Successfully Copied

फेसन डिजाइनर जोडी विष्णु र सूर्यलक्ष्मी

लामो समय बेस्ट फ्रेन्डका रूपमा सँगै काम गरेको यो जोडीले पहिलो प्राथमिकता नै पहिले सेटल हुने भनेर कामलाई प्राथमिकता दिँदै आएको थियो । घरमा विवाहको प्रेसर भएपछि उनीहरूले अन्तरजातीय विवाह गरेका हुन् । दुवैजना एउटै क्षेत्रमा हुँदा काममा निकै सजिलो हुने र एक–अर्काको

 

काठमाडौं थापाथलीकी सूर्यलक्ष्मी श्रेष्ठ र धादिङका विष्णु गौतम एक–अर्काको साथमा खुसी छन् । १६ वर्षअघि फेसन डिजाइनिङ कोर्स गर्दा भेट भएको यो जोडी हरेक दिन नयाँ–नयाँ ड्रेस डिजाइन गर्दै जीवन बिताइरहेको छ । कोर्स पूरा गरेपछि विष्णुले बुटिक खोल्ने प्लान सुनाउँदै सूर्यलक्ष्मीसँग सँगै काम गर्ने प्रस्ताव राखे । सोही योजनानुसार उनीहरू इम्याजिन बुटिक खोलेर नेपाली फेसन बजारमा प्रवेश गरे ।

सँगै काम गर्ने क्रममा एक–अर्काप्रति आकर्षण बढिसकेको थियो तर उनीहरूबीच केही वर्ष मौन प्रेम चल्यो । ५ वर्ष सँगै काम गरेपछि सूर्यमा विष्णु नै जीवनसाथी हुनुपर्छ भन्ने भावना विकसित भैसकेको थियो तर विष्णुबाट कुनै प्रस्ताव नआएपछि श्रेष्ठ आफैले तपाईं मलाई मन पराउनुहुन्छ भनेर सोधिन् । विष्णुले त्यसमा सकारात्मक जवाफ दिएको दिन आफ्नो जीवनको सबैभन्दा खुसीको क्षणका रूपमा लिन्छिन् सूर्यलक्ष्मी । लामो समय बेस्ट फ्रेन्डका रूपमा सँगै काम गरेको यो जोडीले पहिलो प्राथमिकता नै पहिले सेटल हुने भनेर कामलाई प्राथमिकता दिँदै आएको थियो ।

घरमा विवाहको प्रेसर भएपछि उनीहरूले अन्तरजातीय विवाह गरेका हुन् । दुवैजना एउटै क्षेत्रमा हुँदा काममा निकै सजिलो हुने र एक–अर्काको आइडिया सेयर भएर राम्रो रिजल्ट आउने विष्णु बताउँछन् । विवाहअघि सूर्यलक्ष्मीले डिजाइनिङ तथा विष्णुले मार्केटिङ, क्लाइन्ट एवं म्यानेजमेन्ट हेर्थे तर अहिले दुवैले बराबर जिम्मेवारी लिएका छन् । एकै ठाउँमा एउटै काममा दुवै जना व्यस्त रहने हुँदा घरभित्र र बुटिकको काममा यो काम मेरो, यो काम तिम्रो भन्ने सोच कहिल्यै नआएको उनीहरूको भनाइ छ ।

घर पुगेपछि दुवैजना उत्तिकै व्यस्त हुन्छन् । छोरीको रेखदेख सूर्यलक्ष्मीले गर्छिन् भने खाना पकाउने, सरसफाइ आदि काम विष्णुले गर्छन् । यसरी उनीहरू बुटिकको मात्र होइन घरको काम पनि समान रूपमा गर्छन् । त्यसैले होला उनीहरू बीच कहिल्यै असन्तुष्टि र इगोजस्ता समस्या आएनन् ।

डिजाइनिङमै रमाउने यो जोडीलाई काम गर्दा नै आत्मसन्तुष्टि मिल्छ । उनीहरू शनिबार बुटिक बन्द गरेर छोरीलाई लिएर घुम्न निस्कन्छन् । विष्णुले लगाउने प्राय: पहिरन सूर्यलक्ष्मीले डिजाइन गरेकी हुन्छिन् भने सूर्यलक्ष्मीको आउटफिटको कलर, म्याटेरियलदेखि डिजाइनसम्म विष्णुले नै निर्धारण गरिदिन्छन् ।

यसरी उनीहरू एक–अर्काको च्वाइसमा हिँड्छन् । उनीहरूबीच धेरै कुरामा समानता छ । खानासम्बन्धी रुचि र सोच त एउटै छँदैछ, कामलाई पहिलो प्राथमिकता दिने स्वभाव पनि दुरुस्तै छ । यदि सूर्यलक्ष्मीले विष्णुलाई श्रीमान्का रूपमा नपाएकी भए सम्भवत: उनी डिजाइनिङबाट अलग भैसक्थिन् होला र विष्णुको सफलता पनि यति चुलिने थिएन । दुवैको कामप्रतिको इमान्दारिता, जाँगर एवं एक–अर्काको सहयोगले आफूलाई सफल बनाएको उनीहरू बताउँछन् ।

एउटै पेसाको फाइदा

एक–अर्कालाई बुझ्न सकिन्छ । कमाइदेखि सबै कुरा खुल्ला हुने हुँदा कसैले पनि चित्त दुखाउन पाउँदैन ।

एउटै पेसाको बेफाइदा

आफ्नो कुनै कुरा गोप्य वा निजी भन्नेहुँदैन । सरप्राइज दिन पनि नसकिने ।

विष्णुको नजरमा सूर्यलक्ष्मी

खुलेर बोल्ने, मनमा लागेको कुरा भन्ने, डिजाइनिङमा मेहनत गर्ने तर कतिपय कुरामा केयरलेस ।

सूर्यलक्ष्मीको नजरमा विष्णु

समझदार, सबैको कुरा बुझ्ने, सहयोगी तथा कामलाई सम्मान गर्ने । एकोहोरोपन हटाउन सके राम्रो ।

 Image