महिला बचतकर्ताको संख्या बढ्दो
नेपाल बैंकमा ४० प्रतिशत महिलाको खाता छ । यो क्रम बढ्दो छ ।

पूर्ण घर त्यो हो जुन घरमा महिलाको बास हुन्छ । पहिले महिलाहरूको काम भन्नु नै घरमा पुरुषले कमाएर ल्याएपछि पकाएर ख्वाउनु, घरलाई व्यवस्थित राख्नु, परिवारका सबै सदस्यको त्यत्तिकै हेरचाह गर्नु हो तर आधुनिक समयमा महिलाहरूको भूमिका बढेको छ ।
परापूर्व कालदेखि चलिआएको घरको रेखदेख, परिवार, सन्तान तथा नातागोताको हेरचाहका साथमा बाहिरी कामको धपेडी पनि छ । बिहान उठेदेखि घर सफा–सुग्घर, छोराछोरीलाई ब्रेकफास्ट, खाना, स्कुलको तयारी, श्रीमान् तथा घरका परिवारलाई चिया, नास्ता दिँदै खाना पकाउने, अफिस गएर आयस्रोत बढाउने, घरका सामग्रीहरू जुटाउने, परिवारका कसैका वर्थ डे, एनिबर्सरी याद गरी सेलिब्रेट गर्ने, लुगा धुने तथा पसल जानेदेखि अन्य धेरै कुरामा महिलाकै भूमिका हुन्छ ।
महिलामा पुरुषको तुलनामा इम्युनिटी पावर बढी हुन्छ जसले गर्दा उनीहरू एकै समयमा पनि धेरै जिम्मेवारी निर्वाह गर्न सक्षम हुन्छन् । विवाह गर्नुअघि आमा, बुवा तथा भाइबहिनीको हेरचाहमा लाग्ने युवतीले विवाहपछि नयाँ घरमा प्रवेश गरी श्रीमान्का हरेक कुरामा सहयोग गर्छिन् भने सासू–ससुरालाई खुसी पारी नन्द–आमाजुहरूलाई महत्व दिनु पनि उनकै कर्तव्य हो ।
आफू बिरामी हुँदा पनि सकभर घरमा किन टेन्सन दिने भनी आफ्नो काम पूरा गर्न खोज्नु महिलाहरूको एउटा भित्री पावर पनि हो । पुरुषहरू आफ्नै आमाबुवा बिरामी हुँदा, केही काम पर्दा पन्छिन सक्छन् तर महिलाहरू आमाबुवाका साथमा सासू– ससुराको पनि उत्तिकै हेरचाह गर्छन् ।
पुरुष मात्र भएको घर अस्तव्यस्त हुन्छ तर महिलाहरू जतिसुकै व्यस्त भए पनि आफ्नो काम फटाफट सिध्याउँछन् । विवाहअघि खाना बनाउनसमेत नआउने कोरियोग्राफर रचना गुरुङले विवाहपछि खाना बनाउन मात्र सिकिनन् आफ्नो कामसहित घरको सबै काम तथा परिवारको उत्तिकै महत्वका साथ हेरचाह गर्न थालिन् ।
तीन छोरीकी आमा रचना उत्तिकै व्यस्त महिला पनि हुन् तर उनी घरमा पूर्ण गृहिणीकै भूमिकामा हुन्छिन् । घरमै खान रुचाउने रचना आफ्ना छोरीहरू तथा श्रीमान्का लागि नयाँ–नयाँ परिकारसमेत तयार पार्छिन् । श्रीमान्को फर्निचर शोरुममा सहयोग गर्नु, विभिन्न क्षेत्रका व्यक्तिहरूलाई ग्रुमिङसम्बन्धी प्रशिक्षण दिनु, घरको सबै काम गर्नु रचनाको विशेषता हो । जे–जस्तो प्रवृत्ति र सर्कलका महिलाहरूको पनि मनमा हेरचाहसम्बन्धी सोच भने पक्कै हुन्छ । त्यसैले पनि महिलामा जिम्मेवारी, सहनशीलता, जाँगर तथा लगनशीलता पर्याप्त मात्रामा पाइन्छ ।