Successfully Copied

साँचो सशक्तीकरणको

आजको समय हावाको झोक्काजस्तो दु्रत छ। यसले कसैलाई पर्खदैन र हरेक पल करिअर उत्कर्षमा पुर्‍याउने चाहना राख्नेहरूका लागि यो अत्यन्त महत्वपूर्ण छ।

आजको समय हावाको झोक्काजस्तो दु्रत छ। यसले कसैलाई पर्खदैन र हरेक पल करिअर उत्कर्षमा पुर्‍याउने चाहना राख्नेहरूका लागि यो अत्यन्त महत्वपूर्ण छ। हिजोका मानिसहरू करिअरभन्दा पनि दैनिक जीवन बिताउन अत्यावश्यक चीजहरूको चाँजोपाँचोमै आफ्नो जीवनको उत्तरार्ध काटिसकेका हुन्थे तर आज समय, चाहना, रुचि र रहरहरू फेरिएका छन्। मानिस आफूलाई अरूको तुलनामा पृथक् राख्न तथा आफ्नो शारीरिक, मानसिक, बौद्धिकलगायतका समग्र विकासका लागि प्रत्येक पल प्रयासरत छ। यसका लागि ऊ शिक्षा, स्वास्थ्य, रोजगारी, अधिकारजस्ता कुरामा सधैं चनाखो रहन्छ। यी समग्र कुराको संमिश्रणले मानिस सशक्त व्यक्तित्वमा दरिन्छ।

महिलाको विषयमा कुरा गर्नुपर्दा आजका महिला आफूलाई हरेक कोणबाट सशक्त साबित गर्न चाहन्छन्। करिअरमुखी यो समयको प्रतिस्पर्धात्मक होडमा हरेक महिला आफूमा सर्वगुण तथा शक्तिको अपेक्षा गर्छन्। यिनै छुट्टाछुट्टै शक्ति एकत्रित ढिक्कामा मिलेपछि मात्र सशक्तीकरण हुन्छ।

अमेरिकी फस्र्ट लेडी मिचेल ओबामाले भनेकी छिन्-म ती नारीलाई शक्तिशाली मान्छु जो घरपरिवार, कार्यक्षेत्र, सामाजिक दायित्व आदिलाई सन्तुलित ढंगले हाँक्न सक्षम छन्। उनका अनुसार करिअरमा सफल तर पारिवारिक जीवनमा तनावग्रस्त महिला सशक्त महिलामा नपर्न सक्छन्। सशक्त हुनका लागि चौतर्फी शक्ति र क्षमताको आवश्यकता हुन्छ। टेलिभिजन संसारकी सशक्त महिला अर्थात् टेलिभिजन क्विन ओप्रा बिन्सफ्रीका अनुसार ठूलो मासमा सशक्तीकरणको चर्को भाषण दिनसक्ने तर घरमा आएर स-साना कुरामा चित्त दुखाउँदै रोएर बस्ने वा यी र यस्ता कारणले तनावमा रहनेहरू पनि सशक्त मानिँदैनन्। सशक्त नारी ती हुन् जसले आफूलाई चट्टानको पहाड जसरी उभ्याएर जस्तोसुकै आँधीबेहरीलाई पनि आएकै दिशातर्फ फर्काउन सफल हुन्छन्। उनीहरू आफ्नो निर्णयमा अडिग रहन्छन्।

