Successfully Copied

विदेशमा नेपाली महिलाहरूको शान

छोरा पाइछौ भाग्यमानी भयौ । पहिलो सन्तान त छोरै हुनुपर्छ । छोरा पाएपछि त ढुक्क भइयो नि । यी उक्तिहरू नेपाली समाजमा निकै प्रचलित छन् ।

छोरा पाइछौ भाग्यमानी भयौ । पहिलो सन्तान त छोरै हुनुपर्छ । छोरा पाएपछि त ढुक्क भइयो नि । यी उक्तिहरू नेपाली समाजमा निकै प्रचलित छन् । समाजमा छोराप्रतिको विश्वास र ढाडस भने अचम्मको छ । यद्यपि परिवर्तित समाजका परिवारहरूको संरचना हेर्दा छोरीहरूले आफ्ना अभिभावकलाई बढी समय दिएको देखिन्छ । छोराको तुलनामा छोरीले अभिभावकहरूको हेरचार पनि बढी गरेको देखिन्छ । आजका छोरीहरू अदम्य साहसी, बहुप्रतिभाशाली तथा क्षमतावान् पनि छन् । उनीहरूले हरेक क्षेत्रमा आफ्नो वर्चश्व कायम गरिरहेका छन् । पछिल्लो समयमा देश-विदेश सबैतिर नेपाली छोरीहरूले आफ्नो पहिचान नयाँ उचाइतर्फ लम्काउँदै छन् ।

केही दशकयतादेखि युवायुवतीहरू विदेश जाने क्रम बढिरहेको छ । नेपालमा रोजगारीको अभाव, कम तलब तथा आफूले पढेको क्षेत्रमा कामको अभावजस्ता विविध कारणले उनीहरू विदेश गैरहेका छन् । नेपाली युवाहरूले विदेशमा जस्तोसुकै काम गरे पनि पछि भने परेका छैनन् । अध्ययन तथा कामलाई सँगै अघि बढाउने क्रममा कतिपय युवायुवतीको पढाइ बीचैमा रोकिएको छ । कसैले कामकै लागि पढाइ छोडेका छन् । कतिपय युवायुवती विदेशको जीवनबाट वाक्क भएर नेपाल फर्किएका छन् । यसो भन्दैमा नेपाली युवायुवतीहरूले विश्वको कुनै पनि क्षेत्रमा हार खाएका छन् भन्ने होइन । आफ्नो मेहनतले सफलताको शिखर चुमेका नेपालीहरूले विदेशमा सफल जिन्दगी बिताइरहेका छन् । उनीहरूको जीवनशैली कुनै पनि देशका स्थानीय बासिन्दाको भन्दा कम छैन । फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार यी पंक्तिहरू जोकोहीको जिन्दगीमा चरितार्थ हुन्छन् । जसले इमान्दारिताका साथ जीवनलाई नियाल्छ, उसले जीवनमा फूलैफूलको अनुभव गर्न सक्छ । छोटो समयमा सफलता पाएर, लोभलालचमा काम गर्नेहरूले जीवनमा विभिन्न काँढाको अनुभव गर्नुपर्छ ।

आ-आफ्नो क्षेत्रमा निरन्तर लाग्न सके त्यसले आफ्नो परिचय स्थापित गर्न सक्छ । नारीको यो अंकमा विदेशमा रहेर गर्विलो जीवन बिताइरहेका साहसी महिलाहरूको जीवन कथा प्रस्तुत गरिएको छ । नारीका अघिका अंकमा पनि विदेशमा रहेर स्थापित हुन सफल हस्तीहरूले स्थान पाइसकेका छन् । यहाँ प्रकाशित हरेकका जीवनका कथा पढ्दा लाग्छ उनीहरू विश्वका हरेक महिलाका उत्प्रेरक पात्र हुन् । उनीहरूको आरोह-अवरोहलाई अनुमान गर्दा सफलता भन्ने कुरा आफ्नो मेहनतले हासिल गर्ने कुरा हो । परिश्रम, धैर्य एवं निरन्तरतालाई कुनै पनि देशको भौगोलिकताले संकुचित बनाउन सक्दैन । गर्नै नसकेर राज्यलाई धिक्कार्नु भनेको कायरता हो भन्ने कुरा नै साबित हुन्छ । अनेकौं नेपाली महिलाले यस्ता हरेक पक्षलाई चिरेर अघि बढी सफलता हासिल गरे । हरेक हस्तीले अलग-अलग क्षेत्रमा आफ्नो सार्थकता सिद्ध गरेका छन् । यही क्रमलाई निरन्तरता दिँदै नेपाली महिलाहरूले विदेशका विविध भूमिमा रहेर देशको नाम उच्च बनाइरहेका छन् । उनीहरूले केवल आफ्नो क्षमता मात्र प्रदर्शन गरेका छैनन्, नेपाललाई चिनाउने अभिभारा पनि पूरा गरेका छन् । हुन त यो पहल उनीहरूको व्यक्तिगत हो तर यसको प्रत्यक्ष प्रभाव भने देशलाई परेको छ ।

विदेश पलायन भएर हरेस खाएकाहरूका लागि समेत यी हस्तीहरू उत्प्रेरक बन्न सक्छन् । जीवनमा हरेस खाएर हुँदैन, आफ्नो अस्तित्व बुझेर अघि बढ्नुपर्छ भन्ने प्रेरणा यी महिलाहरूको जीवन संघर्षमार्फत लिन सकिन्छ । .

