Successfully Copied

रमेको जोडी

दाम्पत्य जीवन सुखमय हुन एकले अर्काको काममा सपोर्ट एवं माया गर्नुपर्ने सोच राख्छन् कलाकार दयाहाङ राई तथा गायिका बेनुका राई दम्पती । दयाहाङकै भाषामा भन्ने हो भने अहिले उनको करियरको ऊर्जाशील समय हो।

दाम्पत्य जीवन सुखमय हुन एकले अर्काको काममा सपोर्ट एवं माया गर्नुपर्ने सोच राख्छन् कलाकार दयाहाङ राई तथा गायिका बेनुका राई दम्पती । दयाहाङकै भाषामा भन्ने हो भने अहिले उनको करियरको ऊर्जाशील समय हो । बेनुका जीवनसाथी भएकैले आजको सफलता हात लागेको भन्न कन्जुस्याईं नगर्ने राई उनीजस्तो ऊर्जावान् श्रीमती पाएकोमा आफूलाई भाग्यशाली मान्छन् । बेनुकाको सकारात्मक साथले नै रंगमञ्चदेखि चलचित्रसम्म खुलेर जम्न पाएको दया बताउँछन् ।

विवाहअघि दुवै जना आ–आफ्नो काममा संघर्ष गरिरहेका थिए । त्यतिबेला काम खोज्न व्यस्त हुने समय थियो भने विवाहपछि कामले खोज्न थालेको समय भएको छ । सिनेमा, थिएटर, ग्रुप सबै विवाहपछि नै जुरेको हो । भोजपुरका दयाहाङले रंगमञ्चसँगै चलचित्रमा स्थापित भएर नायकको छवि बनाए । खोटाङमा जन्मिएर काठमाडौंमै हुर्किएकी बेनुका आफूलाई गायिकाका रूपमा  चिनाउँदैछिन् । दुई एल्बम सार्वजनिक गरिसकेकी बेनुका गीत–संगीतमा पुन: सक्रिय हुने तयारी गर्दैछिन् । 

राई दम्पती परिचय भएदेखि नै सँगसँगै हुन्थे । साहित्य, कला एवं संगीतको यो पारखी जोडीले कहिल्यै आफू यतिविधि लोकप्रिय भइएला, नामदाम कमाइएला भन्ने कल्पना गरेको थिएन । बिहान घरबाट निस्किएपछि उनीहरू दिनभरि सँगै हुन्थे । गाडी चढे घर छिटै पुगिएला भनेर शंखमूलमा बसोबास गर्ने दयाहाङ बेनुकालाई सातदोबाटो पुर्‍याएर घर पुग्थे । उनीहरूको संगत साहित्य एवं संगीतका अग्रज कलाकारहरूसँग भयो । त्यसैले पनि उनीहरू त्यही सरसंगतमै रमाउँथे । साथीका रूपमा अघि बढिरहेका यी दुईमा एक–अर्काप्रति प्रेम भावना त थियो तर मौनतामा सीमित । एकदिन बाटो हिँड्ने क्रममा दयाहाङले बेनुका म तिमीलाई धोका दिँदैछु भने ।

धोका शब्द सुनेर बेनुका एकछिन अल्मलिइन् पनि । प्रेम प्रस्ताव राख्छन् होला भन्ने सोचेकी बेनुकाले धोकाका बारेमा प्रतिप्रश्न गर्दा दयाहाङले आफ्नै पारामा भने–तिमीले मलाई साथीका रूपमा लिएकी हौली तर मैले त्यो भन्दा बढी नै सोचेको छु र तिमीले मैले जस्तो सोचेकी छ्यौ त्यस्तो पनि नहुनसक्छ । त्यसपछि बेनुका मात्र मुसुक्क हाँसेर पछि भेटौं है भन्दै आफ्नो बाटो लागिन् । पर्सिपल्ट भेट्दा बेनुकाले विस्तारै दयाहाङको हात समातेपछि यो जोडीको प्रेम अघि बढ्यो । 

