Successfully Copied

सेलिब्रेटिङ वुमनहुड

यो सम्मान कार्यक्रमका लागि सम्बन्धित निकाय, प्रतिष्ठित महिला, संस्था तथा व्यक्तित्वहरूबाट जति चासो र सहकार्य हुनुपर्ने हो त्यो त पक्कै भएन र भएको पनि छैन । न महिला सशक्तीकरणको मूलधारमा यी छरिएर बसेका सकारात्मक परिवर्तनका वाहकहरूलाई समावेश नै गरिएको छ ।

गत महिना पाटनस्थित यलमाया केन्द्रको मजलिस हलमा फरक किसिमको चहलपहल थियो । नारीत्वको सम्मानका खातिर उपस्थित उक्त बाक्लो भीडमा महिलाका क्षेत्रमा कार्यरत व्यक्तित्वहरू मात्र नभई हरेक क्षेत्रका स्वदेशी तथा विदेशी कुटनीतिज्ञ, राजनीतिज्ञ, बैंकर्स, पत्रकार तथा व्यावसायिकहरूसमेत उपस्थित थिए । वि.सं. २०५८ साल चैतदेखि प्रारम्भ भएको सेलिब्रेटिङ वुमनहुडको पन्ध्रौं संस्करण यसपटक विगतभन्दा पृथक् देखियो । हरेक वर्ष नौ हिन्दू देवीको प्रतीकात्मक नामबाट प्रदान गरिँदै आएको सेलिब्रेटिङ वुमनहुड–नवदेवी सम्मानका अवसरमा यो सम्मान पाएकाहरूमध्येबाट २५ जना नेपाली नारीको सफलताका कथा बेलायतस्थित लिभरपुल जोन मुर युनिभर्सिटी (एलजेएमयु) को कोर्समा राखिएको घोषणा गरियो ।

उक्त कार्यले अब नेपाली नारीको सफलता र संघर्षका कथा संसारभरका विद्यार्थीले पढ्न सम्भव भएको छ । नेपाली खेलकुद, संगीत, रंगमञ्च, समाजसेवा, साहित्य, वातावरण, मानव अधिकार आदि क्षेत्रमा निरन्तर लागी संघर्षपूर्ण सफलता हासिल गरेका नेपाली नारीहरूको कथालाई अनसङ चेन्जमेकरका रूपमा बेलायतस्थित लिभरपुल जोन मुर युनिभर्सिटी (एलजेएमयु) ले समाजशास्त्र संकायअन्तर्गत अन्डर ग्राजुयट तथा पोस्ट ग्राजुयट कोर्समा सामेल गर्न लागेको हो ।

पुस्तकमा रंगकर्मी निशा शर्मा, तबलावादक सरिता मिश्र, लोकगायिका हरिदेवी कोइराला, साहित्यकार माया ठकुरी, सामाजिक अभियन्ता रेणु शर्मा र कमला उप्रेती, धनगढीकी शैक्षिक अभियन्ता निर्मला बागचन्द, वातावरणविद् अमिरा दली, लघुबित्त अभियन्ता डा. सुस्मिता मानन्धर गुरुङ, सिन्धुपाल्चोककी भूमिअधिकारकर्मी कल्पना कार्की, बर्दियाकी समाजसेवी जुबेदा खातुन, पिए नेपालकी अध्यक्ष इन्दिरा राना मगरका समाज परिवर्तनको पहल, संघर्ष एवं सफलताका कथा समेटिएको छ ।यसैगरी माउन्टेन बाइकर लक्ष्मी मगर, सुनसरीकी फरक क्षमताकी अधिकारकर्मी तृप्ता लुंगेली मगर, चितवनकी नेचर गाइड डोमा पौडेल, समाज परिवर्तनका लागि लामो समयदेखि कार्यरत सीता पोखरेल, सप्तरीकी चमार–डोम समुदायकी भूमिअधिकारकर्मी गुलावदेवी राम, दृष्टिविहीनका लागि शैक्षिक अभियन्ता धरानकी केशरी थापा, सोलुकी स्वास्थ्यसेवी पेसा शेर्पा, नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङ, काठमाडौंकी अधिकारकर्मी मेनुका थापा, इटहरीकी सामाजिक परिचालक एवं उद्यमी राधिका कार्की, काभ्रेकी अग्र्यानिक कृषक लक्ष्मी तिमिल्सिना, फेसन डिजाइनिङ शिक्षामा क्रान्ति ल्याउने काठमाडौंकी ज्ञानीशोभा तुलाधर, मकवानपुरकी सामाजिक अभियन्ता चमेली वाइवा तथा काठमाडौंकी सोसल आर्किटेक्ट रिञ्छिन योञ्जन पनि उक्त पुस्तकमा समेटिएका छन् । यी २५ जना नेपाली नारीले विविध कठिनाइका बाबजुद आ–आफ्नो क्षेत्रमा गरेको संघर्ष र परिश्रमपछि हासिल गरेका सफलता एवं उक्त सफलताले ल्याएको सकारात्मक उत्प्रेरणा र परिवर्तन कोर्समा समावेश प्रमुख विषय हो ।

क्रियटिभ कन्सल्ट्यान्ट सिर्जनासिंह योञ्जनको परिकल्पनामा हरेक वर्ष नौ हिन्दू देवीको प्रतीकात्मक नामबाट प्रदान गरिँदै आएको सेलिब्रेटिङ वुमनहुड–नवदेवी सम्मानमार्फत हालसम्म मुलुकभरबाट १ सय २६ जना महिला, ६ वटा महिला समूह, ८ जना पुरुष तथा ७ जना दक्षिण एसियाली महिलाले सम्मान प्राप्त गरिसकेका छन् । यही पृथक् कार्यबाट प्रभावित भै बेलायती समाजशास्त्री डा. सेरा पार्करले लिभरपुल जो मुर युनिभर्सिटीसँग यो विषय विश्व विद्यालयको कोर्समा समावेश गर्न जोड दिएकी थिइन् ।