संचार क्षेत्रमा सफलता

शान्तभवनमा जन्मिएकी सुम्निमा उदासले सानै उमेरमा आफ्नो देश तथा परिवारका लागि राम्रो काम गरिसकेकी छिन् । पाकिस्तान, इटली, अमेरिका, स्विट्जरल्यान्ड तथा नेपालजस्ता देशमा अध्ययन गरेकी सुम्निमाले विविध संस्कृतिको झलक नियाल्ने अवसर प्राप्त गरिन् । एउटै वस्तुसँग घन्टौं रमाउन सक्ने सुम्निमा निकै ज्ञानी थिइन् । बहु प्रतिभाशाली उदास अध्ययनमा मात्र होइन खेल, चित्रकला, गृह सज्जा, ज्वेलरी डिजाइन, फेसन आदि सबै विधामा प्रखर छिन् । भोलिका लागि कुनै काम थाती राख्न मन नपराउने सुम्निमा मध्य रातसम्म बसेर भए पनि त्यस दिनको काम सकी भोलिका लागि तयारी गर्छिन् । उनी निकै  व्यवस्थित छिन् । उनको काम, खाना तथा पहिरन हरेक कुरा डायरीमा लेखिएको हुन्छ । सुम्निमा भन्छिन्-यसरी आफूलाई व्यवस्थित बनाउँदा कहिल्यै पछि पर्नु पर्दैन ।

कक्षा १० मा पढ्दादेखि नै उनले आफ्नो व्यक्तित्वमा परिवर्तन ल्याएकी हुन् । आकर्षक देखिनु उनको पहिलो रुचि हो । सानातिना समस्याले उनलाई कुनै असर गर्दैन । युरोपमा जुन दिन उनको ग्राफिक डिजाइनको प्रशंसा भयो त्यतिबेला उनकी आमा रञ्जनालाई सबैले छोरीको उत्कृष्ट कामका लागि बधाई दिएका थिए । अमेरिकाबाट स्नातक पूरा गरेपछि उनी पेरिसको सरबग युनिभर्सिटीमा फ्रेन्च भाषाको तालिमका लागि छनोट भइन् । उनले सिएनएनमा एक वर्ष काम गरेपछि अक्सफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर पूरा गरिन् । अक्सफोर्ड युनिभर्सिटीमा उनले आर्ट हिस्ट्रीलाई आफ्नो विषय बनाएर नेपाली थान्काका विषयमा शोध तथा अनुसन्धान गरिन् । लामो समयको विदेश बसाइपछि उनी नेपाल फर्किन् । एक वर्षको नेपाल बसाइमा उनले हिमालसम्बन्धी डकुमेन्ट्री तयार गरिन् । सदैव सिर्जनशील काम गर्न रुचाउने सुम्निमा पुन: सिएनएनतर्फ मोडिइन् । हङकङमा १ वर्षे इन्टर्नसीप गरेपछि केही वर्ष त्यहीँ बसी सिएनएनका लागि समाचार संप्रेषणमा व्यस्त रहिन् । त्यसपछि उनी सरुवा भएर दिल्ली पुगिन् । दिल्लीको ३ वर्षे कार्यकालमा उनको कामको राम्रै मूल्यांकन भयो । महिला सशक्तीकरणका लागि दिएको योगदानको कदर गर्दै उनले सिएनएन वेस्ट जर्नलिस्ट अवार्डसमेत प्राप्त गरिन्  । मेहनत तथा काम गर्ने खुबीले उनलाई संसारभर चिनायो । सुम्निमा सिएनएनसँग सन् २००१ देखि आबद्ध छिन् । दिल्लीमा भएको सामूहिक बलात्कारको समाचारका कारण उनले एवार्ड प्राप्त गरेकी थिइन् । अहिले पनि उनी अरु यस्तै भावनात्मक मुद्दामा काम गरिरहेकी छिन् । सुम्निमा समाचार संकलनका लागि जस्तोसुकै जोखिम उठाउन पनि तयार हुन्छिन् । उनी आफूले सोच्दै नसोचेका ठाउँमा पुगेकी छिन् । विश्वका सबैजसो देश भ्रमण गरे पनि उनलाई गाउँघरका समस्या उठाउन मज्जा आउँछ । अहिले उनी सिएनएनमा सिनियर करेसपोन्डेन्टका रूपमा कार्यरत छिन् ।

