Successfully Copied

तीज गीत स्वरूप फेरियो, मर्म उही

जति–जति तीज नजिकिँदै जान्छ, संगीतको बजार उति–उति गतिशील हुँदै जान्छ । किनभने तीजसँग अभिन्न रूपमा गीत–संगीत जोडिएको छ । खासगरी तीज गीत ।

जति–जति तीज नजिकिँदै जान्छ, संगीतको बजार उति–उति गतिशील हुँदै जान्छ । किनभने तीजसँग अभिन्न रूपमा गीत–संगीत जोडिएको छ । खासगरी तीज गीत ।

परम्परादेखि नै तीजको सन्दर्भमा चेलीहरूले गीत गाउने प्रचलन छ । विगतका दिनमा माइत आएका वा माइत जान नपाएका चेलीले गीतमार्फत आफ्नो वह पोख्थे । उनीहरूले वर्षभरिका तीतामीठा भोगाइलाई गीतमा व्यक्त गर्थे । साथै, खुसी र उत्साहका कुरा पनि त्यसमा मिसिएका हुन्थे । खासगरी लैंगिक विभेदबारे खुलेर गीत गाउँथे र समानताको वकालत गर्थे । तीज गीतमा महिला जागरण र समानताको स्वर पनि मिश्रण हुन्थ्यो ।

तीजको सन्दर्भमा गीत गाउने प्रचलन अहिले पनि उस्तै छ । तर, महिलामा चेतना र जागरुकता बढेसँगै गीतको स्वरूप बदलिएको छ । पछिल्लो समय महिलाहरू गीतमा मनको वह पोख्दैनन् । बरु, उत्साह र उमङ्गको भाका हाल्दै छमछमी नाच्छन् ।

तीज गीतको यही परम्पराले संगीत बजारलाई यतिबेला चलायमान बनाइरहन्छ । जसै तीज नजिकिन थाल्छ, नयाँ–नयाँ तीज गीत र म्युजिक भिडियोको पनि बहार आउँछ । यसै सन्दर्भमा तीज गीतका लागि चर्चित गायक/गायिकाको अनुभव यहाँ प्रस्तुत गरिएको छ ।

राधिका हमाल :

आमाप्रति समर्पित गीत :

गायिका राधिका हमालले यसपटक आधा दर्जन तीज गीत गाइसकेकी छन् । ‘मरिन्छ कि साइँलो...’, ‘बुहारी..’, ‘सौता..’ जस्ता गीत यसपटक उनको स्वरमा रेकर्ड भएका छन् । उनले योसँगै ‘आमा’ बोलको गीत पनि रेकर्ड गराएकी छन् । आमा गुमाइसकेकाले उनकै समर्पणमा यो गीत निकालेको राधिका बताउँछिन् ।

‘वास्तवमा यो मेरो अनुभूति र वेदना हो’ उनी भन्छिन्, ‘हरेक काम गर्दा आमाको आशीर्वाद चाहिन्छ । हरेक पल आमाको सम्झना आउँछ । आमाविनाको चाडबाड पनि खल्लो हुन्छ । त्यसैले आमाकै लागि यो गीत गाएकी हुँ ।’

विगतमा अविवाहितले राम्रो श्रीमान् पाइयोस् भन्दै, विवाहितले श्रीमान्को दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै गीत गाउने चलन थियो । साथै सासूले बुहारीलाई हेप्ने र बुहारीलाई सासूले हेप्ने कुरालाई पनि गीतमार्फत नै व्यक्त गरिन्थ्यो । राधिका भन्छिन्, ‘अहिले जमाना फेरिइसकेको छ । त्यसैले मैले अलि फरक किसिमको गीत निकालेकी हुँ ।’

पशुपति शर्मा : माया–प्रेम र महिला हिंसाविरुद्ध गीत

पशुपति शर्मा लोक गायनमा सर्वाधिक सुनिने नाम हो । प्रायः उनका गीतहरू मर्मस्पर्शी र रमाइला हुन्छन् । उनै पशुपतिले तीजका सन्दर्भमा पनि गीत निकाल्छन् । यसपटक उनले तीजको भाकामा ६ वटा गीत गाइसकेका छन् । उनी भन्छन्, ‘महिला हिंसाविरुद्धका, माया–प्रेमका रमाइला गीतहरू निकालेको छु ।’

उनी तीज गीतलाई चाडको मर्यादाभित्र रहेर सिर्जना गर्नुपर्ने बताउँछन् । तीज खासगरी महिलाको पर्व भएकाले उनीहरूकै पक्षमा गीत सिर्जना गर्नुपर्ने उनको बुझाइ छ । यद्यपि बजारमा अनेकथरी भड्किला गीतहरू पनि सार्वजनिक हुन्छन् । यसलाई उनी विकृतिको संज्ञा दिन्छन् । ‘समाजमा अपाच्य हुने, उच्छृंखल, भद्दा खालका गीतहरूलाई नियन्त्रण गर्ने सेन्सर नभएका कारण यस्ता गीतहरू आइरहेका छन्’ उनी भन्छन्, ‘कलाकारहरूले नै बुझ्नुपर्ने कुरा हो ।’

