Successfully Copied

हनिमुन डेस्टिनेसन

हनिमुन दाम्पत्य जीवनलाई सुमधुर एवं प्रगाढ बनाउने महत्वपूर्ण अवसर हो । नव विवाहित जोडी आफ्नो हनिमुनलाई यस्तो बनाउन चाहन्छन् जसले जीवनभर रोमाञ्चक

हनिमुन दाम्पत्य जीवनलाई सुमधुर एवं प्रगाढ बनाउने महत्वपूर्ण अवसर हो । नव विवाहित जोडी आफ्नो हनिमुनलाई यस्तो बनाउन चाहन्छन् जसले जीवनभर रोमाञ्चक अनुभूति प्रदान गरोस् । अत: यसका लागि उनीहरूले छनोट गर्ने डेस्टिनेसनले पनि महत्वपूर्ण अर्थ राख्छ । हनिमुन डेस्टिनेसन त्यस्तो होस्, जहाँ उन्मुक्त रोमान्स गर्न सकियोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।  

गोवा

अद्वितीय प्राकृतिक सौन्दर्य, प्राचीन धरोहर एवं सांस्कृतिक विविधतालाई समेटेको सानो तर सुन्दर सहर हो-गोवा । समुद्री किनारमा अवस्थित यो सहरले विश्वकै पर्यटकहरूलाई आकषिर्त गरिरहेको छ । पर्यटकले मनोरञ्जनका लागि कुनै पनि कुरा स्वतन्त्र रूपमा उपभोग गर्न पाउनु नै गोवाको मुख्य विशेषता हो । यहाँ पर्यटकले आफूखुसी रमाइलो गर्न सक्छन् । गोवा सुन्दर समुद्री किनारका लागि विश्व प्रसिद्ध छ, त्यस्तै वाटर स्पोर्टस्का लागि पनि । यो भारतीय तथा पश्चिमा संस्कृतिको अनुपम संगमस्थल हो ।

बैंकक

थाइल्यान्डको राजधानी बैंकक विश्वका प्रमुख पर्यटकीय सहरमध्ये एक हो । नहरमा तैरिरहेका पसल, समुद्री तट, बुद्धका प्रतिमा, सुन्दर रिसोर्ट यहाँका आकर्षण हुन् । बैंकक पुगेपछि नौका विहारको पनि आनन्द लिन पाइन्छ ।

मेलवर्न

स्टाइल, फेसन, आर्किटेक्चर, थिएटर्स, आर्ट ग्यालरी, ट्राम र बगैंचाको सहर हो यो । यसलाई कलाप्रेमी सहरका रूपमा पनि चिनिन्छ । यो सहर सिम्फनी अकेस्ट्रा, ओपन टेनिस, मेलवर्न क्रिकेटजस्ता खेल गतिविधिका कारण पनि चर्चामा रहन्छ । फुड फेस्टिवल, होलिडे सेलिव्रेसनजस्ता उत्सव एवं समारोह यहाँ सदाबहार चलिरहन्छन् । यो सहर घुम्न नोभेम्बरदेखि मार्चसम्म उपयुक्त हुन्छ ।

कोलोङ

पश्चिम युरोपको सम्पन्न मुलुक जर्मनीमा बग्ने राइन नदीको किनारमा छ, कोलोङ सहर । रोमन युगीन यो सहरलाई जर्मनीको सांस्कृतिक राजधानीसमेत मानिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो सहरका प्राचीन महल हेर्न लायक छन् । जंगल र अग्ला पहाडका बीचमा ठडिएका महलहरूले पौराणिक दृश्यको झझल्को दिन्छन् । यहाँको मुख्य भाषा जर्मन हो । यद्यपि त्यहाँ अंग्रेजी पनि बोलिन्छ । प्रसिद्ध क्याथेङरलदेखि सानदार पुल, पानीमाथि तैरिने रेस्टुराँ यहाँका थप आकर्षण हुन् ।

