Successfully Copied

सेलिब्रेटी फेसनमा दीपाश्री

कलाकारिता क्षेत्रको लामो अनुभव संगालेकी लोकप्रिय हास्यअभिनेतृ दीपाश्री निरौला केहीअघि प्रदर्शित सुपर हिट नेपाली चलचित्र छक्कापन्जाकी निर्देशक हुन् ।

दीपाश्री निरौला, हास्यअभिनेतृ

कलाकारिता क्षेत्रको लामो अनुभव संगालेकी लोकप्रिय हास्यअभिनेतृ दीपाश्री निरौला केहीअघि प्रदर्शित सुपर हिट नेपाली चलचित्र छक्कापन्जाकी निर्देशक हुन् । बहुप्रतिभाशाली दीपाश्री फेसनमा समेत गहिरो रुचि राख्छिन् । सौन्दर्यले मानिसको जीवनमा विशेष भूमिका खेल्ने भएकाले शरीर सुहाउँदो पहिरन लगाउनुपर्छ भन्ने मान्यता राख्ने दीपाश्री सदैव चिटिक्क परेको शृंगार तथा पहिरनमा भेटिन्छिन् । उनी पहिरन, एसेसरिज, जुत्ता एवं व्याग म्याचिङ गरेर लगाउने कुरामा सचेत छन् । 

गर्मीमा हाफ पाइन्ट र जाडोमा ट्राउजर सेट लगाएर घरमा बस्ने दीपाश्री विशेष कार्यक्रममा कार्यक्रमअनुसारको पहिरनमा जान्छिन् । उनलाई डिजाइनका पहिरन पनि असाध्यै मन पर्छन्, जस्तो उनले भर्खरै किनेको हरियो र रातो रंगको गाउन उनलाई असाध्यै मन परेको पहिरन हो । कालो र पहेंलो रंगका पहिरनमा उनका आँखा छिट्टै जान्छन् । उनको सपिङ गन्तव्य दरबारमार्ग हो भने डिजाइनका पहिरनका लागि कुपन्डोलको उत्तम क्रियसन । बिनामेकअप कतै पनि ननिस्कने दीपाश्री  लोरियल, लोटस, रेवलन ब्रान्डका कस्मेटिक धेरै प्रयोग गर्छिन् । गाजल, लिपिस्टिक र पाउडर उनका कहिल्यै नछुट्ने मेकअप आइटम हुन् । निधारमा ठूलो टीका, हातमा सुनका चुरा र औंठी उनका कहिल्यै नछुट्ने प्रिय वस्तु हुन् । 

लामो केश असाध्यै मन पर्ने भएकाले दीपाले अगाडि हलुका स्यागी कट गरी केश रंगाएकी छिन् । गहनामा पनि रुचि राख्ने कलाकार दीपालाई अहिले बजारमा आएका बजारे ज्वेलरी निकै मन पर्छन् । कलाकार भएपछि धेरै मानिसले हेर्ने भएकाले सधै राम्री, सफा एवं आकर्षक भएर हिँड्ने गरेको बताउँछिन् । दीपा सनग्लास, घडी, ब्याग र जुत्ता म्याचिङ गरेर लगाउँछिन् । उनी ग्याजेटमा एप्पलको आइफोन एससिक्स र एप्पलकै ल्यापटप प्रयोग गर्छिन् ।

अहिलेको फेसनमा चलेको स्टाइल म्याचिङमा असाध्यै ध्यान दिने र ग्लोबल मार्केटको फेसनमा पनि भिज्न सक्ने क्षमता भएकी कलाकार दीपाश्री ब्रान्डेड पहिरनभन्दा शरीर सुहाउँदो पहिरनमा जोड दिन्छिन् । फेसन गर्दा घाँटी हेरी हाड निल्ने तथा सकारात्मक दृष्टि बनाउने व्यक्तिलाई नै उनी संसारकै धनी व्यक्ति भन्न रुचाउँछिन् । 

 Image