Successfully Copied

ममतामयी आमाहरू

कवयित्री चाँदनी शाहका यी शब्दहरू ‘आमा’ लाई बुझ्न पर्याप्त हुन सक्छन् । हो, ‘आमा’ केवल नाता–सम्बन्ध मात्र होइन । त्याग, समपर्ण र प्रेमको पुञ्ज पनि हो । ‘आमा’ भौतिक शरीरमात्र होइन, यो त ममताको विराट अनुभव पनि हो ।

 ‘आमा भएर पोखी हेर सन्तानका पिरहरू, 

आमा भएर बाँडी हेर सन्तानका खुसीहरू ।

आफ्ना लागि त सबै बाँच्छन् यस लोकमा,

अरुका लागि बाँची हेर सन्ताप अनि दुःखमा ।’

कवयित्री चाँदनी शाहका यी शब्दहरू ‘आमा’ लाई बुझ्न पर्याप्त हुन सक्छन् । हो, ‘आमा’ केवल नाता–सम्बन्ध मात्र होइन । त्याग, समपर्ण र प्रेमको पुञ्ज पनि हो । ‘आमा’ भौतिक शरीरमात्र होइन, यो त ममताको विराट अनुभव पनि हो । आमाको भूमिकामा बाँच्नु भनेको जीवनका सुखद् एवं दुर्लभ अनुभूतिहरू संगाल्नु पनि हो । त्यसो त आमा बन्नका लागि आफ्नै कोखका सन्तान हुनुपर्छ भन्ने छैन । विवाह गर्नैपर्छ भन्ने पनि छैन । अरुको कोखबाट जन्मिएका बच्चाहरूबाट पनि सन्तान सुख प्राप्त गर्न सकिन्छ । अरुको कोखमा जन्मिएका बच्चालाई आफ्नो न्यानो काखमा हुर्काएका आमाहरूको कथालाई यहाँ समेटिएको छ । 

३४ वर्ष ‘आमा’ को भूमिका निर्वाह गरेकी बिनु मिश्रले विवाह नै नगरी ३० जना ‘सन्तान’ हुर्काइन् । आफूले हुर्काएका ‘सन्तान’ को मायाले तानेर उनले सानेपाको तीन तले घर पनि बेचिन् । उनले संस्थाबाट अवकाश पाइसकेकी छन् । त्यही संस्थाले संचालन गरेको ‘रिटायर्ड होम’ मा उनी बस्छिन् । आफूले हुर्काएका सन्तानहरू चाडपर्वमा कोसेली बोकेर उनलाई भेट्न आउँदा उनी औधी खुसी हुन्छिन् । ‘नजिकै भएकाहरू भेट्न आउँछन्, टाढा भएकाहरूले फोन गर्छन्, सन्चो–बिसन्चो सोध्छन्’ उनले भनिन् । बिनुले हुर्काएकीमध्ये एउटी छोरीले दुई पटकसम्म अस्ट्रेलिया घुमाउन लगिसकेकी छन् । एउटी ‘आमा’ का लागि त्यो भन्दा बढी सुखको क्षण अरु के हुन सक्ला ?

५८ वर्षकी अविवाहित गोमा गुरुङको अनुभव पनि उस्तै छ । उनी अहिले नौ जना सन्तानलाई हुर्काइरहेकी छन् । उनले आफूले हुर्काएकामध्ये पाँच जना छोरा र पाँच जना छोरीको विवाह गराइदिइसकेकी छन् । अहिले नातिनातिनी भइसकेका छन् । उनी खुसी हुँदै सुनाउँछिन्–‘म त हजुरआमा भइसकें ।’ उनले हुर्काएका सन्तानहरू चाडपर्वमा भेट्न आउँछन् । ‘सबैगरी ५०–६० जना भेला हुन्छन् । औधी रमाइलो गर्छन्’ उनले भनिन् । बेलामौकामा उनी बच्चाहरूसँग घुम्न निस्कन्छिन्, किनमेल गर्छिन्, रेस्टुराँमा जान्छिन् । बाह्रबिसे, सिन्धुपाल्चोक स्थायी घर भएकी उनको आफन्तसँग भने कमै भेटघाट हुन्छ । उनलाई आफ्नो परिवारको भन्दा यहाँका परिवारको बढी माया लाग्छ । उनले हुर्काएकाहरूले पनि उनीहरूका आफन्तलाई भन्दा उनलाई बढी माया गर्छन् । गोमा भन्छिन्, ‘यिनीहरूले झन् धेरै माया गर्छन् ।’

