काठमाडौं महानगरपालिकाले पछिल्लो समय फुटपाथ व्यापार हटाउने रणनीति लिएको छ । त्यसका लागि नगर प्रहरीहरू रातिसम्म सडकमा ड्युटीमै हुन्छन् । महानगरमा १७० जनामध्ये ३५ महिला नगर प्रहरी छन् । काठमार्डौ महानगरपालिकाका हरेक क्षेत्रमा महिलाहरू खटाइएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । ‘महिलाबिना काम गर्न असम्भव छ, सीमित संख्यामा महिला छन्, अबको नयाँ आवेदनमा भने ३३ प्रतिशत महिला पुर्याउनेछौं’ उनले भने । ललितपुर महानगरले भने बिहान ८ बजेसम्म र बेलुका ५ बजेपछि फुटपाथमा व्यापार गर्न छुट दिएको छ । ललितपुरका ७८ जना नगर प्रहरीमध्ये १४ जना महिला छन् । महिलाहरू पनि सक्षम हुन्छन् भनेर ललितपुर महानगरपालिकाले महिलाहरूलाई महत्वपूर्ण जिम्मेवारी दिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुंले बताए । ‘महानगरको उद्देश्य महिलाहरूलाई सक्षम बनाउनु हो । त्यसैले हामीले हरेक महत्वपूर्ण क्षेत्रमा महिलाहरूलाई अगाडि बढाइरहेका छौं’ उनले भने ।
सरकारी जागिरको मोहले प्रहरी
दोलखाकी कल्पना श्रेष्ठलाई सानै उमेरदेखि सरकारी जागिरको लालसा थियो । १५ वर्षमै विवाह गरेपछि उनी जिम्मेवारीले थिचिइन् । बच्चा जन्माउनु/हुर्काउनुमा नै उनको दैनिकी बित्न थाल्यो । रोजगारी खोज्दै उनी काठमाडौं आइपुगिन् । उनले धेरै ठाउँमा विभिन्न काम गरिन् । तर जस्तो काम गरेपनि सरकारी जागिरको लालसा भने उनमा रहिरह्यो । उनले लगनखेल बस्दै गर्दा घरबेटीलाई सरकारी जागिर खाने इच्छा प्रकट गरेकी थिइन् । तीनै घरबेटीले उनलाई ललितपुर महानगरपालिकामा नगर प्रहरीमा आवेदन दिन सुझाइन् । उनको योग्यता र क्षमता नगर प्रहरीका लागि योग्य थियो । उनले खोजेजस्तै सरकारी जागिर थियो । सुरुमा त उनलाई अन्योल भयो । उनलाई नगर प्रहरीको जिम्मेवारी र कामबारे त्यति जानकारी थिएन । उनलाई सरकारी जागिरको मात्रै मोह थियो । भर्ना भइन्, प्रशिक्षण पनि लिइन् । प्रशिक्षणका क्रममा उनलाई निकै सकस भयो । बिहान चार बजे उठ्नुपर्थ्यो । जति दुःख गरेर भए पनि उनलाई जागिर खानु थियो । सशस्त्रले लिने बराबरको प्रशिक्षण लिनु थियो । ढाला, भाटा चलाउने, आफैले सुरक्षा गर्ने, पिटी, परेड, सलाम ठोक्ने जस्ता प्रशिक्षणहरू लिइन् । प्रशिक्षणका क्रममा उनी थुप्रै पटक रोइन्, उनलाई प्रशिक्षण छोडेर भागौंजस्तो पनि भएको थियो । शिविरमै बसेर प्रशिक्षण लिनुपर्ने भएकाले घरमा सातादिनमा मात्र कुरा हुन पाउँथ्यो । तर उनले आत्मबल बढाएर प्रशिक्षण लिइरहिन् । ‘ट्रेनिङका क्रममा त भागेरै जाऔंजस्तो पनि भयो, तर हरेस भने खाइन किनभने मलाई गर्नैपर्छ भन्ने थियो’ उनले भनिन् । डेढ महिनाको प्रशिक्षणपछि उनी फिल्डमा खटिइन् । हातमा लठ्ठी बोकी सिटी फुक्दै उनी सडकमा उत्रिन थालिन् । उनका लागि नगर प्रहरीको काम नौलो थियो । सुरुमा त उनलाई पसल हटाउन धेरै दुःख लाग्थ्यो । फुटपाथ पसलेहरूसँग उनको दिनहुँ झगडा हुन्थ्यो । फुटपाथमा व्यापार गर्नेहरूलाई हटाउन उनको मनले मान्दैनथ्यो । तर पछिल्लो समय उनको आदत भैसकेको छ । उनी बिहान ९ देखि ७ बजेसम्म ड्युटीमै हुन्छिन् । उनले १२ वर्षको सन्तान सम्हाल्दै नगरप्रहरीको जिम्मेवारी निर्वाह गरिरहेकी छन् । नगर प्रहरीको पेसाले उनलाई थप अनुशासित बनाएको छ । लठ्ठी बोकेर फुटपाथका व्यापारी धपाउने उनी पछिल्लो समय व्यापारीसँग हात जोड्न थालेकी छिन् ।