सशक्तीकरणलाई इम्पावरमेन्ट सर्कलले यसरी व्याख्या गरेको छ-सशक्तीकरण त्यो सूत्र हो जसले नरमलाई कठोर र काँचोलाई परिपक्व बनाउने शक्ति राख्छ। सशक्तीकरणभित्र त्यो क्षमता हुन्छ जो संसारका अगाडि कहिल्यै झुक्दैन। त्यसो त सशक्तीकरणको अर्थ व्यापक छ। यसलाई एकैपटकमा एउटै शब्द वा लेखमा व्याख्या गर्न असम्भव छ र पनि यसमा प्रमुख आधार शिक्षा, स्वास्थ्य, रोजगारी, आत्मविश्वास, आर्थिक स्तर, आफ्नो अधिकारका बारेमा सचेतना आदि हुन्। शिक्षाले मानिसलाई सचेत र जागरुक बनाउँछ भने स्वास्थ्यले तिनको कार्यान्वयन गर्न आवश्यक शारीरिक एवं मानसिक बल प्रदान गर्छ। अधिवक्ता विनीता कार्की भन्छिन्-जति नै पढेलेखेको किन नहोस् आफ्नो कानुनी वा अन्य अधिकारका बारेमा थाहा छैन भने स्वतः उसमा आत्मबल घटेर जान्छ। जसले ऊ सशक्त बन्ने सबै ढोका बन्द गर्छ। स्वरोजगारीले आत्मविश्वास बढाउँछ भने अधिकारसम्बन्धी सचेतनाले आफू हुनुको दायित्वबोध गराउँछ। यसैमा जोडिएर आउने विषय हुन् आफूले लगाउने परिधानमा सतर्कता तथा सौन्दर्य। यी दुई कुराले पनि कतै न कतै कुनै न कुनै रूपमा  सशक्तीकरणका लागि विशेष भूमिका खेलेका हुन्छन्।

के हो महिला सशक्तीकरण ?

सामान्य शब्दमा महिला सशक्तीकरण भन्नाले त्यस्तो सुन्दर वातावरण जहाँ महिलाको व्यक्तिगत विकासमा महिला स्वयंको निर्णयले काम गर्छ जसले समानतामूलक समाजको उदय हुन्छ। महिला स्वयंले निर्णय गर्न सक्ने स्तरसम्म पुग्न हाम्रो देशमा मात्र होइन संसारभर नै चुनौतीका चाङ छन्  तैपनि संसारमा कतिपय यस्ता सशक्त महिला छन् जसले आफू र आफ्नो समाज मात्र नभएर मुलुक हाँक्ने क्षमता देखाएका छन्। उनीहरू सही निर्णयमा चुक्दैनन् र आफ्नो निर्णय छोड्दैनन् पनि। एउटी महिलाको निर्णयले विश्व हलचल भएका घटना इतिहासमा उल्लेख छन्।

पौराणिक कालकी द्रौपदीको निर्णय पाण्डवहरूमा मात्र होइन तत्कालीन समयमा भारत वर्षभरि नै सर्वोपरि मानिन्थ्यो। अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरीहरू विवाहित भएर पनि जीवनभर कन्या नै कहलाए। उनीहरूलाई जसले बिहान उठेर सम्झना गर्छ उसको जन्मभरको पाप नष्ट हुन्छ भन्ने कुरा धर्मग्रन्थहरूमा उल्लेख छ।

यसैगरी संयुक्त राष्ट्रसंघले आर्थिक सशक्तता र लैङ्गकि समानतालाई मुख्य केन्द्र बनाई महिला सशक्तीकरणमा जोड दिएको छ। राष्ट्रसंघका अनुसार महिला आर्थिक रूपमा सबल भए तथा उनीहरूसँग पुरुषसरह व्यवहार गरिए मात्र सशक्तीकरण सम्भव छ। त्यसका अतिरिक्त राष्ट्रसंघले लैङ्गकि तथा घरेलु हिंसा न्यूनीकरणद्वारा महिला सशक्तीकरणको कुरा पनि उठाएको छ।

