Successfully Copied

घरमा सजिलै पकाउन सकिने परिकार

एउटा भाँडोमा उसिनेको अण्डा र तेलबाहेक अन्य सबै सामग्री हालेर मुछ्ने। त्यसपछि उसिनेको अण्डालाई दुई टुक्रा काटेर त्यही लेदोमा बिस्तारै डुवाउने।

सीता पाठक, सौन्दर्यविद्

एग पकौडा

सामग्री : उसिनेको अण्डा २ वटा, मैदा ३ चम्चा, बेसन ३ चम्चा,

काँचो अण्डा एउटा, जिरा र खुर्सानीको धूलो आधा चम्चा, अदुवा र लसुनको लेदो १ चम्चा, धनियाँको पात (टुक्रा पारिएको) १ चम्चा, नुन स्वादअनुसार, पानी १ गिलास, तेल फ्राई गर्न पुग्ने ।

विधि : एउटा भाँडोमा उसिनेको अण्डा र तेलबाहेक अन्य सबै सामग्री हालेर मुछ्ने। त्यसपछि उसिनेको अण्डालाई दुई टुक्रा काटेर त्यही लेदोमा बिस्तारै डुवाउने। अण्डा नभाँचिने गरी लेदोलाई त्यसको वरिपरि दल्ने। तातेको तेलमा उक्त अण्डालाई विस्तारै राखेर फ्राई गर्ने। खैरो रंगको भएपछि बाहिर निकाल्ने। यसरी तयार भएको अण्डाको पकौडामा माथिबाट चाट मसला छर्केर खान सकिन्छ।

चटामरी

सामग्री : चामलको पिठो ५ सय ग्राम, मासुको किमा वा अण्डा इच्छाअनुसार, नुन स्वादअनुसार, तेल १ सय मिलिलिटर, पानी आवश्यकताअनुसार ।

विधि : चामलको पिठोमा नुन हालेर मुछ्ने र लेदो बनाएर केही बेरसम्म छोपेर राख्ने। बाक्लो तावा तताई  त्यसमा थोरै तेल हाल्ने। एक डाडु लेदो पिठो तावामा खन्याउने अनि बिस्तारै तावाको सतहमा मिलाउने। त्यसमा आफ्नो इच्छाअनुसार किमा, मासु तथा अण्डा टप गर्ने र ३–४ मिनेट छोपेर पकाउने।

गाजरको हलुवा

सामग्री : गाजर (कोरेर मसिनो पारिएको) १ किलो, दूध १ लिटर, सुकमेलको धूलो १ चम्चा, चिनी ३ सय ग्राम, बदाम ५० ग्राम, घिउ ५० ग्राम, खुवा ५० ग्राम ।

विधि : एउटा भाँडोमा कोरेको गाजर र दूध हालेर तताउने। केहीबेर पकाई दूध सुकाउने। अर्काे भाँडोमा घिउ तताउने र बाँकी सबै सामग्री हालेर भुट्ने। पाकिसकेपछि सफा भाँडोमा जमाउने।

भेजिटेबल पकौडा

सामग्री : बन्दा १ सय ग्राम, आलु (उसिनेको) ५० ग्राम, प्याज (टुक्रा पारेर काटिएको) ५० ग्राम, गाजर ५० ग्राम, सिमी ५० ग्राम, धनियाँ ५ ग्राम, ज्वानो आधा चम्चा, बेसन ५० ग्राम जिराको धूलो आधा चम्चा, नुन स्वादअनुसार, तेल फ्राई गर्न पुग्ने।

विधि : सबै सब्जीलाई हल्का उसिनेर मसिनो पारेर काट्ने। एउटा भाँडामा सबै सामग्री हालेर मुछ्ने। कराहीमा तेल तताएर हातले स–साना डल्ला बनाई तेलमा तार्ने। हल्का खैरो भएपछि बाहिर निकाली बिस्तारै थिच्ने र फेरि १ मिनेटजति तेलमा फ्राई गर्ने। यसमा अन्य तरकारी पनि मिसाउन सकिन्छ।

 Image