युवाहरूको दसैं अनुभव

युवाहरूको दसैं अनुभव

- सिर्जना दुवाल श्रेष्ठ, झरना नहर्की

आश्विन १, २०७१

परम्परागत रूपमा चलिआएको धर्म-संस्कृतिलाई अहिलेका युवाहरूले हेर्ने दृष्टिकोण फरक छ । अहिले चाडपर्वमा उनीहरू पूर्णरूपमा परम्परागत पनि हुँदैनन् र त्यसको मूल मर्म तोड्न पनि चाहँदैनन् । फेसन तथा ग्याजेटप्रेमी यो पुस्तामा संस्कृतिलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता देखिन्छ ।

सपिङ गर्ने, नयाँ-नयाँ डिजाइनका पहिरन किन्ने, तास खेल्ने, साथीहरूसँग भेटघाट आदि युवाहरूको रुचिको विषय हो तर मठ-मन्दिर गएर पूजा गर्ने काममा पनि उनीहरू पछाडि छैनन् । संस्कृति जोगाउन दसैंले सहायता गर्छ भन्ने अहिलेको पुस्ता दसैंमा आफ्नो बजेट नहेरी खर्च गर्ने, जाँड-रक्सी खाएर झगडा गर्ने विकृति पटक्कै मन पराउँदैन ।    

कुञ्जल भट्ट

मलाइ यतिबेलाको रमाइलो वातावरणले दसैं आएको अनुभव गराउँछ । दसैं हामी हिन्दूहरूको महान् चाड हो । असत्यमाथि सत्यको विजय भएको खुसीमा दसैं मनाउन थालिएको हो । दसैंमा विशेषगरी दुर्गा माताको पूजा गरिन्छ । घटस्थापनादेखि पूणिर्मासम्मका सबै दिनको आ-आफ्नै महत्व छ । घटस्थापनाका दिन जमरा राख्ने काम गरिन्छ । त्यसमा म आफ्नी आमालाई सहयोग गर्छु । हरेक दिन बढ्दै गएको जमराले मलाई थप उत्साहित बनाउँछ । मेरो विचारमा दसैं हरेक तत्वको संगम हो । एक त यतिबेला हामीलाई वातावरणले पनि साथ दिन्छ यो चाडका कारण के वृद्ध-के वृद्धा सबैको मनमा एक प्रकारको खुसी छाउँछ । दसैंका बेला आफ्नो पनि लामो छुट्टी हुन्छ भने आमाबुवाको पनि छुट्टी हुन्छ । परिवारका सबै सदस्य लामो समय एकसाथ बिताउन पाइन्छ । कतै घुम्न जान पनि रमाइलो हुन्छ । इच्छाअनुसार खानेकुरा खाँदै उमङ्गका साथ दसैं बित्छ । पढाइले दबाब दिइरहेका बेला दसैंको लामो छुट्टीले आराम प्रदान गर्छ । म त किनमेल गर्ने, फिल्म हेर्न जाने, कुनै नयाँ ठाउँ घुम्ने, मन्दिर जाने आदि विभिन्न योजना बनाउँछु । दसैंका बेला मीठा परिकार खाए पनि बलि दिने प्रथा मलाई मन पर्दैन । सबै नेपालीको स्तर एउटै छैन । त्यसैले ऋण गरेर दसैं मनाउनु हुँदैन, आफ्नो गच्छेअनुसार मनाउनुपर्छ ।

प्रकृति श्रेष्ठ

दसैंमा पिङ तथा चंगा महत्वपूर्ण हुन्छ । दसैं नजिकिँदै जाँदा आकाशमा चंगा उड्न थाल्छ । अहिले त चंगा पनि विभिन्न आकार तथा रंगमा उपलब्ध हुन थालेका छन् । मलाई चंगा उडेपछि दसैं आएजस्तो लाग्छ । यो समयमा भर्खरै वर्षा सकिएर आकाश पनि खुल्ला हुन्छ । घटस्थापना लागेदेखि देवीका मन्दिरहरूमा भीडभाड हुन थाल्छ । दसैंका नौ दिन दुर्गाका नौ रूपको विधिवत् पूजा हुन्छ । दुर्गा शब्दको पनि आफ्नै महत्व छ । दको अर्थ अन्धकार, कठिनाइ अर्थात् कष्ट  हुन्छ । ग को अर्थ दु:खलाई नष्ट गर्ने बुझिन्छ । अ को अर्थ अनन्त परमात्मा र उनको शक्ति भन्ने बुझिन्छ भने रेफको अर्थ शक्तिको संचार बुझिन्छ । त्यसैले दुर्गाको अर्थ हुन्छ परमात्माको त्यो शक्ति जसले अन्धकार, कठिनाइ, दु:ख-कष्ट आदि नाश गरेर हाम्रो जीवनमा प्रकाश, सुख तथा आनन्द ल्याउँछ । त्यसैले यो शक्ति तथा साधनाको पर्व हो । अरूबेला मन्दिर जान भ्याइँदैन तर दसैंमा छुट्टी हुने भएकाले मन्दिर जान पाइन्छ । दसैंका बेला हामी सबैमा एक प्रकारको सकारात्मक भावना  संचार हुन्छ । सबैले नराम्रा कुरा बिर्सेर नयाँ सम्बन्ध विकसित गर्छन् । कोही रिसाएका छन् भने पनि दसैंमा सबैले त्यसलाई भुल्छन् । आफ्नो रिसलाई सबैले मार्छन् । दसैंका बेला टाढा-टाढा गएकाहरू पनि आ-आफ्नो घर र्फकन्छन् । सामाजिक रूपमा दसैंको अलग महत्व छ । दसैंमा आफूभन्दा ठूलाको आशीर्वाद तथा दक्षिणाको विशेष महत्व रहन्छ । दसैं लाग्नेबित्तिकै बजारमा नयाँ-नयाँ सामान भित्रने क्रम सुरु हन्छ । कुनै पनि चाड किनमेलबिना अधूरो हुन्छ । धेरै मानिस चाडपर्वमा आफूलाई चाहिएको मालसामान खरिद गर्छन् । दसैंको रौनकमा धनी-गरिबको भेदभाव पनि हुँदैन । दसैंको अर्को महत्वपूर्ण पक्ष घरको सरसफाइ हो । यतिबेला हामी घरका कुना-कुना सफा गर्छौं । नयाँ रंग लगाउने, गमलामा नयाँ-नयाँ फूल रोप्ने आदि काम पनि दसैंमै गरिन्छ । दसैंले जीवनमा नयाँपन ल्याउँछ । यो व्यस्त जीवनमा सबैसँग मेलमिलापको भावना बढाउने उपयुक्त अवसर पनि हो । दसैंका बेला हामी आफ्नो मूलघर धादिङबेसी गएर सपरिवार रमाइलो गर्छन ।

