वसन्त ऋतुमा मनाउने पर्व हो–होली । यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ । नेपालमा यो पर्व दुई दिन मनाइन्छ । एक दिन हिमाल–पहाडमा र अर्को दिन मधेस–तराईमा । होली जहाँ, जसरी वा जुन दिन मनाए पनि यो पर्वको एउटा प्रमुख विशेषता भनेको–यसको भावना जहाँ पनि एउटै छ, हुन्छ । अर्थात् सप्त रंगहरूमा एकै रंग । होलीमा शत्रु पनि मित्र बन्ने धेरै पुरानो भनाइ नै छ । हुन पनि हो, यो पर्वमा रंग/अबिर दल्न कसैलाई बन्देज छैन, हुँदैन । यो पर्वमा रमाउनेहरूले एक–अर्कालाई रंग/अबिर दलेर खुसी र उमङ्ग साटासाट गर्छन् । धनी र गरिब सबै समान रंगमा रंगिएकै हुन्छन् । सामूहिक रूपमा मिलीजुली खेलिने यो पर्वले देश र समाजमा सद्भाव र भाइचारको सन्देश दिन्छ । हाम्रो सम्बन्धलाई पुनजीर्वित गर्न र मानिसबीच भावनात्मक बन्धनलाई बलियो बनाउन यसले सहयोग गर्छ । समाजमा मानवीय गुणहरूलाई स्थापित गर्दै मानिसमा प्रेम, एकता एवं सद्भावना पनि बढाउँछ । तर, रंग/अबिरमा रंगिने चाहना नराख्नेहरूको भावनाको पनि कदर गर्न यो पर्वमा चुक्नु भएन । रंगीन र सदाबहार पर्व भएकाले होलीमा सपरिवार र मित्रहरूसँग मिलेर आनन्द लिन सक्नुपर्छ ।
होलीको बजार
होली पर्व आउनु केही साताअघिबाटै सडकका पेटीहरूमा रंग/अबिरको स–साना ढिस्को, ह्यापी होली लेखिएका टिसर्ट, रंगीचंगी टोपी र पिचकारीहरूको बिक्री हुन सुरु हुन्छ । गाउँघरमा पहिले बाँसको परम्परागत पिचकारीको प्रयोग गरिन्थ्यो । अचेल आधुनिक डिजाइनका पिचकारी बजारमा छ्यापछ्याप्ती पाइन्छन् । स्टेन गन, मेसिन गन, एके ४७ जस्ता डिजाइनमा पनि पिचकारी बजारमा भेटिन्छन् । यी पिचकारीहरू बालक लक्षित बढी हुन्छन् । होलीको समयमा यी र यस्ता थुप्रै उत्पादन नेपालमा भित्रिन्छन् । दुर्भाग्य नै भन्नुपर्छ, त्यसमा स्वदेशी उत्पादन खासै भेटिन्न । चीनमा होली खेलिँदैन तर, बजारमा यो पर्वसँग सम्बन्धित धेरै चिनियाँ सामान भित्रिएका हुन्छन् । होलीमा बेलुनको बिक्री पनि खुबै हुन्छ । बेलुनमा पानी र रंग भरेर होली खेलिन्छ । यो प्रचलन परम्परागत भने होइन । बेलुन हान्ने चलन बाहिरबाट नेपाल भित्रिएको हो । अझै पनि गाउँघरतिर खासगरी मधेस–तराईतिर बेलुन/लोलाले होली खेल्ने चलन बिरलै भेटिन्छ । हिमाल–पहाडका सहर/बजार, उपत्यका, पहाडका गाउँ/बेसीको होलीमा बेलुनको प्रयोग बढी हुने गरेको छ । पछिल्लो समय बेलुनको गलत प्रयोग हुन थालेको छ । केही उच्छृंखल व्यक्तिहरूले बेलुनमा फोहोर पानी भरेर बटुवाहरूलाई हान्ने गर्छन् । सिंगो होली पर्वलाई नै बदनाम गर्ने नियत भएकाहरूको यसप्रकारको कुकृत्यलाई सबैले आ–आफ्नो ठाउँबाट निरुत्साहित गर्न सक्नुपर्छ ।
धार्मिक पक्ष