सशक्तीकरणको बाधक

नेपालमा मात्र नभएर अहिलेको समयमा संसारभर सशक्तीकरणको बाधकका रूपमा रहेको मुख्य विषय भनेको महिला शिक्षा र आर्थिक सशक्तीकरण हो। नेपालको सन्दर्भमा भने परम्परागत सामाजिक परम्परा, पितृसत्ता, महिलाका पक्षमा कानुनी अधिकार तथा नीतिगत कुराहरू, घरेलु हिंसा, विभेद, समान अवसर आदि सशक्तीकरणका प्रमुख बाधकका रूपमा देखिएका छन्। त्यसबाहेक अन्य थुप्रै व्यवधान नभएका होइनन्। सशक्तीकरण अभियन्ता देवराज दाहाल लेख्छन्-महिलाका लागि समानतामूलक समाज र सम्भ्रान्त वातावरण निर्माणका लागि आज नेपाली महिलाहरू राजनीतिमा होमिएका छन्। उनीहरू समानता चाहन्छन्। कानुन, नीति र व्यवहारमा उनीहरू महिलाका लागि समान नियम चाहन्छन्। लिङ्गका आधारमा हुने हिंसा अन्त्य गरी लैङ्गकि सशक्तीकरण नेपाली महिलाको चाहना हो। मुख्य कुरा त उनीहरू सामाजिक परिवर्तन चाहन्छन्। वाषिर्क रूपमा २२ हजार ६ सय ५५ जनाभन्दा बढी नेपाली महिला कामको खोजीमा बिदेसिन्छन् जसमा खाडी मुलुक नै पहिलो गन्तव्य बन्ने गरेको छ जहाँ मानसिक, शारीरिक आदि हिंसाको बाहुल्य छ। यस्तो अवस्थामा सशक्तीकरण नेपाली महिलाका लागि आकाशको फलजस्तै भएको छ। दाहालका अनुसार अशिक्षा, चेतनाको अभाव, परनिर्भरता, परम्परागत सामाजिक सोच आदि नेपाली महिलाका सशक्तीकरणका प्रमुख बाधक हुन्।

बाधा हटाउन

- शिक्षा

शिक्षा पनि सशक्तीकरणको प्रमुख पाटो हो । शिक्षाले चेतनाको ढोका खोल्ने काम गर्छ । त्यतिमात्र होइन शिक्षाले हरेक क्षेत्रमा प्रतिस्पर्धाका लागि योग्य बनाउँछ । जब मानिस प्रतिस्पर्धामा खरो उत्रन सक्छ तब आफसेआफ उसमा आत्मबल बढ्दै जान्छ । उसलाई स्वनिर्णयको स्तरसम्म पुर्‍याउँछ । महिला शिक्षामा जोड दिन सरकारले विभिन्न स्किम तथा कार्यक्रम ल्याउनु जरुरी छ ।

- स्वास्थ्य

स्वास्थ्य यस्तो विषय हो जसले मानव जीवनमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पढेलेखेका, आफ्ना सारा अधिकार थाहा पाएका महिला भए पनि स्वस्थ छैनन् भने सशक्त महिलामा गनिन कठिन हुन्छ । देशको स्वास्थ्य नीति कमजोर भएका कारण बर्सेनि हजारौं आमा मृत्युको चपेटामा परिरहेका छन् । छाउपडीप्रथा र सुत्केरी अवस्थामा गोठमा राख्नुपर्ने परम्पराका कारण सयौं महिलाले विभिन्न रोगको संक्रमणका कारण ज्यान गुमाइरहेका छन् । गर्भावस्थामा स्वास्थ्यको ख्याल नराख्दा थुप्रै महिलाले रक्तअल्पता तथा अन्य रोगका कारण अकालमै मृत्युवरण गरिरहेका छन् । यस्तो स्थितिमा नेपाल सरकारले महिलाका पक्षमा बलियो स्वास्थ्य नीति ल्याउनुपर्ने आवश्यकता देखिन्छ ।

- कानुन

महिला मात्र होइन मानव सशक्तीकरणका लागि चेतना प्रमुख र अत्यावश्यक कुरा हो। त्यसपछि मात्र राज्यद्वारा निर्मित कानुन एवं नीतिगत कुराहरू आउँछन् । मूल संयन्त्रका रूपमा रहने राज्यको कानुनले महिलालाई कसरी हेरेको छ त्यसमै महिला सशक्तीकरण निर्भर रहन्छ।  जुनसुकै समाज वा राष्ट्रको समग्र विकासका लागि त्यहाँको कानुन बलियो हुनुपर्छ भनिन्छ तर कानुन मात्र भएर त्यसको खासै अर्थ हुँदैन जबसम्म त्यसको व्यावहारिक कार्यान्वयन हुँदैन तबसम्म किताबी कानुनले मूर्तरूप लिन सक्दैन। व्यवहारमै राज्यका हरेक कानुन समान र महिलामैत्री हुनुपर्छ।

