ग्यास्ट्राइटिस हाम्रो राष्ट्रिय रोग

ग्यास्ट्राइटिस हाम्रो राष्ट्रिय रोग
वैशाख २, २०७१

डा. हेमराज कोइराला

मेडिकल डाइरेक्टर, आयुष हस्पिटल सुरुचि मार्ग, नयाँबानेश्वर

ग्यास्टि्रकका रूपमा परिचित पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। ग्यास्ट्राइटिस शब्दलाई हाम्रो जिब्रोले पूरै उच्चारण गर्न नसक्दा ग्यास्टि्रक भन्न थालियो, जसको आम अर्थ ग्यास्ट्राइटिस र ग्यास्टि्रक अल्सर दुवै लाग्छ। चिकित्सकीय भाषामा आमाशयका भित्ताहरूको इन्फ्लामेसन (सुन्निएर रातो-तातो भएर दुख्नु) लाई ग्यास्ट्राइटिस भनिन्छ भने रोग बढेर भित्ताहरूको श्लेष्म झिल्ली च्यात्तिएर घाउ भएको अवस्थालाई ग्यास्टि्रक अल्सर भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा ग्यास्टि्रक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप।

ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ-जीर्ण गरेर दुई समूहमा विभाजन गरिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागि हानि गर्ने पदार्थहरूको सेवनले हुन्छ। ती पदार्थहरूमा पीडा कम गर्ने औषधि (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिनजस्ता औषधि), विष सेवन, मसला, खुर्सानी र नुन बढी हालिएका खानेकुरा तथा जाँड, रक्सी, कोकिनजस्ता मादक पदार्थहरू पर्छन्। आमाशयमा एच.पाइलोरीलगायत अन्य ब्याक्ट्रेरिया, भाइरस, कृमी वा फङ्सहरूको संक्रमणले पनि ग्यास्ट्राइटिस हुन्छ।

जीर्ण ग्यास्ट्राइटिसका कारणहरू भने हाम्रो जीवन, खानपान, मानसिकता, शरीर एवं प्रकृतिसँग जोडिएका छन्। तारिएका-भुटेका मसलेदार खानेकुरा खानेहरू, खुर्सानी र नुन बढी सेवन गर्नेहरू, जाँड-रक्सी, चुरोट, कोकिनप्रेमीहरू, तातो र अति चिसो खाद्यपदार्थ तथा बोतल र बट्टामा संरक्षित खाद्यपदार्थहरूको सेवन गर्नेहरू, फास्ट तथा जंक फुड खानेहरू यो रोगको सिकार हुन्छन्। त्यसैगरी भोक लागेको बेला नखाने, आवश्यकताभन्दा बढी खाने, निश्चित समयमा नखाने, पचाउन कठिन एवं संरक्षित खाद्यान्नहरू खाइरहने, खाएपछि शारीरिक श्रम गरेलगत्तै सुत्ने तथा शारीरिक श्रम गरेलगत्तै खानेहरूमा यो रोग बढी देखिएको छ। व्यस्तता र भागदौडले भरिएको जीवन बिताउनेहरू, मानसिक तनावको चपेटामा परेकाहरू, मनोरञ्जन नगर्नेहरू, भय, चिन्ता, शोक, उदासीनता र अनिद्राका रोगीहरू, शारीरिक श्रम वा व्यायाम नगर्नेहरू पनि यो रोगको सिकार हुने गरेका छन्। लामो समयसम्म जाँड, रक्सी, चिया कफी, कार्बनिक पेय, (कोक-पेप्सी) आदिको सेवन गर्नेहरूमा पनि यो रोग बढी देखिएको छ। यसका साथै ग्यास्ट्राइटिस आत्मघाती प्रतिरक्षा प्रणाली (अटो-इम्युन), पेटको अप्रेसन, कलेजो, मिर्गाैला, फियो तथा आन्द्राहरूको संक्रमण, एचआईभी/एड्स तथा विशेष मानसिक रोगहरूको कारण पनि हुनसक्छ।

लक्षण : छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित्त बढ्नु, मुख बिगि्रनु, पेट भारी हुनु, अपान वायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकी लाग्नु बान्ता हुनु, ढ्याउढ्याउ आउनु, बान्तामा रगत देखिनु, कालो दिसा आउनु, खाना नपच्नु, पेट दुख्नु, तौल कम हुनु आदि।

जटिलता : तयो रोगको समयमै उपचार नभए ग्यास्टि्रक, अल्सरदेखि लिएर क्यान्सरसम्म हुन सक्छ। अल्सर हुँदा बारम्बार रक्तस्रावले गर्दा सामान्य-रक्तअल्पताको समस्या देखा पर्नुका साथै भिटामिन बी-१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा स्नायु तथा नाडीहरूको क्षय, मांसपेशीहरूको कमजोरी, तातो-चिसो थाहा नपाउने तथा रक्तअल्पताका लक्षणहरू देखा पर्छन्। त्यसका अतिरिक्त, अन्ननली सुन्निने, दम बढ्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्राहरूमा घाउ हुने, खानाको पाचन तथा अवशोषण सुचारु नहुने एवं मल निष्काशनमा जटिलता आई कब्जियतका लक्षणहरू पनि देखा पर्न सक्छन्।

उपचार : ग्यास्ट्राइटिस धेरै कारणले हुन्छ। रोगको कारण पत्ता लगाएर समयमै उपचार गरे रोग निवारण गर्न सकिन्छ। दीर्घ-जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्नु जरुरी हुन्छ। यहाँ जीवनशैली परिवर्तनको अर्थ आफ्नो भोजन, व्यायाम, विश्राम, विचार एवं व्यवहारलाई स्वास्थ्यमैत्री हुने गरी समायोजन गर्नु हो।

