Successfully Copied

चिकित्सकहरुको स्वास्थ्य योजना

अहिले धेरै महिलाले आफ्नो स्वास्थ्यप्रति जागरुक हुँदै नियमित स्वास्थ्य जाँच गराउन थालेको चिकित्सकहरू बताउँछन् । बिरामीको उपचारमा दिनरात लागिपर्ने चिकित्सकहरू स्वयं आफ्नो स्वास्थ्यप्रति कत्तिको सजग छन् त ?

नयाँ वर्षको आगमनले सबैको मनमा छुट्टै किसिमको उम·, जोस एवं जाँगर पैदा गर्छ । नयाँ वर्षसँगै विभिन्न योजना बनाइन्छन् । बनाइएका योजनामध्ये कति पूरा हुन्छन् भने कति अधूरै रहन्छन् । नयाँ वर्षमा अन्य नयाँ योजनासँगै स्वास्थ्यसम्बन्धी योजना पनि बनाउनु जरुरी छ । अहिले धेरै महिलाले आफ्नो स्वास्थ्यप्रति जागरुक हुँदै नियमित स्वास्थ्य जाँच गराउन थालेको चिकित्सकहरू बताउँछन् । बिरामीको उपचारमा दिनरात लागिपर्ने चिकित्सकहरू स्वयं आफ्नो स्वास्थ्यप्रति कत्तिको सजग छन् त ?

 

डा. ज्योति भट्टराई

इन्डोक्राइनोलोजिस्ट, मेट्रो काठमाडौं हस्पिटल, महाराजगन्ज

नयाँ वर्षमा मैले खासै संकल्प लिने गरेकी छैन । संकल्प लिनका लागि यो दिन नै उपयुक्त हो जस्तो पनि लाग्दैन । आफ्ना कमी–कमजोरी एवं असफलतालाई जहिले पनि सुधार गर्न सकिन्छ । समयअनुसार आफूलाई परिमार्जन गर्दै लानुपर्छ । म बिरामीको उपचार र घरपरिवार एवं कामबाट फुर्सद निकालेर आफ्नो स्वास्थ्यका लागि पनि केही समय छुट्याउँछु । सबै महिलाले आफ्ना लागि समय निकाल्नुपर्छ । वर्षमा एकपटक फिजिसियनसँग सल्लाह लिएर होल बडी चेकअप गराउने गरेकी छु । महिला चिकित्सकसँग जाँच गराई सल्लाह लिए अझ डिटेल कुरा थाहा हुन्छ ।

यसैगरी ४० वर्ष कटेपछि वर्षको १ पटक प्याप स्मेयर (पाठेघरसम्बन्धी जाँच) तथा म्यामोग्राम (स्तन क्यान्सरसम्बन्धी) जाँच गराउँछु । जतिसुकै व्यस्त भए पनि समय निकालेर आफ्नो स्वास्थ्य जाँच गराउनुपर्छ । मैले दैनिक केही घन्टा शारीरिक अभ्यास गर्ने, जिम जाने तथा योग गर्ने काम गर्दै आएकी छु । अहिलेसम्म खासै रोग लागेको छैन । गर्भावस्थामा मधुमेह देखिएको थियो । अहिले पनि कहिलेकाहीँ मधुमेह बढ्न खोजे खानपानमा विशेष ध्यान दिने गरेकी छु । जंकफुड तथा कोल्ड ड्रिंक्स सेवन गर्दिन भने म शाकाहारी हुँ र स्वस्थ भोजन खान्छु ।

ज्योति आचार्य

सह–प्रमुख मेडिकल टेक्नोलोजिस्ट (दसौं तह) माइक्रोबायोलोजिस्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

म हरेक नयाँ वर्षमा संकल्प लिन्छु । यसरी लिने संकल्पमध्ये स्वास्थ्यप्रति सजग हुने संकल्प पनि एक हो । म सधै स्वास्थ्यप्रति सजग रहन्छु । ल्याबमा काम गर्ने भएकीले अरुको स्वास्थ्यसँगै आफ््नो स्वास्थ्यमा पनि ध्यान पुर्‍याउँछु । म नियमित रूपमास्वास्थ्य जाँच गराउँछु । नियमित जाँच गर्ने भएकाले खासै रोग छैन । बेला–बेलामा घुँडा तथा घाँटीको पछाडिको भाग दुख्ने समस्या छ ।  