- कानुनी अधिकारसम्बन्धी ज्ञान

जति नै शिक्षित भए पनि मेरो अधिकार के हो ? यसभित्र के-के कुरा पर्छन् ? यो कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुराको ज्ञान छैन भने आफूले पाउनुपर्ने अधिकारबाट पनि वञ्चित हुनुपर्ने अवस्था आउँछ। महिलाका पक्षमा के-कस्ता कानुनी अधिकार छन् भन्ने विषयमा छलफल, अन्तक्रिर्या, सञ्चारमाध्यम आदिमा पनि रुचि हुनुपर्छ।

- आत्मविश्वास

उपर्युक्त कुरा हुँदाहुँदै पनि आत्मविश्वास छैन भने केही हुँदैन। जबसम्म आत्मविश्वासको कमी रहन्छ पस्किएको खाना पनि अरूका अगाडि खान पनि कठिन हुन्छ तसर्थ महिला सशक्त हुनका लागि आत्मविश्वास सबैभन्दा प्रमुख कुरा हो। आत्मविश्वास बढाउन विविध खालका तालिममा सहभागी हुने, सामूहिक काममा मिसिने, राम्रा मानिसको संगत गर्ने आदि काममा लाग्नुपर्छ।

- रोजगारी

रोजगारीले स्वनिर्णयको ढोका खोल्न सहयोग पुर्‍याउँछ। स्वआर्जन हुनेबित्तिकै आफ्ना मात्र होइन बालबालिकाहरूका आवश्यकता कसैको सहाराबिना पूरा गर्न सकिन्छ। आवश्यकता पूर्तिका लागि परनिर्भर बन्नुपर्ने परिस्थिति गुज्रदै जान्छ र आत्मनिर्णयको क्षमता बढ्दै जान्छ। कुनै न कुनै रूपबाट परिवारमा आफ्नो योगदान पुग्नेबित्तिकै त्यहाँ आफ्नो निर्णयले काम गर्न थाल्छ। सशक्तीकरणका लागि यो एउटा अत्यावश्यक तत्व हो।

- फेसन

फेसन त्यो हो जसले व्यक्तिलाई सहज महसुस गराउँछ। लगाएको पहिरनमा मात्र होइन मानिसका अगाडि कसरी प्रस्तुत भइन्छ अर्थात् असहज महसुज गर्छ वा सहज ? फेसन त्यसमा निर्भर रहन्छ। उच्च शिक्षित, सम्भ्रान्त, प्रोफेसनल महिला भए पनि फोहोर वा शरीरमा नमिलेको पहिरनमा छिन् भने उनलाई अरूका अगाडि प्रस्तुत हुने आँट हुँदैन। व्यक्तिले आफूलाई भित्रैदेखि कमजोर महसुस गर्छ। आजको व्यावसायिक जमानामा फेसनले पनि कुनै न कुनै कोणबाट महिला सशक्तीकरणमा भूमिका खेलिरहेको हुन्छ।

- सौन्दर्य

सुन्दर वस्तुतर्फ सबैको आकर्षण रहन्छ। हेर्ने आँखालाई पनि शीतलता मिल्छ, मन फुरुङ्ग हुन्छ। सुन्दरताले खुसी प्रदान गर्छ। जब मानिस भित्रैदेखि खुसी हुन्छ तब उसलाई ताजा महसुस हुन्छ, काम गर्ने उत्प्रेरणा मिल्छ। सौन्दर्यले मानिसमा भएका धेरै गुण र क्षमतालाई प्र्रस्फुटन गराउनुका साथै आत्मबल पनि बढाउँछ। हरेक मानिस सुन्दर जन्मन्छन् भन्ने विद्वान्हरूको भनाइ छ। क्रमशः तिनलाई अझ सुन्दर बनाउने काम विभिन्न कम्पोनेन्टहरूले गर्छन्। उनीहरूको काम, व्यक्तित्व, शिक्षाजस्ता धेरै चीज यसभित्र पर्छन्। व्यक्तित्वलाई निखार्ने काम सौन्दर्यले गर्छ। बलियो व्यक्तित्व भएको मानिसमा धेरै गुण हुन्छन्। यसरी हेर्दा नारी सशक्तीकरणमा सौन्दर्यले महत्वपूर्ण भूमिका खेल्छ।

