Successfully Copied

बाथ रोगविरुद्ध कार्यक्रम

गत महिना काठमाडौंमा १२ अक्टोवरका दिन विश्व बाथ रोग दिवसका अवसरमा नेपाल बाथ रोग निवारण संस्था र नेसनल बाथ रोग सेन्टरको

गत महिना काठमाडौंमा १२ अक्टोवरका दिन विश्व बाथ रोग दिवसका अवसरमा नेपाल बाथ रोग निवारण संस्था र नेसनल बाथ रोग सेन्टरको संयुक्त आयोजनामा साताव्यापी जनचेतना अभिवृद्धि तथा बाथ रोग पहिचानका लागि नि:शुल्क रक्त परीक्षण एवं विशेषज्ञ परामर्श सेवा कार्यक्रम सम्पन्न भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा जनजागरण अभियानअन्तर्गत काठमाडौंका विभिन्न स्थानमा प्रभातफेरि गरियो । नेपालमा करिब ४० लाख बाथ रोगी रहेको अनुमान छ । बाथ रोग एक प्रकारको अटोइम्युन डिजिज हो र पुरुषको तुलनामा बढी महिला यो रोगको चपेटामा छन् ।

संवैधानिक अंगमा महिला अनिवार्य

नयाँ बन्ने संविधानमा सबै संवैधानिक आयोगमा महिला पदाधिकारी अनिवार्य राखिने भएको छ । गत महिना संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति तीनवटा संवैधानिक आयोग थप्दै सबैमा अनिवार्य रूपमा महिला राख्ने व्यवस्थामा सहमति जुटाएको हो ।

हरेक क्षेत्रमा महिला सहभागितामा जोड पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले एसियाको विकासका लागि हरेक क्षेत्रमा महिलाको सहभागिता हुनुपर्ने कुरामा जोड दिएकी छिन् । गत महिना श्रीलंकामा सम्पन्न एसियाली राजनीतिक दलहरू (आइक्याप) को दुई दिने सभामा कोइरालाले उक्त कुरा बताएकी हुन् । आइक्याप महिला सेलकी उपाध्यक्षसमेत रहेकी नेतृ कोइरालाले हरेक क्षेत्रमा महिलाको सम्मानजनक एवं न्यायोचित प्रतिनिधित्व भएको खण्डमा मात्र एसियाली मुलुकको विकास सम्भव हुने दाबी गरिन् । नेतृ कोइरालाले भनिन्, 'पछिल्लो समयमा एसियाली मुलुकमा राजनीतिमा महिला सहभागिता बढ्दैछ । महिलाहरू सृष्टिकर्ता मात्र होइनन्, विकासका जननी पनि हुन् । महिलामा सिंगो एसियालाई बदल्न सक्ने सामथ्र्य छ ।'

महिला हिंसाविरुद्ध उर्लन आह्वान

महिला अधिकारकर्मी कमला भसिनले पुरुषको सहभागिताबिना महिला अधिकार स्थापित नहुने बताएकी छिन् । गत महिना उर्लंदो सय करोड क्रान्ति २०१५ का सम्बन्धमा जानकारी दिन संचारिका समूहको समकोण डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारकर्मी भसिनले हिंसाविरुद्धको यो अभियानमा सहभागी हुन विश्वभरका सम्पूर्ण पुरुषलाई आह्वान गरिन् । पितृसत्ताले पुरुषलाई अहंकारी बनाएको कुरा बताउँदै उनले पुरुषलाई ठूलो बनाउने काम महिलाबाटै भएको ठोकुवा गरिन् । भासिले भनिन्-'श्रीमान्को खुट्टा ढोगेर हामीले पुरुषलाई आफूमाथि हिंसाको निम्तो दिइरहेका छौं ।' विश्वमा हरेक तीन महिलामध्ये एकले हिंसा भोगेको भन्दै विश्वमा सय करोड महिला हिंसाबाट प्रभावित भएकाले यो अभियानको नाम उर्लंदो सय करोड क्रान्ति राखिएको उनको भनाइ थियो ।

कार्यक्रममा संविधान सभाकी उपाध्यक्ष वनसरी घर्ती मगरले महिलामाथि हिंसाको कारण पितृसत्ता भएको र पितृसत्ता महिलामा पनि भएको बताइन् । महिलालाई अधिकार दिने कुरा दानजस्तो मानिएको उनको भनाइ थियो । अखिल नेपाल महिला संघ प्रचार विभाग प्रमुख शान्ति अधिकारीले भनिन्-'जबसम्म महिलाको मुद्दा पुरुषको पनि मुद्दा बन्दैन तबसम्म हिंसा अन्त्य हुँदैन ।' उनको राजनीतिमा महिलाको संख्या नबढेसम्म अधिकार स्थापित हुन नसक्ने बताइन् । उर्लंदो सय करोड क्रान्ति-२०१५ को सुरुवात गत महिना १२ गतेदेखि नेपालबाट विश्वव्यापी रूपमा प्रारम्भ भएको छ । कार्यक्रममा एसियाका १० देशका ७० तथा नेपालका ७ सयभन्दा बढी महिला अधिकारकर्मीको सहभागिता थियो । 'उर्लंदो सय करोड क्रान्ति-२०१५' को सुरुवाती कार्यक्रममा फिलिपिन्सकी प्रसिद्ध अभिनेतृ, महिला कार्यकर्ता तथा 'उर्लंदो सय करोड' की विश्वव्यापी संयोजक मोनिक विल्सन पनि सरिक थिइन् ।

सौन्दर्य शिक्षामा नयाँ आयाम

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य शिक्षा प्रदान गर्ने ब्युटी स्कुल खुलेको छ । व्यावसायिक सीपमूलक शिक्षाको आवश्यकता खड्किरहेको नेपालमा यस्तो खालको शैक्षिक यात्राले थुप्रै नेपाली नारीलाई स्वरोजगार बनाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने विश्वास गरिएको छ । बिजुलीबजारस्थित सामसुङ प्लाजामा ग्ल्यामर एजुकेसन नेपाल नामक संस्थाले अन्तर्राष्ट्रिय स्तरको प्रविधिसहित सौन्दर्यसम्बन्धी सम्पूर्ण शिक्षा प्रदान गर्न लागेको संस्थाकी कार्यकारी प्रमुख मञ्जु सापकोटाले बताइन् । थाइल्यान्डको ग्ल्यामर एजुकेसनको पाठ्यक्रम अध्यापन गराइने यो स्कुलमा  तालिम प्राप्त प्रशिक्षकहरूबाट प्रयोगात्मक शिक्षामा बढी जोड दिइने सापकोटाले बताइन् । १ देखि ३ महिने प्रोफेसन ब्युटी एजुकेसनका लागि एस.एल.सी. उत्तीर्ण भएकाहरू भर्ना हुन पाउने भए पनि कम पढेलेखेकाहरूलाई पनि त्यही स्तरको कक्षाको व्यवस्था गरिने बताइन्छ ।

 Image