Successfully Copied

न्यूज मेकर्स

आधुनिक समाजमा महिला सशक्तीकरण प्रमुख प्रश्नका रूपमा अगाडि आइरहेको छ । नेपालजस्तो तेस्रो विश्वका लागि यो अझ जल्दोबल्दो प्रश्न हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि महिलाहरूको सामाजिक परिवर्तनसँगै उनीहरूको पहुँच शिक्षामा मात्र बढेको छैन, आर्थिक आत्मनिर्भरतासमेत बढ्दै गएको छ ।

आधुनिक समाजमा महिला सशक्तीकरण प्रमुख प्रश्नका रूपमा अगाडि आइरहेको छ । नेपालजस्तो तेस्रो विश्वका लागि यो अझ जल्दोबल्दो प्रश्न हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि महिलाहरूको सामाजिक परिवर्तनसँगै उनीहरूको पहुँच शिक्षामा मात्र बढेको छैन, आर्थिक आत्मनिर्भरतासमेत बढ्दै गएको छ । आधा आकाश र आधा धर्ती ढाक्ने महिलाहरूको उदय राजनीतिक शक्तिकेन्द्रका रूपमा हुनु अब नयाँ कुरा रहेन किनभने महिलाहरू नेपालका उच्च राजकीय पदमा पुगिसकेका छन् । पुरुषसरह नै महिलाहरू कर्म, क्षमता, प्रभावजस्ता कारणले राजनीतिसँगै आर्थिक एवं सामाजिक क्षेत्रमा समेत उदाउन थालेका छन् । पुरुषसरहकै अधिकार र उनीहरूसरहकै भूमिकाका कारण महिलाहरूको चर्चा सबैतिर हुन थालेको छ । ०७५ मा केही महिला न्यूजमेकर्सका रूपमा चर्चा बटुल्न सफल रहे । सम्पत्तिमाथिको अधिकार, सरकारी सेवा, निजी कर्पोरेट हाउसहरूमा पनि महिलाको उपस्थिति बलियो बन्दै गएको छ । राजनीति, व्यवसाय आदि क्षेत्रमा पनि महिलाहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै प्रतिस्पर्धामा उभ्याउन थालेका छन् । राजनीति, व्यापार, खेलकुद, सौन्दर्य आदि क्षेत्रमा प्राप्त सफलता एवं सकारात्मक छविका कारण केही महिला समाचारमा छाए । 

विद्यादेवी भण्डारी

पछिल्ला केही वर्षदेखि निरन्तर न्यूजमेकर्सको छविमा छिन्–राष्ट्रपति विद्यादेवी भण्डारी । ०७२ मा गणतन्त्र नेपालको सर्वोच्च पद राष्ट्रपतिमा निर्वाचित भएर पहिलो महिला राष्ट्रपति भएकी विद्या लगत्तै, ०७३ फागुनमा पुनः दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भइन् । राष्ट्रको अभिभावकीय पद राष्ट्रपतिमा नेपालजस्तो तेस्रो विश्वको देशमा महिलाको उदय ठूलै राजनीतिक छलाङ हो । वर्षभरि नै केही सकारात्मक प्रयास त केही विवादका कारण उनी चर्चामा रहिन् । ०७४ मा राष्ट्रपति भण्डारीले ‘शाही शैली’ को सवारीका कारण आलोचना खेप्नुपर्‍यो । ५८ वर्षीया भण्डारीको सवारीका क्रममा राजधानीका सडकहरूमा मानिसहरू जाममा बस्नुपरेपछि उनको सामाजिक सञ्जालमा तीब्र आलोचना हुँदै आएको छ । यस्तै हेलिकप्टर प्रकरण र राष्ट्रपति भवन विस्तारका लागि प्रहरी तालिम केन्द्र सार्ने चर्चाका कारण पनि राष्ट्रपति विवादमा परिन् । 

शृंखला खतिवडा 

०७५ मा समाचार तथा सोसल मिडिया दुवैतिर चर्चामा रहन सफल भइन्–शृंखला खतिवडा । आर्किटेक्ट इन्जिनियरिङमा स्नातक हेटौंडाकी २४ वर्षीया शृंखला मिस नेपाल वर्ल्ड–२०१८ उपाधि जितेपछि नै चर्चामा थिइन् । उनी सौन्दर्यको सबैभन्दा ठूलो प्रतिस्पर्धा मिस वर्ल्डमा एसिया र ओसियाना क्षेत्रबाट टप १२ मा मात्र पुगिनन्, ‘ब्युटी विद पर्पस’ तथा ‘मल्टी मिडिया’ अवार्ड जित्नसमेत सफल भइन् । कम्युनिस्ट पारिवारिक पृष्ठभूमिबाट सौन्दर्य प्रतियोगितामा उनको आगमन फरक परिघटना थियो । शृंखलाको बौद्धिक एवं आकर्षक छविले धेरैतिर प्रशंसा भयो ।

