Successfully Copied

बिना मगर

युद्धअघि, युद्धताका र पछि पनि राजनीतिक, सामाजिक तथा वैयक्तिक जीवनमा ठूलो चुनौती सामना गरेकी बिना मगर छोटो समयमा अकल्पनीय ढंगले भएको मुलुक परिवर्तन, संविधानद्वारा सुनिश्चित राज्य पुनर्संरचना, समृद्ध नेपालको परिकल्पनामा आएको स्थायी सरकारलाई निकै ठूलो उपलब्धि मान्छिन् ।

कम उमेरमै संघर्षका अनगिन्ती पहाड पार गर्ने मात्र होइन जीवनका थुप्रै कठिनाइ र चुनौतीहरूलाई चिरेकी बिना मगरलाई अनुभवहरूले ३५ वर्ष नकट्दै परिपक्व बनाएको छ । कञ्चनपुर आइबीआरडीका चन्द्रबहादुर तथा सावित्रीमाया मगरका ४ सन्तानमध्येकी बिनाका १ बहिनी तथा २ भाइ छन् । वि.सं. २०५१ सालताका जनयुद्धको तयारीका क्रममा जनकलाकारका रूपमा राजनीतिमा प्रवेश गरेकी मगर उतिबेला ५ कक्षाको परीक्षा दिएर बसेकी थिइन् ।

जनकलाकारमै सक्रिय रहँदै राजनीतिमा अघि बढेकी बिनाले कञ्चनपुर जिल्ला अनेम संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै काठमाडौं उपत्यका जनमुक्ति सेनाको सदस्य तथा वि.सं. २०६० सालताका काठमाडौं जिल्ला अध्यक्षका साथै सरस्वती क्याम्पसको स्ववियु सभापतिसमेतको कार्यभार सम्हालिन् । युद्धताका कञ्चनपुर जिल्लाको फस्र्ट एक्सनमा अगुवाइ गरेकी बिना उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेपछि होल–टाइमर राजनीतिज्ञ भएकी हुन् ।

युद्धअघि, युद्धताका र पछि पनि राजनीतिक, सामाजिक तथा वैयक्तिक जीवनमा ठूलो चुनौती सामना गरेकी बिना मगर छोटो समयमा अकल्पनीय ढंगले भएको मुलुक परिवर्तन, संविधानद्वारा सुनिश्चित राज्य पुनर्संरचना, समृद्ध नेपालको परिकल्पनामा आएको स्थायी सरकारलाई निकै ठूलो उपलब्धि मान्छिन् । ‘समाज परिवर्तनका लागि हामीले आफ्नो स्थानबाट सिपाहीको भूमिका निर्वाह गर्न सक्यौं त्यही नै राष्ट्रका लागि योगदान हो बिना भन्छिन्–‘जसका कारण सीमान्तकृत, पिछडिएका, जनजातिलगायत महिलाको समेत नेतृत्व र मुलुक निर्माणमा उल्लेखनीय सहभागिता देखियो ।

बिनाले हाँकिरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत पर्ने लामो समयदेखि अड्किरहेको मेलम्ची खानेपानी परियोजनाको कार्य सम्पन्न भैसकेको छ । बिना भन्छिन्–‘कार्तिकको पहिलो सातासम्म मेलम्चीको पानी जनतालाई ख्वाउन प्रतिबद्ध छौं । अर्को याङ्ग्री र लार्केल (मेलम्ची फेज–२) को काम छिट्टै सुरु हुँदैछ । त्यसपछि उपत्यकाभित्र ५१ करोड लिटर पानी प्रतिदिन उपलब्ध गराउन सकिन्छ ।’ त्यसबाहेक बिनासँग निकै महत्वाकांक्षी योजनाहरू छन् जसलाई उनी पूरा गरेरै छाड्न प्रतिबद्ध छिन् । तराई बेल्टका २२ वटा जिल्लालाई अघि सारेर ठूला योजना आउँदैछन् । जसमा बबई, सेती, राप्ती, कर्णाली, महाकाली आदि नदीको पानी परिचालन गरी स्थानीय स्तरमा खानेपानी तथा सिंचाइमार्फत समृद्धि र विकासको ढोका खोलिनेछ ।

खानेपानीकै खोजीका लागि मात्र महिलाको ठूलो समय, शक्ति र सिर्जनशीलता नष्ट भैरहेको बिनाको बुझाइ छ । सबैलाई पिउने पानी सहज रूपमा उपलब्ध गराउन सकियो भने पनि धेरै महिलाले मुलुक निर्माणमा समय दिन भ्याउने उनको ठम्याइ छ । बिनाले मन्त्रालय सम्हालेपछि पहिलो पटक नेपाल सरकारले महिनावारी स्वच्छता दिवस यही वर्ष मनायो जसलाई उनले अत्यन्त सकारात्मक र महिला विकासको सूचकांकका रूपमा लिएकी छिन् । महिला अधिकार सम्पन्न हुन नीति निर्माणमै महिलाको पहुँच सुनिश्चित हुनुपर्ने कुरा बताउँदै बिना भन्छिन्–‘यसले महिलाका सम्पूर्ण अधिकार सुनिश्चित गर्ने मात्र होइन महिला सशक्तीकरण, विकास एवं अधिकारलाई बलियो बनाउँछ ।’ प्रचण्डपुत्र स्व. कमरेड प्रकाश दाहालकी श्रीमती बिनाका एक छोरा छन् ।

 Image