- झरना नहर्की

रेष्टुराँमा सफलता

सरकारी कर्मचारी बुवा डम्बरबहादुर तथा आमा मैया बस्नेतका ६ छोरी तथा १ छोरामध्येकी शर्मिला बस्नेत सापकोटा सन् १९७७ मा काठमाडौंमा जन्मिएकी हुन् । शर्मिलामा सानैदेखि अवसरबाट वञ्चित महिला एवं बालबालिकाका विविध कार्यक्रममा सहभागी हुनेस्वभाव थियो । महेन्द्र भवन स्कुल पढेकी शर्मिलाले त्यसपछिको शिक्षा मोर्डन इण्डियन स्कुलबाट पूरा गरिन् । थप अध्ययनका लागि सन् १९९८ मा लण्डन पुगेकी शर्मिलाले थम्स भ्याली युनिभर्सिटी, लण्डनबाट हस्पिटालिटी म्यानेजमेन्टमा स्नातक गरेकी छिन् । ७ वर्ष र्‍याडिसन इडवार्डियन ग्रुप अफ होटलमा काम गरेपछि उनलाई आफै केही गर्नुपर्छ भन्ने लाग्यो । फलस्वरूप स्थापना भयो, द गोरखा प्यालेस रेस्टुराँ । सन् २००४ मा फल्कस्टोनमा खोलिएको उक्त रेस्टुराँ बि्रटिस गोरखा बटालियनको आसपासमा थियो । पूर्णत: नेपाली परिकारमा केन्दि्रत द गोरखा प्यालेसले सुरुका दिनमा आफूलाई चिनाउन ठूलो चुनौती बेहोर्नुपरेको शर्मिला बताउँछिन् । अहिले द गोरखा प्यालेस लण्डनका सय उत्कृष्ट रेस्टुराँभित्र पर्छ । यसले सन् २०१३ मा बि्रटिस करी अवार्ड प्राप्त गरिसकेको छ । युकेका करिब ९ हजार करी रेस्टुराँमध्ये द गोरखा प्यालेस उत्कृष्ट सयभित्र पर्न सफल छ । सुरुदेखि नै यसको सञ्चालन तथा सम्पूर्ण व्यवस्थापकीय पक्ष शर्मिलाले सम्हालिरहेकी छिन् । उनले हालसालै मात्र रेस्टुराँको प्रवर्द्धन गर्दै केन्ट र टनबि्रजमा नयाँ शाखा बिस्तार गरेकी छिन् जहाँ चाइनिज परिकारको स्वाद लिन सकिन्छ ।

शर्मिलाले नेपालका थुप्रै सामाजिक संस्थालाई सहयोग गरेकी छिन् । विशेषत: स्थानीय स्तरमा सेवा गर्न रुचाउने शर्मिला आफ्ना श्रीमान्को हौसला र उत्प्रेरणाले आफू सफल हुनुका साथै आफूमा दानको भावना विकास भएको प्रस्ट्याउँछिन् । सापकोटा भन्छिन्, 'नेपाल र नेपालीका लागि ठूलै काम गर्ने योजना छ ।'

२ सन्तानकी आमा शर्मिला संगीत मन पराउँछिन् । उनी नेपाली परम्परागत पहिरन तथा परिकारकी पारखी हुन् । घरभित्र मात्र सीमित नरही आफूले चाहेको काम गर्न सकेको खण्डमा महिलाहरू अवश्य सफल हुन्छन् भन्ने शर्मिला संसारमा असम्भव भन्ने केही नभएको बताउँछिन् । भविष्यमा सफल उद्यमी बनी आफ्नो क्षेत्रमार्फत नेपाली महिला तथा बालबालिकाका क्षेत्रमा विशेष योगदान पुर्‍याउने लक्ष्य लिएकी शर्मिलाले आफ्नो रेस्टुराँमा थुप्रै नेपालीलाई काम दिएकी छिन् । नेपाली विद्यार्थीलाई पायक पर्ने समय र स्थानमा काम दिनु उनको विशेषता हो । लण्डनमा रहेका नेपालीहरूमाझ लोकपि्रय शर्मिला विभिन्न नेपाली संघसंस्थासँग पनि आबद्ध छिन् ।

- लक्ष्मी भण्डारी थापा

भियतनामी प्रविधि भित्र्याउन इच्छुक

युद्धले ध्वस्त पारेको भियतनामको कल्पना संगालेर भियतनाम पुगेकी पर्यावरण तथा सुरक्षा इन्जिनियर सन्ध्या रेग्मी त्यहाँ पुगेर तीनछक्क भइन् । उनी पुगेको होचिमिन्ह सिटी त पूरै कमर्सियल भैसकेको रहेछ । विदेशीहरूले लगानी गरेपछि त्यहाँको विकास क्रम साह्रै तीव्र थियो । जर्मनीमा ऊर्जा इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरेर पुन: सिंगापुरमा पर्यावरणीय इन्जिनियरिङमा डबल मास्टर गरेकी सन्ध्याले भियतनामको साइगन नदीको पूर्व-पश्चिम हाइट प्रोजेक्टमा पर्यावरण तथा सुरक्षा इन्जिनियरका रूपमा काम गरिन् । नदीको मुनि बाटो बनाउने काममा परमर्शदाताका रूपमा सफल भएपछि उनी नेपालमा पनि त्यस्तै परियोजना ल्याउने सोचमा छिन् ।

सेन्ट मेरिजमा स्कुले जीवन पूरा गरेकी सन्ध्याले भारतमा प्लस टु गरेर ७ वर्ष जर्मनीमा जर्मन भाषामै ऊर्जा इन्जिनियरिङ सकेपछि नेपाल विद्युत् प्राधिकरणमा ऊर्जा इन्जिनियरका रूपमा कामको अनुभव लिइन् । त्यसपछि कालीगण्डकी जलविद्युत् परियोजनामा इन्जिनियरका रूपमा काम गरिन् । वल्र्ड बैंकको जागिरको अफर छोडेर जापानको टोकियो विश्वविद्यालयमा रिसर्चविद्का रूपमा काम गरिन् । त्यसपछि भियतनाम पुगेकी सन्ध्याले त्यहाँ १० वर्ष बिताइसकेकी छिन् । भियतनाममा उनले साहित्यिक कृति एवं कला पनि संग्रहित गरिन् । सन्ध्याले भनिन्-'देशबाट टाढा हुँदा देशको माया बढ्दो रहेछ ।' उनी भियतनाममै भएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा नेपालीका रूपमा सहभागी भइन् । उनलाई भियतनामका लागि साहित्यिक दूतसमेत नियुक्ति गरिएको छ । सन्ध्याले नेपाली साहित्यिक कृतिहरू भियतनामको पुस्तकालयमा संकलन गराएकी छिन् भने पारिजातको शिरीषको फूल तथा झमक घिमिरेको जीवन फूल कि काँढाको भियतनामी भाषामा अनुवाद पनि गराएकी छिन् । उनकै पहलमा भियतनामी विद्यार्थीले झमकको जीवन काँडा कि फूलमा अनुसन्धान गरिरहेका छन् । चार पटक भियतनाममा आफ्नो एकल कला प्रदर्शनी गरिसकेकी सन्ध्याले ती कलामा नेपालको हिमाल, पहाडका ल्यान्डस्केपका साथै बुद्ध, पारिजात, देवकोटा, आनी आदिको पोट्रेट समेटेकी थिइन् ।

