फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।
मिस नेपाल, निकिता चाण्डक
सकारात्मक सोच तथा मेहनत गर्नसक्ने खुबीकै कारण आफू मिस नेपाल बन्न सफल भएको मोरङकी निकिता चाण्डक बताउँछिन् । प्रशिक्षणका क्रममा आफूले जित्नका लागि प्रतिस्पर्धा गर्नुपर्छ तर अरूलाई हराउन होइन भन्ने कुरा सिकेकाले निकिता हार वा जित जे भए पनि राम्रो प्रस्तुति दिने सोचमा थिइन् । निकिताले भारतको बैंग्लोरस्थित जेडी इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट फेसन कम्युनिकेसन अध्ययन गरेकी छिन् । ५ फिट ९ इन्च अग्ली निकिताले यसअघि भारतको पुणेमा भएको फेसन शो, केरला फेसन शो आदिमा भाग लिइसकेकी छिन् भने नेपाल फेसन विकमा समेत आफ्नो प्रस्तुति दिएकी छिन् ।
मिस नेपाल बनेपछि कस्तो अनुभव भैरहेको छ ?
खुसी छु । चुनौती थपिएको अनुभव भैरहेको छ । यसरी रातारात सेलिब्रेटी हुँदा रमाइलो नलाग्ने कुरा त भएन तर ममा त्यो खुसीको अनुभवसँगै मिस वल्र्डमा कसरी राम्रोसँग प्रस्तुत भएर देशको नाम राख्न सकिएला भन्ने कुरा पनि मनमा चलिरहेको छ ।
सुन्दरी प्रतियोगितामा सहभागी हुने सोच कसरी पलायो ?
म भारतका र्याम्पहरूमा हिँड्दा धेरैले मिस इन्डियामा भाग लेऊ भन्थे तर मेरो नागरिकता, पासपोर्ट आदि नेपालको भएकाले मैले त्यसमा भाग लिइन । नेपालका यस्ता इभेन्टहरू भए भाग लिनुपर्छ भन्ने सोचचाहिँ थियो ।
मिस नेपालमा आउने तयारी कहिलेदेखि गर्नुभयो ?
मैले दुई वर्षअघि बंैगलोरबाट मोडलिङ सुरु गरेकी हुँ । यसै क्रममा नेपालका फेसन डिजाइनर मनीष राईको पहिरनमा नेपाल फेसन विकमा हिँड्ने अवसर प्राप्त भयो । त्यतिबेला धेरैले मलाई मिस नेपालमा भाग लिन आग्रह गरे । त्यतिबेलासम्म मलाई मिस नेपालका बारेमा कुनै जानकारी थिएन । त्यसैले अर्काे वर्ष आउनुपर्ला भन्ने सोच बनाएकी थिएँ । दिदीले अडिसन देऊ भनेपछि मात्र यस विषयमा सोचेकी हुँ ।
मिस नेपालका रूपमा आफ्नो नाम घोषणा हुँदा कस्तो महसुस भयो ?
कार्यक्रमका दिन म नर्भस पनि भइन भने एक्साइटेड पनि भइन । बरु मलाई यो इभेन्ट कहिले सकिएला भन्ने मात्र लागिरहेको थियो । मैले रिजल्टका विषयमा केही सोचेकी थिइन । रिजल्ट जस्तोसुकै आए पनि स्वीकार गर्ने सोच बलियो बनाइसकेका कारण मिस नेपालमा आफ्नो नाम घोषणा हुँदा पनि म नर्मल नै थिएँ । मलाई रुन पनि आएन भने खुसी देखाउन पनि जानिन ।
आफू मिस नेपाल हुन्छु भन्ने कतिबेला लागेको थियो ?
हरेकले आफू मिस नेपाल हुनकै लागि यो प्रतियोगितामा भाग लिएका हुन्छन् । सबैले जित्नका लागि प्रयास पनि गर्छन् । त्यस्तै मेरो पनि मिस नेपाल हुने नै मुख्य लक्ष्य थियो । ट्यालेन्ट शोपछि मलाई धेरैले रुचाए । इभेन्टमा अन्तिम उत्तर दिएपछि ब्याक स्टेजमा मेरा प्रतिस्पर्धी साथीहरूले पनि तिमी नै मिस नेपाल हौ भन्दा कताकता आफूले नै जित्छु कि भन्ने लागेको थियो ।
तपाईं मिस नेपाल घोषित हुनुको मुख्य कारण के हो जस्तो लाग्छ ?