७२ वर्षीया पद्मा अधिकारी अवकाशप्राप्त आमा हुन् । भलै उनले ‘आमा’ पदबाट अवकाश पाइसकेकी छन् तर आमाको भूमिका भने अझै निर्वाह गरिरहेकी छन् । उनले २२ जना बच्चालाई हुर्काइसकेकी छन् । उनले हुर्काएका बच्चाहरू कोही विदेशमा छन्, कोही स्वदेशमै । केही सल्लाह–सुझाव चाहिएमा उनीहरूले पद्मालाई सम्झन्छन् अनि फोन गर्छन् । उनी विवाहित हुन् । उनका दुई छोरी छन् । नौ महिनाकी काखे छोरी आफ्नी आमालाई छाडेर उनी जागिरका क्रममा यस संस्थासँग जोडिइन् । संस्थामा आएको १६ वर्षपछि उनले ‘आमा’को भूमिका पाएकी हुन् । हाल उनी यही संस्थाको ‘रिटायर्ड होम’ मा बस्छिन् । कहिलेकाहीँ उनले हुर्काएका सन्तानहरू यहीँ भेट्न आउँछन् । उनी भन्छिन्–‘मलाई त यहीँ रमाइलो छ ।’ 

ताप्लेजुङ स्थायी घर भएकी लक्ष्मी लिम्बू विगत १८ वर्षदेखि विभिन्न कारणले आफ्ना परिवारसँग टाढिएका बच्चाहरूको हेरचाह गर्दै आएकी छन् । हाल उनीसँग १० जना बच्चा बस्छन् । आफ्नो कोखबाट जन्म नदिए पनि यी बच्चाहरूले उनलाई ‘आमा’ हुनुको बोध गराएका छन् । ‘आमा’ को सही मतलब सिकाएका छन् । केही दिन अघिमात्रै बच्चाहरूले उनको जन्मदिनमा ‘सरप्राइज’ दिएका थिए । ‘मैले त मेरो जन्मदिन बिर्सिएकी थिएँ’, उनी सुनाउँछिन्, ‘बच्चाहरूले मिलेर कोठा सजाएछन् ।’ रातिको १२ बजे उनीहरूसँग जन्मदिन मनाइन् । उनी यी बच्चाहरूसँग सुख–दुःख बाँड्ने गर्छिन् । 

जन्मेर कोखमा कसैको, हुर्कन्छन् काखमा कसैको

संस्थामा विभिन्न ठाउँ र उमेर समूहका बच्चाहरू आउँछन् । गोमासँग दुई दिनको बच्चालाई समेत हुर्काएको अनुभव छ । उनी सम्झन्छिन्, ‘सुरुमा निकै गाह्रो भयो ।’ रातभरि बच्चाले रोएर सुत्न नदिने फेरि बिहानै उठेर अरु बच्चाहरूका लागि खाना पकाएर स्कुल पठाउनुपर्ने । जन्माएका आमालाई बरु सजिलो हुन्छ, उनले बच्चा रोए भने आफ्नो दूध खुवाएर शान्त पार्न सक्छन् तर हामी सक्दैनौं । मलाई बच्चा रोएपछि भोकले होला भन्ने लाग्थ्यो र रुनेबित्तिकै दूध बनाएर खुवाइहाल्थें ।’ अहिले ऊ एअर होस्टेजको काम गरिरहेको छ । 