सन्ध्या आफूलाई इन्जिनियरभन्दा साहित्यकार तथा कलाकारका रूपमा चिनाउन चाहन्छिन् । नेपालमा वातावरण निकै प्रदूष्िात भएकाले धेरैको स्वास्थ्य, त्यसमा पनि फोक्सोमा समस्या आउने देखेर केटाकेटीहरूलाई लक्षित गरी वातावरणसम्बन्धी पुस्तक लेख्ने तयारीमा छिन् उनी । केही समयपछि स्वदेश फर्किएर भियतनामको प्रविधि नेपाल भित्राउने उनको सोच छ । सन्धा विदेशमा रहेर आफ्नो क्षमताले भ्याएसम्म प्रविधि, साहित्य एवं कलामार्फत नेपाललाई चिनाउने अभियानमा छिन् । भियतनामीहरूले बुद्धलाई भगवान् माने पनि उनीहरूलाई बुद्ध नेपालमा जन्मिएको कुरा थाहा थिएन । त्यो देखेर उनले बुद्ध सिरिजको कला प्रदर्शनी तथा छलफल कार्यक्रम आयोजित गरेर बुद्धको जन्मस्थल नेपाल एवं लुम्बिनी चिनाउने काम पनि गरेकी छिन् ।  

- सिर्जना दुवाल श्रेष्ठ

सेलिब्रेटी सौन्दर्यविद्

फरासिली तथा शालीन स्वभावकी प्रतिमा राणालाई अमेरिकास्थित सान्टाआनामा सबैले मिस राणाका रूपमा चिन्छन् । सानैदेखि नयाँ-नयाँ काम गर्न रुचाउने प्रतिमाको लगनशीलता तथा संघर्षको कथा लामो छ । नेपालगंजमा जन्मिएर टीकापुरमा अध्ययन गरेकी राणा कुनै पनि काम आँटेपछि पूरा गरेरै छाड्थिन् । उनका इष्टमित्र यो छोरीले आमाबाबुको नाम राख्छे भन्थे । सम्भवत: त्यही कुरा उनको मनमा गढेको थियो र त्यसलाई सार्थक बनाउन राणा हरहमेसा तत्पर रहन्थिन् । उनी आफू मात्र होइन अरूलाई पनि सुन्दर बनेर हिँड्नुपर्छ भनेर सल्लाह दिन्थिन् । प्रतिमा सौन्दर्यसम्बन्धी पुस्तकहरू रुचिपूर्वक अध्ययन गर्थिन् । राणा भन्छिन्- केही गरेर सिकिन्छ केही पढेर सिकिन्छ । पुस्तकले हामीलाई आफूलाई ज्ञान नभएका कतिपय महत्वपूर्ण कुराहरू दिन्छ । राणा कुनै नयाँ कुरा थाहा पाए त्यसलाई प्रयोगात्मक रूपमा परीक्षण गर्थिन् । आई.ए.सम्म अध्ययन गरेकी राणा आफ्नो चाखको विषय अध्ययन गर्न दिल्ली लागिन् । उनले दिल्लीमा पिभोट प्वाइन्टबाट एक वर्षे तालिम लिइन् । त्यसपछि अर्को संस्थाबाट ६ महिनाको तालिम लिएर केही समय दिल्लीमै काम गरिन् । उनको हात निकै सफा तथा छिटो भएकाले ग्राहकहरू उनलाई नै खोज्थे । त्यसपछि नेपाल फर्किएपछि उनले शेर्पा हर्बल ब्युटिपार्लर संचालन गरिन् ।

