Successfully Copied

धर्मले नछेकेको प्रेम

‘सही मान्छे छान्नु भनेको जीवनलाई नै सार्थक बनाउनु हो ।

हिस्सी परेको मुहार, बान्की परेको शरीर, अग्लो कद, झट्ट हेर्दा अन्तर्राष्ट्रिय मोडलजस्तै देखिने एक युवतीको तस्बिरमा गायक तथा नायक अमिर शेखको आँखा पर्‍यो । उनले उक्त तस्बिर फेसबुकमा देखेका थिए । सुरुमा त अमिरलाई कसैको फेक आइडी होला जस्तो लाग्यो तर ‘म्युचल फ्रेन्ड’ हेर्दै जाँदा थुप्रै परिचित अनुहार भेटिए । उनले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उताबाट एसेप्ट भयो । त्यसपछि कुराकानीको क्रम अघि बढ्यो । उतिबेला रेनुका सिंह ठकुरी मोडलिङ क्षेत्रमा जम्दै थिइन् । रेनुकाले पनि नाम चलेका गायक भएरै ‘फ्रेन्ड रिक्वेस्ट एसेप्ट’ गरेको बताइन् । अमिरले रेनुकालाई ‘बर्थडे वीस’ गरेसँगै भेट्ने प्रस्ताव राखे । ‘भेट्ने निश्चित भयो । म पर्दामा देखिँदा खाइलाग्दो, ‘हेभी’ शरीर भएको देखिन्छु तर म वास्तवमा फुच्चे, पातलो मान्छे हुँ’ उनले भने । यो कुरामा सहमति जनाउँदै रेनुका भन्छिन्, ‘मेरै साइजको रहेछ भनेर खुसी लागेको थियो ।’

भेटघाट बाक्लियो । अमिरले प्रेम प्रस्ताव राखे । रेनुकाले सोचेर जवाफ दिने बताइन् । केही दिनको पर्खाइपछि अमिरले रेनुकाको हुन्छ भन्ने उत्तर पाए । रेनुकाको शान्त र कम बोल्ने स्वभावले अमिरलाई तानेको थियो । पछिल्लो समय अमिर एकनासले रेनुकाको करियरबारे सोचिरहे । तीन वर्षको प्रेम सम्बन्धमा अमिरले रेनुकाको करियरमा परिवर्तन ल्याइदिए । आफू मुम्बई बस्ने भएकाले रेनुकाको रूप र क्षमता अन्तर्राष्ट्रिय प्लेटफर्ममा सुट हुने भएकाले उनले रेनुकालाई पनि मुम्बई नै लगे । अमिरकै पहलमा रेनुकाले रणबीर, दीपिकासँग एसियन पेन्ट्स, निभियालगायतका ठूला ब्रान्डका विज्ञापनमा काम गर्ने मौका पाइन् । भारतीय म्युजिक भिडियो र विज्ञापनहरूमा रेनुकालाई निक्कै रुचाइयो । उनी भन्छिन्, ‘सही मान्छे छान्नु भनेको जीवनलाई नै सार्थक बनाउनु हो । मलाई गर्व छ अमिरलाई जीवनसाथीका रूपमा पाएकोमा ।’

प्रेम सम्बन्ध गहिरिँदै थियो । अन्ततः उनीहरू विवाहको टुंगोमा पुगे । अमिर मुस्लिम परिवारका, रेनुका हिन्दू ठकुरी परिवारकी हुन् । उनीहरूमा जात मात्रै नभएर संस्कार, संस्कृति, धर्मको भिन्नता थियो । तर, अमिरको परिवार अत्यन्त बुझकी, स्वतन्त्र र शिक्षित थियो । उता रेनुकाको आर्मी परिवार भने अत्यन्त कडा र अनुशासित । रेनुका भन्छिन्, ‘विवाहको कुरा सुनाउँदा ममीले अलि चित्त नबुझेको जस्तो गर्नुभयो । बरु जीवनभर राम्रो साथीका रूपमा रहनु भन्नुभयो तर मैले सकिँदैन भनेपछि विवाह गर्ने निधोमा पुगियो ।’

विवाहपछि आफूलाई अझ बढी माया र स्वतन्त्रता प्राप्त भएको रेनुका बताउँछिन् । अमिरका बुवासँग रेनुका अत्यन्त नजिक थिइन् । उनीहरू दुईबीच हरेक कुरा सेयर हुन्थे । अमिर भन्छन्, ‘केही चाहियो भने उनले बुवासँगै माग्थिन् । मभन्दा पनि बुवा नजिक हुनुभयो ।’ अहिले अमिरका बुवा पक्षघात भएर ओच्छ्यान परे, न बोल्न सक्छन्, न हिँड्न नै । यसले रेनुकालाई दुःखी बनाएको छ । अमिरकी आमाले पनि आफूलाई बुहारी नभएर छोरीजस्तै व्यवहार गरेको बताउँदै रेनुका भन्छिन्, ‘बुहारीले यो काम गर्नैपर्छ भन्ने छैन । म प्रायः बिहान १० बजे उठ्छु, ममीले खाना पकाउनुहुन्छ । जस्तो लुगा लगाएर हिँडे पनि कुनै प्रतिक्रिया आउँदैन । श्रीमान्को माया, साथ र सहयोग पाइरहेकी छु । माइतीमा भन्दा घरमा सजिलो लाग्छ मलाई त ।’ अमिर भने विवाहअघि आफू बिन्दास भएको र विवाहले परिपक्वता ल्याएको स्वीकार गर्छन् । भन्छन्, ‘विवाहअघि एक्लो जिन्दगी जेजसो गरे पनि भयो । विवाहपछि आफ्नो जीवनमा अरु कोही पनि छ भन्ने बोध हुँदो रहेछ । कर्तव्यनिष्ठ र जिम्मेवार भइँदोरहेछ ।’

