Successfully Copied

‘बच्चैदेखिको गन्तव्य मिस नेपाल’

सपना ठूलै हेरौं, सोहीअनुसारको काम र परिश्रम गरौं । जीवनमा असफल हुनुपर्छ, एक न एकपटक लड्नैपर्छ । पछारिएर जब उभिन्छौं, तब गर्वले छाती फुलाएर हिँड्न सकिन्छ ।

‘मिस नेपाल’लाई प्लेटफर्म बनाउनका लागि यो प्रतियोगितामा आउने धेरै छन् तर अमेरिका जान दूतावासले लिएको अन्तर्वार्तामा पनि ‘मलाई अमेरिकामा पढेर फर्किएपछि यहीँ आएर मिस नेपाल बन्नु छ’ भनेर उत्तर दिने र बाल्यकालदेखिको सपनालाई कर्तव्य र जिम्मेवारीका रूपमा लिने थोरै छन् । तीमध्ये विराटनगरकी न्यान्सी खड्का पनि हुन् । उनले ‘मिस नेपाल’ मा सहभागी हुने आशामा अर्काको देशमै झन्डै–झन्डै मरिसकेको शरीरलाई बिउँत्याएर मात्रै होइन तरोताजा बनाएर आज ‘मिस नेपाल इन्टरनेसनल २०२२’ को ताज जित्न सफल भएकी छन् । उनले ‘सेन्ट जोसेफ स्कुल’ विराटनगरबाट स्कुलिङ, ‘सेन्ट जेभियर्स’ काठमाडौंबाट ‘प्लस टु’ र ‘फुटिल डियान्जा कलेज’ क्यालिफोर्नियाबाट कम्युनिकेसन स्टडिज र साइक्लोजीमा स्नातक गरेकी छन् । उनी भन्छिन्, ‘सेन्ट जेभियर्स पढ्दा म ७५ किलोकी थिएँ । म बडी सेमिङलगायत विभिन्न हिंसाको शिकार भएकी छु । मसँग सुरुवातमा कोही साथी नबन्ने, कालान्तरमा मलाई बुझिसकेपछि भने सबै झ्याम्मिन्थे । मेरा कलेजका हरेक शिक्षक र फादरलाई आज पनि मेरो नाम याद छ बरु टपरको नाम याद नहोला । कारण के भने मैले सबैलाई उतिबेलै भनेकी थिएँ, म एकदिन ‘मिस नेपाल’ हुनेछु । यो कुरा सुनी मेरो मोटो शरीर देखेर सबैले खिसी गर्थे ।

’फिजिक्स शिक्षकले गुरुत्वाकर्षको विषयमा पढाउँदा थुप्रै विद्यार्थीको माझमा यो अझ गहिरिएर जान्नका लागि कि फिजिक्स किताब पूरै घोक्नुपर्छ कि न्यान्सीलाई सोध्नुपर्छ भनेको कुराले उनलाई बिझायो । उनले दुई महिनामा आफ्नो चौध किलो तौल घटाइन् । ‘प्लस टु’ पछि उच्च शिक्षाका लागि अमेरिका जाने क्रममा पनि उनले एम्बेसीमा ‘मिस नेपाल’ बन्नका लागि पढाइपछि नेपाल फर्किने अन्तर्वार्ता दिएकी थिइन् । अमेरिका पुगेपछि साथीलगायत सबैले उनलाई धोका दिए । पढाइ सकेपछि उनले ‘माइक्रोसफ्ट’ र ‘टेस्ला कम्पनी’ मा जागिर पाइन् । बिरानो ठाउँमा उनलाई रोगले समात्यो । उनलाई पक्षघात भयो । एकहर चलेन । उनी डिप्रेसनमा डुबिन् तर पनि उनीभित्रको ‘मिस नेपाल’ बन्ने हुटहुटीले बचाएर नेपाल ल्याइपुर्‍यायो । न्यान्सीले भनिन्, ‘मेरी बहिनी मानुषीको माया, साथ, सहयोग र परिवारको विश्वासले म आज यहाँ छु ।’ नेपाल फर्किएर ‘मिस युनिभर्स’ मा सहभागी भइन् । त्यसपछि उनको ‘मिस नेपाल’ यात्रा तय भयो । सानैदेखि अरुलाई खुसी पार्न भनेपछि मरिहत्ते गर्ने न्यान्सी अब जापानमा हुने ‘मिस इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्दैछिन् । ‘पीआई नेपाल’, ‘लायन्स क्लब’ लगायतका सामाजिक संस्थामा रहेर समाजसेवा गरिरहेकी उनी मानसिक स्वास्थ्यलाई मूल मुद्दा बनाएर अगाडि बढिरहेकी छन् । उनले भनिन्, ‘म आफूभित्र भएका कमी–कमजोरीलाईं शक्तिमा परिणत गर्न सकें । जसको परिणाम आज मैले पाएँ । अब यो शक्ति म आफ्नो देश र जनताका लागि उपयोग गर्नेछु । यसलाई मैले आफ्नो कर्म र जिम्मेवारी ठानेकी छु ।’ 

