खगोल विज्ञान सिक्दै–सिकाउँदै
सुरेशको संस्थाले देशका विभिन्न स्थानबाट तारा हेर्ने र खगोलमा रुचि राख्नेहरूका लागि प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।
बिहानको १० बजेदेखि नै हेटौंडा ०९ को मुन्ना अटो वर्कसपमा उद्यम विकासमा कसैलाई पछाडि नछोडौं भनी लेखिएको कालो ज्याकेट लगाएका महिलाहरू देखिन्छन् । हातमा रेन्च, पिलास र अन्य उपकरण लिई मोटरसाइकल मर्मत गरिरहेको देख्दा जोकोही आश्चर्यमा पर्छन् । काम गरिरहेको देख्दा कतिले त नजिकै आएर सोध्ने गरेको अनुजा प्रजाले बताइन् ।
महिलाहरूका लागि अटो मेकानिक तालिमअन्तर्गत सीप विकास तालिम सिकिरहेकी हेटौंडा १५ की निरु सुनार भन्छिन्–पहिले भन्दा अहिलेको अवस्था निकै भिन्न भइसकेको छ, पुरुषले मात्र गर्न सक्छन् होला भन्ने सोच्थे तर अहिले त म आफैंले पनि चक्का फेर्ने, नटहरू कस्ने, चेन इस्पकेटका काम सबै गर्न सक्छु । केही समयअघि श्रीमान्को मोटरसाइकल समेत मर्मत गरिदिएको उनले बताइन् । यस्तै अवस्था हेटौंडा १८, हर्नामाडीमा पनि देख्न सकिन्छ । सुकौराका तल्लो भेगका महिलाहरू सहभागी रहेको उक्त तालिम महिलाहरूका लागि अति उपयुक्त रहेको र वास्तवमै नमुना कार्य रहेको हेटौंडा १८ का वडाध्यक्ष अनिल बानियाँले बताए ।
घरको चुलोचौकामा मात्र सीमित महिलाहरू यसरी अटो मेकानिक तालिममा सहभागी भएको मकवानपुरका लागि यो पहिलो पटक हो । दलित तथा जनजाति महिलाहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यका साथ हेटौंडा उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा एकीकृत ग्रामीण विकास सेवाद्वारा संचालित उद्यम विकासमा कसैलाई पछाडि नछोडौं परियोजनाअन्तर्गत हेटौंडा १५ र १८ मा महिलाहरूका लागि अटो मेकानिक उद्यम संचालन भइरहेको छ ।
हेटौंडा १५ र १८ मा ५–५ जना महिलाको समूह बनाई संचालन गरिएको तालिममा कुल ७ जना दलित र ३ जना जनजाति महिलाहरूको सहभागिता रहेको छ । आवश्यक प्रविधि हेटौंडा उपमहानगरपालिकाले अबको केही दिनमै सहयोग गरिसकिने बताएको छ भने तालिमका सहभागी महिलाहरू ग्यारेज स्थापनाका लागि उपयुक्त ठाउँ खोज्न थालिसकेका छन् ।