‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

स्कुले जीवनदेखि विद्यार्थी आन्दोलनमा लाग्दै स्ववियू, अनेरास्ववियु हुँदै अहिले सभासद बनेकी नेतृ हुन्–नवीना लामा । राजनीतिमा व्यस्त हुँदाहुँदै पनि आर्थिक आयका लागि काम गर्नुपर्छ भन्ने मान्यताले उनले साथीहरूसँग मिलेर रेस्टुराँ व्यवसाय समेत संचालन गरेकी छिन् । जहाँ उनले द्वन्द्वपीडित, एसिड पीडित एवं महिला हिंसामा परेका महिलाहरूलाई रोजगारीको व्यवस्थासमेत गरेकी छिन् ।
नेतृ भएर बढी फेसन गर्नुहुन्छ भन्ने भनाइलाई तपाईं कसरी लिनुहुन्छ ?
नेता भनेको देश र जनताको प्रतिनिधि पात्र हो । देश–विदेश जतातिरबाट पनि हामीलाई नियालिरहेका हुन्छन् । त्यसैले म कुन ठाउँमा केका लागि जाँदैछु त्यस्तै गेटअप गरेर जान खोज्छु । संसद् भवनमा सकभर नेपाली कपडाकै साडी लगाउँछु भने जनजातिका कार्यक्रममा उनीहरूको जस्तै पहिरन लगाउँछु । पारिवारिक भेटघाटमा कुर्ता मेरो रोजाइमा पर्छ भने साथीभाइसँग क्याजुअलमै हुन्छु । म आफूलाई फेसनेबल भन्दा फेसन कन्सेस भन्न रुचाउँछु ।
तपाईंलाई कस्तो पहिरन लगाएर हिँड्न मनपर्छ ?
विद्यार्थी आन्दोलनमा लाग्दा पाइन्ट, टिसर्टमै बढी हिँड्ने भएर होला क्याजुअल वेयरमै सजिलो लाग्छ । तर अहिले साडी पनि मनपर्ने पहिरन हुन थाल्यो ।
जाडो मौसम कस्तो लाग्छ ?
मलाई जाडो मौसम मनपर्दैन । एक त चिसोले बिहान उठ्नै कठिन हुन्छ भने त्यसमा अझ बढी लुगा लगाउनुपर्छ ।
यो समय तपाईंको गेटअप कस्तो हुन्छ ?
बडी वार्मर, स्वेटर भुवादार लेगिन्स, पाइन्टहरू बढी लगाउँछु । जाडोमा लङ कोट, लङ बुट, ऊलन ड्रेस, मफलर, सल मेरो च्वाइसमा पर्छ । साडी लगाउँदा पनि यो समय नेपाली कपडाकै लगाउँछु । साथमा कोटहरू लगाएर न्यानो भई हिँड्न खोज्छु । पहिले आफ्नो शरीरलाई न्यानो बनाउन ध्यान दिन्छु ।
सपिङ बढी कता गर्नुहुन्छ ?
म डिजाइनर वेयरदेखि नर्मल लुगा पनि लगाइरहेकी हुन्छु । सपिङका लागि पनि खासै यही ठाउँ भन्ने छैन । जता राम्रो लाग्यो उतै किनिहाल्छु । विदेशतिर हुँदा उतै पनि किनेर ल्याउँछु साथमा अनलाइन पनि किनिरहेकी हुन्छु ।
जाडोमा स्मार्ट देखिने टिप्स के होला ?
आफ्नो शरीरलाई न्यानो बनाएर, आफूलाई सुहाउने लुगा लगाउँदा स्मार्ट देखिन्छ । अरूको सिको गरेर लगाउँदा भने नसुहाएको पनि हुनसक्छ । आफ्नै गेटअप शैली बनाएर, कस्तो रंग, डिजाइन सुहाउँछ त्यसरी लगाउँदा जो पनि स्मार्ट र आकर्षक देखिन्छ ।