भोजन व्यवस्थापन

-     बट्टा र बोतलमा संरक्षित खाद्यपदार्थहरू, फास्ट तथा जंक फुडहरू, बढी मसला, खुर्सानी तथा नुन हालिएका तथा अजिनोमोटो, सोडियम बाइकार्बोनेट, सोडियम बेन्जोएट आदि मिसाइएका खाद्य पदार्थबाट टाढै बस्ने।

-    अचार, कुरकुरे, आलुचिप्स, पाउँ, चाउचाउ, बिस्कुट, नुडल्स आदिले पनि ग्यास्ट्राइटिस बढाउँछन्। चिया, कफी, कोल्डडि्रङ्स, आइसक्रिम एवं चकलेटजस्ता लेह, बेकरी तथा मैदाका उत्पादन आदिका साथै माछा-मासु आदि पनि भरसक नखाने वा कम खाने।

-    चिल्लो र धेरै बोसो भएको खानेकुरा नखाने। अमिलो र पिरो जातका फलफूलहरूको सेवन पनि नगर्ने।

-    दाल, भात, तरकारी वा अन्य खानेकुरा राम्रोसँग चपाएर खाने। नचपाई खाएको खानाले पेटलाई पचाउन अतिरिक्त दबाब दिने हुँदा ग्यास्ट्राइटिसको सम्भावना बढी हुन्छ।

-    कुनै खाना खाएपछि अम्लपित्त बढ्छ भने त्यस्तो खाना नखाने।

-    भोजन गर्दा भरसक कम पानी पिउने।

-    भोजनको समय निश्चित गरी दैनिक उही समयमा भोजन गर्ने। दिनमा होस् वा रातमा भोजनपछि सुत्ने बानी त्याग्ने। भोजन र निद्राको बीचमा कम्तीमा पनि ३ घन्टाको अन्तर हुनुपर्छ।

-    भोक लाग्नेबित्तिकै हल्का केही खाने।

-    बढी तातो तथा चिसो खाद्य वस्तु परहेज गर्ने। नुन, चिनी तथा मैदाका परिकार पनि त्यति उपयुक्त हुँदैनन्।

-    रेसा र चोकरयुक्त खस्रा-मोटा खानेकुराहरू, साग-सब्जी, सलाद-फलफूल, अङ्कुरित अन्न, फलको रस, ताजा मोही एवं लस्सी सेवन गर्ने।

-    स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जिरा आदिलाई भोजनमा समावेश गर्ने।

-    प्रशस्त पानी पिउँदा ग्यास्टि्रक एसिडले आमाशयमा बाधा पुर्‍याउँदैन।

व्यायाम तथा प्राकृतिक उपचार

-    अङ्ग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रात: भ्रमण, दौडने, कुद्ने, योगाभ्यास, सूर्य-नमस्कार आदि विधि ग्यास्ट्राइटिस कम गर्न सहायक हुन्छन्।

-    वज्रासन, पवनमुक्तासन, सर्वाङ्गासन, भुजङ्गासन, धनुरासन, ताडासन एवं त्रियकताडासन आदि आसनका साथै अनुलोम-विलोम, शीतली, सित्करी, वामनासिकाजस्ता श्वसन विधिले पनि यो रोगमा फाइदा पुर्‍याउँछन् तर रोगको अवस्था तीव्र छ भने यी विधि प्रयोग गर्नु हुँदैन।

-    जलनेती (नाकको सफाइ) कुञ्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) आदि उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्‍याउँछन्।

-    पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो-हेपेटिक-प्याक, नौली तथा गणेश क्रियाको अभ्यास एवं अकुपन्चर तथा अकुप्रेसरजस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा फाइदा पुर्‍याउँछ।

विश्राम व्यवस्थापन

-    ग्यास्ट्राइटिस, तनावपूर्ण जीवन बिताउनेहरू, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीहरूलाई भैरहने रोग हो। त्यसैले तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो।

-    शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड-साउन्ड- रेसोनेन्स-टेक्निक, प्राणिक- इनरजाइजिङ - टेक्निक,  सेल्फ- मेनेजमेन्ट-अफ- एक्सेसिभ- टेन्सन, जेकब्सन-प्रोग्रेसिभ-मसल्स- रिल्याक्सेसन टेक्निक, डिप-रिल्याक्सेसन-टेक्निक, क्विक- रिल्याक्सेसन- टेक्निक,  इन्स्टेन्ट- रिल्याक्सेसन- टेक्निकजस्ता विश्रामका विधिहरू सिकेर अभ्यास गरौं।

-    सम्पूर्ण शरीरको मालिस, तैलाभ्यङ्ग, वाष्पस्नान, सौना स्नान, फोहोरा स्नान, पौडिनु, तैरिनु आदि उपचार पद्धतिले पनि विश्रामलाई बढाउँछ।

सावधानी

-    पीडा कम गर्ने तथा अन्य औषधिहरू चिकित्सकको सल्लाहमा मात्र खाने।

-    चिकित्सकले दिएको औषधि पूर्णरूपले सेवन गर्ने।

-    कलेजो, मिर्गाैला, फियो तथा आन्द्राको रोग भएकाहरूले रोगको हेरचाहमा सावधानी अपनाउने।

-    पेट तथा छातीको अप्रेसन गराउँदा ग्यास्टि्रक हुने सम्भावना बढी हुने हुँदा सावधानी अपनाउने।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>