Successfully Copied

सुषमा स्वराज :जसको बोली बिक्छ

शक्ति र सत्तामा नहुँदा धेरैजसो राजनीतिकर्मी ओझेलमा पर्छन्, प्रभावहीन हुन्छन्। उनीहरूले बोलेको कसैले सुन्दैन।

शक्ति र सत्तामा नहुँदा धेरैजसो राजनीतिकर्मी ओझेलमा पर्छन्, प्रभावहीन हुन्छन्। उनीहरूले बोलेको कसैले सुन्दैन। त्यही भएर राजनीतिमा शासन र कुर्सी हात पार्ने होडबाजी चलिरहन्छ तर उमेरले ६२ वर्ष टेकिसकेकी छिमेकी भारतकी नेतृ सुषमा स्वराजलाई त्यस्ता कुनै पनि उतारचढावले कुनै फरक पार्दैन। सरकारमा हुँदा होस् वा विपक्षमा, उनी राजनीति र जनहितको मुद्दामा आफ्नो सशक्त एवं मौलिक प्रस्तुतिले सबैको मन जित्न सफल हुन्छिन्। अप्ठ्यारो राजनीतिक परिस्थितिमा पनि उनी निरीह र कमजोर देखिन्नन्।

कुनै आरक्षण, कोटा, महिला सशक्तीकरणको नारा एवं गैरसरकारी संस्थाहरूको पैरवीबिना एक विशाल प्रजातान्त्रिक मुलुकको राजनीतिमा पकड राख्न सफल स्वराजको तर्कशील एवं विवेकशील व्यवहारको विपक्षी दलहरू पनि प्रशंसक छन्। पार्टीका सांसद तथा विपक्षी नेताहरू पनि उनको मुग्ध पार्ने व्यावहारिक भाषणको पर्खाइमा हुन्छन्। उनी कहिल्यै सांसद र मन्त्री बन्न नेताकहाँ धाउँदिनन्। पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्रीहरूले नै उनीसमक्ष संवेदनशील पदको प्रस्ताव राख्छन्।

सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को एक बलियो खम्बा भैसकेकी सुषमाको विशेष क्षमता र योग्यताका अगाडि कुनै ठूलो पद पनि कमजोर देखिन्छ। 'पदभन्दा व्यक्तित्व ठूलो' भन्ने भनाइ उनको हकमा शतप्रतिशत लागू हुन्छ अर्थात् उनले जुन पद सम्हाल्छिन्, त्यो चर्चामा आउँछ। उनले सम्हालेका विभिन्न मन्त्रालयले भारतमा उत्कृष्ट कार्य गरेर इतिहास रचिसकेका छन्। त्यसैले राजनीतिमा आउने चाहना राख्ने थुप्रै महिलाका लागि उनी आदर्श र अनुकरणीय छिन्। उनी अहिले भारतको विदेशमन्त्री छिन्। पार्टीभित्र उनका नेता नरेन्द्र मोदीसँग कहिल्यै ग्रहदशा र राशि मिलेन तर भाजपालाई बहुमत दिलाउने मोदीले सरकार बनाउने बेलामा सुषमाको उपेक्षा गर्न सकेनन् र उनलाई महत्वपूर्ण विदेश मन्त्रालय सुम्पिए। भारतमा इन्दिरा गान्धीपछि विदेश विभागको महत्वपूर्ण अभिभारा पाउने उनी प्रथम महिला हुन्।

सुषमाले राजनीति एवं संस्कृतमा बी.ए., एल.एल.बी.को शिक्षा हासिल गरेकी छिन्। उनले स्नातक तहमा अध्ययनरत रहँदा सन् १९७० मा उत्कृष्ट विद्यार्थीको पुरस्कार पाएकी थिइन्। उनी अतिरिक्त क्रियाकलापमा सदैव उत्कृष्ट रहिन्। उनको रुचि शास्त्रीय संगीत, कविता, फाइन आर्ट तथा नाटकमा थियो। उनी कविता र साहित्यको इमान्दार पाठक हुन्। सुषमाले कलेजमा लगातार तीन वर्ष सबैभन्दा राम्रो हिन्दी वक्ताको पुरस्कार पाइन्। उनले विश्वविद्यालय स्तरका थुप्रै प्रतियोगितामा प्रभावशाली वक्ताको सम्मान पनि पाइन्। उनी वक्तृत्व र लेखन कला, वादविवाद, स्मरणशक्ति परीक्षण, नाटक एवं अन्य सांस्कृतिक प्रतिस्पर्धामा सधैं प्रथम हुन्थिन्। सुषमा हरियाणाको हिन्दी साहित्य सम्मेलनमा झन्डै ४ वर्ष अध्यक्ष रहिन्।