असत्यमाथि सत्यको विजयोत्सव पनि हो–होली । धार्मिक मान्यताअनुसार असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलिका हिरण्यकशिपु राक्षसकी बहिनी तथा विष्णुभक्त प्रह्लादकी फुपू थिइन् । ब्रह्माबाट उनले आगोले नजलाउने वरदान पाएकी थिइन् । हिरण्यकशिपुका छोरा प्रह्लाद भगवान् विष्णुका महान् भक्त थिए । उनका बुवाले बारम्बार सम्झाउँदा पनि उनले विष्णुप्रतिको भक्तिभाव त्याग्न सकेनन् । हिन्दू धार्मिक ग्रन्थहरूका अनुसार विष्णु देवताहरूका संरक्षक थिए भने हिरण्यकशिपु राक्षसका राजा थिए । विरोधीको पक्षमा लागेपछि हिरण्यकशिपुले प्रह्लादलाई मार्ने योजना बनाएका थिए । ब्रह्माबाट वरदान पाएकी आफ्नी बहिनीको प्रयोग गरी उनले प्रह्लादको हत्या गर्ने प्रपञ्च रचेका थिए । उनले होलीकासँगै आगोमा राखेर प्रह्लादलाई जलाउने योजना बनाएका थिए । तर, विष्णुको शक्तिका कारण प्रह्लादलाई केही भएन । होलिकालाई गलत प्रयोग गर्न खोज्दा जलिन् भन्ने मान्यता राखिन्छ । त्यो दिन फाल्गुन शुक्ल पूर्णिमाको दिन थियो । त्यही भएर उक्त दिन हरेक वर्ष होली पर्वका रूपमा मनाइन्छ । होलीमा सरकारले पनि सार्वजनिक बिदा दिन्छ ।
हिमाल–पहाड र उपत्यकामा होली
नेपालको हिमाली–पहाडी क्षेत्रमा फागुपुर्णिमाकै दिन होली मनाइन्छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रंगीचंगी होलीको चीर ठड्याएपछि उपत्यकालगायत देशका विभिन्न भू–भागमा होली सुरु हुन्छ । यस पर्वको शुभारम्भको जनाउ दिन चीर ठड्याउने गरिएको पौराणिक मान्यता छ । फाल्गुन शुक्ल अष्टमीदेखि फाल्गुन शुक्ल पूर्णिमासम्म होली मनाउने चलन हो । खासगरी फागुपूर्णिमाका दिन विशेषगरी होली मनाइन्छ । बिहानैदेखि रंग/अबिर लिई टोल–टोलका घर–घरमा गई होली खेलिन्छ । बेलुनमा रंग मिश्रित पानी राखेर लोला हाल्ने चलन पनि छ । काठमाडौं उपत्यका जस्तो घना र बाक्लो वस्ती भएको क्षेत्रमा भने छत–छतबाटै पनि लोला हानेर रमाइलो गरिन्छ । होलीको दिन दिउँसोसम्म सर्वसाधारण रंग/अबिर/लोलामा यसरी व्यस्त हुन्छन् कि उनीहरूले समय गएको पत्तै पाउँदैनन् । अचेल अबिरसँगै अनुहारमा रसायनमिश्रित रंगहरूले विभिन्न आकृति बनाई समूह–समूहमा होली खेल्ने चलन पनि छ । यी रसायनहरू स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । त्यसैले सचेत भई रंगहरूको प्रयोग गर्नुपर्छ । सडक र टोलका गल्लीहरूमा सबै उमेर समूहका व्यक्तिहरू सेतो पहिरनमा होली खेल्न निस्कन्छन् । सबैको हातमा रंग/अबिर हुन्छ । कार्यव्यस्तताका कारण महिनौंसम्म भेटघाट नभएका साथीहरूका घर–घरमा गई होलीको उमङ्ग साटासाट गर्छन् । मोबाइलमा सेल्फी हान्छन्, भिडियो बनाउँछन् र सोसल मिडियामा सेयर गर्ने चलन पनि बढेको छ । अझ टिकटकमा हालेर भ्युअर्स बढाउने ट्रेन्ड नै पछिल्लो समय चलेको छ । अर्थात् होली पर्वलाई आधुनिकताले छपक्कै ढाकिसकेको छ भन्दा अतिशयोक्ति नहोला ।
मधेस–तराईको होली
मधेस–तराईमा होली ‘फगुवा’ का रूपमा फागुपूर्णिमाको भोलिपल्ट मनाइन्छ । कतै–कतै पूर्णिमाकै दिन पनि मनाउने चलन छ । पूर्णिमाका दिन मनाउने होलीलाई ‘जितहा होरी’ भनिन्छ । पूर्णिमाको दिन ‘सम्मत’ अर्थात् होलिका दहन गर्ने परम्परा छ । त्यस क्षेत्रमा वसन्तपञ्चमीदेखि नै फगुवा (होली) सुरु हुन्छ । यसै दिनदेखि रंग/अबिर लगाउने, फगुवा गीत गाउने र जोगिराहरू भन्न प्रारम्भ हुन्छ । यसका लागि धार्मिक स्थलहरू (मठ, मन्दिर) बढी उपयोगमा ल्याइन्छ । पहिले–पहिले वसन्तपञ्चमीपछि गाउँघरमा आउने पाहुनाहरूलाई हरियो रंगमा रंगाएको धोती दिने चलन थियो । अचेल यो चलन