५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
सुनकुमारी विक, श्रीमती दलजित श्रीपाली, मन्त्री युवा तथा खेलकुद, नेकपा माओवादी
द्वन्द्वकालमा उनलाई पटक–पटक विधवा घोषित गरियो । ५ पटक त उनीहरूलाई सहिद परिवार नै घोषणा गरिएको थियो । दूधे बालबच्चा काखमा च्यापेर सुनकुमारीले श्रीमान्को अभियानमा साथ दिइरहिन् । उच्चशिक्षित नभए पनि उनको अदम्य साहसको आँकलन गर्न जोकसैलाई हम्मे–हम्मे पर्छ । पछिल्लो समयमा दुवै किड्नी फेल भएर छोटिएको जिन्दगी लम्ब्याउने प्रयासमा रहेकी सुनकुमारीले श्रीमान् यो स्थानसम्म आइपुग्दा आफैले पनि ठूलो त्याग गरेकी छिन् । जीवनको सक्रिय समय र परिश्रमलाई सुनकुमारीले मुलुकका लागि खर्चिएकी छिन् । आफ्नै आँखाअघि कयौंपटक श्रीमान्को शरीरमा गोलीका छर्रा बर्सिए, बम पड्किएर शरीरका कपडा डढे, स्वयं उनी एम्बुसमा परिन् तर सुनकुमारीले बलियो पहाडझैं अटल रही दलजितलाई सहयोग गरिरहिन् ।
दलजितलाई आफ्नी श्रीमती देख्दा नारीको साहस र शक्ति अवर्णनीय छ भन्ने लाग्छ । रुकुमको काँक्री गाविसका किसान रामु कामी तथा कर्मता विककी साहिँली छोरी सुनकुमारी जनसेनाबाट सक्रिय राजनीतिमा प्रवेश गरेका दलजित श्रीपालीको कर्मठ, मुलुकप्रति निष्ठावान् र जनताका लागि समर्पित भावलाई असाध्यै सम्मान गर्छिन् ।

प्राथमिक विद्यालय रुझिखोला रुकुमका नवशिक्षक दलजितले त्यहाँ गएको ३ दिनमै तीतो अनुभव गर्नुपर्यो । उनी पढाउन गएको विद्यालय मात्र नभई थुप्रै विद्यार्थी र शिक्षकलाई समेत खोलाले बगायो । धन्न उनी भने बाँच्न सफल भए । त्यतिबेला माले र मसालको टसलमा खुकुरी हानाहानको अवस्थामा उनलाई लखेटियो । भाग्दै जाँदा उनी एउटा घरभित्र पसे । त्यहाँबाट निस्किइन् एक पन्ध्र वर्षीया सुन्दर युवती । त्यसपछि उनीहरूको विवाह १७ दिनसम्म चल्यो । सोही वर्ष नै दलजित वर्गसंघर्षमा लागे । मुसिकोट क्याम्पस पढ्न गएका श्रीपाली ०५२ देखि भूमिगत नै भए ।
सपना नै त्यही बोकेर हिँडेपछि साकार पार्नलाई मैले सहयोग गर्नुपर्ने कर्तव्य थियो–सुनकुमारीले भनिन्–‘त्यसो त मेरी सासूले एउटा छोरा जनयुद्धका लागि भनेर उहाँलाई टीका लगाएरै पठाउनुभएको थियो । त्यो सब तत्कालीन समयमा दलितमाथि हुने शोषण, अत्याचार, भेदभाव, दुव्र्यवहारको परिणाम थियो ।’ प्रतिरोधले परिवर्तन ल्याउने सुनकुमारीको बुझाइ एवं अनुभव छ । राजनीतिलाई समाज परिवर्तनको अस्त्रका रूपमा बुझेकी उनी स्वयं ०५४ सालदेखि पूर्णकालीन भूमिगत जीवन बिताई विभिन्न स्थानमा लडेकी योद्धा हुन् । चार वटी चिचिला छोरी च्यापेर जनयुद्ध लड्नुलाई श्रीमानप्रतिको प्रेम, विश्वास र समर्पण भन्न रुचाउने सुनकुमारी नेताका श्रीमतीलाई जहिल्यै कसरी इज्जत ढाक्ने भन्ने चिन्ता भैरहने बताउँछिन् । परिवारसँगै समय बिताउने रहर हुन्छ उनलाई तर श्रीमान् जहिले व्यस्त, जसले उनलाई कहिलेकाहीँ दिक्क बनाउँछ तर दलजित परिवारका लागि सक्दो समय निकाल्छन् । श्रीमती बिरामी भएपछि सम्पूर्ण घरायसी खर्चलगायत अन्य व्यवस्थापन आफूलगायत छोरीहरू मिलेर गर्ने गरेका छन् । अहिले त उहाँ मलाई कहीँ–कतैबाट कुनै समस्या आउन दिनुहुन्न–सुनकुमारीले भनिन्–म खुसी रहूँ भनेर बिहानको चिया–नास्तामा सँगै रहनुहुन्छ । अहिले बालबच्चा ठूला भए, अलि सजिलो हुने बेला यसरी रोगले थलिनुपर्यो । अहिले म १६ वर्षको अन्तरालमा जन्मिएकी पाँचौं छोरी खुसीसँग दिनहरू बिताउँदै आएकी छु ।

सुनकुमारीका सम्बन्धमा दलजित
उनी मेरी सुख–दु:खकी साथी हुन् । उनले मलाई कहिल्यै बेखुसी हुने मौका दिइनन् । म बेखुसी छु त भगवान्सँग । ०६८ सालमा उनका दुवै किड्नी फेल भएर जेठी छोरीले आफ्नो एउटा किड्नी दिइन् र पनि पछि उनको शरीरले त्यसलाई स्वीकार गरेन । त्यही बेलादेखि म प्रत्येक रात मर्ने गरेको छु । बाहिर देख्दा मन्त्री पद, प्रतिष्ठा, शक्ति भए पनि मानिसको वास्तविक जीवन देखिएजस्तो नहुँदो रहेछ । उनले मेरो जीवनमा दिएको साथ–सहयोग, त्याग र प्रेमको म शब्दमा व्याख्या गर्न सक्दिन । मेरा लागि उनले आफ्ना थुप्रै इच्छा–चाहनाहरू मारेकी छिन् तसर्थ उनी मेरा लागि यो वा यति मात्र हुन् भनेर भन्न सक्दिन ।