Successfully Copied

तीजको महत्व र बदलिँदो रूप

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिकाले सहर-बजार मात्र होइन, गाउँघरलाई समेत छोपिसकेको छ।

- अस्मिता न्यौपाने

नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिकाले सहर-बजार मात्र होइन, गाउँघरलाई समेत छोपिसकेको छ। नेपाली महिलाहरू आफ्नो स्वास्थ्य एवं श्रीमान्को दीर्घायुको कामनासाथ व्रत बस्छन्। यद्यपि समयसँगै हाम्रो यो संस्कार र संस्कृतिमा निकै फेरबदल देखा परेको पाइन्छ। हिजोआज सहरी क्षेत्रमा भड्किलो पारामा तीज मनाइन्छ। तीजको रमझममा पनि पश्चिमेली शैली मिसाउन थालिएको छ, फलस्वरूप तीज केही उत्ताउलो हुन थालेको गुनासो पनि सुनिन्छ भने यसको मौलिकता हराउन थालेको कुरामा धेरैको सहमति पाइन्छ।  

हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेपछि उनको व्रत पूर्ण भएर महादेवलाई श्रीमान्का रूपमा पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन्। यही मान्यता अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाहरूले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन रहँदै आएको छ। तीजमा गीत-संगीतको विशेष महत्व हुन्छ। परापूर्वकालमा विद्युतीय उपकरणहरू नहुँदा समेत महिलाहरू समूहमा भेला भएर गीत गाउँथे भने अहिलेको मेट्रो जमानामा रेडियो तथा टेलिभिजनमा आधुनिक शैलीका गीत एवं नृत्य गुञ्जिन थालेका छन्। पहिले तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासू-बुहारीको कचकच, दु:ख, ईष्र्याजस्ता विषय समावेश हुन्थे। अहिले परिवर्तनले छलाङ्ग मारेको छ। सांस्कृतिक मान्यतास्वरूप महिलाहरू नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका गीत गाउँछन्।

चुल्हा-चौका एवं घरधन्दाको व्यस्ततामा अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन्। यद्यपि अहिले सबै नेपालीको घरमा त्यस्तो अवस्था छैन। टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गर्ने चलन बढेको छ। कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि संचालन गर्ने गरेका छन्। यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ। समयसँगै तीजमा भित्रिएको राम्रो पक्ष भनेको अन्य जात वा समुदायका महिला पनि प्रवेश गर्नु हो। तीज पहिले ब्राह्मण-क्षेत्री समुदायका महिलामा मात्र सीमित थियो भने अहिले यो पर्व नेवार, गुरुङ, राई, लिम्बू, मगर आदि समुदायमा समेत उत्साहका साथ मनाउन थालिएको छ।

तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहँदै आएको छ। एक प्रकारले हेर्ने हो भने तीजमा महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजिएको छ। पुरुषभक्त व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य एवं प्रगति हुने मान्यता छ। भोकै व्रत बस्दा महिलाहरू बिरामी पनि हुने गरेका छन्। तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ। शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नु आवश्यक छ। तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य भने बनाउनु हुँदैन। आजभोलि सहरी क्षेत्रमा बजारिया तीजले स्थान पाउने गरेको छ जहाँ तीजको रौनक साउनदेखि नै सुरु हुन्छ। आफूलाई आधुनिक र सहरिया मान्ने महिलाहरू होटलमा भेला भएर पार्टी गर्छन् र लठ्ठनिे गरी मदिरामा डुब्छन्। यो तीजका नाममा भित्रिएको सबैभन्दा नकारात्मक पक्ष हो। अहिले सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन छ। गहनाका निम्ति अनुत्पादक आर्थिक भार बढिरहेको छ। यस्तो व्यवहार र कामले कालान्तरमा समाजलाई नै असर पारिरहेको हुन्छ।