कविता तामाङ

दसैं आउन थालेपछि बेग्लै किसिमको वातावरण देखा पर्न थाल्छ । घरमा बुवाले बोका एवं कुखुरा किनेर ल्याउनुहुन्छ । नारी शक्तिको पूजा गरिने दसैंमा हामीजस्ता विद्यार्थी अझ साइड जब पनि गर्नेहरूका लागि केही दिन छुट्टी मिल्ने हुँदा विशेष रमाइलो हुन्छ । अहिले त तीज सकिएपछि नै दसैं आएको अनुभव हुन थाल्छ । आकाशभरि चंगा उडेको देख्दा बेग्लै प्रकारको खुसी महसुस हुन्छ । कहिल्यै नभेटेका आफन्तहरूसँग भेट्न पाउनु, गाउँमा गएर हजुरबुबा, हजुरमुमाहरूको हातबाट टीका लगाउन पाउनु हाम्रो सौभाग्य नै हो । म सप्तमीसम्ममा घर पुग्छु । त्यहाँ पिङ खेल्दा, मेला लागेका ठाउँमा घुम्दा र धेरै पछि भेट भएका साथीहरूसँग कुराकानी गर्दा समय बितेको पत्तै हुँदैंन । म दसैंमा घर जाँदा हजुरबुबादेखि सबैका लागि लुगाहरू किनेर लान्छु । यद्यपि अहिले देखावटीपन र फेसन बढेको तर पूजाआजामा कमी आएजस्तो लाग्छ । दसैंमा जाँड, रक्सी एवं चुरोट खाएर झगडा गरेको मलाई मन पर्दैन । म विन्दास तरिकाले दसैं मनाउन चाहन्छु किनभने दसैं नै एउटा यस्तो पर्व हो जहाँ लामो छुट्टीका साथमा सबै मान्यजनको हातबाट टीका थाप्न पाइन्छ ।

सुनीता श्रेष्ठ

म दसैंलाई दुर्गा भवानीले असत्यमाथि विजय प्राप्त गरेको पर्वका रूपमा लिन्छु । दसैंले असत्य र झूटको खेतीको अन्त्य गर्छ भन्ने लाग्छ । धादिङ घर भए पनि म काठमाडौंमा परिवारसँगै बस्दै आएकी छु । दसैं भने हामी उतै गएर मनाउँछौं । हरेक दसैंमा म त्यहाँ हुने सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन्छु । नाच्ने, गाउने, नाटक खेल्ने आदि कामले आफ्नो आत्मविश्वास वृद्धि हुन्छ । त्यहाँको उत्सवी भैरवी मन्दिरमा पूजा गर्न जान्छु । यो घरमा मीठा-मीठा परिकारहरू पकाएर खाने, ख्वाउने तथा एकले अर्कोलाई नजिकबाट बुझ्ने अवसर पनि हो । म शाकाहारी भएकीले आलुको अचार तथा मसरुम र तोफुका नयाँ-नयाँ परिकारहहरू पकाएर खान्छु । दसैंलाई म पिङ खेल्ने, मन्दिर जाने, मीठा परिकारहरू खाने, घुमघाम गर्ने, स्टाइलिस्ट पहिरनमा सजिने तथा ठूलाबडाको हातबाट टीका, जमरा लगाएर आशीर्वाद थाप्ने पर्वका रूपमा लिन्छु । दसैं घरमा नयाँ डेकोरेसन, सरसफाइ एवं रंगरोगन गरी लुक्स चेन्ज गर्ने पर्व पनि हो । दसैंले हामीलाई हाम्रो धर्म तथा संस्कृतिको इतिहास एवं आफ्नो परम्पराका बारेमा बुझ्न पनि सहयोग गर्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>