सशक्तीकरणका लागि आवश्यक कुरा ।

- शिक्षा।

- स्वास्थ्य।

- रोजगारी।

- आर्थिक निर्भरता।

- आत्मविश्वास।

- आफ्नो अधिकारका सम्बन्धमा सचेतना।

- स्मार्टनेस।

- गुड ड्रेस सेन्स।

- सुन्दरता।

राज्यलक्ष्मी नकर्मी, पूर्व उप-निर्देशक, शिक्षा विभाग, शिक्षा मन्त्रालय

शिक्षा यस्तो कसी हो जसले चेतनाको आँखा खोल्छ। जब मानिस आफ्नो हक तथा आफ्ना अन्य व्यक्तिगत अधिकारका सम्बन्धमा सचेत हुन्छ तब उसले आफ्नो विकास चाहन्छ। एउटा व्यक्ति पूर्णरूपमा सशक्त हुन अन्य थुप्रै तत्व चाहिन्छ तर मेरो विचारमा शिक्षा प्रमुख कुरा हो। शिक्षाले धेरै कुराको ढोका खोल्छ। मेरै व्यक्तिगत कुरा गर्नुपर्दा सामान्य स्कुल शिक्षिका हुनुअघिको म र त्यसअघिको ममा निक्कै भिन्नता छ। जब म समूहमा गएर आफ्ना कुरा व्यक्त गर्न सक्ने भएँ तब ममा आत्मविश्वास बढ्दै गयो। शिक्षाकै प्रतिफल आज मैले आफूलाई एक सशक्त नारी भन्न पाएकी छु।

नेपाली महिलाको सशक्तीकरणका लागि सरकारले धेरै यस्ता शिक्षामूलक कार्यक्रम अगाडि ल्यायो र ल्याइरहेको पनि छ तर हाम्रो पितृसत्ता र महिलालाई फरक स्थानमा राखेर हेर्ने समाजका कारण कतिपय बाधा-व्यवधान पनि देखापरिरहेका छन्।

मेनुका थापा, संस्थापक अध्यक्ष, रक्षा नेपाल

मैले काम गर्दाको भोगाइ भनौं वा अनुभव, महिला सशक्तीकरणका लागि स्वआर्जन प्रमुख कुरा रहेछ। त्यसपछि मात्र अन्य अधिकारका कुरा आउँदा रहेछन्। नारी अधिकारका सम्बन्धमा लड्ने क्रममा मैले आफ्नो संस्थाका दिदीबहिनीहरूलाई आर्थिक सशक्तताका लागि विभिन्न तालिम प्रदान गरिरहेकी छु। रक्षा नेपालका दिदीबहिनीहरू टेम्पो-माइक्रो चलाउनेदेखि, सिलाइ-बुनाइ, हस्तकला आदि तालिममा सहभागी भैरहेका छन्। तालिमपछि स्वरोजगार भएकाहरूमा स्वनिर्णयको क्षमता पनि बढेको छ। हातमा दुई-चार पैसा भएपछि उनीहरूमा आत्मविश्वास बढेको छ। जब आत्मविश्वासले स्वनिर्णय बढाउँछ तब महिला सशक्तताको ढोका खुल्छ।

