Successfully Copied

परम्परागत गहनाको बजार

न्यूरोडलाई गहना बजारको मुख्य क्षेत्रका रूपमा लिइन्छ। यो परम्परागत गहनादेखि आधुुनिक गहनाको कारोबार हुने मुख्य ठाउँ पनि हो।

न्यूरोडलाई गहना बजारको मुख्य क्षेत्रका रूपमा लिइन्छ। यो परम्परागत गहनादेखि आधुुनिक गहनाको कारोबार हुने मुख्य ठाउँ पनि हो। नेपाली परम्परा एवं सांस्कृतिक सम्पदा जोगाई नेपाली परम्परागत गहनाको संरक्षण गर्न न्यूरोडमा संचालित ज्वेलरीहरूले पनि महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। परम्परादेखि चलिआएका गहना अहिले आधुनिक डिजाइनतर्फ ढल्कदै गएको वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका व्यवस्थापक रोजेश शाक्य बताउँछन्। परम्परागत गहनाले नेपाली सांस्कृतिक सम्पदाको पहिचान बोकेकाले यी गहना कहिल्यै विस्थापित नहुने शाक्यले बताए। परम्परागत गहनाका बारेमा धेरै टिनएजर तथा युवतीहरूलाई ज्ञान नभएको र ३० प्रतिशत मात्र परम्परागत गहनामा महिलाहरूको आकर्षण भएको जयमातादी गोल्ड प्यालेसका व्यवसायी पवनकुमार अग्रवाल बताउँछन्। हरेक परम्परागत गहनामा नेपालको सांस्कृतिक तथा धार्मिक आस्था र विश्वास रहेकाले आधुनिक गहनाको जतिसुकै फेसन आए पनि परम्परागत गहनाहरू विशेष चाडपर्व वा समारोहमा अधिकांश महिलाले लगाउने अग्रवालले बताए। परम्परागत गहनाको बजार खासै नदेखिए पनि आकर्षण भने नघटेको बराह ज्वेलरी इन्डस्टि्रजका संचालक विकास लामिछाने बताउँछन्। आधुनिक गहनाले ठाउँ लिए पनि जस्तासुकै परम्परागत गहना अर्डरबमोजिम तयार गर्न सकिने लामिछानेले बताए। परम्परागत गहनामा पर्ने जन्तरमाला अहिले सबैभन्दा बढी लोकप्रिय भएको श्री कान्तिपुर ज्वेलर्सका प्रोपाइटर सम्पूर्ण ज्योति बज्राचार्य बताउँछन्। कम सुनमै पनि तयार गर्न सकिने भएकाले यसको आकर्षण बढी भएको बज्राचार्य तर्क छ। बजारमा अहिले चलेका र रुचाइएका परम्परागत गहनाहरूमा मंगलसूत्र, तिलहरी, नौगेडी, बाला, हेरबल (पैसाको हार भएको माला), जन्तर, बुट्टो-चुरा, हसुली आदि रहेको प्युखास्थित ओम विनायकका रमेश शाक्यले बताए।

नेपाली समाजमा गहनाको ठूलो महत्व छ। हाम्रो समाजमा गहनाको सामाजिक, धार्मिक, सांस्कृतिक एवं आर्थिक महत्व रहिआएको छ। गहना नारीको शोभा हो। प्राचीन कालदेखि नै गहनालाई नारीहरूको श्रृंगारको बलियो पक्ष मानिएको पाइन्छ भने आजभोलि पनि त्यो पक्ष अझ सशक्त रूपमा अघि बढेको देख्न सकिन्छ। नेपाली समाजमा परम्परादेखि नै विभिन्न प्रकारका आकर्षक गहनाको चलन छ। त्यस्ता गहना अरू बेला नलगाइए पनि चाडपर्वका अवसरमा भने उत्साहका साथ लगाइन्छ।

तिलहरी

विवाहमा पुरुषले नारीलाई लगाइदिएपछि जीवनभर एक-अर्काको बन्धन बलियो बनाउने गहनाका रूपमा लिइन्छ तिलहरीलाई। नेपाली समाजमा तिलहरीलाई श्रीमान्ले दिएको स्ाौभाग्यका रूपमा लिइन्छ तसर्थ यो नेपाली नारीको विशेष गहना पनि हो। यो एक इन्चदेखि तीन इन्चसम्म लामो तथा काँडे ढाँचामा ढालेर बनाइन्छ। तिलहरीलाई विवाहित महिलाले पोतेमा उनेर गलामा लगाउँछन्।