रोम

एउटा भनाइ प्रचलित छ, 'अल रोड्स लिड टु रोम ।' त्यस्तै, रोम नै नटेकी युरोपको भ्रमण पूरा हुँदैन । पास्ता, पिज्जा तथा पेपेरोनीका लागि ख्याति कमाएको इटलीको यो समुद्री सहरले पर्यटकहरूलाई हरबखत तानिरहन्छ । इटली पुगेपछि भाषागत समस्या भने झेल्नुपर्ने हुनसक्छ किनभने यहाँ अंग्रेजी नभई इटालियन भाषा बोलिन्छ । यद्यपि यो प्राचीन सहरले भ्रमणलाई सार्थक तुल्याउँछ । रोम घुम्ने सबैभन्दा उपयुक्त महिना नोभेम्बर हो ।

भेनिस

भेनिस सहरलाई 'सौन्दर्यकी देवी' को उपमा दिइएको छ ।  यो प्राचीन इटालियन सहरलाई  'प्रेम र सौन्दर्य' को प्रतीक मानिन्छ । यहाँको प्रसिद्ध नहरमा पानीसँग रोमान्स गर्न विश्वभरका जोडीको ओइरो लाग्छ । भेनिस घुम्ने सबैभन्दा उत्तम समय हो-जनवरीदेखि अप्रिलसम्म ।

पेरिस

पेरिस भन्नासाथ इफेल टावरको सम्झना आउँछ । हुन पनि पेरिसको मुख्य आकर्षण नै इफेल टावर हो । त्यसबाहेक यो सहर फेसन र परफ्युमका लागि पनि परिचित छ । यसलाई सिटी अफ लाइटको संज्ञा दिइएको छ । भनिन्छ, पेरिस जत्तिको अर्को कुनै सहर छ भने त्यो भेनिस मात्र हो । यो फ्रान्सिसी कला र संस्कृतिको केन्द्र हो । यहाँका ओपन एयर क्याफे, ओपेरा, कलात्मक सडकले आगन्तुकहरूको मन लोभ्याउँछन् । यहाँ मेदेखि सेप्टेम्बरसम्म घुम्नु उत्तम हुन्छ ।

मारिसस

मारिसस हनिमुनका लागि  उपयुक्त गन्तव्य हो । यहाँको सुनौलो तट तथा नीलो समुद्रले सबैको ध्यान सजिलै खिच्न सक्छ । यो सहर जुनसुकै समयमा पनि घुम्न सकिन्छ ।

सिड्नी

समुद्री छालहरूमा रमाउन चाहनेहरूका लागि सिड्नी उपयुक्त हुन्छ । यहाँको समुद्री तट विश्वमै प्रसिद्ध छ । यहाँका सांस्कृतिक गतिविधिले पनि आगन्तुकहरूलाई पर्याप्त मनोरञ्जन  प्रदान गर्छन् । सपिङ सेन्टर, आकर्षक होटल तथा रेस्टुराँले सिड्नीको बसाइलाई आनन्ददायक बनाउँछन् । यो सहर  नोभेम्बरदेखि फरवरीसम्म घुम्न सकिन्छ ।

आगरा

ताजमहल विश्वका सात आश्चर्यमध्ये एक हो । ताजमहल मानव निर्मित विश्वका सात आश्चर्यमध्ये एक हो । २० वर्ष लगाएर निर्माण गरिएको ताजमहल अहिले भारतको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । प्रेमको प्रतीकका रूपमा ठडिएको ताजमहल भारतको उत्तर प्रदेशको आगरा सहरमा छ । १७ औं शताब्दीका मुगल सम्राट शाहजहाँले आफ्नी श्रीमती मुमताजको सम्झनामा ताजमहल निर्माण गराएका थिए । ताजमहल हेर्न दिनहुँ हजारौं पर्यटक आगरा पुग्छन् ।

कन्याकुमारी

हिन्द महासागर, बंगालको खाडी र अरब सागरको संगमस्थल हो-कन्याकुमारी । यो स्थान टाढा-टाढासम्म फैलिएको समुद्रसँगै सूर्योदय एवं सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि उपयुक्त हुन्छ । साँझको समय वासनादार फूलहरूले कन्याकुमारीको वातावरण मादक बनाइदिन्छन् ।

 Image