ठूला बच्चाभन्दा सानो बच्चालाई हुर्काउन सजिलो हुने जिकिर गर्छिन्, लक्ष्मी । उनले १८ महिनाका धेरै जना बच्चा हुर्काइसकेकी छन् । ‘साना बच्चाहरूसँग हामी छिट्टै भावनात्मक रूपमा जोडिन सक्छौं’ उनी भन्छिन्, ‘उनीहरूले आफ्नो र अर्को बुझेकै हुँदैनन् ।’ धेरै उमेरका बच्चाहरूले तुरुन्तै स्वीकार गर्दैनन् । उनी एक किस्सा सुनाउँछिन्, ‘संस्थामा हजुरआमासँग एउटा बच्चा आएको थियो । पहिला त बच्चा मसँग आउन मानेको थिएन, पछि मसँग आएपछि त्यो बच्चा हजुरआमासँग जान मानेन । मेरो छातीमा टाँसिएर बस्यो ।’ 

संस्थाले वर्षमा ५२ दिन आमाहरूलाई बिदा दिन्छ, त्यो समय आमाहरू आफ्नो घर वा परिवारसँग बस्न सक्छन् । तर, छुट्टीमा बस्दा पनि बच्चाहरूको मायाले अल्झाएर राख्ने बताउँछिन्, पद्मा । उनी भन्छिन्, ‘म छुट्टीमा घर जान्थें । उता मलाई बच्चाको याद आउने, यता बच्चाहरूले पनि मलाई सम्झिने ।’ उनलाई अझै सम्झना छ, एक जना बच्चाले उनी नभएको बेला उनको कपडा सुँघेर सुत्ने गर्थ्यो । 

बिनु सम्झिन्छिन्–छुट्टीमा घर जाँदा उनलाई बच्चाबच्चीको साह्रै याद आउँथ्यो । कसैले ‘आमा’ भनेर सम्बोधन गर्दा उनलाई बोलाएजस्तो लाग्थ्यो र उनी छुट्टीमा धेरै दिन बस्न सक्दिनथिन् । 

रमाइलोसँगै चुनौती पनि

‘आमा’ शब्द जति प्रिय छ, यो भूमिका निर्वाह गर्न त्यति नै गाह्रो हुन्छ । यो संस्थामा एउटी आमाले १०–११ जना बच्चा हुर्काउनुपर्ने हुन्छ । फरक ठाउँ, फरक परिवेश, फरक परिवारमा जन्मिएका बच्चालाई एकै ठाउँमा हुर्काउन त्यति सजिलो छैन । उनीहरूको आवश्यकतालाई बुझ्नुपर्ने हुन्छ । सानैदेखि हुकार्एको बच्चासँग उनीहरूको सामीप्यता बढ्छ तर ठूला भएका बच्चाहरूले उनीहरूलाई सहजै स्वीकार गर्दैनन् । ‘त्यतिबेला नरमाइलो लाग्छ’ लक्ष्मीले भनिन्, ‘अलिक ठूला भएका बच्चाहरूलाई ‘एडजस्ट’ हुन समय लाग्छ ।’ यस्ता बच्चाहरूलाई उनीहरूको स्वभावअनुसार व्यवहार गरेर घुलमिल हुने वातावरण मिलाइदिने उनी बताउँछिन् । 

पुराना दिन सम्झदै पद्मा अधिकारी भन्छिन्, ‘त्यो समयमा अहिले जस्तो घर थिएन, पानीको सुविधा थिएन । औषधोपचार गर्न सहज थिएन । बच्चालाई लगाइदिने डाइपर हुन्थेन ।’ उनी थप्छिन्, ‘माटोले बनेको घरमा उनीहरूले बच्चालाई हुर्काएका थिए । पानी लिन घन्टौं लाइन बस्नुपर्ने हुन्थ्यो ।’ ठूलाको तुलनामा साना बच्चालाई हुर्काउन खर्च बढी लाग्छ । उनीहरूले खाने दूध, लिटो, औषधोपचारमा बढी खर्च हुन्छ । बिनुले कतिपटक खर्च नपुगेर आफ्नै तलबको पैसाले उनीहरूको स्याहार–सुसार गरेकी छन् । 

