Successfully Copied

संघर्षको पर्याय

आमा सबैका लागि उत्तिकै महत्वपूर्ण तथा विशेष हुन्छन् तर मेरी आमा टिपिकल ममीजस्तो हुनुहुन्न । उहाँ उदाहरणीय महिला हुनुहुन्छ । उहाँका कुराहरू, संघर्ष, जीवनमा भोगेका पीडाहरूले धेरैलाई बाँच्नका लागि प्रेरणा मिल्छ ।

आयुषा श्रेष्ठ, मिस युनिभर्स तथा बिजनेस वुमन

आमा : ज्योति श्रेष्ठ, सामाजिक सेवा

आमा सबैका लागि उत्तिकै महत्वपूर्ण तथा विशेष हुन्छन् तर मेरी आमा टिपिकल ममीजस्तो हुनुहुन्न । उहाँ उदाहरणीय महिला हुनुहुन्छ । उहाँका कुराहरू, संघर्ष, जीवनमा भोगेका पीडाहरूले धेरैलाई बाँच्नका लागि प्रेरणा मिल्छ । सानै उमेरमा विवाह गरेकी मेरी ममीले विवाहपछि नै धेरै अप्ठ्यारा परिस्थितिलाई सामना गर्नुपर्‍यो । पहिलो मध्यम वर्गीय परिवारबाट हाइ क्लास परिवारमा जाँदाको परिस्थिति बेग्लै थियो । १९ वर्षकै उमेरमा हामी भाइ र म दुईजना ट्विन्स पेट हुँदा पनि काममा व्यस्त भैरहनुपर्ने कारण उहाँलाई कति कठिन भयो होला भनेर सोच्दा नै आङ सिरिङ्ग हुन्छ । त्यतिबेला हाम्रो गार्मेन्ट इन्डस्ट्री थियो । उहाँले जसरी भए पनि समय म्यानेज गर्नुहुन्थ्यो । धेरै वर्षको ग्यापमा बहिनी जन्मिइन् ।

मम्मीको एउटै मन्त्र थियो, दु:ख भए पनि सधैं आफू खुसी भएर हिँड्नुपर्छ । म त कहिलेकाहीँ आश्चर्यचकित हुन्छु, ममीले जस्तोसुकै परिस्थितिलाई आनन्दका साथ सम्हाल्नुहुन्छ । हामीलाई सधै आफ्नो काम आफै गर्नुपर्छ, अरूको मुख ताक्नुहुन्न भनेर सिकाउनु भएकाले पनि होला, हामीले कहिल्यै अरूले केही गरिदेला भन्ने सोच राखेनौं । बुुबा छिट्टै बित्नुभएकाले पनि ममीमा थप जिम्मेवारी आयो । त्यतिबेला बहिनी ७ वर्षकी थिइन् तैपनि उहाँ पटक्कै विचलित हुनुभएन । मेरो जीवनमा इन्टेलिजेन्ट आमा भएर पनि होला मलाई कुनै पनि कदम अघि बढाउन पटक्कै डर लाग्दैन । ज्योतिको अर्थ उज्यालो भएजस्तै मेरो जीवनको उज्यालो ममी नै हो । मम्मीले बारम्बार समय खेर नफाल, समयले पर्खदैन भन्ने हुँदा म एक–एक मिनेटलाई महत्व दिन्छु । 

ममीको अर्काे राम्रो पक्ष भनेको हरेक कुरामा सकारात्मक सोच राख्नु हो । उहाँ हामीलाई हरेक कुरामा स्वतन्त्रता दिनुहुन्छ । जति बन्धनमा बाँधिन्छ, उति बिग्रने डर हुने उहाँको मान्यता छ । ममीले गरेको मोटिभेसन तथा संघर्षका बारेमा म कुनै दिन पुस्तक नै लेख्छु । मेरी ममी भएर भन्दा उहाँको जीवन कथाले धेरैलाई ऊर्जा तथा प्रेरणा मिल्नसक्छ । 

 Image