हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

हरेकले नयाँ घर बनाउँदा उक्त घरले आफ्नो पारिवारिक आवश्यकता पूरा गर्नुका साथै त्यो आन्तरिक सजावटका दृष्टिले पनि आकर्षण होस् भन्ने चाहना राखेका हुन्छन् । त्यसैले घर निर्माणमा बलिया सामग्रीका साथै सजावटमा पनि विशेष ध्यान दिने चलन बढ्दो छ ।
सौन्दर्यसम्बन्धी रुचिकै कारण मानिसहरू आफ्नो सुन्दरताका साथमा घरको इन्टेरियर पनि उत्तिकै आकर्षक होस् भन्ने सोच्छन् । इन्टेरियर डिजाइनर सपना भुसाल न्यौपाने घरको सुन्दरतामा ध्यान दिनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको बताउँछिन् । न्यौपानेका अनुसार इन्टेरियर डिजाइनिङले घरको बनावट, प्रदर्शन, सजावट एवं शास्त्रको प्रयोगलाई समेटेको छ । इन्टेरियर डिजाइनिङमा घरभित्रको सम्पूर्ण आन्तरिक स्वरूपदेखि झ्याल, ढोका, प्यासेजको प्रयोग तथा सजावटसँगै वास्तुशास्त्र पनि अटाउँछन् ।
आधुनिक जीवनशैलीमा घरको वातावरणले परिवारका सदस्यहरूको मानसिकतामै परिवर्तन ल्याउन सक्छ । त्यसैले घर बनाउँदा आर्किटेक्टका साथमा इन्टेरियर डिजाइनरसँग पनि सुझाव लिएर काम गर्न थालिएको छ । इन्टेरियर डिजाइन घरमा बस्नेहरूको काम, स्वभाव तथा उनीहरूको व्यावहारिक गतिविधिअनुसार डिजाइन गरिन्छ । कोठाको आकार र उचाइमा विशेष ध्यान दिइन्छ । यसैका आधारमा फर्निचर, पर्दा, भित्ताको रंग आदि छनोट गरिन्छ । इन्टेरियरको महत्व बढेकैले पहिले घरको नक्सा डिजाइनलाई मात्र महत्व दिनेहरू अहिले इन्टेरियर डिजाइनका बारेमा पनि जिज्ञासा राख्न थालेका छन् ।
आर्किटेक्ट विमला तुलाधरका अनुसार मानिसहरूको जीवनशैलीसँगै घर र घरको इन्टेरियरप्रति मानिसहरूको चासो बढेको छ । तुलाधर भन्छिन्–‘घर बनाउनुअघि नै घरको नक्सासँगै इन्टेरियर डिजाइनिङको आइडिया लिई त्यसको नक्सा पनि तयार गर्दा समयसँगै खर्च पनि मिनिमाइज हुन्छ ।’ इन्टेरियर डिजाइनर दीपा धमला व्यक्तिको आवश्यकतालाई ध्यान दिएर निर्माण गरिने भएकाले इन्टेरियर डिजाइनको विशेष महत्व रहेको बताउँछिन् ।
यसले मानिसको चाहना र आवश्यकता मात्र होइन, खाली ठाउँको उपयोग र सुरक्षामा समेत मद्दत गर्ने धमलाको धारणा छ । मानिसको स्वास्थ्य अवस्था, आनीबानी आदिलाई ध्यान दिएर आन्तरिक सजावटको योजना बनाइने हुनाले यो घरको वातावरण शान्त र सन्तुलित राख्न पनि प्रभावकारी हुने आर्किटेक्ट अर्चना बादे श्रेष्ठ बताउँछिन् । अर्चनाका अनुसार कम बजेटमै पनि घर सुहाउँदो इन्टेरियर डिजाइन गर्न सकिन्छ । त्यसैले पनि घर बनाउँदा नै घरको इन्टेरियरलाई पनि खर्च छुट्याउनु जरुरी भएको आर्किटेक्टहरू बताउँछन् ।
- साकार श्रेष्ठ, आर्किटेक्ट
बस्नयोग्य आवासको संयोजन कस्तो हुन्छ ?