बिमला थापा, पूर्व एआइजी

महिला सशक्तीकरणका विषयमा बोल्दा म सधैं आत्मविश्वास बढाउने सन्देश दिइरहेकी हुन्छु। कतिपय शिक्षितहरू पनि आफ्नो रुचि, रहर र आकांक्षा परिवारका सामु व्यक्त गर्न नसक्दा घरभित्रै सीमित भएर बस्नुपरेका उदाहरण छन्। जबसम्म आफूमा त्यो आत्मबल हुँदैन जति नै पढेलेखेको भए पनि धनाढ्य भए पनि वा राम्री भए पनि यी सबै चीज व्यर्थ हुन्छन्। यिनको उपयोग तबमात्र गर्न सकिन्छ जब आफूभित्र म पनि समाजका अगाडि केही गर्न सक्छु भन्ने आत्मविश्वास हुन्छ। म आत्मविश्वासकै कारणले आज यहाँसम्म आइपुगें। कामका साथमा आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदा यो सम्भव भयो। मैले पनि पहिले उच्च शिक्षित भएर वा सबै कुरा जानेर एकैपटकमा यो स्थान पाएकी  होइन। नारी सशक्त हुनु छ भने आफूभित्रको मलाई चिनेर आफूमा आत्मबल भर्नु जरुरी छ। सरकारले पनि महिलाको आत्मविश्वास बढाउन विभिन्न तालिम कार्यक्रम संचालन गर्नुपर्छ।

कमला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद् तथा अध्यक्ष सौन्दर्यकला व्यवसायी संघ नेपाल

भनिन्छ-सुन्दर महिलाको ५० प्रतिशत काम त्यसै फत्ते हुन्छ अर्थात् त्यसमा उनको सुन्दरताले काम गरेको हुन्छ बाँकी ५० प्रतिशतमा मात्र, ज्ञान, विवेक एवं मस्तिष्क प्रयोग गर्नुपर्छ। नारी सशक्तिकरणका लागि सौन्दर्य आवश्यक छ। सौन्दर्य नै आत्मविश्वास बढाउने कसी हो। आफ्नो व्यक्तित्वमा ध्यान नदिने हो भने समग्रमा पूर्ण महिला हुन सकिँदैन। व्यक्तित्व निखार्ने काममा सौन्दर्यको महत्वपूर्ण भूमिका हुन्छ। फोहोर अनुहार, नमिलेको केश वा साधारण शब्दमा लत्पतिएको गाजल र लिपिस्टिक लगाएका कुन महिला भीडको अगाडि जाने हिम्मत गर्लान् ? यदि आफ्नो अनुहार र व्यक्तित्व सुहाउँदो हेयर स्टाइल, मेकअप छ भने अरूका अगाडि पर्ने आत्मविश्वास बढेर आउँछ। सबैले उनको प्रशंसा गर्छन् र उनका कतिपय निर्णय स्वीकार्य हुन्छन्।

ज्ञानीशोभा तुलाधर, संस्थापक नमुना कलेज अफ फेसन टेक्नोलोजी

भनिन्छ-शिक्षित भएर मात्र हुँदैन स्मार्ट चाहिन्छ, पैसा भएर मात्र हुँदैन त्यसको उपयोग गर्ने कला पनि चाहिन्छ, सुन्दर भएर मात्र हुँदैन प्रिजेन्टेवल हुनुपर्छ, आफूमा ज्ञान भएर मात्र हुँदैन त्यसलाई प्रस्तुत र प्रस्फुटन गर्ने खुबी चाहिन्छ। महिला सशक्तीकरणको विषयमा कुरा गर्नुपर्दा अहिलेको जमानामा फेसनले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मलाई लाग्छ। आफ्नो शरीर सुहाउँदो पहिरन मात्र होइन आफूलाई अरूका अगाडि कसरी प्रस्तुत गरिन्छ त्यो पनि यसैभित्र पर्छ। अरुसँग कुरा गर्न हिच्किचाउने, कसैको छेउमै पर्न डराउने व्यक्तिलाई फेसन कन्सियस मानिँदैन जुन आत्मविश्वाससँग पनि जोडिएर आउँछ। जसले भित्रैदेखि कन्फिडेन्ट फिल गर्छ उसलाई सशक्त नारी मान्न करै लाग्छ।

डा. हीरामन प्रधान, संस्थापक-सेवा (कुष्ठ रोग निवारण संघ)