 

करिश्मा मानन्धर

सानै उमेरमा पढाइ छाडेकी चर्चित अभिनेतृ करिश्मा मानन्धर ०७५ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) सँग जोडिएर चर्चामा आइन् । नयाँ शक्तिकी केन्द्रीय नेतृ करिश्माको यो इच्छाको धेरैले प्रशंसा गरे । कडा परिश्रम गरेर ४५ वर्षको उमेरमा ०७५ मा एसईई परीक्षामा उनी सहभागी भइन् । सदाबहार सुन्दरी करिश्माले १४ वर्षको उमेरमै चलचिक्रमा डेब्यु गरेकी थिइन् । त्यही त्रममा उनले आफ्नो पढाइ अघि बढाउन सकिनन् । यसपटक करिश्माले एसईई दिएर आफ्नो उच्च शिक्षा हासिल गर्ने भोक पूरा गर्ने प्रयास गरेकी छिन् । करिश्माको यही इच्छाशक्ति वर्षभरि समाचार बनिरह्यो । 

शान्ता चौधरी 

१८ वर्षसम्म कम्लरी जीवन बिताउनुपरेको थियो–दाङकी शान्ता चौधरीले । ०६४ मा उनी तत्कालीन नेकपा एमालेका तर्फबाट संविधानसभा समानुपातिक सांसद बनिन् । त्यसपछि उनको आत्मकथा प्रकाशनमा आयो । संसदीय समितिमा काम गर्ने क्रममा चौधरीले पढाइको महत्व थाहा पाइन् । त्यसपछि उनी २०७३ मा डाँडागाउँ मावि गोग्ली, घोराहीमा कक्षा ८ मा भर्ना भइन् । चौधरीले त्यसपछि अध्ययनलाई पनि समय दिन थालिन्, उनी नियमितजसो स्कुल जान थालिन् । करिश्मा झैं शान्ताको साहसलाई पनि धेरैले प्रशंसनीय माने, उनको इच्छाशक्तिको प्रशंसा गरे । अन्ततः ०७५ मा उनले पनि एसईई परीक्षामा सहभागिता जनाउँदै चर्चा बटुलिन् । अहिले शान्ता नेपाल कम्युनिस्ट पार्टीकी सांसदका साथै संसदीय दलको सचेतकको भूमिकामा छिन् । छोरीसँगै एसईई दिएकी ३८ वर्षीया शान्ताले पिएचडी गर्ने सपना देखेकी छिन् ।

 

सावित्रा भण्डारी ॅसाम्बा’

मोजाको बलबाट फुटबल जीवन सुरु गरेकी राष्ट्रिय महिला फुटबल टिमकी गहना हुन्–सावित्रा भण्डारी ‘साम्बा’ । लमजुङकी २२ वर्षीया भण्डारी नेपाली महिला फुटबलको मात्र होइन दक्षिण एसियाकै उत्कृष्ट स्टाइकर हुन् । उनले सन् २०१४ मा पाकिस्तानमा भएको साफ च्याम्पियनसीप सब्सिच्युट खेलाडीका रूपमा राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । सावित्राको गज्जबको स्ट्राइकिङ क्षमताकै कारण उनलाई गोल मसिन उपनामले समेत चिनिन्छ । राष्ट्रिय टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएकी सावित्रीले २६ खेलमा २५ गोल पूरा गरिसकेकी छिन् । सर्वाधिक गोल गर्ने महिला खेलाडीमा दोस्रो नम्बरमा रहेकी भण्डारीबाट नेपाली महिला फुटबलले ठूलो आशा राखेको छ । 

मनिता देवकोटा 

मिस नेपाल युनिभर्स २२ वर्षीया मनिता देवकोटा पनि वर्षभरि नै चर्चामा रहिन् । गोरखाकी २३ वर्षीया मनिता सौन्दर्यसम्बन्धी विश्वस्तरीय प्रतिस्पर्धा मिस युनिभर्समा टपटेनमा पर्न सफल भएकी थिइन् । बेजोड सुन्दरताकी धनी ५ फिट ७ इन्च अग्ली मनिता स्वास्थ्य विज्ञानमा विशेष रुचि राख्छिन् । महिला तथा बालबालिकाको स्वास्थ्यमा काम गर्ने चाहना भएकी देवकोटाले बीएस्सी उत्तीर्ण गरेकी छिन् । 