‘मिस नेपाल इन्टरनेसल’को जित र ताजलाई कसरी सेलिब्रेट गर्नुभयो ?

ताज र जितलाई भन्दा पनि समस्त नेपाली, मेरा अभिभावक र मेरी बहिनीको माया र खुसीलाई सेलिब्रेट गरें ।

‘टाइटल’ जित्दा दिमागमा के कुरा आयो ?

मेरो ममी–ड्याडीको मेहनत, बहिनीको निरन्तर साथ, सहयोग र मायाका साथै मलाई म हुन सिकाउने मेरा गुरुहरू र सम्पूर्ण नेपाली जनताहरू मेरो दिमागमा झलझली घुमिरहे ।

नेपाललाई विश्वसामु चिनाउने प्रमुख तीन कुरा के हुन सक्लान् ? यसका लागि तपाईंका रणनीति के–कस्ता छन् ?

यहाँको प्राकृतिक सौन्दर्य, परम्परागत संस्कृति, नेपालीहरूको सद्भाव र मायालु व्यवहार, यहाँको खानपान नै मुख्य हुन् । ‘मिस इन्टरनेसनल’ जापानमा हुने भएकाले मैले नेपाली र जापानी संस्कृति झल्किने प्रोजेक्टमा काम गरिरहेकी छु । अन्य कुरा स्टेज प्रस्तुति, व्यक्तित्व विकास, बलियो प्रस्तुतीकरणका लागि पनि आफूलाई तयार पार्दैछु ।

‘मिस नेपाल इन्टरनेसल’को प्लेटफर्मलाई कसरी उपयोग गर्नुहुन्छ ?

मैले मेरो परिचय मै ‘मेन्टल हेल्थ’ विषय समेट्न खोजेकी छु । मानसिक रूपमा स्वस्थ हुनु नै सर्वत्र विकास र सशक्तीकरणको जग हो जस्तो लाग्छ । अर्को कुरा, पर्यटन प्रवर्द्धनका लागि ‘विविधतामा एकता’ को नारा लिएर जानेछु । नेपाललाई अब गरिब देश भनेर होइन, हामी के–के कुरामा धनी छौं त्यसरी चिनाउनुपर्छ विश्व जगत्लाई । म सकारात्मक कुरामा बढी केन्द्रित भएर नेपाललाई चिनाउन चाहन्छु ।

अन्तर्राष्ट्रिय स्पर्धाका लागि आफूलाई शारीरिक, मानसिक र बौद्धिक रूपमा तयार राख्न के गरिरहनुभएको छ ?

यो प्रतियोगिता मेरा लागि प्लेटफर्मभन्दा पनि पेसा र जिम्मेवारी हो । यो उमेरमै यति ठूलो जिम्मेवारी लिने क्षमता राखेकी छु । आफ्नो दक्षतामाथि विश्वास गर्ने र आफूमाथिको भरोसालाई बलियो बनाउन जोड दिइरहेकी छु । जुन बेला मैले यी कुरा महसुस गरें त्यही बेलादेखि मेरो तयारी सुरु भएको हो ।

समस्त नेपालीलाई के सन्देश छ ?

सपना ठूलै हेरौं, सोहीअनुसारको काम र परिश्रम गरौं । जीवनमा असफल हुनुपर्छ, एक न एकपटक लड्नैपर्छ । पछारिएर जब उभिन्छौं, तब गर्वले छाती फुलाएर हिँड्न सकिन्छ ।

 Image