समाजको सकारात्मक रूपान्तरणमा नसमेटिएका र कामको मूल्यांकन नगरिएका यी महिलाहरूको योगदानले ठूलो अर्थ र स्थान राख्छ–डा. सेराले भनिन्–यस्ता अतुलनीय क्षमता बोकेका नेपाली नारीको कथा हाम्रो युनिभर्सिटीको कोर्समा राख्न सफल भएकोमा गर्व महसुस गरेकी छु ।

५० जना सर्ट लिस्टिङमा परेकामध्ये २५ जनाको कथा समेटिएको उक्त पुस्तक तयार भैसकेको छ भने बाँकी २५ जनाको कथा वेटिङ लिस्टमा छ । हाल अमेरिका बसोबास गर्दै आएकी सिर्जनासिंह योञ्जन भन्छिन्–नेपाली महिलालाई सशक्तीकरणको मूलधारमा स्थापित गराउने उद्देश्यले व्यक्तिगत र अत्यन्तै सानो पहलबाट सुरु गरिएको सेलिब्रेटिङ वुमनहुड–नवदेवी सम्मानको संसारभर सञ्जाल बन्नु नेपालीहरूका लागि ठूलो उपलब्धि हो ।

यसपटकको सेलिब्रेटिङ वुमनहुड–नवदेवी सम्मान कार्यक्रममा बेलायती विश्वविद्यालयको कोर्सका लागि छानिएका २५ जनालाई मञ्चमा उभ्याइएको थियो । कार्यक्रममा रिञ्छेन योञ्जन, तृप्ता लुंगेली मगर, कल्पना कार्की तथा मेनुका थापाले आ–आफ्नो संघर्ष र सफलताको कथा सुनाएका थिए भने रेडियोकर्मी तथा कलाकार रेमनदास श्रेष्ठले छानिएकामध्ये केही नारी प्रतिभाका कथा वाचन गरेर सुनाएका थिए ।

कवि विप्लव प्रतीकले कवितासहित समीक्षा गरेको उक्त कार्यक्रममा युएनवुमनकी पूर्व इकोनिक इम्पारमेन्ट कार्यक्रम प्रमुख सरु जोशीले सामाजिक रूपान्तरणसँगै नेपाली महिलाको अवस्था चित्तबुझ्दो रूपमा परिवर्तन नभएको र उनीहरूको स्ट्याटस माथि उठ्न बाँकी नै रहेको धारणा व्यक्त गरेकी थिइन् । कार्यक्रमको बीच–बीचमा स्व.गोपाल योञ्जनका उत्प्रेरक गीतलाई जुना प्रसाईं, बानिका प्रधान, राजु लामा, कर्मा ग्याल्छेन आदिले प्रस्तुत गरेका थिए ।

करिब ३ घन्टा चलेको सेलिब्रेटिङ वुमनहुड–नवदेवी सम्मान कार्यक्रम क्रियटिभ कन्सल्ट्यान्ट तथा कार्यक्रमकी परिकल्पनाकार सिर्जनासिंह योञ्जन आफैंले सञ्चालन गरेकी थिइन् । नारी मासिकले सेलिब्रेटिङ वुमनहुड–नवदेवी सम्मानसँग कार्यक्रमको दोस्रो वर्षदेखि नै सहकार्य गर्दै आएको छ ।

सिर्जनासिंह योञ्जन

चैत २०५८ सालमा सुरु भएको सेलिब्रेटिङ वुमनहुडको यात्राका दौरान नेपालभर छरिएर बसेका विविध भौगोलिक, सामाजिक, आर्थिक र पेसागत कार्यक्षेत्रका सकारात्मक परिवर्तनका वाहकहरूसँग भेट्न पाउनु मेरा लागि ठूलो अवसर हो ।

समाजमा योगदान पुर्‍याएका तर आफ्नो प्रचार–प्रसारमा नलागेका र कतिपय परिवेशमा त कलम पनि चलाउन नजान्ने उदाहरणीय नारीहरूको गाथा हो सेलिब्रेटिङ वुमनहुडको नयाँ पहल Unsung Change-Makers । यी उल्लेख्य नारीहरूका बारेमा Liverpool John Moore University को sociology department मा पढाइँदा समस्त नेपाल र नेपालीकै भौगोलिक, सामाजिक, आर्थिक एवं पेसागत कार्यक्षेत्रका बारेमा पनि बुझिने छ । यो हामी सबैका लागि गर्वको विषय हो ।

यो सम्मान कार्यक्रमका लागि सम्बन्धित निकाय, प्रतिष्ठित महिला, संस्था तथा व्यक्तित्वहरूबाट जति चासो र सहकार्य हुनुपर्ने हो त्यो त पक्कै भएन र भएको पनि छैन । न महिला सशक्तीकरणको मूलधारमा यी छरिएर बसेका सकारात्मक परिवर्तनका वाहकहरूलाई समावेश नै गरिएको छ ।

त्यस्तो आशा पनि हामीलाई कहिल्यै रहेन र रहने पनि छैन । केवल आशा छ त यस्तो विवेक र फराकिलो सोचको जसले समाजका सच्चा नायिकाकहरूको संघर्ष, त्याग र योगदानको कदर गर्दछ अनि सम्पूर्ण महिलाका मुद्दालाई संयुक्त रूपले अघि लान सत प्रयास गर्नेछ ।

                                                                             परिकल्पनाकार सेलिब्रेटिङ

                                                                             वुमनहुड (नवदेवी सम्मान)

 Image