नौगेडी

यो विवाहित महिलाहरूको गहना हो। नौगेडी नौवटा वा त्यो भन्दा कम-बेसी सुन वा मुगाका काँडादार गेडी, पोते, धागो आदिका बीचबीचमा उनेर बनाइएको हुन्छ। नौगेडीलाई विवाहित महिलाहरूले गलामा लगाउँछन्।

बुलाकी

यो महिलाहरूले नाकका दुई पोराबीच छेडिएको तल्लो भागमा लगाउने सुनबाट तयार गरिएको गहना हो। यसलाई झम्केबुलाकी पनि भनिन्छ तर त्यो केही फरक स्वरूपको हुन्छ। यो माछाकाँडे र झम्के दुई खालको हुन्छ। यसमा पात वा झुम्का हुन्छ। झुम्काका ठाउँमा माछाको काँडाजस्तो पनि बनाउन सकिन्छ।

कण्ठमाला

यो घाँटीमा लगाइने गहना हो। मखमलको कपडा काटेर गोलाकार बनाई बीच-बीचमा मुगा तथा सुनका गेडी मिलाएर कण्ठमाला बनाइन्छ। कण्ठमाला मगर, गुरुङ, कुमाल, राई, लिम्बू आदि जातिमा प्रचलित छ। यसलाई कण्ठश्री वा मुगामाला पनि भनिन्छ।

जन्तरमाला

अहिले सबैभन्दा बढी फेसनमा आएको गहना हो-जन्तरमाला। यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ। जन्तरमाला घाँटीमा लगाइने गहना हो। यो अहिलेको टे्रन्डको गहना भएकाले धेरैजसो महिला यही गहनामा हिँड्छन्। पहिले यो गहना तामाङ  समुदायका महिलाहरूले लगाउने चलन थियो तर अहिले यो सबै समुदायका महिलाहरूको लोकप्रिय गहना भएको छ।

फुली

यो महिलाले नाकमा लगाउने गहना हो। यो फूलको आकारको सुनको गहना हो। यसलाई नाकफुली पनि भनिन्छ। नेपालमा नेवार जातिबाहेक प्राय: सबै जातिले लगाउने फुली धेरै प्रकारका हुन्छन् जसलाई झम्के फुली, तारे फुली, डल्ले फुली आदि पनि भनिन्छ। नाकको देब्रे प्वालमा नत्थी लगाउने चलन छ। यसलाई नथिया वा नत्था भनिन्छ। यो गहना विवाहित वा अविवाहित सबै महिलाले लगाउँछन्।

शिरबन्दी

यो सुनको गहना हो। नेवार समुदायमा यो गहना सौभाग्यको प्रतीकका रूपमा सधवाहरूले लगाउने तथा शुभ साइतहरूमा प्रयोग गर्ने चलन छ। नारीले शिरमा लगाउने शिरबन्दी फूलको आकारमा खोपिएको हुन्छ र यसको बीचमा पत्थर जडिएको हुन्छ। यस्तै शिरमा लगाइने अर्को गहना हो, चन्द्रमाला। यो सुन वा चाँदीबाट बनेको हुन्छ। चन्द्रमाला विभिन्न जातिमा प्रचलित छ। यसैगरी शिरमा लगाइने अर्को गहना हो-शिरफूल।

बाला

यो गहनालाई प्रचलित रूपमा चुरा पनि भनिन्छ। महिलाहरूले हातमा लगाउने चुरा सुन, चाँदी वा अन्य बहुमूल्य धातुको मिश्रणबाट बनाइन्छ। बाला चुराभन्दा मोटो हुन्छ।

पोते

यो विभिन्न रंगका काँचका स-साना दानालाई धागोमा उनेर बनाइएको माला हो। यसलाई हिन्दू नारीहरूले घाँटीमा लगाउने सौभाग्यसूचकका रूपमा लिइन्छ।

मंगलसूत्र

यो सुन र पोते जडित घाँटीमा लगाइने लामो गहना हो। विवाहित महिलाहरूले लगाउने यो गहना निकै प्रचलित छ। मंगलसूत्रलाई दुलाहा-दुलहीको बन्धनको प्रतीकका रूपमा पनि लिइन्छ। सामाजिक एवं धार्मिक महत्व बोकेको यो गहनालाई फेसनेबल गहना पनि मानिन्छ।

 Image