अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।

गत महिना नेपालगन्जमा कम उमेरमा आमा बनेपछिका समस्या तथा त्यसको समाधानका विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । बाँकेमा कम उमेरमै प्रेममा फसेर विवाह गर्ने किशोरीहरू एक वर्षमै आमा बन्ने गरेको एक अनुसन्धानले देखाएको छ । उक्त अवसरमा गर्भनिरोधक साधन प्रयोग नगर्दा तथा विवाह गरेपछि बच्चा जन्माउनैपर्ने मानसिकता एवं किशोरावस्थामा गर्भनिरोधक साधनको प्रयोगले बाँझोपन हुने भ्रमका कारण किशोरी आमाको संख्या बढ्दै गएको तथ्यांकसमेत प्रस्तुत गरियो । अनुसन्धान गरिएका २७ जना गर्भवती किशोरीमध्ये ३ जना घरमै सुत्केरी भएका थिए, १८ जना स्वास्थ्य संस्थामा पुगेका थिए भने ६ जनाको नेपालगन्जमा शल्यक्रिया गरिएको थियो ।
सानै उमेरमा विवाह गरेका किशोरीहरू गर्भवती हुँदा शरीरका अंगको विकास नभएका कारण आमाको ज्यान जोखिममा पर्ने तथा पोषणयुक्त खानेकुराको कमी, आराम एवं परिवारबाट पाउनुपर्ने माया नपाएका कारण आमा र कम तौल भएका शिशुको मृत्यु हुने गरेको छ । बालविवाहका कारण मातृ तथा नवजात शिशुको मृत्यु हुने जोखिम वृद्धि हुन्छ । कम उमेरका आमाहरूमा हेमोग्लोबिनको समस्या बढी देखिन्छ ।