महिला सशक्तीकरणका लागि स्वास्थ्य अत्यावश्यक कुरा हो। व्यक्ति स्वस्थ भए नै उसले लेखपढ गर्न, जागिर खान अनि करिअरमा अघि बढ्न सक्छ। यदि ऊ स्वस्थ छैन भने सबै कुरा भएर पनि केही गर्न सक्दैन। एउटा मेडिकल डाक्टरका हैसियतले एउटी नारी पूर्णरूपमा सशक्त हुनका लागि सबैभन्दा पहिले उनी शारीरिक एवं मानसिक रूपमा स्वस्थ हुनुपर्छ। भारतमा पनि महिला सशक्तीकरणको अभियानमा महिला स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखिएको थियो। आज हाम्रो नेपालमा कतिपय आमा कुपोषणका कारण पनि मृत्युको मुखसम्म पुगिरहेका छन्। एकाध सहरी क्षेत्रमा सहज स्वास्थ्य सेवा उपलब्ध भयो भन्दैमा यो विषयलाई नकार्न मिल्दैन। ७० प्रतिशतभन्दा बढी ग्रामीण बस्तीले भरिएको हाम्रो मुलुकमा सरकारले महिलाका लागि प्रभावकारी निःशुल्क स्वास्थ्य नीति एवं जनचेतनामूलक कार्यक्रममा जोड दिए मात्र महिला सशक्तीकरण सम्भव छ।

विनीता कार्की, अधिवक्ता तथा केन्द्रीय सदस्य, नेपाल बार एसोसियसन

महिला सशक्त हुन कानुनी अधिकारका सम्बन्धमा जानकार हुनु कत्तिको जरुरी छ ?

व्यक्ति जति नै शिक्षित भए पनि उसमा कानुनी ज्ञान छैन भने स्वतः पछाडि पर्दै जान्छ। नेपालको कानुनमा महिलाका पक्षमा भएका कतिपय नीतिका बारेमा थाहा नपाउँदा आज हजारौं महिला रोएर बस्नु परेको अवस्था छ। सम्पत्तिमा अधिकार भए पनि सूचनाको पहुँचको कमीका कारण आफ्नो अधिकार लिन नसकिरहेको स्थिति छ तसर्थ महिला सशक्तीकरणका लागि यो नभई नहुने कुरा हो।

यसका लागि थाहा पाउनुपर्ने कानुनी अधिकार के-के हुन् ?

सम्पत्तिसम्बन्धी अधिकार, स्वआर्जनको अधिकार, वैयक्तिक अधिकार, प्रजनन् अधिकार, वैवाहिक बलात्कारसम्बन्धी अधिकार, विवाहसम्बन्धी अधिकार, सम्बन्धविच्छेदको अधिकार थाहा नपाई नहुने आधारभूत अधिकार हुन्। त्यसबाहेक अन्य थुप्रै अधिकार छन् जसका सम्बन्धमा हामी महिलाहरू सतर्क हुनु जरुरी छ।

उजुरी गर्न कहाँ जाने ?

साधारणतया वडा, नगरपालिका, जिल्ला अदालत, सिडिओ कार्यालय, न्यायिक तथा अर्धन्यायिक निकायमा जानुपर्छ।

कानुनी अधिकारका सम्बन्धमा कसरी सचेत हुने ?

कानुन नै पढ्नुहोस् त भन्न मिलेन र पनि कानुनी ज्ञानका सम्बन्धमा चासो राख्नुपर्छ। कानुनसम्बन्धी पुस्तक पढ्ने, पत्रपत्रिका तथा टेलिभिजमा समाचार एवं कार्यक्रम सुन्ने, हेर्ने, यससम्बन्धी तालिममा चासो राखेर सहभागी हुने, जानकारहरूसँग सोध्ने-बुझ्ने, समस्या नै पर्‍यो वा त्यतिले पनि नभए वकिलसँग परामर्श लिने।

नेपालमा हिंसा, बलात्कार, वैदेशिक रोजगारीमा समस्या, चेलीबेटी बेचबिखन आदि समस्या व्याप्त छन्। के यी सबै हुनुको कारण कानुनी अधिकारका सम्बन्धमा जानकार नहुनु नै हो त ?