‘ब्लाकबेल्ट’ नगर प्रहरी
सिर्जना भुजेल तेक्वान्दोकी ब्लाकबेल्ट हुन् । खेलकुदबाट उदाएकी उनी डेन्टलमा काम गर्दै महानगरमा जोडिन पुगिन् । कम्पनीमार्फत कन्ट्राक्टमा महानगरपालिका सुरक्षा गार्डको काम गर्न थालिन् । सेक्युरिटी गार्डबाट उनी सन्तुष्ट हुन सकिनन् । उनले नगर प्रहरीलाई नजिकबाट नियालिरहेकी थिइन् । उनलाई नगर प्रहरीको पहिरन र कामले आकर्षित गर्न थाल्यो । उनले आवेदन दिइन् र त्यहीँबाट उनले काम थालिन् । सेक्युरिटी र नगर प्रहरीको काममा धेरै भिन्नता रहेको उनले बताइन् । उनको पनि फुटपाथ व्यापारीहरूसँग सधै घम्साघम्सी पर्थ्यो । सुरुवाती समयमा उनी सडकमा निकै आक्रामक शैलीमा प्रस्तुत हुन्थिन् । उनको उद्देश्य सडक व्यापारीलाई हटाउने र नहटे कारबाही गर्ने वा जरिवाना तिराउने भन्ने थियो । उनी सडक व्यापारमा संलग्न ज्येष्ठ नागरिकका हकमा भने उदार थिइन् । ‘नगरप्रहरी देखेर अरु व्यापारी भाग्न सके पनि ज्येष्ठ नागरिकहरू त भाग्न सक्दैनन्, उनीहरूलाई हामीले साइड लगाइदिँदै आइन्दा सडकमा सामान नराख्न अनुरोध गर्थ्यौं’ उनले भनिन् । सधैं आक्रामक शैलीमा सडकमा उत्रिने उनी पछिल्लो समय नरम शैलीमा प्रस्तुत हुन्छिन् । उनी लठ्ठीले होइन नमस्कार गर्दै फुटपाथमा व्यापार नगर्न अनुरोध गर्छिन् । असल नेतृत्व भए आफूहरू पनि परिवर्तन हुन सकिने उनले अनुभव बटुलेकी छन् । डर–धम्कीले भन्दा पनि माया र आदरपूर्वक सम्झाएर काम गर्न सके कार्यक्षेत्रमा सफलता प्राप्त हुने उनको भनाइ छ ।
रहरले नगर प्रहरी
स्युचाटारकी सानु गौतम विगत २० वर्षदेखि काठमाडौं महानगरपालिकामा महानगर प्रहरीमा सेवारत छिन् । ०५८ मा १० कक्षा पढ्दै गर्दा उनी सिपाहीका रूपमा भर्ना भएकी हुन् । हाल उनले सिपाही, हवल्दार,असई हुँदै सईको जिम्मेवारी निर्वाह गरेरहेकी छन् । उनले रत्नपार्क एरिया हेर्छिन् । ड्युटी सम्हालेको दुई दशक पुगिसक्दा पनि उनको अवस्था उस्तै छ । न उनले सडकको अवस्थामा परिवर्तन देखेकी छन् न व्यापारीहरूको व्यवहारमा । समस्या झनै विकराल बन्दै गएको उनले बताइन् । सुरुवाती दिनमा काम गर्न उनलाई निकै सहज थियो । निश्चित क्षेत्रमा उनको ड्युटी पर्थ्यो । तर समय जति बित्दै जान थाल्यो त्यति नै काममा समस्या बढ्दै गएको उनी बताउँछिन् । जति नियन्त्रण गर्न खोज्यो त्यति नै कठिन हुँदै गएको उनको भनाइ छ । उनले भनिन्, ‘पहिलाको समयमा जनशक्ति धेरै थियो, सहरी जनसंख्या कम थियो । अहिलेको समयमा जनसंख्या बढ्दै गएको छ जनशक्ति घटिरहेको छ, त्यसैले समस्या देखिएको हो ।’ महानगर प्रहरीको जनशक्ति कम हुनु सहरिया जनसंख्या बढी हुनु पनि महानगर प्रहरीका लागि मुख्य चुनौती भएको उनको भनाइ छ । उनी १२ बजेदेखि ७ बजेसम्म ड्युटीमा हुन्छिन् । बाटोमा व्यापारीहरूसँग घम्साघम्सी पर्नु त उनका लागि सामान्य भइसकेको छ । कतिपय मानिसले नगर प्रहरीले घूस मागेको आरोप पनि लगाइरहेका छन् । तर बाटोमा व्यापार राख्न नपाएकाहरूले अनावश्यक आरोप लगाउने गरेको उनको भनाइ छ ।