करिब ५ वर्षको अन्तरालमा उनले विभिन्न फेसन शो, मिस नेपाल तथा नेपालका सेलिब्रेटीहरूलाई सिंगारिन् । नेपालमा काम गर्दाको अनुभव उनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण कडी लाग्छ । कामका दौरान उनले आफ्नो काम मात्र होइन व्यापार गर्ने कला पनि सिकिन् । व्यावसायिक जीवनमा सफल प्रतिमा व्यक्तिगत जीवनमा भने असफल भइन्, फलस्वरूप उनी दुई छोरा लिएर अमेरिका लागिन् । बुवा प्रकाश शाह तथा आमा त्रिवेणी शाहकी सुपत्रीका लागि त्यो जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट थियो । जीवनका हरेक दु:खद् पलको अन्त्य बन्यो त्यो पल । त्यो उनको व्यावसायिक जीवनको ठूलो छलाङ साबित भयो । सन् २००९ मा अमेरिकामा घरजम सुरु गरेकी राणाले डेढ दशकअघि सान्टा आनामा डिभाज थ्रेडिङ  सेन्टर संचालनमा ल्याइन् । अहिले अमेरिकामा यसका दुई वटा शाखा छन् जसमध्ये एक साउथ कोस्टा प्लाजा तथा अर्को शाखा एन अरेन्ज कन्ट्रीमा छ । पहिले थ्रेडिङबाट सुरु गरिएको डिभाजमा अहिले मेहन्दी, मेकअप, हेयर कट, फेसियलजस्ता सेवा उपलब्ध छन् । तैपनि उनको थ्रेडिङ बढी मन पराइन्छ । राणाले माइकल ज्याक्सनलगायतका हलिउड स्टारलाई पनि सेवा दिइसकेकी छिन् । त्यसबाहेक अमेरिकाका सेलीब्रेटीहरू उनका क्लाइन्ट छन् । प्रतिमा क्यालिफोर्नियामा आयोजित फेसन शोमा पनि सहभागी भैसकेकी छिन् । अहिले अमेरिकामा उनको हैसियत कुनै सेलीब्रेटीको भन्दा कम छैन । अरू प्रतिष्ठित अमेरिकीहरूलाई निमन्त्रणा गर्दा उनलाई पनि गरिन्छ । आफ्नो कामलाई पूजा मानेर अघि बढिरहेकी राणा अमेरिकामा पनि प्रतिष्ठित नागरिकको जीवन जिउन सफल छिन् । दुई छोरालाई राम्रोसँग हुर्काइरहेकी प्रतिमा एक जिम्मेवार आमाको भूमिकामा पनि प्रखर छिन् । आफ्नो व्यस्त जीवनशैलीका बाबजुद उनी आफ्नो घरलाई समय दिन चुक्दिनन् । घरमा बस्दा मीठा-मीठा परिकार बनाएर ख्वाउनु तथा फूलसँग रमाउनु उनको विशेषता हो ।  बिस्तारै नेपालमा पनि शाखा खोल्ने योजना छ । मेहनतबाटै  अमेरिकामा घर जोडिसकेकी राणा भन्छिन्-जीवनमा जस्तो कष्ट आओस् त्यसलाई आत्तिएर होइन धैर्यपूर्वक मिलाउँदै अघि बढ्नुपर्छ । कुनै पनि क्षेत्रमा निरन्तरता दिए एकदिन त्यसबाट अवश्य प्रतिफल पाइन्छ । .

बर्दियादेखि बेलायतसम्म

ललितपुरको लिटिल एन्जेल्स स्कुलबाट एसएलसी तथा प्लस टु गरेकी पायल मिश्र त्यसलगत्तै अध्ययनका लागि बेलायत पुगिन् । कहिल्यै घरपरिवारबाट नटाढिएकी मिश्रलाई विदेश गएर पढ्नु भनेको पार्कमा टहलिनुजस्तै हो भन्ने लाग्थ्यो तर १९ वर्षको कलिलै उमेरमा विदेश पुगेकी मिश्रले त्यहाँ अनेकौं ठक्कर र चुनौतीसँग पौंठेजोरी खेल्नुपर्‍यो । मिश्र भन्छिन्, 'सन् २००० मा जब म हिथ्रो विमानस्थलमा उत्रिएँ त्यहाँ न मेरा कोही आफन्त थिए न त चिनजानका कुनै व्यक्ति नै । मैले त्यो बिरानो भूमिमा एक्लो संघर्षको लडाइँ लड्नुपर्छ भन्ने त्यतिबेलै अठोट गरें ।'  

सन् २००३ मा स्नातक तहको पढाइ सिध्याएपछि पायललाई आफू अन्तर्राष्टिय प्रतिस्पर्धाका लागि तयार हुन व्यावसायिक डिग्री लिनुपर्छ भन्ने लाग्यो । त्यसपछि उनी एसीसीए कोर्समा भर्ना भइन् । सन् २००५ मा कोर्स पूरा गर्दा पहिलो प्रयासमै सबै पेपर उत्तीर्ण गर्ने उनको समूहका थोरै विद्यार्थीमध्ये उनी पनि एक थिइन् । आमाबुवाले नेपालबाट लामो समयसम्म पैसा पठाउन सम्भव हुँदैन भन्ने महसुस भएपछि उनले दुईवटा काम एकैपटक सुरु गरिन् । अभिभावकलाई थप आर्थिक बोझ नहोस् भनेर सुरु गरेको कामका कारण अध्ययन र दुईवटा कामबीच सन्तुलन मिलाउन उनलाई निकै गार्‍हो हुन्थ्यो । करियरको सुरुवातमा उनी अध्ययन खर्च धान्न बेलायतको एउटा लोकपि्रय रेस्टुराँमा काम गर्न थालिन् । उनको क्षमता देखेर छोटो समयमै रेस्टुराँ मालिकले पायललाई स्टोर म्यानेजरमा बढुवा गरिदिए । उक्त जिम्मेवारी सम्हाल्दा आफूले निणर्य क्षमता, नेतृत्वसम्बन्धी सीप, कर्मचारी व्यवस्थापन, आफ्नो टिमलाई कसरी प्रोत्साहित गर्ने भन्ने कुरा सिक्ने अवसर प्राप्त गरेको पायल बताउँछिन् । सोही रेस्टुराँकै हेड सेफ कुल आचार्यसँग भेट भएपछि उनीहरू मिली छुट्टै केही गर्ने योजना बन्यो । पछि छुट्टै रेस्टुराँ खोल्ने तय भयो । होलीकाउ नामकरण गरी सन् २००६ मा उनीहरूले सुरु गरेको टेक अवे (खाना किनेर घरमै लगेर खाने वा अर्डर गरेपछि घरमै खाना पुर्‍याइदिने) रेस्टुराँका हाल बेलायतका विभिन्न स्थानमा सात वटा शाखा छन् भने करिब २ सय कर्मचारीमध्ये ८५ प्रतिशत नेपाली छन् । बि्रटिस संसद्ले होलीकाउलाई दक्षिण एसियाली रेस्टुराँहरूमध्ये सबैभन्दा बढी रिकमेन्डेसन प्राप्त टेक अवे भनी सम्मानित गरेको छ । विभिन्न सञ्चारमाध्यमले होलीकाउका परिकारको मुक्तकण्ठले प्रशंसा गरेका छन् । बीबीसी, म्याजिक रेडियो, लन्डन इभिनिङ स्ट्यान्डर्डजस्ता मिडियाले अन्तर्वार्ता, लेख तथा फिचरका माध्यमबाट होलीकाउलाई प्रोत्साहित गरेको पायल बताउँछिन् ।

