Successfully Copied

चलचित्र : मुखौटा

युवाहरू कुलतमा लागेर जीवन बर्बाद गरिरहेको अवस्थामा लागूपदार्थ ओसार-पसार गर्ने गिरोह तथा माफियासम्बन्धी विषयमा आधारित

युवाहरू कुलतमा लागेर जीवन बर्बाद गरिरहेको अवस्थामा लागूपदार्थ ओसार-पसार गर्ने गिरोह तथा माफियासम्बन्धी विषयमा आधारित चलचित्र मुखौटा प्रदर्शनका लागि तयार छ। एक्सन तथा थ्रीलर श्रेणीको यो चलचित्रको निर्माण रविन श्रेष्ठ तथा निर्देशन अर्पण थापाले गरेका हुन्। चलचित्र मुखौटामा राजेश हमाल, सौगात मल्ल, निशा अधिकारी, हषिर्का श्रेष्ठ, प्रशान्त ताम्राकार, रविन तामाङ तथा दयाहाङ राईको महत्वपूर्ण भूमिका छ।

क्यासेट : सानी-सानी

गीतकार बुनु राई मानन्धरले सानी-सानी एल्बम बजारमा ल्याएकी छिन्। स्लो, फास्ट एवं डान्सिङ नम्बरका पप गीतहरू समावेश गरिएको यो एल्बममा ८ वटा गीत समाविष्ट छन्। राजनराज शिवाकोटीको शब्द र संगीतको यो एल्बमका सबै गीतको एरेन्ज राजन ईशानले गरेका हुन्। यसको बजार व्यवस्थापन द रिबेल क्रियसनले गरेको छ।

पुस्तक : तेस्रो रंग

तेस्रो रंग कवि एवं उषा शेरचनको पहिलो कथा संग्रह हो। विधागत रूपमा नयाँ प्रवेश भए तेस्रो रंगमा मूलत: नारी तथा समग्र मान्छेको कथाले जीवन्त अभिव्यक्ति पाएको छ। नेपाली आकाशमुनि बारम्बार देखिने मार्मिक दृश्यहरू नै यो कथासंग्रहका विषय हुन्। यो संग्रहमा अर्को क्षितिज, नरोजेको बाटो, अनपेक्षित बाढी-पहिरो, यक्ष प्रश्न, सीमातीत अस्मिता, पर्दापछाडि, झिनो उज्यालो, अँध्यारो भविष्य, छाउपडी, तेस्रो रंग आदि गरेर जम्मा १६ वटा कथा समावेश छन्। परिणाम, मैले चुमेको आकाश, सीमातीत अस्मिता, छाउपडीजस्ता कथाले नारीभित्र विकसित रूपान्तरणको चेतनालाई अभिव्यक्त गरेका छन्।

कला : सुषमाको गणेश

कलाकार सुषमा राजभण्डारीको यो चित्र भक्तपुरस्थित ज्येष्ठ विनायकको हो। ६ वटा हात भएका यी गणेशलाई बिस्केट जात्राको एक हप्ता पूजा गरिन्छ। मुख्यत: कुमालेहरूको कुल देवताका रूपमा पूजिने  ज्येष्ठ विनायकलाई कलाकार राजभण्डारीले आफ्नै तरिकाले सजाएकी छिन्। नीलो र पहेंलो रंग संयोजन गरेर बनाइएको यो चित्रमा नीलो रंगले विष्णुको अवतारलाई दर्शाएको छ भने महादेवका छोरा भएका कारण त्रिशूल, नाग, रुद्राक्षलाई संकेतका रुपमा राखिएको छ। गणेशलाई मनपर्ने लड्डु र मुसा पनि ६ हाते गणेशका साथै छन्।

 Image