अपाङ्ग र वृद्धावस्थाका व्यक्तिहरूलाई छुट दिएपनि कर्तव्य पूरा गर्न सकिन्छ । आइलाग्नेसँग जाइलाग्ने रणनीति हुन्छ तर सेफ्टीका साधनहरू नहुँदा भने समस्या झेल्नुपर्ने हुन्छ । अहिले भने सीसीटीभी जडान गरिएको छ । घरमा चार वर्षको छोरालाई परिवारको जिम्मा लगाएर उनी ड्युटीमा खटिन्छिन् । दिनभरि उभिनु र कराउनु उनको दैनिकी हुन्छ । हाल उनी गर्भवती छिन् । दिनभर उभिनुपर्दा रातभर खुट्टा दुख्ने उनले बताइन् । अब अफिसमा काम गर्ने उनको सोच छ । उनले भनिन्–‘पेटमा शिशु भएको समयमा फिल्डमा खटिन निकै गाह्रो छ तर काम नगरेर पनि त भएन, अब चाँडै अफिसमा सिफ्ट हुन्छु होला ।’ कामको मूल्यांकन महसुस गर्न सके राम्रो हुन्छ जस्तो उनलाई लाग्छ । पढ्दै उनले आफ्नो करिअर बढाउँदै लगिन् । १० कक्षा पढ्दै गर्दा प्रहरीमा प्रवेश गरेकी उनी लामो समयपछि पढाइमा फेरि फर्किइन् । हाल मानविकीमा स्नातकोत्तर गर्दैछिन् । उनले भनिन्, ‘प्रमोसनका लागि पनि पढ्नुपर्छ भन्ने महसुुस भयो र धेरै पछि पढाइलाई निरन्तरता दिएँ ।’
भारोत्तोलन खेलाडी सुजाता
एसियाली खेलमा भारोत्तोलनमा पहिलोपटक गोल्ड मेडल विजेता हुन्, सुजाता लुंगेली मगर । खेलमै सक्रिय रहेको बेला काठमाडौं महानगरपालिकाले नगरप्रहरीमा आवेदन मागेको थियो । त्यसताका उनीसहित पाँच जना खेलाडी नगर प्रहरीमा भर्ना भएका थिए । ०५८ मा भर्ना भएकी उनले तीन कक्षासम्म मात्र अध्ययन गरेकी थिइन् । सर्लाहीमा जन्मेकी उनका बाबा ब्रिटिस आर्मी थिए । १० जना सन्तानमध्येकी सबैभन्दा कान्छी उनले सानैमा आमा गुमाइन् । त्यही कारण उनी पढाइमा पनि पछि परिन् । उनले प्रहरी बन्छु भन्ने सोच आफूमा नरहेको बताइन् । त्यसताका नगर प्रहरीका लागि शैक्षिक योग्यता आवश्यक पर्दैनथ्यो । प्रहरीमा छनोट त उनी भइन् तर यो के काम हो, कसरी काम गर्ने भन्ने जानकारी उनलाई थिएन । प्रशिक्षणका क्रममा जब उनले केश काट्नुपर्यो तब उनलाई प्रहरी भएको महसुस भएको बताइन् । प्रहरीको जागिरमा प्रवेश गर्दा उनी १८ वर्ष पुग्दै थिइन् । उनको दैनिकी अब सडकमा सुरु हुन थाल्यो । लठ्ठी बोकेर उनी सडकमा पुग्न थालिन् । सुरुवाती समयमा उनका लागि झडप नभएको दिनै हुँदैनथ्यो । उनका हातभरि घाउ हुन्थे । जागिर खाँदै उनी ललितपुरस्थित महिला प्रेरणा स्कुलमा कक्षा पाँचमा भर्ना भइन् । उनी पढ्दै गइन्, विवाह भयो । बच्चा, जागिर, पढाइ उनले सँगसँगै गरिन् । तीन वर्षअघि मात्र उनले एसईई उत्तीर्ण गरिन् । उनी हाल प्लस टुमा अध्ययनरत छिन् । सिपाही भएको आठ वर्षपछि हवल्दार भइन्, हाल सईको जिम्मेवारीमा छिन् । उनले नाचघर एरिया हेर्छिन् । उनको रोटेसन परिरहन्छ । फिल्डमा उत्रिँदा थुप्रै चुनौती उनले भोगेकी छन् । उनले भनिन्, ‘फुटपाथमा व्यापार नगर्नू भनेर धेरैपटक सम्झाउँदा नमानेपछि मात्र एक्सनमा उत्रिन्छौं ।’ यस्तो अवस्थामा अटेरीहरूसँग मात्रै झगडा पर्ने गरेको उनले बताइन् । उनले भनिन्, ‘फिल्डमा उत्रिँदा ड्रेसले पनि हामीलाई आक्रामक हुनुपर्छ । आत्मामा त माया लाग्छ तर बर्दीको कर्तव्य पूरा गर्नुपर्छ ।’