गैरआवासीय नेपाली संघ बेलायतका निवर्तमान अध्यक्ष तथा समाजसेवी कुल आचार्यलाई पायल बेलायतमा आफ्नो अभिभावक मान्छिन् । सुख-दु:खमा आचार्यको हौसला र प्रेरणाले आफू अहिलेको स्थानमा पुग्न सफल भएको पायलको ठम्याइ छ । होलीकाउमा पायलले आफ्ना कर्मचारीहरूलाई राम्रो वातावरणमा काम गर्ने अवसर जुटाएकी छिन् । पायलले केही नेपालीलाई बेलायतमा वैध रूपमा काम गर्ने वर्क परमिट पनि मिलाइदिएकी छिन् । उनको यो सहयोगी भावनाकै कारण बेलायत पुगेका कतिपय विद्यार्थीहरूले नेपालबाट खर्च भराउनु परेको छैन ।

सन् २००५ मा पायलले एसीसीए पूरा गरेपछि दुईजना साथीसँगको सहकार्यमा एकाउन्टिङ र्फममा काम सुरु गरिन् । काममा दक्षतासँगै उनी सन् २०ण्ड मा एसीसीएको सदस्य बनिन् । अहिले उनी एफसीसीए बनिसकेकी छिन् । निरन्तरको मेहनत र संघर्षले उनलाई सन् २०१२ मा ५ सय भन्दा बढी सेवाग्राही रहेको बेलायतको प्रतिष्ठित एकाउन्टिङ कम्पनीको प्राक्टिस म्यानेजर बनायो । एक सर्टिफाइड चार्टड एकाउन्टेन्टका रूपमा उनी आफ्नो करियरप्रति पूर्ण सन्तुष्ट रहेको बताउँछिन् । पायल भन्छिन्-चार्टड एकाउन्टटेन्टको कामबाहेक आफ्नो व्यवसायमा समेत समय मिलाउनुपर्ने हुँदा म हरक्षण व्यस्त रहन्छु । म हरेक नेपालीलाई समयको सदुपयोग र सकारात्मक प्रयोगमा जोड दिन आग्रह गर्दछु । समयलाई चिन्न सके हरेक मानिस सफल हुन्छ । त्यसमा लगन र मेहनत उत्तिकै जरुरी कुरा हुन् । .

नारीका लागि नारी एकता

नुवाकोट बट्टारकी सुभद्रा भण्डारी अहिले फेसबुकका वालमा निकै चर्चित छिन् । महिलाले महिलाको खुट्टा तान्छन्, महिला नै महिलाको प्रगतिका बाधक हुन् भन्ने नेपाली समाजमा जन्मी-हुर्किएकी सुभद्राले नयाँ कामको सुरुवात गरेकी छिन्-नारीका लागि नारी अभियान चलाएर । १ करोडको अक्षयकोष स्थापनार्थ खटिएको नारीका लागि नारी अभियानकी अभियन्ता सुभद्रा इजरायलमा रहेर नेपालमा भएका गरिब, सीमान्तकृत, उत्पीडित, विभेदमा परेका, शिक्षा-स्वास्थ्यको पहुँचबाट टाढा रहेका महिला तथा बालबालिकाका लागि खटिरहेकी छिन् । राष्ट्रिय समृद्धिका लागि नारी एकता नारा दिइएको नारीका लागि नारी अभियानमा मात्र होइन इजरायलमा रहेका सोसाइटी अफ हेल्पिङ हार्टलगायत आधा दर्जन संस्थामा संलग्न सुभद्राले भर्खर मात्र आफ्नो फेसबुक वालमा एक स्ट्याटस पोस्ट गरिन् जसमा लेखिएको थियो-'नारी तिमी अब सन्तानकी जन्मदाता मात्र भएर पुग्दैन, देशको, माटोको संरक्षक एवं सम्बर्द्धनका लागि पनि एक हुनुपर्छ ।'

नेपालमै अध्ययन गरी कामका सिलसिलामा इजरायल पुगेकी भण्डारी बाल्यकालदेखि नै फरक स्वभावकी थिइन् । केही पृथक् काम गर्न रुचाउने भण्डारी स्कुलका अतिरिक्त क्रियाकलापमा सधैं अब्बल ठहरिन्थिन् । इजरायल पुगेर पनि मुलुकका लागि केही पृथक् कार्य गर्ने चाहनाले उनलाई छाडेन र सुरु भयो नारीका लागि नारी एकता अभियान ।

