Successfully Copied

परिवर्तन प्राकृतिक नियम हो तर हरेक कुरामा मर्यादाको सीमारेखा खिच्न सक्नुपर्छ।

बुवा रामराज पौड्याल तथा आमा मेधादेवी पौड्यालका ६ सन्तानमध्ये माइली छोरी वीणाको जन्म कुपन्डोलमा भएको हो।

बुवा रामराज पौड्याल तथा आमा मेधादेवी पौड्यालका ६ सन्तानमध्ये माइली छोरी वीणाको जन्म कुपन्डोलमा भएको हो। त्रि.वि. बाट संस्कृतिमा स्नातकोत्तर तथा मूर्तिकलामा बनारस हिन्दू विश्वविद्यालयबाट विद्यावारिधि गरेकी पौड्याल विगत ३७ वर्षदेखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँदै आएकी छिन्। त्रि.वि. संस्कृति विभागकी पूर्व विभागीय प्रमुख वीणासँग तीजको सांस्कृतिक पक्षका विषयमा गरिएको कुराकानी :

तीजको सांस्कृतिक महत्व के छ?

 तीज धार्मिक पर्व हो तर धार्मिक पर्व हुँदाहुँदै पनि लामो समयदेखिको निरन्तरताका कारण यसले सांस्कृतिक महत्व ग्रहण गरेको छ तसर्थ तीजलाई धार्मिक तथा सांस्कृतिक दुवै पर्वका रूपमा लिइन्छ। तीनवटा कारणले हामीले पर्वहरू मनाइरहेका छौं। पहिलो ईश्वरप्रतिको आस्था, दोस्रो पारिवारिक मूल्य-मान्यता तथा तेस्रो कृषिबाट फुर्सद पाएपछिको मनोरञ्जन। यी तीनवटै कारणको समष्टि रूप नै पर्वहरू हुन्, जसमध्ये तीज पनि एक हो। हाम्रो पारिवारिक संगठनअनुसार छोरी-चेलीहरू विवाहपछि श्रीमान्को घरमा बस्नुपर्ने भयो। त्यसले गर्दा महिलाको जीवनशैलीमा परिवर्तन आउने नै भयो। त्यसले मनोरञ्जन, खानपान, स्वतन्त्रता आदिमा प्रभाव पार्‍यो। तीज एउटा यस्तो पर्व हो जहाँ शिवजीको आराधनासँगै माइती जान पाइन्छ, इच्छा लागेको खानपान गर्न पाइन्छ, स्वतन्त्रतापूर्वक नाचगान गर्न पाइन्छ। यसको महत्व बढ्नुमा यिनै कारण प्रमुख छन्।

संस्कृतिमा तीज पर्वको कस्तो स्थान छ?

चेलीबेटीहरू अघिल्लो दिन माइती आएर मीठो दर खाएर राम्रो पहिरनमा सजिएर नाचगान गरी भोलिपल्ट शिवजीको पूजा-आराधना गर्ने चलन छ। हाम्रो समाज कृषिमा आधारित भएकाले अधिकांश समय कृषि तथा घरेलु कार्यमा बित्छ। तीजको अवसरमा माइतीमा आराम गर्न, दिदीबहिनी तथा आमाबुवाहरूसँग मनको कुरा व्यक्त गर्न एवं साथीसंगीसँग गीत गाएर नाच्न पाइने भएकाले यो पर्वको विशेष स्थान एवं महत्व छ।

तीज श्रीमान्को दीर्घायुका लागि समर्पित छ भनिन्छ के यो सत्य हो?

