Successfully Copied

महिला किन टार्गेटमा ?

यो विषय अहिलेसम्मको परिवेश हेर्दा पुरुषप्रधान समाजमा महिला हावी हुने भयो भन्ने त्रासयुक्त सोचको उपज हो । महिला बोल्ड भएर बोल्न थालेपछि असुरक्षाको भावना जागृत भयो ।

यो विषय अहिलेसम्मको परिवेश हेर्दा पुरुषप्रधान समाजमा महिला हावी हुने भयो भन्ने त्रासयुक्त सोचको उपज हो । महिला बोल्ड भएर बोल्न थालेपछि असुरक्षाको भावना जागृत भयो । यसअघि यही कुरा अरूले पनि बोलेका थिए, तर तिनीहरू पुरुष भएकाले टार्गेटमा परेनन् । मैले बोलेको कुरालाई अर्को अर्थ लगाई बङ्ग्याएर मलाई गालीगलौज गर्ने र गलाउने काम भयो । अपशब्द प्रयोग गरी मलाई कमजोर पार्न खोजियो । घरपरिवार सम्हालेर बसेकी मलाई क्षणभरका लागि गलायो । यो निरन्तर रूपमा अगाडि बढिरहेकी छे । यसलाई ठीक पार्न पाए पुरुष हावी कायमै रहन्थ्यो भन्ने थियो । जति मलाई गाली बर्साइयो, त्यति राम्रा चलचित्र लिएर आउँछु, अब म । यहाँ पुरुषप्रधान दबदबा कतिसम्म छ भने म पनि मान्छु महानायक तर खोइ त महानायिका ? भारतमा सुचित्रा सेनलाई महानायिका घोषणा गरियो, बाबा फाल्के पुरस्कार छोडेर उनले जनताले दिएको महानायिका पद लिइन्, खोइ नेपाली नारीले हाम्रो देशमा त्यो महसुस गर्न पाएको ? प्रायः देशको इतिहासमा चलचित्रमा महानायक छैनन् ।

हामीकहाँ हेडलाइन हेरेर गाली गर्ने प्रवृत्ति छ । दुई–तीन दिन यसले मलाई अत्यन्तै गाह्रो बनायो । किनकि म परिवारसँग बसेकी केटी हुँ । मलाई बहिष्कार गर्नेसम्मका शब्दहरू प्रहार गरियो । म पनि ३० वर्ष यही क्षेत्रलाई योगदान दिएकी मान्छे हुँ । आज पुरुषलाई सम्मान गर्ने निहुँमा महिलालाई अपमान गरियो । खै कहाँ भयो त कलाकारको सम्मान ? मेरा चलचित्र बहिष्कार गर्ने, मलाई गोली ठोक्ने, बाटोमा भेटे बलात्कार गर्नेजस्ता तुच्छ शब्दहरू ममाथि प्रहार भए । दरिद्र मानसिकता भएकाले यसो गरे । सुशान्त सिंह राजपूतको घटनामा किन त्यसो गरेको होला भन्ने मान्छे मै हुँ । किन मान्छे आत्महत्या गर्छन् भन्दा यस्तै भएर रहेछ, जुन म आफू स्वयंले भोग्नुपर्‍यो तर मैले हार मानिन । मेरो टिमले, परिवारले सम्झाएपछि ‘मान्छे चिन्नु पर्छ’ भन्नेमा अडिग रहें । अब त म झन बलियो भएकी छु । दर्शक मेरा देउता हुन् । चाणक्यका अनुसार अप्ठ्यारोमा मानिस सधै संयमित भएर बस्नुपर्छ । म यसरी नै बस्छु, यसैगरी काम गर्छु । मलाई संसार गुलियो मात्रै लाग्थ्यो तर होइन रहेछ भन्ने पाठ सिकें ।

डा. रेणु अधिकारी, महिला अधिकारकर्मी

समग्रमा, भन्नुपर्दा यो विषय मानसिकताको उपजबाहेक अरू केही होइन । महिला भनेको निश्चित दायराभित्र बस्नुपर्छ भन्ने मानसिकता हामी कहाँ छ । समाजले दिएको स्थानको दायराभित्र महिला बस्नुपर्ने भएकाले यस्ता इस्यु उठ्छन् । हामीलाई सरसर्ती हेर्दा–सुन्दा लाग्छ अशिक्षित, चेतना नभएका मानिसले महिलामाथि हिंसा गर्छन् तर होइन महिलामाथि हिंसा गर्ने समूह भनेको पढेलेखेका र बुझेका मान्छे हुन्,जसलाई महिलाको नेतृत्व स्वीकार्य हुँदैन । एउटा तीज गीतमार्फत महिला आन्दोलनको उद्घोष गरिएको थियो त्यसलाई सबैभन्दा पहिला विश्व हिन्दु महासंघले प्रहार गर्‍यो । जबकि त्यो धर्मसँग जोडिएको विषय नै होइन, महिलाको अस्तित्व र अधिकारसँग जोडिएको कुरा हो । गीतले महिलाको समान अस्तित्व बोलेको थियो । तर त्यसैमा प्रहार गरियो । निडर भएर बोल्ने हिम्मत गर्ने महिलालाई कमजोर पारिन्छ । मलाई नै पनि अत्यन्तै छुच्ची, प्रतिकृयावादी भनेर व्याख्या गर्छन्, अहिले पनि । यी सब महिलालाई झुकाउन, गलाउन, आफ्नो वर्चस्व कायमै राख्न गरिने व्यवहार हुन् । मेरो स्पेस रहिरहन्छ नत्र यस्ता बोल्ड महिला बोल्न थाले भने मेरो स्थान गुम्छ भन्ने सोच भएका मानिसहरूले महिलाका विचार र धारणाका विरुद्ध प्रहार गर्छन् ।

