डा.विशाल सापकोटा, प्राकृतिक चिकित्सक
आयुष अस्पताल, सुरुचि मार्ग, नयाँबानेश्वर
महिलामा नसा च्यापिने, हड्डी खिइने समस्या के कारणले हुन्छ ?
उमेरअनुसार परिवर्तन, गर्भावस्था, हार्मोनल रेगुलेसन, घरायसी कामकाज (लुगा धुने, भाँडा माझ्ने, भुइँ पुछ्नेलगायतका कुप्रिएर गर्नुपर्ने कामहरू), किड्नी तथा ब्लडरको समस्या, ओभरियन सिस्ट, इन्ड्रोम्याटाइटिस, खानपान आदि बिग्रिएको अवस्थामा यस्तो समस्या देखापर्छ । डी तथा बी–१२ जस्ता भिटामिन एवं क्याल्सियमको कमी, फाइब्रोमाइल्जिया, अर्थराइटिस, स्पोन्डाइलाइटिस तथा स्पोन्डाइलोसिसका समस्याले पनि नसा च्यापिने, हड्डी खिइनेजस्ता समस्या उत्पन्न हुन्छन् ।
यसबाट जोगिन अपनाउनुपर्ने सावधानीहरू के–के हुनसक्छन् ?
गह्रौं सामग्री उचाल्ने तथा अगाडि धेरै निहुरिने काम गर्नु हुँदैन । कतिपय महिलाको ब्याक मसल्स कमजोर हुन्छ । त्यसमा आफैंले ध्यान पुर्याउनुपर्छ । योग, फिजिकल फिटनेस, सन्तुलित आहार, तौल व्यवस्थापन, गर्भावस्था एवं प्रसूतिपछि पनि आवश्यकताअनुरूपका व्यायाम गरे यस्ता समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ ।
के खाने ?
दूध, फलफूल, सागसब्जी, अंकुरित भोजन, मौसमी फल तथा तरकारीका साथै ठोसभन्दा तरल पदार्थमा जोड दिनुपर्छ ।
समस्या उत्पन्न भैसकेपछि के गर्नुपर्छ ?
यो समस्या कम गर्ने विभिन्न उपचार छन् । प्राकृतिक उपचार विधिभित्र पर्ने हल्का मसाज, हिपबाथ, अकुपञ्चर, फिजियोथेरापी, ढाडसँग सम्बन्धित विभिन्न योग अभ्यासलगायत अन्य प्राकृतिक उपचारहरू गर्न सकिन्छ । जीवनशैलीमा परिमार्जन तथा बसाइको उचित आसनद्वारा यसलाई सन्तुलनमा ल्याउन एवं व्यवस्थापन गर्न सकिन्छ ।
प्राकृतिक उपचारले यो समस्या दीर्घकालीन रूपमा समाधान गर्छ ?
प्राकृतिक उपचारले तत्काल पीडा कम नभए पनि विस्तारै कम गर्दै लान्छ र दीर्घकालीन रूपमा रोगको निदान गर्न मद्दत पुर्याउँछ ।