनले छाला सफा राख्छ।

    दाग–धब्बा आदि हटाउने वा निकाल्ने प्रयास गर्नु हुँदैन। एक्नेलाई दबाउँदा वा निचोर्दा अतिरिक्त रेडनेस देखापर्न सक्छ जसले गर्दा मुहारमा दाग बस्ने सम्भावना हुन्छ।

दाग–धब्बा

गलत तेल तथा क्रिममा आधारित क्लिन्जरको छनोट आदिका कारण दाग–धब्बाको समस्या हुन्छ। तेल तथा सुगन्धयुक्त क्लिन्जरबाट टाढै रहनुपर्छ।

समाधान

अनुहारलाई दिनमा कम्तीमा दुईपटक क्लिन्जरले सफा गर्ने। छालालाई हल्का तातोपानीले धुने अनि सफा वासक्लथमा थोरै क्लिन्जर प्रयोग गर्ने। अनुहार सफा गर्ने प्रक्रिया निधारबाट प्रारम्भ गरी गर्दनसम्म ल्याउनुपर्छ।

    छालालाई सातामा कम्तीमा एकपटक एक्सफोलियट गर्नुपर्छ।

    महिनामा कम्तीमा दुईपटक फेसियल मास्क लगाउनुपर्छ। सिट्रसमा आधारित फेसियल मास्क छनोट गर्नुपर्छ, जसले छालालाई सफा र शीतल राख्छ।

    ओयल फ्रि मोइस्चराइजरले छालालाई हाइड्रेड गर्नुपर्छ। तैलीय छालालाई पनि हाइड्रेसन आवश्यक हुन्छ। क्लिन्जिङ जेलले छाला सुकाउँदा राम्रो अनुभव हुन सक्छ तर त्यसले उत्पन्न गर्ने सुख्खापनका कारण छालाले बढी तेलको आवश्यकता महसुस गर्छ।

    फाउन्डेसन लगाउनुपूर्व ओयल फ्रि क्रिम लगाउनुपर्छ। यसले छालामा ब्रेकआउट आउन रोक्छ।

    छालामा लागेको दाग–धब्बा, पिग्मेन्टेसन हटाउने सबैभन्दा राम्रो उपाय हो–कागतीको प्रयोग। यसलाई छालामा सीधै लगाउन सकिन्छ भने अन्य कतिपय उत्पादन एवं प्याकसँग पनि मिसाएर प्रयोग गर्न सकिन्छ।

    थोरै चिनी वा चिनीबिना पनि कागतीको बोक्राले छाला मालिस गर्न सकिन्छ। कागती रगडेपछि कम्तीमा १० मिनेट त्यत्तिकै छोड्नुपर्छ। यो उपाय नियमित अवलम्बन गरे एक्ने, दाग आदिमा राहत प्राप्त हुन्छ।

    घरमा बनेको पेस्ट दाग–धब्बा हटाउन उपयोगी हुन्छ। यसका लागि दुई चम्चा चनाको आटामा एक चिम्टी बेसार मिसाउने। त्यसमा केही थोपा कागतीको रस मिसाएर दही हाली बनाइएको पेस्ट नियमित प्रयोग गरे छालामा सकारात्मक प्रभाव पर्छ।

पिग्मेन्टेसन

पिग्मेन्टेसनले छालाको रंगमा प्रभाव पार्छ। छालाको कोशिकाले मेलानिनमार्फत छालालाई रंग प्रदान गर्छ, जब यी कोशिकाहरू खराब वा अस्वस्थ हुन्छन् तब मेलानिनको उत्पादन प्रभावित हुन्छ। पिग्मेन्टेसनको केही समस्याले छालाको सीमित भागलाई प्रभावित गर्छ भने केहीले सम्पूर्ण शरीरलाई। साधारण एडिसन्स डिजिज र घामले छालाको रंगलाई गाढा बनाउँछ। शरीरमा मेलानिनको उत्पादन घटे छालाको रंग पनि हल्का हुन्छ। प्राय: पिग्मेन्टेसनको प्रभाव बाहिरी हुन्छ  तर रोकथाम उपचारभन्दा राम्रो हो। घाममा बाहिर जानुभन्दा १५ मिनेटपूर्व सनस्क्रिन लगाउनुपर्छ र हरेक दुई–तीन घन्टामा अनुहार धुनुपर्छ। छालाको प्रकारअनुसार सनस्क्रिन छनोट गर्न विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ।

समाधान

    दैनिक कम्तीमा ६ देखि ८ गिलास पानी पिउनुपर्छ र चिया वा कफीको सेवन कम गर्नुपर्छ।

    दैनिक नरिवल पानी पिउनुपर्छ। यसले छालाको कमी पूर्ति गर्छ र हाइपर पिग्मेन्टेसनसँग लड्न मद्दत गर्छ।

    आफ्नो भोजनमा एन्टी अक्सिडेन्ट भिटामिन सी तथा भिटामिन बी कम्प्लेक्स समावेश गर्नुपर्छ।

    दही, कागती, इमलीको पेस्ट, मेवा तथा अनारको रसको प्याक प्रयोग गर्नु लाभदायक हुन्छ।

ब्ल्याक हेड्स

हेयर फोलिकलको ओपनिङ सामान्यभन्दा बढी भए ब्ल्याक हेड्स बन्छ।

समाधान

    छालालाई दुई पटक पानी र हल्का साबुनले धुनुपर्छ।

    तातोपानीले नुहाएर वा तातोपानीको बाफ लिएर छालालाई नरम बनाउनुपर्छ।

    छाला तथा फोलिकलको ओपनिङबाट मृतकोशिकाहरू हटाउन हल्का एक्सफोलिएट गर्नुपर्छ।

    छाला तैलीय छ भने तेल कम गर्न कलेमाक्स प्रयोग गर्नुपर्छ। मिन्ट, पिपरमेन्ट वा अन्य उत्तेजक तत्व नभएका मास्क प्रयोग गर्न सकिन्छ।

