Successfully Copied

संघर्षशील प्रकाश

‘म गायक नै भनेर चिनिएको मनपर्छ, किनभने म एकदमै दुःख गरेर गायक बनेको हुँ ।’

नेपाली सांगीतिक क्षेत्रको एउटा लोकप्रिय नाम हो–प्रकाश सपूत । ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरी लै’, ‘फुटेका चुरा’ उनका चर्चित गीत हुन् । उनको परिचय गायकमा मात्रै सीमित छैन । उनी मोडल, संगीतकार, गीतकार एवं नायक पनि हुन् । गायन शैली र भिडियोमा राम्रो प्रस्तुतिका कारण उनी श्रोताहरूको मनमा बस्न सफल भएका छन् । सपूतले एकपछि अर्को गीतमा सफलता बटुलेका छन् । यति धेरै परिचय हुँदा उनी आफू केमा रुचाउँछन् त ? उनी भन्छन्, ‘म गायक नै भनेर चिनिएको मनपर्छ, किनभने म एकदमै दुःख गरेर गायक बनेको हुँ ।’ गायक बन्न उनले धेरै संघर्ष गरेका छन् । औपचारिक रूपमा संगीत सिकेर अघि बढेका भने होइनन् । संगीतमा उनलाई कसैले डोर्‍याएका पनि होइनन् । उनले आफ्ना लागि आफ्नै बाटो खन्दै अघि बढिरहेको सफलता हो यो ।

गाउँघरकै लोकभाका र भजन–कीर्तनबाटै उनको संगीतप्रति आकर्षण बढेको हो । सपूत बाग्लुङमा जन्मिए । गाउँमा विभिन्न भाकामा गीत गाउँथे । आमाहरू भजन गाउँथे । त्यही भजनबाट गीत–संगीतमा उनको मोह बढ्दै गयो । विद्यालय स्तरमै उनी धेरै प्रतियोगितामा भाग लिन्थे । अरुभन्दा उनको गायकीपन छुट्टै थियो । यसकारण पनि उनी सबैको आँखामा पर्थे । सांगीतिक क्षेत्रमा उनलाई अगाडि बढ्नका लागि माध्यम बनेको हो गण्डकी गायन प्रतियोगिता । जहाँ एकल दोहोरीको प्रतिस्पर्धा थियो । पोखरामा सम्पन्न उक्त प्रतियोगितामा उनले बाग्लुङ जिल्लाको प्रतिनिधित्व गरेका थिए । उनले चौथो स्थान हासिल गरे पनि सबैका मनमा बस्न सफल भए । त्यसपछि नै हो उनको फोनको घन्टी बज्न थालेको । एल्बम निकाल्न धेरैले उनलाई अफर गरे । गायनमा लाग्न उनले हौसला पाउन थाले । यत्तिमै उनको प्रतिस्पर्धा भने सीमित भएन ।

जिल्ला हुँदै उनी अञ्चल स्तरीय प्रतियोगितामा सहभागी हुन थाले । ०६७ मा धौलागिरी अञ्चलको उत्कृष्ट गायकको उपाधि पाए । प्रतिस्पर्धामा सफलता पाइरहँदा उनी भविष्य खोज्दै काठमाडौं झरे । काठमाडौंको संघर्ष उनका लागि सहज भएन । सोचेभन्दा पनि फरक पाए काठमाडौं । कामसँगै दाम पनि खोज्नुपर्ने उनको बाध्यता थियो । रेस्टुराँदेखि उनले फर्निचरसम्मको काम गरे । गायनको हुटहुटी त छँदै थियो । उनी दोहोरी साँझ पुगे । त्यहाँ झनै कठिन । नयाँ कलाकारलाई विभेद हुन्थ्यो । उनी भन्छन्, ‘दोहोरी साँझ पनि संघर्षमै बितेको थियो, स्थापित हुन सकस नै हुन्थ्यो ।’ कलाकार बन्ने हुटहुटीले उनी थुप्र्रै पटक सुटिङ स्पोर्ट पनि पुगे । रेकडिङ स्टुडियो घुम्दै दिन पनि काटे ।

‘मुसुमुसु नहाँस मायाले’ उनको पहिलो एल्बम हो । साथीहरूसँग मिलेर निकालेको एल्बममा उनले आफैले अभिनयसमेत गरेका छन् । यसले खासै चर्चा त पाएन तर सपूतलाई गायक र मोडल गर्न सक्छ भन्नेमा परिचित गरायो । तर त्यसयता उनले धेरै गीत गाइसकेका छन् । धेरै भिडियोमा पनि काम गरिसकेका छन् । विस्तारै उनी दर्शकबाट चिनिए । पछि उनी सांगीतिक क्षेत्रमै रमाउन थाले । ‘बोलमाया’ पछि भने उनलाई पछि फर्केर हेर्नुपरेको छैन । ‘बोलमाया’ मा उनले वैदेशिक रोजगारीको पीडालाई देखाएका छन् । त्यसपछि उनका हरेक गीतहरू रुचाइनुका साथै ट्रेन्डिङमा समेत पर्न थालेका छन् । सफलता हासिल गर्दै जानुमा भने प्रकाश आफ्नो मेहनत र संघर्ष रहेको बताउछँन् । उनी भन्छन्, ‘म गायन क्षेत्रमा संघर्ष गर्दै आएको हुँ, त्यसकारण राम्रो बनाउन मेहनत गरिरहेको हुन्छु ।’

सपूतले फरक शैलीमा आफ्नो गीत प्रस्तुत गर्छन् । उनलाई सामाजिक विषयवस्तुले बढी तान्छ । त्यसैलाई उनले गीतमार्फत पस्कन्छन् । भन्छन्, ‘सामाजिक विषयवस्तुलाई नै गीतमार्फत देखाउँछु ।’ भिडियोमार्फत गीत प्रस्तुत गर्दा दर्शकले रुचाएको उनको भनाइ छ । सफलता हासिल गर्नुको पछाडि दर्शकहरूको फरकपना खोजेको महसुस उनलाई हुन्छ । सपूत गायनसँगै चलचित्र क्षेत्रमा पनि प्रवेश गरेका छन् । उनले ‘परदेशी २’ चलचित्रमार्फत डेब्यु गरेका छन् । रहरका लागि मात्र अभिनय गरेको उनी बताउँछन् । उनी भन्छन् ‘मोडलिङ गर्दागर्दै चलचित्रको अफर आएपछि अभिनय गरेको हुँ ।’ चलचित्र क्षेत्रमा प्रवेश गरे पनि सपूतले संगीत साधनामै रमाउने लक्ष्य लिएका छन् ।

 Image