हिजोआज विवाहको मेकअप एवं पहिरनसँगै गरगहनाको छनोट पनि प्राथमिकतामा पर्न थालेको छ । यद्यपि विवाहका लागि गहना छनोट गर्नुअघि चलेको ट्रेन्डका विषयमा जानकारी राख्नु जरुरी छ ।
अहिले हरेक चीजको फेसनमा लगातार परिवर्तन आइरहेको छ । पहिरन होस् वा दुलहीका गरगहना, हरेक वर्ष बजारमा नयाँ–नयाँ फेसन देखिइरहेको हुन्छ । आजका दुलहीहरू यस्तो गहना खरिद गर्न चाहन्छन्, जसमा परम्पराका साथै आधुनिकता पनि झल्कियोस् । यस्ता गहनाको उपयोगिता विवाहको मौसममा मात्र होइन अन्य अवसरमा समेत हुन्छ ।
विवाहमा सिन्दूर, टीका, हार, चुरा, झुम्का, नत्थी, करधनी, पाउजु आदि गहना प्राय: सबै दुलहीले लगाउँछन् । हिजोआजका दुलही यी गहना खरिद गर्दा कम बजेट र राम्रो डिजाइनको खोजी गरिरहेका हुन्छन् । त्यसैले हिजोआज प्लेटेनियमका गहना दुलहीहरूको छनोटमा पर्ने गरेका छन् । यसमा स्वरोस्की डायमण्ड मुख्य हो । यसका अतिरिक्त कुन्दन अथवा जडाउ सेट पनि दुलहीहरूले मन पराउन थालेका छन् ।
गहना आलमारी वा लकरमा थन्क्याउन होइन हरेक अवसरमा लगाउन प्रयोग हुन्छन् । यही चाहनालाई ध्यानमा राखी डिजाइनरहरूले गहनाको डिजाइन तयार गरिरहेका हुन्छन् । डिजाइनरहरू भन्छन्–दुलहीको गहना उनीहरूको उपयोगिता र मागसँग जोडिएको हुन्छ । पश्चिमा शैलीमा ढालेर परम्परागत गहनालाई नयाँ रूप दिइन्छ । यसमा केही सस्ता स्टोन विशेष गरी इमरल्ड, रुबी, डायमण्ड आदि बढी मन पराउन थालिएको छ । टु इन वन अवधारणा हिजोआज गहनामा निकै लोकप्रिय छ । यस्ता गहना विवाहका दिनबाहेक रिसेप्सनमा पनि लगाउन सकिन्छ । गलामा लगाइने हार मात्र होइन, कानमा लगाइने झुम्का समेत सबै अवसरमा प्रयोगमा ल्याउन सकिने डिजाइनमा तयार गर्न थालिएको छ ।
इन्गेजमेन्टका लागि गहना : इन्गेजमेन्टमा सबैभन्दा ठूलो महत्व औंठीले राख्छ । यसमा औंठी अनिवार्य र विशेष मानिन्छ । क्लासिक डायमण्डदेखि आधुनिक रिंग स्टाइल, जसमा स्टोन, इमरल्ड, रुबी आदि प्रयोग भएको होस्, औंठी बढी रुचाइन्छ । विवाहमा लगाइने औंठी खरिद गर्दा त्यसको रंग तथा स्टाइल सम्बन्धित व्यक्तिको औंलामा कत्तिको सुहाउँछ भन्ने कुरामा पनि ध्यान दिइन्छ । हिजोआज प्लेटेनियम चल्तीमा छ । यसका अतिरिक्त पहेंलो सुन, सेतो सुन, गुलाबी सुन, हरियो सुनका औंठी पनि रोजाइमा पर्न थालेका छन् ।
विवाहका गहना : विवाहका दिन सबैभन्दा महत्वपूर्ण गहना नै हुन्छ । यो दिन दुलही पाउदेखि शिरसम्म गरगहनाले सजिएकी हुन्छिन् । पहिले–पहिले नेपालका दुलहीहरू पहेंलो सुनका गहना बढी प्रयोग गर्थे, यस्ता गहना प्रयोग गर्दा धेरै खर्च पनि लाग्दैनथ्यो तर हिजोआज आधुनिक दुलहीहरू हीरा, सेतो सुन तथा प्लेटेनियमका गहना पनि रुचाउन थालेका छन् । हिजोआज दुलहीको पोसाकका आधारमा सुहाउँदिला गहना बनाउन थालिएको छ । यसमा गलामा लगाउने हार, कंगन, सिन्दूर, मंगलसूत्र, नत्थी, झुम्का, पञ्जा, बिच्छी तथा पाउजु आदि हुन्छन् । विवाहका गहना प्राय: रातो रंगका पत्थरले सजिन्छन्।
रिसेप्सनका गहना : रिसेप्सनका दिन दुलहीहरू भारी खालका पहिरन लगाउन मन पराउँदैनन् किनभने यस्तो बेला आफ्नो परिवार र साथीभाइका साथ आरामसँग घुम्न र कुरा गर्न सकियोस् भन्ने उनीहरूको इच्छा हुन्छ । त्यसैले यस्तो अवसरका लागि गहना समेत हल्का नै रोज्नु उपयुक्त हुन्छ । यसमा सामान्य खालको डायमण्ड नेक्लेस, इयररिंग्स, ब्रासलेट तथा हल्का खालको चुरा विशेष हुनसक्छ ।
सुहागरातका गहना : सुहागरात दुलहा–दुलहीका लागि विशेष रात हो । यो रात माया बाँड्ने क्रममा एक–अर्कालाई केही खास दिने चाहना हुन्छ । यस्तो बेला औंठी विशेष हुन्छ । पहेंलो सुन, सेतो सुन वा प्लेटेनियम जस्तोसुकै औंठी उपहार प्रदान गर्न सकिन्छ । यस्तो बेला दुलहीलाई रत्नजडित औंठी दिने चलन पनि छ ।