इजरायलमा रोजगारी गरिरहेकी सुभद्राको यो नवीन सोचले डायस्पोरामा बस्ने अन्य नेपालीहरूको ध्यान तानिएको छ । कतिपय नेपाली यो काममा हात मिलाउन तत्पर छन् । सुभद्रा भन्छिन्, 'नवीन अवधारणाबाट समाजमा केही गर्न सकिँदो रहेछ । हाम्रो यो अभियानको धेरैले प्रशंसा मात्र गरेका छैनन् साथ दिने बचन पनि दिएका छन् ।' सुभद्राले विदेशी भूमिमा पसिना मात्र बगाएकी छैनन् थुप्रै नेपाली असहाय, पहुँचबाट टाढा रहेकाहरूको सहारा पनि बनेकी छिन् । थुपै्र नेपाली महिलाले काम गरिरहेको इजरायलमा अहिले सुभद्रा उनीहरूकी रोल मोडल तथा सल्लाहकारका रूपमा चिनिन्छिन् । इजरायलमा नेपालीहरूद्वारा सञ्चालित विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भण्डारी विदेशमा कमाएको पैसा नेपाली भूमिमा लगानी गर्ने कुरा बताउँदै भन्छिन्-

'नारीका लागि नारी अभियानबाहेक पनि सीमान्तकृत, हिंसा पीडित, न्यायको पहुँचबाट टाढा रहेका महिलाका लागि उल्लेखनीय काम गर्ने योजना छ ।' .

व्यवसायी तथा समाजसेवी

बिदेसिएका महिला व्यवसायी तथा समाजसेवीको दरिलो छवि बनाइसकेकी रजनी श्रेष्ठ हाल बेल्जियममा छिन् । सन् १९९२ मा बेल्जियम पुगेकी श्रेष्ठले ब्रसेल्समा फ्रेन्च भाषा पढेपछि त्यहीँ नेपाली हेन्डिक्राफ्टको व्यवसाय प्रारम्भ गरिन् । सन् १९९५ मा सुरु भै १९९९ सम्ममा उनले कयौं नेपाली हेन्डिक्राफ्ट विदेशमा चिनाउने काम मात्र गरिनन् थुप्रै नेपालीलाई स्वरोजगारसमेत बनाइन् । व्यवसायसँगै उनले सन् २००० देखि सन् २००६ सम्म विमान बंगलादेशको ब्रसेल्स शाखामा असिस्टेन्ट स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी थिइन् । नेपालबाट युरोप निर्यात हुने वाइवाइ, टोकला चिया, गोरखा बियर, खुकुरी रम तथा ऐला आदि सामग्री युरोपभरि बिक्री गर्ने प्रमुख कम्पनीको म्यानेजर पद सम्हाल्न पुगेकी रजनी उक्त संस्थामा अब्बल व्यवस्थापक दरिइन् । रजनी भन्छिन्-मेहनत र निरन्तरता अनि काममा दृढताले नै मानिसलाई सफलतासम्म पुर्‍याउँछ ।

सन् २००४ देखि गैरआवासीय नेपाली संघ (एनआरएन) बेल्जियममा संलग्न रजनी संघकी सक्रिय तथा जुझारु सदस्य हुन् । राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने एनआरएनका विभिन्न कार्यक्रममा उत्तिकै खट्ने श्रेष्ठले हाल एनआरएन सम्बद्ध महिला विभागको संयोजकको कार्यभार सम्हालिरहेकी छिन् । यसअन्तर्गत उनकै पहलमा नेपालका सुदूरपश्चिमका ग्रामीण भेगमा महिलाको नि:शुल्क पाठेघर परीक्षण तथा उपचारजस्ता कार्यक्रम सम्पन्न भएका छन् । सन् २००३ मा स्थापना भएको पासा पुच बेल्जियमकी संस्थापक रजनीले संस्कार तथा सम्पदामा धनी नेवारी कल्चरलाई युरोपभरि चिनाउने काम गरेकी थिइन् । श्रेष्ठ भन्छिन्-म नेपाल, नेपाली तथा नेपाली कलालाई संसारभर चिनाउन चाहन्छु तसर्थ मैले हेन्डिक्राफ्ट होस् वा सांस्कृतिक प्रमोसनलाई नै जोड दिएकी हुँ ।

नेपाली तथा नेवारी परम्परागत संस्कार एवं सम्पदाको उत्थानमा समर्पित उक्त संस्थाले विदेशी भूमिका नेपाली र नेवारी संस्कृतिको प्रबर्द्धनमा मुख्य जोड दिने काम गरिरहेको छ । श्रेष्ठले सेवा नै धर्म हो भन्ने उक्ति सार्थक तुल्याउन बेल्जियममै सनातन धर्म सेवा परिषद्को स्थापना पनि गरेकी छिन् । संस्थाद्वारा हरेक वर्ष शिवरात्रि, बुद्धजयन्ती, गुरुपूणिर्मा एवं सरस्वती पूजा भव्य रूपमा मनाइन्छ । उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम आयोजित गरिनुका साथै दु:ख पाएका गरिबहरूलाई खाना ख्वाइन्छ । रजनीकै पहलमा मदनकृष्ण-हरिवंश, रामकृष्ण ढकाल आदि नेपाली कलाकारले युरोपमा सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनको आगामी योजना विदेशमा कमाएको पैसाले नेपाली भूमिमा समाजसेवा गर्नु हो । त्यस क्रममा उनी एनआरएन महिला विभागअन्तर्गत ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यका लागि नयाँ परियोजना भित्र्याउने तयारीमा छिन् । .

