कुनै अस्पतालमा एउटा पोस्टर राखिएको थियो, ‘जति चाहिन्छ लिएर जानुहोस् ।’ म नजिकै पुगें, हेर्दा त्यहाँ ढाल राखिएको बक्सा रहेछ । जिज्ञासावश बक्सा खोलेर हेर्दा त्यो खाली पो पाएँ । अस्पताल प्रशासनमा यसबारे जानकारी गराएँ, सबै छक्क परे । भने, ‘केही अघि मात्र त्यसमा कन्डम हालिदिएका थियौं ।’
त्यसपछि मैले कन्डम खपतबारे अध्ययन सुरु गरें । त्यसक्रममा मैले पाएँ, ‘गोप्य तरिकाले कन्डम लैजाने समूहमा १३ वर्षदेखि २०–२२ वर्षसम्मका बढी रहेछन् ।’
मैले यसबारेमा विशेषज्ञहरूसँग छलफल गरें । एकजना मनोसामाजिक परामर्शदाताले भने, ‘अन्य धेरै परिवर्तनसँगै यौन जिज्ञासा, यौनिक कल्पना र यौनेच्छा विकसित हुनु किशोरावस्थाको प्रमुख मनोवैज्ञानिक र शारीरिक परिवर्तन हो । यही कुरालाई नियमित र सुरक्षित घेरामा राख्न यो बक्साको रणनीति ल्याएको हुनुपर्छ ।’ लुक्दा वा लुकेर यस्ता कुराहरू गर्दा दुर्घटना हुन्छ त ? के त्यसो भए यो १२–१३ वर्षका किशोर–किशोरीलाई यौन जीवनका लागि प्रोत्साहन गर्ने कुरा हो त ? यसमा सरकारको स्पष्ट रणनीति, यौन शिक्षाको व्यवस्था र अरु नियमनहरू खोइ ?
नेपालमा विगतमा बालिग हुने उमेर १६ वर्ष थियो । पछिल्लो समय अन्तर्राष्ट्रियकरणको होडमा नेपालले बालअधिकारसम्बन्धी महासन्धि सिआरसी अनुमोदन गर्दै मान्यता दिएपछि अन्य अन्तर्राष्ट्रिय मान्यताहरूलाई पछ्याउँदै बालिगको उमेर १८ वर्ष गरियो । यो किन गरियो ? अर्को जिज्ञासा, विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार कुनै पनि व्यक्ति शारीरिक, मानसिक हैसियतमा परिपक्व २० वर्ष पूरा भएपछि मात्र हुने मान्यता छ । यो भन्दा अगाडि नाबालिग उमेरमा गरेका लगभग ९० प्रतिशत उनीहरूका निर्णयहरू उनीहरूकै लागि खतरापूर्ण, भेदभावपूर्ण र दुर्घटनापूर्ण रहेको तथ्याङ्क छ । यही प्रसंगलाई हेर्ने हो भने पछिल्लो समय अदालतमा रहेका अत्यधिक सम्बन्धविच्छेदका मुद्दाहरूको कारकतत्व पनि यही नै रहेको देखिन्छ ।
नेपालको मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता ऐन २०७४ को विवाहसम्बन्धी प्रावधानको दफा १७३) ले २० वर्षभन्दा कम उमेरमा गरेको विवाह बालविवाह हुने र यो विवाह स्वतः बदरभागी हुने तथा यस्तो विवाह गराउने उमेर पुगेका सबैलाई कानुनी रूपमा सजायभागी हुने व्यवस्था रहेको छ । यसै ऐनको सामान्य सिद्धान्तअन्तर्गत दफा २८ ले पनि कुनै उमेर पुगेका व्यक्तिले बालबालिकाबाट गराइएको कसुरमा उमेर पुगेकालाई सजाय हुने भन्ने स्पष्ट व्यवस्था छ ।
मानवीय गुण, स्वभाव, जीवनशैली, सामाजिक फैलावट, हुर्काइ, मनोवैज्ञानिक तथा शारीरिक कारण, व्यक्तिगत व्यवहार आदि मानवीय क्रिया/प्रतिक्रियाका कारण हुन् । रिस, लालच, प्रलोभन, घृणा आदिमा यी कुराहरू भौतिक रूपमा मानवद्वारा प्रकट हुन्छन् ।
तर यी शारीरिक वा मानसिक कारणबाट बालबालिकामा आउने जिज्ञासा र इच्छा पूरा गर्ने/नगर्ने भन्ने वा यसलाई सही व्यवस्थापन गर्नेमा कानुनले उमेर पुगेका वयस्कहरूको नै प्रमुख भूमिका र उत्तरदायित्व रहन्छ ।
कुनै उमेर नपुगेको नाबालकले रमाइलो मान्यो भनेर आफ्नो यौनाङ्ग खेलाउन दिन मिल्छ/मिल्दैन ?
त्यस्तै, नाबालिग बच्चाले जिद्दी गरी म अफिम खान्छु भनेमा खान दिन मिल्छ/मिल्दैन ? यी र यस्ता विषयलाई नियन्त्रण गर्न र समाप्त पार्न हरेक मुलुकले यससम्बन्धी कानुन बनाएका हुन्छन् । कानुनअनुसार उमेर पुगेको अर्थात् नेपालको परिप्रेक्ष्यमा १८ वर्ष पूरा भएको वयस्क व्यक्तिलाई देशको कानुनमा भएका प्रावधानहरू थाहा हुनैपर्ने र यिनको उपभोग/प्रयोग गर्ने कानुनी कर्तव्य र उत्तरदायित्व रहन्छ । नेपालको कानुनअनुसार मुलुकी ऐन फौजदारी संहिता २०७४ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा २ ले स्पष्ट १८ वर्षभन्दा कम उमेरकी बालिकालाई उसको मञ्जुरी लिएर करणी गरे त्यो कानुनविरुद्ध बलात्कारको कसुर नै हुने प्रावधान रहेको छ । यो कसुर गर्ने कानुनले उमेर पुगेको व्यक्तिलाई १० वर्षदेखि १२ वर्षको कैद हुने व्यवस्था छ ।
फौजदार कानुनको विश्वव्यापी सर्वमान्य सिद्धान्तअनुसार कानुनको अज्ञानता क्षम्य हुँदैन । यो परिप्रेक्ष्यमा कुनै पनि बालिग नागरिकले आफ्नो राज्यभित्र रहेको कानुन अज्ञानतामै उल्लंघन गरे कानुनी रूपमा कसुर नै ठहराउने प्रावधानमा रहेको सजायभोगी हुनेछ ।
(प्रधान, पेसाले कानुन व्यवसायी हुन्)