अमिरको घरमा मुस्लिम र हिन्दू दुवै संस्कार स्वीकार्य छ । उनकी आमा र श्रीमती घरैमा भाइटीका गर्छन्, तीजको ब्रत बस्छन् । त्यसैगरी रेनुका पनि रमादान, इदमा श्रीमान् ब्रत बसेको देखेर आफू पनि नखाइ बस्छिन् । यसो गर्दा आफ्नो प्रेम र कर्तव्यप्रतिको जिम्मेवारी पूरा हुने रेनुकाको तर्क छ । अमिरलाई पनि श्रीमतीको यो व्यवहारले नतमस्तक बनाएको छ । उनी भन्छन्, ‘सम्बन्धमा मानवता र प्रेम हुनुपर्छ, धर्म, संस्कृति र जात बाधक बन्नु हुँदैन । सम्बन्धमा धर्म, संस्कृति, संस्कार र जातको प्रश्न उठ्न थाल्यो भने हिंसा, द्वेष र अराजकताले झाँगिने मौका पाउँछ । जसले परिवार, समाज र राष्ट्रमै अशान्ति मच्चाउँछ । तसर्थ सम्बन्धद्वारा नै शान्ति र प्रेममय वातावरण सिर्जना गर्न सकिन्छ भन्ने सन्देश हामी दिन चाहन्छौं ।’

करियर केन्द्रित यो जोडी अहिले नै बच्चा जन्माउने सोचमा छैन । पहिले आफ्नो करियरमा ध्यान दिने र एक तहको सफलता प्राप्तिपछि मात्रै सन्तानको योजना बनाउने बताउँदै अमिर भन्छन्, ‘२५ वर्षकी केटीको चाहना नबुझेर मैले अहिले नै बच्चा जन्माउन लगाएँ भने उनको भविष्य के होला ? मलाई उनको भविष्यको बढी चिन्ता छ । त्यसैले उनलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छु । म उनलाई हरदम सहयोगी बनेर साथ दिनेछु ।’

दाम्पत्य जीवनमा प्रेम, विश्वास र एक–अर्काप्रतिको सम्मानले बहार ल्याउने उनीहरूको बुझाइ छ । सम्बन्ध बलियो पार्ने सूत्र बताउँदै रेनुका भन्छिन्, ‘हाम्रै उदाहरण दिनुपर्दा हरेक साँझ–बिहानको खानामा पहिलो गास एक–अर्कालाई खुवाएर मात्रै खान्छौं, दिनभरि केही कुराले ठाकठुक भएको छ भनेपनि खानाले हामीलाई पुनः जोडिदिन्छ ।’ यस्तै हरेक जोडीमा अटल विश्वास र प्रेम हुनु जरुरी छ जसले सम्बन्धलाई सुन्दर र बलियो बनाउँछ । वैवाहिक जीवनलाई तरोताजा राख्ने उपायबारे अमिर भन्छन्, ‘आत्मीयता कायम गरी समय बिताउनुपर्छ । समयसँगै रूप परिवर्तन भए पनि मन र सोच परिवर्तन हुनुहुँदैन । एकापसमा समझदारी मूल कुरा हो । विवाहले महिलाको करियर रोकिने वा पछाडि धकेलिने होइन । विवाहले ‘सेटलमेन्ट’ गर्छ । तनावबाट टाढा राख्छ । 

अमिरबारे रेनुका

मनपर्ने पक्ष : अत्यन्तै लभिङ, केयरिङ ।

कमजोरी र बलियो पक्ष : धेरै सोच्ने, सकारात्मक सोच भएको मान्छे ।

उहाँ केका लागि यो धर्तीमा आएको ? : मेरो र संगीतका लागि ।

आकर्षक कुरा : आँखा ।

तपाईंले बोलाउने नाम : बेबु र आर्या ।

रेनुकाबारे अमिर

गुण : कसैसँग नराम्रो व्यवहार नगर्ने, शान्त स्वभावकी ।

कमजोरी र बलियो पक्ष : म उनको कमजोरी हो, काममा दृढ छन् यो उनको बलियो पक्ष हो । 

कस्ती श्रीमती ? : एकदमै माया गर्ने, विशुद्ध प्रेम दिने, सुख–दुःखमा मेरो खम्बा बनेर उभिने ।

रेनुकाले के कुरामा सुधार गर्नुपर्ला ? : रिस कम गर्नुपर्छ, यही क्षेत्रमा काम गर्ने भएपछि अलि ‘एक्स्टोभर्ट’ हुनुपर्छ । 

तपाईंले बोलाउने नाम : बु अनि जान ।

 Image