सफल व्यवसायी

गोरखा जिल्लामा पिता माधवप्रसाद मरहठ्ठा तथा आमा सरला मरहठ्ठाको कोखबाट जन्मिएकी संगीता मरहठ्ठाको एसएलसीसम्मको पढाइ गोरखाकै जनता माध्यमिक विद्यालय, आापपीपलमा भएको हो । अध्ययनमा तेज संगीता बाल्यकालमा चिकित्सक बन्न चाहन्थिन् तर पछि पत्रकारिता र अंग्रेजी विषय लिएर स्नातकसम्म काठमाडौंमा अध्ययन गरिन् । अध्ययनकै क्रममा रेडियो सगरमाथामा रेडियो कार्यक्रम उत्पादकका रूपमा काम गरेकी संगीताले २१ वर्षकै उमेरमा रेडियो पत्रकारिता तालिमका लागि बेलायत जाने अवसर प्राप्त गरिन् ।

२००० को अन्त्यतिरदेखि बेलायतमा बसोबास गरिरहेकी संगीताले पत्रकारिता विषयमा बेलायतकै प्रतिष्ठित वेस्टमिनिस्टर विश्वविद्यालयबाट एम.ए. गरेकी छिन् । उनले सन् २००१ देखि करिब ५ वर्ष बेलायतमा बीबीसी नेपाली सेवामा काम गरिन् । हाल उनी बेलायतबाट प्रसारण हुने र करिब ७० देशमा हेर्न सकिने नेपाली टेलिभिजनमा समेत कार्यक्रम प्रस्तोता तथा उत्पादकका रूपमा काम गर्छिन् ।

बेलायत बसाइको १४ वर्षको अवधि आफ्ना लागि निकै सुखद् अनि थरीथरीका अनुभव संगाल्ने माध्यमसमेत भएको संगीताको भनाइ छ । यो काम गर्छु र यो काम गर्दिन भन्नु भन्दा पनि परिस्थितिअनुसार आफूलाई ढाल्नुपर्ने उनको ठम्याइ छ । यही अवधारणाले होला बेलायत बसाइका क्रममा संचार माध्यममा काम गर्ने मात्र नभएर अन्य धेरै कामको अनुभव उनमा छ । उनले त्यहाँ आफ्नै पारिवारिक लगानी रहेको कलेजमा लगभग दुई वर्ष लेक्चररका रूपमा अध्यापन पनि गरिन् भने बेलायतको गृह मन्त्रालय, पासपोर्ट आदि कार्यालयमा अनुवादकको काम पनि गरिरहेकी छिन् ।

दुई साना छोरीको लालनपालनसँगै संगीताले समाज सेवामा समेत आफूलाई संलग्न गरेकी छिन् । सन् २०११ देखि २०१३ सम्म उनी गैरआवासीय नेपालीसँग बेलायतको महिला विभाग प्रमुख थिइन् । हाल उनी गैरआवासीय नेपाली संघ बेलायतकी सचिव छिन् र मिडियासम्बन्धी काम पनि गरिरहेकी छिन् ।

जे गरे पनि आर्थिक हिसाबले सशक्त नभै धेरै काम गर्न नसकिने रहेछ र पछि परिने रहेछ भन्ने अनुभवले हाल संगीतालई एक सफल महिला व्यवसायीका रूपमा बेलायतमा स्थापित गरिरहेको छ । गत नोभेम्वर २०१३ मा उनले आफ्नो एक्लो लगानीमा आफ्नै कम्पनी फर्वाड एकेडेमिक टिम लिमिटेड स्थापना गरिन् । जम्मा ६ महिनाको अवधिमा बेलायतमा पाँचभन्दा बढी शाखा स्थापना भैसकेको उनको कम्पनीले बेलायती नागरिकता लिन वा बेलायली पासपोर्ट लिन आवश्यक पर्ने अनिवार्य अंग्रेजी प्रमाणपत्रका लागि परीक्षा लिन्छ जसलाई बेलायतमा इसोल भनिन्छ । मन लगाएर गरियो भने जे गरे पनि सफल भइँदो रहेछ र महिलाले पनि व्यवसाय सञ्चालन गर्न सक्दा रहेछन् भन्ने संगीतालाई लाग्छ । यति छोटो समयमा व्यवसाय सफल हुादै जानु मेहनत र भाग्य दुवैको संयोग भएको तथा नेपाली दाजुभाइ-दिदीबहिनी एवं हितैषीहरूको ठूलो सहयोग रहेको उनी बताउँछिन् ।

व्यवसाय वा समाज सेवाभन्दा पारिवारिक सुखले आफ्ना लागि बढि महत्व राख्ने कुरा बताउँदै संगीताले दुई छोरीको शिक्षाका लागि आफूले कुनै पनि अवसर गुम्न नदिएको दाबी गरिन् । सम्भव भएसम्म विश्वका विभिन्न देशमा घुम्न जानु र ती ठाउँका बारेमा जानकारी लिनु उनको रुचि हो । संगीतालाई भावुक खालका गीत मन पर्छन् । अगामी दिनमा आफूले सुरु गरेको व्यवसायलाई मन, बचन र कडा मेहनतले अघि बढाउँदै जाने उनको योजना छ ।

 Image