    कागतीको रस, बदामको तेल तथा ग्लिसरिनको घोल मुहारमा प्रयोग गर्नुपर्छ। यसबाट ब्ल्याक हेड्सबाट मात्र होइन मुहारको दाग–धब्बाबाट पनि छुटकारा प्राप्त हुन्छ।

    साँझतिर मुहारलाई भिजेको र तातो कपडाले मोइस्चराइज गर्न सकिन्छ। दैनिक राति कम्तीमा १५ मिनेट भिजेको कपडा अनुहारमा राख्नुपर्छ। यसबाट मृतकोशिका, धूलो एवं रोमछिद्रलाई अवरुद्ध गर्ने सबै कण हटाउन मद्दत प्राप्त हुन्छ। प्रयोगपछि कपडालाई उम्लिएको पानीमा हाल्नुपर्छ जसबाट कीटाणु तथा ब्याक्टेरिया मर्छन्।

    प्रभावित स्थानमा महलाई हल्का तताएर लगाई १० मिनेटपछि धुनुपर्छ। यसले प्राकृतिक पिलका रूपमा काम गर्छ र ब्ल्याक हेड्स निकाल्न मद्दत गर्छ।

सुख्खा छाला

चिलाइरहने छाला र सुख्खा छाला जाडोमा अझ खराब हुन्छ। बढी सुख्खापनले गर्दा छालाको माथिल्लो प्राकृतिक तैलीय तह सुक्छ र छालालाई पर्याप्त मात्रामा नरमपन प्राप्त हँुदैन। फलस्वरूप नयाँ छाला विकसित हुन पाउँदैन।

समाधान

    हात धोएपछि वा नुहाएपछि छालामा मोइस्चराइजर प्रयोग गर्ने।

    सातामा एक वा दुई पटक छालालाई एक्सफोलिएट गर्ने।

    छालाको नरमपन कायम राख्ने र सुख्खापनबाट जोगाउने क्रिम वा लोसन प्रयोग गर्ने।

    सनबर्नबाट जोगिन तथा छालाको सुरक्षा गर्न नियमित रूपमा सनस्क्रिन प्रयोग गर्ने।

    नुहाउन, कपडा धुन हल्का खालको साबुन प्रयोग गर्नुपर्छ जसले छालालाई हानी पुर्‍याउँदैन।

सनवर्न भए

गर्मीमा चर्को घामका कारण जति नै सावधानी अपनाए पनि सनवर्न हुने आशंका रहन्छ।

    सनवर्न भए घर पुग्नेबित्तिकै चिसो पानीले अनुहार धुनुपर्छ वा नुहाउनुपर्छ।

    सनवर्न भएको ठाउँमा साबुन वा बाथ जेल प्रयोग गर्नु हुँदैन। कारण तिनमा भएको केमिकलले छालालाई अझ डढाउँछ।

    चिसो पानीले नुहाउन सकिँदैन भने प्रभावित ठाउँमा आइसले सेक्नुपर्छ वा एउटा स्प्रे बोतलमा आइस पानी हालेर प्रभावित ठाउँमा छर्कनुपर्छ।

    एलोबेरा जेल वा त्यसको पल्प पनि सनवर्न छालामा प्रयोग गर्न सकिन्छ। यसले इन्फेक्सन, जलन र पीडा हटाउँछ। एलोबेरालाई एक–दुई घन्टा फ्रिजमा राखेपछि प्रयोग गर्नु राम्रो हुन्छ। यो बढी प्रभावकारी हुन्छ।

    एक ओटमिल, एक कप दूध (होल मिल्क, फ्याटयुक्त दूध) दुई–दुई टेबल स्पुन मह र एलोबेरा जेललाई पानीमा मिसाएर प्रभावित ठाउँमा प्रयोग गर्नुपर्छ। ओटमिलमा एन्टिइन्फ्लेमेटरी गुण हुन्छ। महले एन्टिसेप्टिकको काम गर्छ, दूधबाट सुदिङ पावर प्राप्त हुन्छ भने एलोबेराले पीडासित लड्ने क्षमता प्रदान गर्छ।

    सनवर्न कम गर्न प्रशस्त मात्रामा पानी पिउनुपर्छ। प्रभावित ठाउँमा मोइस्चराइजर पनि प्रयोग गर्न सकिन्छ।

    ह्वाइट वा एप्पल साइडर भेनेगरलाई स्प्रे बोतलमा भरेर त्यसलाई सनवर्न भएको ठाउँमा छर्कदा राहत प्राप्त हुन्छ।

    दूध (होल मिल्क) लाई २० मिनेटसम्म सनवर्न भएको ठाउँमा प्रयोग गर्नुपर्छ वा पानीमा दूध मिसाएर नुहाउनुपर्छ। होल मिल्कमा फ्याट हुन्छ जसले सनवर्न ठीक गर्न मद्दत गर्छ। स्किम्ड मिल्कको प्रयोग भने उपयुक्त हुँदैन।

    पिपरमेन्ट चियालाई फ्रिजमा राखी चिसो बनाएर स्प्रे बोतलमा भरेर सनवर्न भएको ठाउँमा छर्कदा फाइदा हुन्छ। पिपरमेन्ट चियामा भएको टेनिक एसिडले सनवर्नको नकारात्मक प्रभाव कम गर्न विशेष भूमिका खेल्छ।

 Image