पुराणहरूमा योगीराज, नटराज शिवलाई प्राप्त गर्न सतीदेवी तथा पार्वतीले बारम्बार कठिन तपस्या गरेर आफूलाई शिवको समकक्षमा उभ्याउने प्रयत्न गरेको कुरा उल्लेख छ। योग्य पति प्राप्त गर्न आफूमा पनि विभिन्न गुण आवश्यक हुन्छ भन्ने सांकेतिक सन्देश पार्वतीको व्रत-उपासनाले देखाएको छ। त्यही क्रममा सामान्य मानिसहरूले पनि तीजमा शिवजीको पूजा-आराधना गर्ने परम्परा चल्यो। शिवत्व र सबका मालिक पति अर्थात् विश्वब्रह्माण्डलाई बुझ्न र प्राप्त गर्न खोज्ने व्रत हो तीज। पशुपति अर्थात् सम्पूर्ण प्राणीहरूका मालिक शिवलाई प्राप्त गर्ने व्रत हो-यो। समय क्रमसँगै यो आफ्नो पति अर्थात् श्रीमान्मा मात्र सीमित भएर उनको आयुसँग जोडियो। हिन्दूहरूका अधिकांश यज्ञ, व्रत, पूजामा श्रीमान्-श्रीमतीले सँगै बसेर सम्पूर्ण विधि-विधान सम्पन्न गर्ने नियम छ तर बिस्तारै पारिवारिक संगठनका कारण पुरुषले घरबाहिर र महिलाले भित्रको काम गर्ने परम्परा चल्दै गयो। फलस्वरूप अधिकांश धार्मिक कार्य पनि महिलाले नै गर्ने भए। सोहीअनुरूप तीजको व्रत पनि महिलाले मात्र लिन थाले।

तीजमा शिवजीकै पूजा किन गरिन्छ?

शिव वैदिक देवता हुन्। वेदमा शिवलाई रुद्रको स्वरूपमा पूजा गरिन्थ्यो। बिस्तारै पौराणिक समयका त्रिदेवमध्ये संहारकर्ताका रूपमा शिवका विभिन् न रूपको पूजा हुन थाल्यो। त्रिदेवमध्ये शिव सबैभन्दा बढी परोपकारी, कर्मठ, सहयोगी एवं आशुतोष मानिन्छन्। शिवको उपकारी गुणको एक अंश मात्र भए पनि अनुकरण गर्न सके मानव जीवन सफल हुन्छ।

यो पर्वबाट के सिक्न सकिन्छ?

यो पर्वबाट पारिवारिक महत्व एवं शिवको परोपकारी गुण सिक्न सकिन्छ। त्यसबाहेक प्राग ऐतिहासिक -ढुंगे युग) कालदेखि नै मानिसहरू सौन्दर्यप्रेमी थिए। त्यतिबेला पनि उनीहरूले प्रकृतिमा भएका विभिन्न चीज वा ढुंगा र बाँसका गहनाले आफूलाई सिंगार्थे। मानिसले नयाँ-नयाँ कुरा आविष्कार गर्ने क्रममा विभिन्न सौन्दर्य प्रसाधन पनि उत्पादन गर्न थाले। त्यही क्रमले त्यसको प्रयोग बढ्दै गयो। आफूलाई स्वस्थ एवं सुन्दर ढंगले प्रस्तुत गर्नु नराम्रो होइन। तीजका अवसरमा महिलाहरूले आफूलाई सजाएर प्रफुल्ल भएको देखिन्छ। यो सकारात्मक पक्ष पनि हो।

पछिल्लो समयमा तीजलाई विकृतिका रूपमा पनि हेर्न थालिएको छ, कतै यो संस्कृति विकृतितर्फ अघि बढेको त होइन?

परिवर्तनलाई कसैले रोक्न सक्दैन। परिवर्तन प्राकृतिक नियम हो तर हरेक कुरामा मर्यादाको सीमारेखा खिच्न सक्नुपर्छ। यो त्यति सजिलो त छैन तैपनि विभिन्न क्षेत्रमा लागेका विज्ञहरूले यसमा कदम चाल्नु आवश्यक छ। आजभोलिको तीज शिवको परोपकारी गुण तथा पारिवारिक मूल्य-मान्यता बिर्सेर तडक-भडकमा मात्र लागेको अनुभव भैरहेको छ। यद्यपि हिजोसम्म घुम्टोभित्र घरमै बस्ने महिलाहरू आज एक ठाउँबाट अर्को ठाउँमा पुगेका छन्। यसलाई राष्ट्र, समाज एवं संघसंस्थाहरूले सकारात्मक बाटोमा डोर्‍याउन सक्नुपर्छ। ती महिलाहरूलाई सुरक्षित मातृत्व, एचआइभी एड्स, आँखा दान, रक्तदान, घरेलु हिंसा, वैदेशिक रोजगारीजस्ता विषयको ज्ञान तीजको रमाइलोसँगै दिन सकिन्छ। 

 Image