Successfully Copied

महिनावारी सचेतना

हालैको एक अध्ययनले सामान्यतया ६ देखि १२ वर्ष उमेर समूहका केटा वा केटी दुवैले आफ्ना आमा, दिदी, काकी, भाउजू आदिले निरन्तर गर्दै आएको अभ्यासका कारण महिनावारीलाई अशुद्ध मान्ने गरेको तथ्य बाहिर ल्याएको छ ।

सोह्र दिने लैंगिक हिंसाको अवसर पारेर मितिनी इनिसियटिभले पूर्व मिस नेपालहरूसँगको सहकार्यमा एउटा पृथक् कार्यक्रमको आयोजना गर्‍यो । भृकुटीमण्डपमा आयोजित उक्त कार्यक्रमको मूल उद्देश्य महिलालाई महिनावारीसम्बन्धी चेतना जगाउनु थियो । हालैको एक अध्ययनले सामान्यतया ६ देखि १२ वर्ष उमेर समूहका केटा वा केटी दुवैले आफ्ना आमा, दिदी, काकी, भाउजू आदिले निरन्तर गर्दै आएको अभ्यासका कारण महिनावारीलाई अशुद्ध मान्ने गरेको तथ्य बाहिर ल्याएको छ ।

 ‘यस्तै अभ्यासका कारण सोही उमेरदेखि नै केटामा आफू शुद्ध, शक्तिशाली र ठूलो हुँ भन्ने मनोभाव बढ्दै जान्छ भने केटीहरू उमेर पुगेपछि महिनावारीका कारण अशुद्ध हुनुपर्ने, शक्तिहीन र सानो हुनुपर्ने अनुमान गर्दै आफूभित्र हीनताबोध बढाउंदै लैजान्छन् ।’ आयोजक संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ–‘यही सोच, धारणा र अभ्यासका कारण केटीहरूमा कम बोल्ने, प्रश्न नगर्ने, चुपचाप सहने बानीको विकास हुँदै जान्छ र अन्तत: केटाहरू दबाउने र केटीहरू पीडित भएर निस्कन्छन् ।’ 

यो समस्या क्रमश: विकराल हुँदै जाने हुँदा परिवर्तनका लागि कार्यक्रममा बाह्र जना पूर्व मिस नेपालले आवाज उठाएका हुन् । विषयगत अन्तरक्रियासँगै पूर्व मिस नेपाल श्वेता सिंह, माल्भिका सुब्बा, उषा खड्गी, प्रीति सिटौला, मलिना जोशी, इभाना मानन्धर, सुबिन लिम्बू, ईशानी श्रेष्ठ आदिले बाह्र वटा फुड स्टलबाट स्वादिष्ट परिकार पस्किएका थिए । बाह्रै वटा स्टलबाट उठेको पैसा मितिनी इनिसियटीभद्वारा सामाजिक कार्यमा खर्च गरिनेछ । 

महिनावारी सचेतनामा लामो समयदेखि काम गर्दै आएको मितिनी इनिसियटिभले रेस्टुराँ, मल एवं होटलका शौचालय सफा गरिदिने, डस्टबिन राखिदिने र स्यानिटरी प्याड वितरण गर्ने काम गर्दै आएको छ । माल्भिका सुब्बाले ‘महिनावारीलाई उत्सवका रूपमा मनाउनुपर्छ’ भन्ने चेतना अभिवृद्धिका लागि यो कार्यक्रमको आयोजना गरिएको बताइन् । 

तस्बिर: महेश प्रधान

 Image