‘आमा र सन्तानबीचको सामीप्यता बढी’ 

– ज्योत्सना क्षेत्री

सहायक निर्देशक, एसओएस बालग्राम

बालबालिकाहरूले विभिन्न कारणले आफ्ना अभिभावक गुमाउँछन् । यी बालबालिकाहरू आफ्ना परिवारसँग बस्न पाउँदैनन् । जोखिममा परेका बालबालिकालाई घरको वातावरण मिलोस्, परिवारको साथ र माया पाऊन्, आमाको न्यानो काखमा हुर्किऊन् भन्ने हेतुले संस्थाको सुरुवात भएको हो । 

जन्मिएदेखि १६ वर्ष उमेरसम्मका बालबालिकाहरू यहाँ बस्छन् । बच्चाहरू आत्मनिर्भर नभएसम्म संस्थाले उनीहरूको संरक्षण गर्छ । यो वैकल्पिक हेरचाह अन्तर्गत पर्छ । संस्थाको सिद्धान्त बालबालिका हुर्काउनको लागि घर, आमा, भाइबहिनी चाहिन्छ भन्ने छ । अहिले परिमार्जन भएर बच्चा हुर्कनको लागि समुदाय, अभिभावक र परिवार चाहिन्छ भनिएको छ । यी बालबालिकाहरूलाई सम्भव भएसम्म उनको नजिकका नातेदारसँग राखेर हुर्काइन्छ । यस्तो अवस्थामा बच्चाको सम्पूर्ण खर्च संस्थाले व्यर्होछ ।

आमा हुनका लागि एकल महिला, अविवाहित वा डिर्भोसी महिला हुनुपर्छ । २५ देखि ३५ वर्ष उमेर र कम्तीमा १० कक्षा पास गरेको हुनुपर्छ । त्यसपछि उनीहरूलाई तीन महिना तालिम दिइन्छ । तालिममा बालबालिकालाई कसरी हुर्काउने, बालबालिकाको हक, हित र अधिकारको कुरा आदि सिकाइन्छ । त्यसपछि बेला–बेलामा ‘रिफ्रेसर ट्रेनिङ’ पनि दिइन्छ । एउटी आमाले ६० वर्षको उमेरसम्म बालबालिकाको हेरचाह गर्न पाउँछन् । रिटायर्ड भएपछि उहाँहरूलाई बस्नका लागि संस्थाले ‘रिटायर्ड होम’ को समेत व्यवस्था गरेको छ । उनीहरू आफ्नो इच्छाअनुसार त्यहाँ बस्न पाउँछन् । आमाहरूलाई पेन्सन दिइन्छ, संस्थाका अन्य कर्मचारीले भने यो सुविधा पाउँदैनन् । 

आमालाई बालबालिकाका लागि भनेर महिनावारी खर्च दिइन्छ । त्यसमा खाना, अन्य खर्च भनेर चाडपर्व मनाउने, लत्ताकपडा किन्ने भनेर छुट्याइन्छ । आमाको जिम्मेवारी भनेको बालबालिकालाई खाना पकाउने–खुवाउने, सरसफाइ गर्ने, बच्चाहरूको स्याहारसुसार गर्नु हो अर्थात् एउटी आमाले निभाउने सम्पूर्ण जिम्मेवारी निभाउनुपर्छ । प्रत्येक बालबालिकाको छ–छ महिनाको फरकमा तौल र उचाइ जाँच गरिन्छ । यहाँ बालबालिका र आमा संयोगले एक–अर्कासँग जोडिएका हुन्छन् र भावनात्मक रूपले नजिकिन्छन् । अझ बाहिरका भन्दा यहाँका आमा र सन्तानबीचको सामीप्यता बढी देख्न सकिन्छ । 

 Image