दयाहाङ रंगमञ्चमा करियर बनाउँदै थिए भने बेनुका गायनमा । त्यतिबेला दयाको उमेर २२ वर्ष तथा बेनुकाको उमेर १९ वर्ष थियो । त्यो उमेरमा पनि उनीहरू पार्क तथा सिनेमा हलमा डेटिङका लागि गएनन् । उनीहरूको डेटिङ स्पट भन्नु नै पुस्तक विमोचन, क्यासेट विमोचन, साहित्यिक कार्यक्रम तथा पुस्तकालयहरू हुन्थे । सरल र शालीन यो जोडीको भविष्यको कुनै ठोस योजना छैन । विवाहपछि दयाको करियर रफ्तारमा दगुर्‍यो भने बेनुकाको गायन सुस्त भयो । यो कुरामा दयालाई नरमाइलो लाग्छ । आफूभन्दा पहिले नै स्थापित भएकी गायिका विवाहपछि अल्मलिएकोमा उनी खिन्न पनि छन् । बेनुका भने घर, परिवार एवं छोराछोरीको रेखदेख तथा श्रीमान्को प्रगतिमा दंग पर्दै जीवन बिताइरहेकी छिन् । त्यसो भन्दैमा उनको गायन यात्रा ठप्प भएको भने होइन । 

समय–समयमा कार्यक्रम तथा गीत रेकर्ड गराइरहेकी बेनुका संगीतमा स्नातकोत्तर गर्दैछिन् । बाहिरी कामबाट थाकेर वा रिसाएर घर फर्कदा श्रीमतीले तानपुरा वा हार्माेनियममा गीत गाइरहेको सुन्दा आनन्द मान्छन् दयाहाङ । उनलाई बेनुकाले गाएको कहाँ–कहाँ पुगिन् म, तिम्रो लागि र जोगेयाको फेरिले गीत सारै मन पर्छन् । उता बेनुका भने महिलाहरू विवाहपछि अल्मलिने अनुभव सुनाउँछिन् । आफू गायनमा सक्रिय हुन नसक्नुमा श्रीमान् सफल हुँदै गएपछि आफू त्यसैमा रमाउँदै गएको र त्यस क्रममा आफ्नै बाटो भुलेको उनको तर्क छ ।

हरेक पल उनकै राम्रो भैदिए हुन्थ्यो भन्ने सोच आउने बेनुका बताउँछिन् । अचेल एकदमै व्यस्त सेडुअलमा हिँडिरहेका दयालाई अब भने श्रीमतीले पनि आफ्नो प्रतिभालाई समय दिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । त्यसैले पनि बेनुका अध्ययन पूरा गर्नासाथ संगीतको यात्रामा अनवरत लाग्ने तयारीमा छिन् । आफ्ना श्रीमान्मा संगीतको सेन्स भए पनि उनलाई सुर र तालको ज्ञान भने नभएको बेनुकाले बताइन् । 

बेनुकाको राम्रो पक्ष 

मेरो कामलाई एकदमै बुझ्ने र काम गर्ने वातावरण तयार पारिदिने । मेरो काम, परिवार, छोरा र साथमा आफ्नो गायनलाई पनि साथै लाने क्षमता । ठूलो सपना नलिने, जे छ त्यसमै सन्तुष्ट हुने स्वभाव । कहिल्यै किचकिच नगर्ने । 

 

बेनुकाको कमजोडी

परिवार, घर र मेरो काममा व्यस्त हुने तर आफ्नो 

प्रतिभालाई त्यति ध्यान नदिने ।

दयाहाङको राम्रो पक्ष

जतिसुकै व्यस्त भए पनि परिवारप्रतिको 

जिम्मेवारीबाट पछि नहट्ने, सकारात्मक 

सोच तथा मिजासिलो स्वभाव ।

दयाहाङको कमजोडी

प्रेसर लिएर काम गर्ने । आफूले नसक्दा वा समय नहुँदा पनि नाइँ भन्न नसक्ने । ज्यानले धानेसम्म काम गरिरहने । 

उनको मनपर्ने चलचित्र

कबड्डी–कबड्डीमा गरेको अभिनय नेचुरल छ । 

ह्वाइट सनको कामका लागि म उहाँलाई स्यालुट नै गर्छु । त्यसमा उहाँको अभिनय सारै लोभलाग्दो छ ।

 Image