विस्तारै हराउँदै गएको छ । यस क्षेत्रमा अन्य पर्वमा जस्तै होलीमा पनि पहिले ईश्वरको आराधना गरेपछि पर्व सुरु गर्ने चलन छ । होलीमा पहिले भगवान्लाई रंग/अबिर चढाएपछि पर्वको सुरुवात हुन्छ । त्यसपछि आफ्ना परिवारका सदस्यहरूलाई रंग/अबिर लगाइन्छ । त्यसपछि मात्र आफन्त र छरछिमेकमा गई होली चेल्ने परम्परा छ । होली खेल्दा परिवारमा वरिष्ठता र कनिष्ठताको खुबै ख्याल गरिन्छ । परिवार वा आफन्तजनमा वरिष्ठ (आफूभन्दा उमेरमा पाको) ले आफूभन्दा कनिष्ठ (उमेरमा कान्छो) लाई निधारमा रंग/अबिर लगाई आशीर्वाद दिन्छन् । कनिष्ठ सदस्यहरूले भने वरिष्ठलाई खुट्टामा रंग/अबिर लगाई ढोग्ने परम्परा छ । होलीमा समान उमेर समूहका, दौंतरी र साथीभाइबीच रंग/अबिरको छ्यापाछ्याप घनिभूत रूपमा हुन्छ । मैथिली भाषी क्षेत्रमा साली–भिनाजु, देवर–भाउजूबीच होली खेल्ने रैथाने चलन नै छ । यसैगरी, होलीका दिन टोल–टोलमा परम्परागत बाजाहरू डम्फा, झुनझुना, झ्यालीसहित समूह–समूहमा फगुवा गीत र जोगिरा गाउने चलन छ । समूहहरू स्थानीयको घर–घरमा गई यो संस्कृति प्रदर्शन गर्छन् । यस दिन महिलाहरू अन्य दिनको तुलनामा बढी नै व्यस्त हुन्छन् । उनीहरूले यो दिन विशेष परिकारहरू जो पकाउनुपर्छ । उनीहरूले तयार पार्ने मौलिक परिकारहरूमा मालपुवा, दालपुरी, खीर आदि हुन् । यी परिकारहरू बाँडीचुँडी खाने चलन छ । फगुवामा दूधमा भाङ घोलेर पिउने चलन चाहिँ पुरानै हो । तर, यसमा पनि समाजले कुनै सीमा तोकिदिएको हुन्छ । यो पर्वलाई विशुद्ध शाकाहारी भने पनि केही वर्षयता माछा–मासु र मादकपदार्थको सेवन गर्नेहरू बढेका छन् । यसैगरी पछिल्लो समय उपहार, मिठाईं र बधाई साटसाटको प्रचलन पनि सुरु भएको छ । मधेस–तराईमा दिउँसोतिर रंग र साँझतिर अबिरले होली खेल्ने चलन छ । रंगले पूरै शरीर भिज्ने भएकाले साँझपख नुहाउँदा चिसोले बिरामी पर्न सक्ने कारणले अपरान्हपछि रंग लगाइन्न, अबिर दलिन्छ ।
पर्वमा विकृति
पछिल्लो समय होली पर्व मनाउने नाममा विकृतिहरूसमेत मौलाएका छन् । मादकपदार्थ सेवन गरी होहल्ला गर्ने, सडकमा बटुवाहरूलाई हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने गतिविधि बढेका छन् । लोलामा फोहोर पानी राखेर अपरिचितलाई हान्ने, अझ प्लास्टिकको झोलामा पानी राखेर हान्ने चलन बढेको छ । होली परिचितसँग खेल्ने हो, अपरिचितको अनुमतिबिना होली खेल्नु भनेको व्यक्तिको हक/अधिकारलाई कुण्ठित बनाउनु हो । मानिसले आफ्नो खुसी आफन्त/चिनेजानेकाहरूसँग साट्ने हो, अपरिचितसँग खुसी बिरलै साटिन्छ । अपरिचितलाई लोला हान्ने, पानी छ्याप्ने वा होलीका नाममा अन्य दुर्व्यवहार गर्नु अमानवीय मात्रै होइन, सिंगो वसन्तोत्सवलाई बदनाम गर्नु पनि हो । अरूलाई पीडा दिई आफू रमाउनु होली पर्वसँग मेल खाँदैन । यो पर्वमा एक–अर्काको समरस र ससम्मानको कदर गर्न सक्नुपर्छ । होलीका नाममा हुने कुनै पनि गलत गतिविधिहरूलाई निस्तेज पार्नुपर्छ । विकृतिहरूले होली पर्वप्रति जन–जनको विरक्तिने भावना बढ्न गई सिंगो संस्कृतिलाई नै क्षति पुग्न सक्छ । यसले होलीजस्तो सांस्कृतिक र हर्षोल्लासको पर्वलाई फिक्का बनाउन सक्छ ।