भावीे पुस्ताको संभाव्य नेतृका रूपमा भारतीय राजनीतिमा उनको प्रवेश सन् १९७० मा विद्यार्थी नेताका रूपमा भएको थियो। सुषमाले सन् १९७३ मा सर्वोच्च अदालतमा अधिवक्ताका रूपमा समेत करियर जारी राखिन्। उनी २७ वर्षकै उमेरमा हरियाणा राज्यमा भाजपाको अध्यक्ष भैसकेकी थिइन्। त्यतिबेला इन्दिरा गान्धी सरकारविरुद्धका थुप्रै प्रदर्शनको आयोजना सुषमाले नै गरेकी थिइन्। उनी असाधारण वक्ता र अभियानकर्ता थिइन्। उनी पारिवारिक पृष्ठभूमिका कारण भाजपामा आबद्ध भएपछि भारतमा संकटकालविरुद्धको अभियानमा सक्रिय रूपले लागिन्। हरियाणा राज्यको अम्बाला सहरमा सन् १९५२ को १४ फेब्रुअरीमा ब्राह्मण परिवारमा जन्मिएकी सुषमाका पिता श्री हरदेव शर्मा भाजपाको सहयोगी संगठन राष्ट्रिय स्वयंसेवक संघका प्रख्यात सदस्य थिए।

सुषमा सन् १९९८ मा दिल्लीको पहिलो महिला मुख्यमन्त्री एवं संसद्मा मुख्य विपक्षी नेता बन्ने पहिलो महिला पनि भइन्। उनले हरियाणा विधान सभामा उत्कृष्ट वक्ताको पुरस्कार पाइन् भने सन् २००८ र २०१० मा उत्तम संासदको पुरस्कारले सम्मानित भइन्। उनी यस्तो पुरस्कार प्राप्त गर्ने एक मात्र महिला सांसद हुन्। उनी निकै साहसी महिला नेतृ मानिन्छिन्। सन् १९९० मा भाजपाले कर्नाटकको बेलरी क्षेत्रबाट सोनिया गान्धी विरुद्ध टिकट दिँदा पनि उनी पछि हटिनन्। सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि त्यो सिट काँग्रेसले नै जित्दै आएको थियो। उनले उक्त निर्वाचनमा कन्नड भाषामै सार्वजनिक सम्बोधन गरेकी थिइन्, जब कि गान्धी परिवारकी बुहारी सोनियालाई ठीकसँग हिन्दी समेत बोल्न आउँदैनथ्यो। सुषमाले मात्र १२ दिनको चुनावी प्रचारमा ३ लाख ५८ हजार मत त प्राप्त गरिन् तर ७ प्रतिशत मतको फरकले निर्वाचन हारिन्। धेरैले उनको उक्त पराजयलाई विजय मानेका थिए। उनले त्यसपछिका कुनै पनि निर्वाचनमा पराजय भोग्नु परेन। उनले जहाँबाट उम्मेदवारी दिए पनि त्यहाँका जनताले त्यसलाई आफ्नो सौभाग्यका रूपमा लिन थाले।

सुषमाले सन् १९९६ देखि २००४ सम्म स्वास्थ्य एवं परिवार कल्याण, संसदीय मामिला र संचार तथा प्रसारण मन्त्रालयको कार्यभार सम्हालिसकेकी छिन्। यो सरकार बन्नुअघि १५ औं लोकसभामा मुख्य विपक्षी नेताको भूमिकामा रहेकी स्वराज ७ पटक चुनाव जितेर संसद् र तीन पटक विधान सभामा पुगेकी छिन्। सन् १९७७ मा उनी २५ वर्षको उमेरमा हरियाणा राज्यमा सबैभन्दा कम उमेरकी मन्त्री बनिन्। सन् १९९६ मा भाजपाका बरिष्ठ नेता अटल विहारी बाजपेयीको नेतृत्वमा गठित १३ दिने सरकारमा सूचना तथा प्रसारण मन्त्री हुँदा उनले संसद्मा हुने छलफलको जनतासमक्ष प्रत्यक्ष प्रसारण गराउने क्रान्तिकारी कदम चालिन्। सर्वोच्च अदालतको अपराधसम्बन्धी मुद्दाका बरिष्ठ अधिवक्ता स्वराज कौशलसँग सन् १९७५ को १३ जुलाईमा विवाह गरेकी सुषमाकी एक मात्र छोरी बानसुरी पनि अक्सफोर्ड स्नातक वकिल हुन्। उनका श्रीमान् स्वराज सन् १९९० मा मुलुकको सबैभन्दा कान्छो गभर्नर तथा सन् २००४ सम्म सांसद रहिसकेका छन्।

 

 Image