Successfully Copied

राष्ट्रिय ब्युटी एक्सपो

नारी मासिकको समेत सहभागितामा नेपालमै पहिलो पटक राष्ट्रिय सौन्दर्य मेलाको आयोजना हुँदैछ ।

नारी मासिकको समेत सहभागितामा नेपालमै पहिलो पटक राष्ट्रिय सौन्दर्य मेलाको आयोजना हुँदैछ । सौन्दर्य कला व्यवसायी संघ नेपालले आयोजना गर्न लागेको उक्त ब्युटी एक्सपोमा पाँचै विकास क्षेत्रकोे सहभागिता रहनेछ । चैत १३ गते प्रारम्भ भएर १५ गतेसम्म चल्ने मेलामा करिब ६० वटा स्टल रहनेछन् ।

सौन्दर्य प्रसाधन तथा उपकरण, स्पालगायत स्वास्थ्य एवं सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सामग्रीका स्टल रहने मेलामा मेकअप, हेयर-डु कम्पिटिसन आदिका साथ फेसन शो पनि प्रस्तुत हुने आयोजक संस्थाद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ । निःशुल्क प्रवेशको व्यवस्था रहने एक्सपोमा आगन्तुकहरूलाई स्वास्थ्य एवं सौन्दर्यसँग सम्बन्धित विविध जानकारी प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष कमला श्रेष्ठले बताइन् ।

यौनहिंसा पीडितलाई संरक्षण गर्ने कानुन बनाउन परमादेश

गत महिना सर्वोच्च अदालतले यौनहिंसामा परेका महिलाको संरक्षण गर्न अलग्गै कानुन बनाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश गोपाल पराजुली तथा चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले हिंसाबाट पीडितको संरक्षण तथा दोषीलाई कारबाही गर्न छुट्टै कानुन बनाउन सरकारका नाममा परमादेश जारी गरेको हो । अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनको पक्ष राष्ट्र नेपालले विश्वव्यापी घोषणापत्र अनुमोदन गरेको जनाउँदै सर्वोच्चले कुनै पनि हिंसामा कारबाही गर्न कानुन निर्माण आवश्यक भएको बताएको छ । सर्वोच्चले महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय घोषणापत्रमा नेपालले हस्ताक्षर गरेको अवस्थामा यौनहिंसामा परेका महिलाको पुरानै कानुनअनुसार संरक्षण हुन नसक्ने जनाएको छ ।

समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) का तर्फबाट अधिवक्ता कमलप्रसाद गुरागाइर्ंले २०६९ पुस २२ गते दायर गरेको सार्वजनिक सरोकारसम्बन्धी रिटमा सर्वोच्चले उक्त फैसला गरेको हो । यौन दुव्र्यवहारबाट बालबालिका तथा महिलाहरू पीडित हुने क्रम जारी रहेको र उनीहरू समाजमा पुनःस्थापना हुनसक्ने अवस्था नदेखिएको एवं उनीहरूको संरक्षक नभएको देखिएकाले तत्काल कानुन निर्माण गरी राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्ने सर्वोच्चको राय छ । सरकारले हिंसापीडितले क्षतिपूर्ति एवं भरणपोषण सहज रूपमा पाइरहेको भनेर अदालतमा लिखित जवाफ पेस गरे पनि विश्वस्त हुन नसकिएको फैसलामा जनाइएको छ । राष्ट्रिय महिला आयोगले यौनहिंसा पीडित महिला तथा बालबालिकाको कानुनी रक्षाका लागि अलग्गै संयन्त्र बनाउन गरेको सिफारिस कार्यान्वयन नभएकोमा पनि सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको छ । इन्सेकले सन् २०१४ मा ३ हजार ५ सय २४ महिलाले विभिन्न प्रकारका हिंसा भोगेको विवरण केही साताअघि सार्वजनिक गरेको थियो । इन्सेकका अनुसार महिलाहरूमाथि कथित बोक्सीको आरोपमा कुटपिट, बलात्कार, बहुविवाह, महिला बेचबिखन तथा ओसारपसार, घरेलु हिंसा, यौन दुव्र्यवहार एवं जबर्जस्ती गर्भपतनजस्ता हिंसा हुने गरेका छन् ।