घरबाहिर मात्र होइन पुरुषवादी सोचका कारण घरभित्रै पनि महिलाहरू हिंसाको सिकार भैरहेका छन्। प्रायः नेपाली महिला इज्जत-प्रतिष्ठाको डरले वैवाहिक बलात्कार सहेर बस्न बाध्य छन्। वैदेशिक रोजगारीमा समस्या आएको चाहिँ कानुनी रूपमा सशक्त नभएर हो। मुख्यतः पुरुषवादी सोच र कानुनी रूपमा सशक्त नहुनाले यस्तो भएजस्तो लाग्छ।

-    सन् १९९२ र १९९४ मा सम्पन्न राष्ट्रिय निर्वाचन तथा १९९२ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपालभरबाट जम्मा ११ जना महिला गाउँ विकास समितिको अध्यक्ष पदका लागि प्रत्यासी भएका थिए।

-    सोही निर्वाचनमा १८ जना महिला गा.वि.स. को उपाध्यक्ष पदमा आए भने प्रतिनिधि सभा सदस्यका रूपमा निर्वाचित हुन महिलाको संख्या ७ मात्र थियो।

-    सन् १९८७-८८ मै गाउँ पञ्चायतमा १२ जना महिलाले अध्यक्षता ग्रहण गरिसकेको देखिन्छ भने ७ जना महिला उपाध्यक्ष थिए। त्यतिबेला ८ जना महिला राष्ट्रिय पञ्चायतका सदस्य थिए।

स्रोत ः राष्ट्रिय निर्वाचन आयोग

-    राजनीतिमा महिला सहभागिताले मात्र महिला सशक्तिकरण पूर्ण हुँदैन।

-    संयुक्त राष्ट्रसंघ मानव विकास रिपोर्ट (लैङ्गकि विषय, १९९५)

महिलाले राजनीतिमा निरन्तरता दिन नसक्नुको कारण अड-आवर जब, राति पनि घरबाहिर रहनुपर्नेजस्ता विभिन्न कारण देखाइएको छ।

-    विगतमा जम्मा २ प्रतिशत ग्रामीण युवती प्राथमिक शिक्षा पूरा गरी माध्यमिक शिक्षामा फड्को मार्थे अहिले त्यो संख्या बढेर २७ प्रतिशत पुगेको छ।

-    आयआर्जनतर्फ ६७ प्रतिशत ग्रामीण महिलाको पारिवारिक कृषि उत्पादनमा प्रत्यक्ष सहभागिता देखिएको छ।

-    छोटो रोजगारीका लागि बाहिरिने महिलाको संख्या ४१ प्रतिशतमध्ये २५ प्रतिशत सम्मानपूर्वक अर्थात् पारिवारिक सरसल्लाहमा जाने गरेका छन्।

-    सहरी क्षेत्रमा ७६ प्रतिशत महिला पारिवारिक कृषिका अतिरिक्त अन्य काममा सहभागी छन्। २४ प्रतिशत महिलाका उत्पादनले स्थानीय बजारमा प्रश्रय पाएका छन्।

-    सहरी क्षेत्रका ३७ प्रतिशत महिला पुरुषको तुलनामा कामको बोझले थिचिएका छन्।

स्रोत ः सिजु उपाध्याय (द स्ट्याटस अफ वुमन इन नेपाल, मार्टिन चौतारीका लागि गरिएको शोधमा आधारित)

-    २९ दशमलव २ प्रतिशत सहरी महिला गृहिणीमा सीमित छन्। यो तथ्यांक बढ्दो क्रममा छ।

-    ३१ दशमलव ८ प्रतिशत ग्रामीण महिला पारिवारिक कृषिका अतिरिक्त श्रमको मूल्य लिएर अन्य काम गरिरहेका छन्। सहरी क्षेत्रमा यो संख्या २९ दशमलव ६ प्रतिशत मात्र छ।

स्रोत ः स्त्री शक्ति 

 Image