सामान्यत: समाजमा डर केवल महिलाहरूसँग गाँसिएको हुन्छ भन्ने मान्यता राखिन्छ । युवतीहरूको व्यक्तित्वमा डरको अंश हुन्छ तर युवकहरूसँग डरको कुनै नाता हुँदैन भन्ने आम धारणा पाइन्छ । यद्यपि सत्य के हो भने पुरुषहरू पनि डराउँछन् । उनीहरूको मनमा पनि डर लुकेको हुन्छ । बाहिरी रूपमा जतिसुकै बहादुरी प्रदर्शित गरे पनि उनीहरूको मनको कुनै न कुनै कुनामा डर विद्यमान हुन्छ । अझ प्रस्ट रूपमा भन्नुपर्दा हरेक पुरुषको मनमा जीवनपर्यन्त एउटा बालक जीवितै हुन्छ जुन पटक–पटक डराउँछ ।
नकारिने डर
आफूलाई कसैले नकार्ने कुरा सम्झँदा पनि पुरुषहरू डराउँछन् । जीवनको जुनसुकै मोड वा सन्दर्भमा किन नहोस्, आफूलाई कसैले नकार्ला कि भन्ने डरले पुरुषहरूलाई सदैव सताइरहन्छ । कसैले नकार्दा उनीहरूको अहंमा चोट पुग्छ । प्रेमिका वा साथीले नकारे भने त झन् के कुरा गर्नु ? आफूले ज्यादै मन पराएकी युवतीलाई ठूलो आँट गरेर प्रेमप्रस्ताव राख्दा नकारात्मक उत्तर आयो भने युवकहरू भोक न निद्राले आकुल–व्याकुल हुन्छन् ।
कमाउन नसकिने डर
काम गर्नु र पर्याप्त पैसा कमाउनुलाई पुरुषको योग्यतासँग जोडेर हेर्ने हाम्रो सामाजिक प्रचलन छ । पढाइ जतिसुकै होस्, कमाइ नभएका युवकलाई अयोग्य मानिन्छ । पढाइ पूरा गरिसक्दानसक्दै कमाउने काममा लाग्नुपर्ने दबाब पुरुषहरूमा हुन्छ । तसर्थ दु:ख गरेर पढिसकेपछि पनि भनेजस्तो जागिर नपाइएला कि भन्ने डरले उनीहरूलाई सदैव सताइरहन्छ । छोरो मान्छेले कमाउनुपर्छ भन्ने धारणा सानैदेखि पुरुषमाथि थोपरिएको हुन्छ त्यसैले आफू कमाइको मामिलामा अयोग्य साबित हुने त होइन भन्ने डरले पुरुषलाई कहिल्यै छोड्दैन ।
सामाजिक हैसियत उच्च बनाउन नसकिने डर
पर्याप्त बैंक ब्यालेन्स, शानदार महल, भनेजस्तो गाडी अनि परिवारका सदस्यको हरेक आवश्यकता पूरा गर्न गरिने भागदौड । कतै आफू यी कुरा पूरा गर्न असमर्थ भए आफ्नो सामाजिक हैसियत गिर्ने त होइन भन्ने डरले कुनै पनि पुरुषलाई बाँकी राख्दैन । एकातिर आधुनिक ऐस–आरामपूर्ण जीवन बिताउन चाहने परिवारको हरेक आवश्यकता पूरा गर्नुपर्ने दायित्व अर्कातिर समाजमा अरूका अगाडि कम देखिन नहुने मानसिकताले जसरी पनि पैसा कमाउनुपर्ने दबाब दिइरहेको हुन्छ पुरुषलाई ।
एक्लोपनको डर
एक्लो रहनु पुरुषका लागि सहज हुँदैन । त्यसबाटै जोगिन पुरुषहरू हरेक समय आफूलाई प्रेम एवं साथ–सहयोग दिने जीवनसाथी खोज्छन् । जीवनसाथी पाएपछि बालबालिकाको चाहना गर्छन् । कामबाट फर्कंदा उनीहरूलाई देखेर आफ्ना सारा दु:ख–पीडा भुल्न खोज्ने पुरुष एक्लोपनबाट जोगिन यी सारा प्रपञ्चमा फस्छ । आफूलाई एक्लोपनबाट जोगाउने परिवार भताभुङ्ग होला अथवा आफूअनुकूल नहोला कि भन्ने डर पनि पुरुषमनमा सदैव कायम रहन्छ ।
साँचो प्रेमको चाहना
पुरुषहरू आफ्नी प्रेमिका वा श्रीमतीलाई बढी नै माया गर्छन् । उनका हरेक इच्छा जसरी पनि पूरा गर्ने ध्याउन्नमा सदैव लागिरहेका हुन्छन्–आमपुरुष । उनीहरू सदैव आफ्नी प्रेयसीले आफूलाई ‘म तिमीलाई सार्है माया गर्छु’ भनेको सुन्न चाहन्छन् अनि आफूलाई मनैदेखि प्रगाढ माया गरून् भन्ने सोच्छन् । सम्बन्धको यस्तो गहिराइ प्राप्त गर्नकै लागि पुरुषहरू जिउज्यान लगाएर कुदाकुद गर्छन् । आफूले यतिविधि गर्दागर्दै पनि प्रेयसीले धोका दिने त होइनन् भन्ने डरले उनीहरूलाई सदैव सताइरहन्छ ।
असफलताको डर
पुरुषहरू जीवनका हरेक मोडमा सफल हुन चाहन्छन् । सफलतालाई जित अनि असफलतालाई हारसँग जोड्ने उनीहरूको चाहना सदैव हारजितकै गणितमा अल्झिरहन्छ । जीवनमा सफलता प्राप्त होला कि नहोला ? सपना पूरा होला कि नहोला ? कतै हरेक चाहना अधूरा रहने त होइनन् ? सफलताको नजिक पुगिसकेर पनि असफलता झेल्नुपर्ने त होइन ? जस्ता अनेकौं तानाबानामा जेलिएर पुरुष डराइरहन्छ । पैसाको प्रश्न होस् वा प्रेमको, कुनै पनि पुरुष असफल हुन चाहँदैनन् ।
बाहिरबाट जतिसुकै बलबान् तथा दृढ देखिए पनि पुरुषहरू आफूभित्र यस्ता अनेकौं डर पालेर बाँचिरहेका हुन्छन् जुन उनीहरूको मनको कुनासम्म पुगेर देख्न सकिन्छ । पुरुषहरू निडर हुन्छन् वा डरसँग पुरुषको कुनै साइनो हुँदैन भन्नु सामाजिक मान्यताले उब्जाएको भ्रान्तिसिवाय केही होइन । वास्तविकता के हो भने पुरुषहरू पनि महिलाजत्तिकै विभिन्न डर पालेर बसेका हुन्छन् । डरको प्रश्नमा लिङ्गको कुनै भेद हुँदैन अर्थात् पुरुषको मनमा पनि डरले डेरा जमाएको हुन्छ ।