उनको बुझाइमा तीज गीत भनेको महिलाको वेदना पोख्ने, महिलाहरूको आत्मविश्वास बढाउने खालको हुनुपर्छ । सकेसम्म समाजमा सुपाच्य, परिवार र छोराछोरीसँग बसेर हेर्न मिल्ने खालका गीत बनाउनुपर्नेमा उनको जोड छ ।

त्यसो त श्रोता एवं दर्शकले पनि भड्किलो गीतलाई नै उक्साइरहेको उनको गुनासो छ । वास्तविक गीत वा तीजको मर्म बोक्ने गीतलाई भन्दा अनावश्यक गीतलाई दर्शकले हेर्ने र सुन्ने गरेको पाइन्छ । पशुपति शर्मा भन्छन्, ‘गीत–संगीतको माध्यमबाट राम्रो खालको सन्देश सम्प्रेषण गर्ने हो न कि समाजमा नराम्रो विकृति विसंगति भित्र्याउने हो ।’ राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका उपाध्यक्षसमेत रहेका शर्माले यस्ता गीतलाई निरुत्साहित गर्नुपर्ने बताउँछन् ।

खेम सेन्चुरी : महामारीसँग जोडेर गीत

खेम सेन्चुरी लोक गायनमा चर्चित छन् । यसपटक मात्र उनले १६ वटा गीत गाइसकेका छन्, तीज लक्षित । उनले समाजको वर्तमान घटनालाई गीतमा समेटिएको बताए । कोरोना महाव्याधिको विषय उठान गर्दै तीजको मर्मलाई पनि समेटेर गीत निकालेको खेम सेन्चुरीले बताए ।

‘समयानुसार गीतको प्रारूप परिवर्तन हुन्छ’ खेम भन्छन्, ‘तर, मौलिक धार भने छोडिनु हुँदैन । विकृति, विसंगति हुनुहुँदैन । घर–परिवार सँगै बसेर हेर्न–सुन्न सकिने हुनुपर्छ ।’

अहिले पहिले जस्तो लामो बाटो हिँडेर माइत आउने चलन छैन, सासूले बुहारीलाई हेला गरेको सुनिँदैन, समय परिवर्तन भइसकेको छ । ‘हामी सर्जकहरूले त्यहीअनुसारको गीत सिर्जना गर्छौं’ खेम भन्छन्, ‘समय जति नै परिवर्तन भए पनि केही कुरा अझै बाँकी नै छ । महिलाहरूका दुःख–पीडा सकिएका छैनन्, बरु त्यसमा परिवर्तन आएको छ ।’

संगीता शिवाकोटी : मौलिक भाकाको गीत

संगीता शिवाकोटी लोक गायनमा नयाँ नाम हो । उनले आगामी तीज लक्षित ‘मै घुमें फनफनी’ बोलको गीतमा स्वर दिएकी छिन् । उनी भन्छिन्, ‘यो पूर्णतः मौलिक भाका भएको गीत हो ।’ अहिले बजारमा अनेकौं समाजमा अपच हुने खालका गीत आएका छन् । यो गीत अलग भएको उनको दाबी छ । उनलाई लाग्छ, तीज भनेको नाच्ने, गाउने, रमाइलो गर्ने पर्व हो । त्यसैले तीज गीत सबैको लोकप्रिय हुनुपर्छ ।

भड्किलो गीत प्रोत्साहन नगर्ने : दोहोरी प्रतिष्ठान

पछिल्लो समय तीज गीतमा संयमता पाइन छाडेको छ । कतिपय गायक/गायिकाले तीज गीतको नाममा भड्किला र समाजले नपचाउने गीत रेकर्ड गर्ने, भिडियो बनाउने गर्छन् । क्षणिक चर्चाको लोभमा तयार गरिने यस्ता गीतलाई राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले प्रोत्साहित नगर्ने रणनीति ल्याएको छ ।

प्रतिष्ठानले विज्ञप्ति नै निकालेर यस्ता गीत गाउने कलाकारलाई संस्थाबाट प्राप्त हुने सुविधाहरू नदिइने जनाएको छ । विदेशमा हुने कार्यक्रममा सहभागी हुन नदिने उल्लेख छ । राधिका भन्छिन्, ‘संस्थाले रोकथाम गर्ने प्रयास गरेको छ । यो भन्दा ठूलो सजाय के हुन्छ र ?’

उनको बुझाइमा यतिबेला कलाकार स्वयं सतर्क, सजग र सचेत हुनुपर्छ । ‘किनभने एउटा कलाकारको दायित्व पनि हो’ उनी थप्छिन्, ‘संस्कृतिलाई जगेर्ना गनुपर्छ । सस्तो लोकप्रियताका लागि यस्ता समाजमा विकृति फैलाउने गीतहरू निकाल्नु भएन । पछिल्लो समय नाम कमाउने होड चलेको छ जसरी भए पनि नाम कमाउनु छ । बदनाम भएर नै किन नहोस् ।’

 Image