सुनीता राउत, समाजशास्त्री, समाजशास्त्र विभाग त्रि.वि.

नेपाली समाज पितृसत्तात्मक, त्यसमा पनि पुँजीवादी पितृसत्तात्मक अवस्थाबाट गुज्रिरहेको छ । यो समाजको चरित्र नै पुरुषहरू सर्वेसर्वा हुन्छन् र महिलाहरू देखाउने, किनिने वस्तु हुन्, मनोरञ्जनका साधन हुन्, नाफा र घाटासँग जोडिएका वस्तु हुन् भनेर लिइन्छ । माथिल्लो वर्गमा पुरुष हुन्छन्, तल्लो वर्गमा महिला । पुरुषप्रधान समाजमा महिलालाई भोग्य वस्तुका रूपमा लिइने भएकाले महिलालाई यस्तो समाजले आफ्नै तरिकाले व्याख्या गर्छ । यो समाजमा पुरुषसँग निर्भर नभई महिला माथिल्लो तहमा पुग्नै सक्दैनन् भन्ने सोच हुन्छ । त्यही कुराले गर्दा समान तरिकाले बोलेको, पुरुषसँग चुनौती मोलेको कुरा स्वीकार गर्न सक्दैनन् । हामी यस्तो सामाजिक संरचनाभित्र छौं त्यसका अन्य उप–प्रणाली पितृसत्तात्मक सोच र संरचनालाई जोगाउने, निरन्तरता दिने र बढावा दिने खालका छन् । अहिलेका मुद्दामा बोल्दा महानायिका पनि त खोज्नुपर्ने नि खोइ त ? महानायक पनि यही समाजले बनाइदिएको हो । पुरुषलाई बनायो, महिलालाई भत्कायो, विभेद यही देखियो । महिलाले पुरुष र पुरुषप्रधान समाजका विरुद्ध बोल्दा र काम गर्दा पागल भनेर उसको पृष्ठभूमि, सारा धरातल खोजिन्छ । यदि यही ठाउँमा पुरुष बोलेको भए फलानो त रियल हिरो भयो, च्यालेन्ज गर्‍यो, कति बहादुर ? भन्ने बुझिन्थ्यो, मानिन्थ्यो तर यो पितृसत्तात्मक समाज र उप–प्रणालीले महिलाले बोलेका कुरालाई आफ्नै तरिकाले बुझ्यो, व्याख्या गर्‍यो र प्रचार–प्रसार गर्‍यो । क्षमायाचना गर्नसमेत बाध्य बनाइयो । यस्तो बेला हामी नारीले क्षमायाचना गर्नुहुँदैन, आफ्नो अडानमा अडिग रहनुपर्छ, समान अस्तित्व र समान हैसियत बनाइरहनुपर्छ अनि मात्रै हामीले जित्छौं ।

भगवती भट्टराई, मनोविद्

मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा यस्ता कुराले महिलाको आत्मसम्मानमा ठेस पुग्छ, सामाजिक चिन्ता, डर, त्रास, डिप्रेसनलगायत तनावको तह उच्च हुन्छ । चिन्ताले रोगबाट ग्रसित बनाउँछ । चिन्ताले हुने रोग र सामाजिक चिन्तामा फरक छ । सामाजिक चिन्ता भनेको समाजमा घुलमिल हुन, खुल्न, आफ्ना कुरा राख्ने चाहनालाई कमजोर बनाउनु हो । आफूलाई कमजोर ठान्नु नकारात्मक सोच आउने क्रियाकलापभित्र पर्छन् । यस्ता विषयले मानिसमा भित्री समस्या निम्त्याउँछ । यो भनेको आफूले आफैंलाई कम आँक्ने, आफूलाई गलत र कमजोर ठान्नु हो । तर यस्ता कुराबाट महिला बाहिर निस्किनका लागि सबैभन्दा पहिले आफ्नो मनोबल  दह्रो बनाउनुपर्छ । मनोवैज्ञानिक रूपमा आफूले आफूलाई बलियो बनाउनुपर्छ । आफूलाई भित्रैदेखि बलियो बनाउने र आफैंभित्र कन्भिन्सिङ क्षमता बढाउनु जरुरी छ । नसकेको खण्डमा कोसँग सहयोग लिँदा आफूलाई सहज र प्रभावकारी हुन्छ उसैसँग सल्लाह र परामर्श लिनु उत्तम हुन्छ ।

 Image