धार्मिक एवं सांस्कृतिक दृष्टिले यो पर्वका सकारात्मक पक्ष भए पनि केही वर्षयता व्रतको अघिल्लो दिन खाइने दरको स्वरूप परिवर्तन हुँदै गएको छ। कतिपय मध्यम वर्गीय घरका संस्कार फेरिएका छन्। विवाह भएको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढ्न थालेको छ। यसले माइती पक्षले थप आर्थिक भार बेहोर्नुपर्ने बाध्यता सिर्जना गरिदिएको छ। यस्तो चलन प्रचलित कानुनविपरीत पनि देखिन्छ। सामाजिक व्यवहार सुधार ऐन २०३३ अन्तर्गत बनेको सामाजिक व्यवहार नियमावली २०३३ को नियम १२ मा तीजमा पठाइने दरसम्बन्धी व्यवस्था गरिएको छ जसमा तीजमा दर पठाउँदा आ-आफ्नो प्रचलन एवं परम्पराअनुसार मिठाईं र फलफूल आदि बढीमा दुई किस्तीबाहेक अन्य सामग्री पठाउनु हुँदैन भनिएको छ। कानुनी व्यवस्था हेर्दा तीजमा छोरीको घरमा दर पठाउने परम्परा पहिलेदेखि नै रहिआएको पाइन्छ। अहिले यसको स्वरूपमा व्यापक परिवर्तन आएको छ। दर पठाउने क्रममा माइतीबाट छोरीको घरमा सम्धिनीलाई मात्र नभएर जेठानी, नन्द, आमाजूसमेतलाई गरगहना, पहिरन, जुत्ता, शृंगार सामग्री, ११ किसिमका परिकार पठाउनुपर्ने चलन प्रारम्भ भएको छ जुन ऐन र कानुनको बर्खिलाप छ। सामाजिक मर्यादा र व्यवहारको ठाडो उल्लंघनका रूपमा झाँगिदै गएको छ-यो चलन। यसले बुहारीहरूबीच आपसी प्रतिस्पर्धा पनि बढाएको छ। यो चलनको दुष्प्रभाव स्वरूप धेरै बुहारी भएको घरमा कसले कति ल्यायो भनेर अनावश्यक विवाद, ईष्र्या, रिस आदि सिर्जना हुन्छ। कम ल्याउने बुहारीलाई होच्याउने, अपमान गर्ने र बढी ल्याउने बुहारीलाई बढी सम्मान दिने गलत र अनावश्यक प्रतिस्पर्धाले हाम्रो सामाजिक सद्भाव एवं मेलमिलापमै असर पर्छ।

तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ। संस्कारयुक्त तीज सर्वमान्य हुन्छ। तीजको दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो। तीजमा निर्जल, निराहार व्रत बस्नुभन्दा फलफूल खाएर व्रत बस्न सकिन्छ। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वासको विकास गर्नु वान्छनीय हुन्छ। आपसी प्रेम बढाउने यो पर्वमा चौथीका दिन स्नान गरी पारायण व्रत गरेपछि खाना खानुपर्छ। त्यस्तै तेस्रो दिन ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन्। अपमार्ग लेपनले छालामा हुने एलर्जी कम गर्छ। पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात कर्कलाको तरकारीसँग खानुपर्छ। यो दिन श्रीमान्ले पकाएको भोजन खानुपर्छ, जसबाट आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास गरिन्छ।

व्रत बस्दा हामीले स्वास्थ्यका बारेमा पनि ख्याल गर्नुपर्छ। हाम्रो शरीरलाई दैनिक करिब २ हजार २ सय ६० ग्राम क्यालोरी शक्ति चाहिन्छ। भोकै भएको अवस्थामा शरीरको बोसोबाट उक्त क्यालोरी आपूर्ति हुन्छ। त्यसैले दीर्घरोगी र कमजोर मानिसले निराहार बस्नुहँुदैन। भोकै हुँदा शरीरमा भिटामिन र प्रोटिनको मात्रा कमहुन्छ। निर्जल र भोकै व्रत बसेर नाच्दा-घुम्दा शरीरमा ग्लुकोजको मात्र कम भएर हाइपोग्लाइसेमिया हुन सक्छ। व्रत बसेका बेला पानी अनिवार्य रूपमा दुई लिटरभन्दा बढी पिउनुपर्छ। तीजलाई सबै नारीले विशेष अनुशासनसहित उल्लासमय वातावरणमा मनाउनुपर्छ भने सामाजिक मर्यादा कायम राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

 Image