महिनावारी हुने भएकाले कतिपय महिलामा रगतको कमी हुनसक्छ । यसले गर्दा एनिमिया हुनसक्छ । प्रत्येक महिलाले ४० वर्ष पुगेपछि नियमित रूपमा स्वास्थ्य जाँच गराउनु आवश्यक छ । यो उमेरमा धेरैमा क्याल्सियम तथा भिटामिन डीको कमी देखा पर्न सक्छ । घाममा धेरै हिँडडुल नगर्ने तथा नबस्ने कारण भिटामिन डीको कमी हुन सक्छ । महिला आफैं आफ्नो स्वास्थ्यप्रति सजग हुनुपर्छ ।

नयाँ वर्षको आगमनसँगै म वर्षभरि गरिने कामको योजना बनाउँछु । त्यसैअनुरूप कार्यान्वयन पनि गर्छु । महिलाले घरपरिवार र अफिसका साथै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । मेनापजपछि (महिनावारी सुकेपछि) महिलाले क्याल्सियम तथा मिनरलको मात्रा जाँच गराउनुपर्छ । किनभने यो समयमा धेरै महिलाको हड्डीमा समस्या (अस्टियोपोरोसिस) उत्पन्न हुन सक्छ । समयमै स्वास्थ्यप्रति जागरुक भए रोगले विकराल रूप लिन सक्दैन ।

डा. तुमला लाकौल

सुखी परिवार क्लिनिक, कालीमाटी

नयाँ वर्षको आगमनसँगै केही नयाँ गरौं भन्ने सोचका साथ वर्षभरि गरिने कामको योजना बनाउँछु । हरेक नयाँ वर्षमा वर्षभरि गरिने कामलाई कसरी व्यवस्थित बनाउने भन्ने योजना तयार पार्छु । यसबाट परिवार तथा कर्मथलो व्यवस्थित ढंगले अघि बढ्छ जस्तो लाग्छ । म आफ्नो स्वास्थ्यमा पनि सजग रहन्छु । खानपानमा ध्यान दिनुका साथै आफ्नो उचाइअनुसारको तौल मेन्टेनमा ध्यान दिन्छु ।

नयाँ वर्षको सुरुवातसँगै म स्वास्थ्य जाँचको योजनासमेत बनाउँछु । ममा केही वर्षअघिदेखि उच्च रक्तचाप देखिएको छ । त्यसैले वर्षमा एकपटक तथा असजिलो महसुस भएका बेला कार्डियोलोजिस्टसँग मुटु जाँच गराउँछु । महिलासम्बन्धी अरू रोगको जाँच भने आफ्नै क्लिनिकमा चिकित्सक छोरी विभूतिसँग गराउँछु । महिला तथा पुरुषले वर्षमा एकपटक पूरा शरीर जाँच गराउनुपर्छ । यसका साथै म थाइराइड, ट्राइग्लिसिराइड, मधुमेह आदि पनि नियमित रूपमा जचाउँछु ।

    

अहिले सबैको दैनिकी निकै व्यस्त छ । धेरैले खानपानमा पनि त्यति ध्यान दिइएको पाइँदैन । त्यसैले कसैलाई पनि कुनै पनि बेला रोगले आक्रमण गर्न सक्छ । व्यस्त दैनिकीबाट केही समय निकालेर स्वास्थ्य जाँच गराउनुपर्छ । यौन सम्पर्कमा सक्रिय महिलाले १७ वर्षदेखि ७० वर्षको उमेरसम्मकाले पाठेघरको पानी जाँच (प्याप स्मेयर टेस्ट) गराउनु आवश्यक छ । योनिबाट सेतो पानी बग्यो, घाउ देखियो भने ६–६ महिनामा जाँच गराउनुपर्छ । प्याप स्मेयर गर्दा घाउ देखिए कल्पोस्कोपी गर्नुपर्छ । यसबाट क्यान्सरको घाउ छ भने कम्प्युटरको स्क्रिनमा स्पष्ट देखिन्छ ।

नयाँ वर्षको आगमनसँगै केही नयाँ कामको थालनी गर्नुपर्छ । नियमित स्वास्थ्य जाँच गराएर मात्र पुग्दैन । चेकअपका साथै स्वस्थ जीवनका लागि नियमित व्यायाम तथा योग पनि गर्नुपर्छ । मानसिक रूपमा स्वस्थ रहन ध्यान गर्नुपर्छ । यसका साथै खानपानमा ध्यान पुर्‍याएमा निरोगी जीवन जिउन सकिन्छ ।

 Image