सबैसँग आ–आफ्ना खुबी थिए । मैले अठारै जनाबाट केही न केही कुरा सिकें । म ती सबैलाई एकसाथ राखेर प्रस्तुत भएँ जसबाट जित सम्भव भयो । यस अर्थमा मेरो जित सबैको कलेक्टिभ जित हो ।
मिस नेपाल भएपछि कत्तिको चुनौती थपिएजस्तो लाग्छ ?
पक्कै पनि चुनौती एवं जिम्मेवारीहरू थपिएका छन् । सामान्य मानिस एकाएक सेलिब्रेटी हुनु तथा देशको प्रतिनिधित्व गर्न पाउनु चानचुने कुरा होइन । मेरो यो चुनौतीपूर्ण यात्रामा हिडेन ट्रेजर तथा अग्रज मिस नेपालहरूको साथ एवं सहयोग रहने भएकाले म त्यति हडबडाएकी छैन ।
छ हप्ताको ग्रुमिङबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
कन्फिडेन्ट लेबल ह्वात्तै बढेको छ, सकारात्मक हुन सिकें । म आफ्ना हरेक सपना पूरा गर्न सक्छु भन्ने सकारात्मक धारणाको विकास पनि यही ६ हप्ताको प्रशिक्षणपछि प्राप्त भएको छ ।
अहिलेसम्म समाजका लागि केही गर्नुभएको छ ?
सोच त ठूलो छ तर गर्न भने सकेकी छैन । भूकम्पका बेला आफ्नो पहिलो तलब र आफ्नो होस्टेलका साथीहरूबाट संकलन गरिएको केही रकम पीडितहरूलाई प्रदान गरेकी थिएँ । मिस नेपालको प्रशिक्षणका क्रममा माइती नेपालको भिजिटमा जाँदा त्यहाँ आश्रित केही व्यक्तिका घटनाहरू सुनेर मेरो मन छियाछिया भयो । मिस नेपाल भएबापत प्राप्त नगद पुरस्कारबाट ५० हजार रुपैयाँ माइती नेपाललाई दिँदैछु ।
तपाईंको रुचि केमा छ ?
गायन, नृत्य तथा समाजसेवामा ।
भविष्यको योजना ?
मिस नेपालमा भाग नलिएको भए एक्टिङ कोर्स गरेर बलिउडतिर जाने योजना थियो । अब एक वर्ष मिस नेपालको जिम्मेवारीमै केन्द्रित हुनेछु । त्यसपछि राम्रो प्रस्ताव आए नेपाली चलचित्रमा समेत काम गर्नसक्छु ।
फुर्सदमा के गर्न रुचाउनुहुन्छ ?
फुर्सद भयो भने एक्लै हलमा गएर मुभी हेर्छु ।
नेपाली चलचित्र कत्तिको हेर्नुभएको छ ?
धेरै त होइन तर केही हेरेकी छु, राम्रो बन्दैछ ।
मनपरेका नेपाली कलाकार ?
प्रियंका कार्की, आना शर्मा, सम्राज्ञी, आयुष्मान र अनमोल केसी ।
तपाईंलाई दीपिका पादुकोणजस्तै देखिन्छिन् भन्छन् नि ?
स्कुले जीवनदेखि नै धेरैले दीपिका पादुकोणजस्तै छ्यौ भन्दै आएका छन् । मलाई मनपर्ने कलाकार पनि उनै हुन् । कहिलेकाहीँ ऐना हेर्दा आफैलाई पनि केही कुरा मिलेजस्तो लाग्छ ।
तपाईंको फिटनेसको रहस्य ?
म नियमित जिम जान्छु ।
कस्तो पहिरनमा हिँड्न रुचाउनुहुन्छ ?
लगाउँदा सजिलो तर एलिगेन्ट लुक्स देखिने पहिरन मन पर्छन् ।