विश्वव्यापी मान्यताअनुसार २ बेडरुम, लिभिङ रुम, किचेन र डाइनिङ रुमसहित १२ सय वर्गफिट क्षेत्रफल भएको आवासलाई बस्नयोग्य मानिन्छ ।
सहरी क्षेत्रमा कस्तो घरको माग बढी छ ?
२ बेडरुम, लिभिङ, डाइनिङ किचेन गरी कुल १ हजार २ सय वर्गफिटको घरको माग बढी छ । अहिलेका मानिसहरू ठूलो घरभन्दा सानो तर चिटिक्क परेको घर बनाउन चाहन्छन् ।
कम मूल्यमा बस्नयोग्य घर बनाउन सकिने प्राविधिक विकल्प के होला ?
निर्माण सामग्रीको प्रयोगबाट पनि निर्माण अवधि र लागत दुवै घटाउन सकिन्छ । परम्परागत इँटाको साटो हलो कंक्रिट ब्लक, सोलिड ब्लक (ढुंगाको प्रयोग गरेर बनाइने) प्रयोग गर्न सकिन्छ । आरसीसी संरचनामा आधारित प्रविधिको साटो काठ तथा स्टिल प्रयोग गर्न सकिन्छ । यसले निर्माण चाँडो सकिने मात्र होइन सस्तोमा आरसीसीजत्तिकै बलियो घर बनाउन सकिन्छ । जापान, अमेरिका आदि देशमा पनि यो प्रविधि लोकप्रिय छ । त्यस्तै कम उचाइका घर एकैपटक ठूलो स्केलमा बनाएर पनि प्रतिइकाई लागत कम गर्न सकिन्छ ।
घर बनाउनुअघि के–के कुरामा ध्यान दिनु जरुरी छ ?
सर्वप्रथम माटो परीक्षण गराउने । त्यसपछि जग बलियो बनाउने । निर्माण सामग्रीमा कुनै सम्झौता नगर्ने । कुन भवन कस्तो प्रयोजनका लागि निर्माण गर्न लागिएको हो त्यसैअनुसार स्ट्रक्चर डिजाइन गराउने । पछि पिल्लर हालेर घरको तल्ला नथप्ने ।
घरको इन्टेरियरमा ध्यान दिने कुराहरू धेरै छन् तर सामान्य हिसाबले चारवटा कुरामा बढी ध्यान दिनुपर्छ :
रंग : घरमा लगाइने रंगको सही छनोट एवं गुणस्तरीयताको ग्यारेन्टी जरुरी हुन्छ । कोठाको रूपरंगले पनि ठूलो भूमिका खेल्छ । त्यसैले किचेन, बाथरुम, लिभिङ रुम तथा बेड रुममा आफ्नो रुचिअनुसार रंग लगाउनुपर्छ । बेडरुममा भरसक कुल अर्थात् लाइट कलर लगाउनुपर्छ । हाई ब्लडप्रेसर भएका मानिसहरूको कोठामा रातो रंग प्रयोग गर्नु हुँदैन ।
फर्निचर : फर्निचरले कोठालाई आकर्षक बनाउनुका साथै कोठाको विशेषता दर्शाएर सौन्दर्य बढाउँछ । फर्निचर विभिन्न डिजाइन र थिममा तयार पार्न सकिन्छ । परम्परागत, भारतीय, इटाली, जापानी आदिमध्ये कुन प्रयोग गर्ने हो कोठाको साइज रुचिअनुसार छान्नुपर्छ ।
फेब्रिक : फेब्रिकले नै कोठामा निखार ल्याउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । यसले इन्टेरियरलाई पूर्णता पनि दिन्छ । फेब्रिक पनि कोठाको विशेषता हेरेर सुहाउने खालको प्रयोग गर्नुपर्छ । फेब्रिकमा बेड सिट, पर्दा, कुसन कभर आदि पर्छन् ।
फ्लोरिङ–ल्याम्प : फ्लोरिङले जीवनशैलीलाई सजिलो बनाउनुका साथै घरको लुक नै परिवर्तन गर्छ । ल्याम्पको प्रयोगले घरलाई जीवन्त बनाउँदै घरको सौन्दर्य बढाउँछ ।