आर्थिक गतिविधिमा आधाभन्दा कम महिला

केन्द्रीय तथ्यांक विभागका अनुसार आधाभन्दा कम नेपाली महिला मात्र आर्थिक गतिविधिमा संलग्न छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ भने त्यसमा १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ महिला छन् । महिलाको कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् ५६ लाख ३२ हजार ७ सय ५३ महिला आर्थिक गतिविधिमा संलग्न छैनन् भने ४२ लाख ६३ हजार ३ सय ११ महिला मात्र आर्थिक गतिविधिमा संलग्न छन् ।

देशभित्र रोजगारीको अवसरको कमी एवं उद्यमशीलताको वातावरण नबन्दा दैनिक सयौं युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७०-७१ मा नेपालबाट ५ लाख २७ हजार ८ सय १४ युवा वैदेशिक रोजगारीमा गएकोमा त्यसमा महिलाको संख्या उल्लेख्य छ । नेपाल महिला उद्यमी महासंघका पूर्व अध्यक्ष प्रमिला रिजालका अनुसार वैदेशिक रोजगारीमा गएका युवाले पठाउने रेमिट्यान्सको सहज प्राप्तिले पनि नेपाली युवा विशेषतः महिलामा काम गर्ने जाँगर मर्दै गएको तथा आर्थिक गतिविधिमा उनीहरूको संलग्नता घट्दै गएको हो । सहज आम्दानीकै कारण नेपाली महिलाहरूको उद्यमशीलता मरेको हो । साउथ एसियन वुमन डेभलपमेन्ट फोरमकी अध्यक्ष रिजालका अनुसार परम्परागत सोच, सहज आम्दानी तथा उद्यमशील वातावरणको कमीले महिलाहरू आर्थिक गतिविधिमा संलग्न नभएका हुन् ।

महिला सशक्तीकरणमा उल्लेख्य प्रगति

संयुक्त राष्ट्र संघले नेपालमा लैङ्गकि असमानताका मामिलाको सम्बोधन तथा महिला सशक्तीकरणमा उल्लेख्य प्रगति भएकोमा स्वागत गरेको छ । गत महिना अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालस्थित राष्ट्रसंघीय कार्यालयले विज्ञप्ति जारी गरी महिला सशक्तीकरणका क्षेत्रमा नेपालमा केही उल्लेख्य प्रगति भए पनि महिला सशक्तीकरणसम्बन्धी विषय कार्यान्वयनमा अझ गम्भीर चुनौती र अवरोध रहेको जनाएको छ ।

विज्ञप्तिमा महिला समानता, उनीहरूको अधिकार एवं सशक्तीकरण, दलित, आदिवासी, जातीय समुदाय, जोखिममा परेका समुदाय, शारीरिक रूपमा असक्षम, मधेसी, मुसलमान, शिख, सशस्त्र समूहबाट पीडित तथा सशस्त्र द्वन्द्वको चपेटामा परेका, पृथक् लिङ्गीय पहिचान एवं यौनिकतायुक्त वर्गको चासोलाई सम्बोधन गर्ने २० वटा विशेष विषय समेटिएको काठमाडौं घोषणालाई कार्यान्वयनमा ल्याउनुपर्ने कुरा औंल्याइएको छ । महिला अधिकारसम्बन्धी बेइजिङ पुनरावलोकन सम्मेलनबाट अनुमोदन भै नेपालको राष्ट्रिय प्राथमिकता प्राप्त ती २० विषयप्रतिको प्रतिबद्धता पूरा गर्न नयाँ बन्ने संविधानमा तिनलाई समावेश गर्न राष्ट्र संघले जोड दिएको छ ।

सगरमाथा दिवसमा महिला आमन्त्रण फुटबल हुने

स्पोर्टस फर अल क्लब, नेपालले आठौं सगरमाथा दिवसको अवसर पारेर पोखरामा नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । २९ मे १९५३ मा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेको अवसरमा नेपालमा केही वर्षयतादेखि २९ मेलाई सगरमाथा दिवसका रूपमा मनाइँदै आएको छ । खेलकुद, पर्यटन एवं विकासको अवधारणाअनुसार महिला फुटबलको विकासमा टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता २०७२ को जेठ ६ देखि १५ गतेसम्म पोखराको रंगशालामा हुन लागेको हो ।

 Image