कुञ्जना घिमिरे 

कुञ्जना घिमिरे ‘सुन्तली’ को पनि वर्षभरि नै चर्चा भयो । घिमिरे समाजसेवामा आफ्ना श्रीमान् सीताराम कट्टेल ‘धुर्मुस’ सँगै लागिपरेकी छिन् । कुञ्जनाले यही वर्ष आफ्ना श्रीमान्सँगै कान्तिपुर आइकन अवार्ड पनि जितिन् । ललितपुरकी कुञ्जना हास्य टेलिशृंखला मेरी बास्सैमा सुन्तलीको भूमिकामा प्रस्तुत भएर चर्चामा आएकी हुन् । त्यही क्रममा उनले आफ्ना रिल लाइफ पार्टनर सीतारामलाई नै रियल लाइफका लागि पनि छानिन् । विवाहपछि केही समय हास्यकलाकारमा रूपमा बिताए पनि पछि यो जोडीले आफूलाई पूर्णरूपमा समाजसेवामा समर्पित गरेको छ । कुञ्जनाले आफ्ना श्रीमान् सीतारामसँग मिलेर धुर्मुस–सुन्तली फाउन्डेसनको स्थापना गरेकी छिन् जुन समाजसेवा गर्ने नाफारहित संस्था हो । धुर्मुस–सुन्तली फाउन्डेसनले झन्डै ३ अर्बको लगानीमा चितवनमा अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय गौतम बुद्ध रंगशाला निर्माणको घोषणा गरेको छ जसको काम अघि बढिसकेको छ । 

 

वन्दना राना

महिला अधिकारका क्षेत्रमा झन्डै २७ वर्षदेखि अविरल रूपमा काम गरिरहेकी वन्दना राणा यो वर्ष संयुक्त राष्ट्रसंघअन्तर्गतको भेदभावविरुद्ध महिला समिति (सीड) को उपाध्यक्षमा निर्वाचित भइन् । ६ फागुनमा उनी एसिया क्षेत्रबाट प्रतिनिधित्व गर्दै दुई वर्षे कार्यकालका लागि निर्वाचित भएकी हुन् । यसअघि सन् २०१६ मा उनी यसको सदस्य निर्वाचित भएकी थिइन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको यो समितिमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली राणा सञ्चारबाट मानव अधिरकारका क्षेत्रमा आएकी हुन् । सन् १९८३ मा स्थापना भएको सीडमा विश्वभरबाट २३ जना विज्ञले प्रतिनिधित्व गर्छन् । महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने संस्था ‘साथी’ की संस्थापक वन्दना अहिले यो संस्थाको रणनीतिक निर्देशक हुन् । 

दीपाश्री निरौला 

०७५ कै सुपरहिट चलचित्र ‘छक्का पन्जा—३’ को निर्देशकका रूपमा न्यूजमेकर भईन्–दीपाश्री निरौला । उनले निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा—३’ दसैंताका रिलिज भएर राम्रो आम्दानी गर्न सफल भएको थियो । हास्यकलाकार तथा निर्माता हुँदै निर्देशक बनेकी दीपा आफ्ना तीनवटै इनिङमा सफल भइन् । विराटनगरकी दीपाश्री निरौला पहिलो पटक नेपाल टेलिभिजनको टेलिशृंखला ‘अग्निपथ’ मा ‘कजरी’ को भूमिकामा देखापरेकी थिइन् । ‘धनियाँ र रामविलास’ शीर्षकको रेडियो कार्यक्रमबाट दीपाश्री र दीपकराज गिरी विशेष चर्चामा आएका थिए । त्यसयता दीपाश्रीको उडान निरन्तर उकालो लागिरहेको छ । 

प्रियंका कार्की 

अभिनेतृ प्रियंका कार्की समाजसेवा, लभ अफेयर्स तथा इन्गेजमेन्टजस्ता कारणले लगातार हेडलाइनमा रहिन् । बोल्ड छविकी यी सुन्दर अभिनेतृ ०७४ मा समाचारमा छाउनुको मुख्य कारण उनको लभ अफेयर्स, इन्गेजमेन्ट थियो । बैंकर रविना देशराजका छोरा आयुष्मानसँग उनको रोमान्सले पनि वेब पोर्टलहरू निकै रंगिए । उनले यही वर्ष आफ्ना प्रेमीसँग मिलेर समाजसेवामा पनि हात बढाइन्—अयंका फाउन्डेसनको घोषणा गरेर । सन् २००५ मा मिस टिनको उपाधि जितेपछि चर्चामा आएकी काठमाडौंकी प्रियंकाले कान्तिपुर टेलिभिजनको टेली शृंखला ‘घरबेटी बा’ बाट अभिनययात्रा प्रारम्भ गरेकी हुन् । त्यसपछि लगातार प्रभावशाली छाप छाड्दै उनले ‘मेरो ‘ब्रेस्ट फेन्ड’ मार्फत नेपाली चलचित्रमा पाइला टेकेकी हुन् । सोसल मिडियामा जबरजस्त स्टारडम भएकी प्रियंकाले दर्जनौं चलचित्र तथा सयौं गीतमा अभिनय गरिसकेकी छिन् । 

 

 Image