तीजमा धेरैको चाहना व्रत बसेर पशुपति दर्शन गर्न जाने हुन्छ जसमा राति नै उठेर लाइन बस्नेहरू पनि त्यत्तिकै हुन्छन् । तीजका दिन पशुपतिनाथको दर्शन गर्न जान नसक्नेहरूका लागि अहिले विभिन्न टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेका छन् तर यसरी प्रत्यक्ष प्रसारणमा खटिने महिला सञ्चारकर्मीहरूको अवस्थाको ख्याल राख्नेहरू भने कमै देखिन्छन् । टेलिभिजनकर्मीहरू सबेरै क्यामेरा र माइक लिएर पशुपति क्षेत्र पुगिसक्छन् । उनीहरूमाथि कामको चर्को दबाब हुन्छ ।
एक त व्रत त्यसमाथि पशुपति पुगेकाहरूसँग दिनभरि उभिएर कुराकानी गर्दै, गुनासो सुन्दै लाइभ प्रसारण गर्नुपर्ने बाध्यता । यद्यपि टेलिभिजन च्यानलहरूको यस्तो लाइभ कार्यक्रम पशुपति पुग्न नसकेका वृद्धा, बिरामी तथा अन्य कारणले मन्दिर जान नसक्नेहरूका लागि निकै उपयोगी साबित हुँदै आएको छ । भक्तिदर्शन टेलिभिजनमा पूजापाठ एवं धर्म दर्शनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकाले त्यसमा तीजलगायत, साउने सोमबार, शिवरात्रिहरूमा पनि लाइभ कार्यक्रमहरू प्रसारण गरिन्छ ।
भक्तिदर्शन च्यानलकी सञ्चारकर्मी मनिता पोखरेल तथा स्वजना लोहार दुई वर्षअघिदेखि तीजको लाइभ कार्यक्रमका लागि पशुपति पुग्छन् । सबेरै नुवाइ–धुवाइ पूजापाठ सकेर व्रत बस्दै कार्यक्रम चलाउने मनिता र स्वजनालाई पशुपतिमा भक्तजनको उपस्थिति देखेर आफूमा ऊर्जा थपिएको अनुभव हुन्छ । टेलिभिजनको माइक र क्यामेरा देखेपछि कतिपय हामी अघिदेखि आएर लाइनमा बसेको हाम्रो पालै आएन, लाइन मिचियो, सिस्टम राम्रो भएन भन्ने गुनासो व्यक्त गर्छन् । मनिता भन्छिन्–रातिदेखि लाइनमा बसेर आएका आमाहरूले राम्रोसँग दर्शन गर्न पाइएन भनेर रुँदै दुखेसो पोखेको देख्दा मन थाम्न नसकेका घटना पनि छन् ।
यसै क्रममा सबैले मज्जाले बसेर दर्शन गर्न थाल्ने हो भने त अरूको पालै आउँदैन भनेर टिप्पणी गर्दा दर्शनार्थीहरू उल्टै रिसाएका तीता घटना पनि छन् । प्राय: वृद्धाहरूले भक्तिदर्शन च्यानल हेर्ने हुँदा आफ्ना हात सुम्सुम्याई टिभीमा आउने नानीहरू तिमीहरू नै हौ । टिभीमा त ठूली देखिन्छ्यौ तर सानी–सानी पो रहेछौ भनेर माया गर्दाका रमाइला अनुभवहरू पनि उनीहरूसँग छन् । मनीषाले एकपटक पानी पनि नपिई व्रत बस्ने एक ८५ वर्षकी महिलालाई भेटेकी थिइन् । उनमा न थकाइ थियो न चिन्ता, थियो त केवल जोस, जाँगर र प्रेरणा मात्र । उनी पुराना तीजका गीत गाउँदै मज्जाले नाचेको देख्दा भीडले ताली बजाई समर्थन गरेको क्षण पनि पशुपतिमा देखिएको रमाइलो घटनामध्ये एक हो ।
पशुपति क्षेत्रमा पानी नै नपिई व्रत बसेर ढल्नेहरू पनि देखिन्छन् । त्यति बेला टेलिभिजनकर्मी आफंैले उठाएर पानी खानुस् भन्दा मेरो व्रत छ भनेर नखानेहरू पनि छन् । यता टेलिभिजनमा तीजको लाइभ प्रसारणको सुरुवात गर्ने कान्तिपुर टेलिभिजनकी श्रद्ा अर्यालको अनुभव पनि त्यस्तै छ । एक त आफ्नो व्रत त्यसमा टेलिभिजनको लाइभ कार्यक्रमका लागि पशुपति जानुपर्ने । गर्मीमा पसिना–पसिना भएर लाइनमा बसिरहेका महिलाहरू एक्कासि बेहोस भएको देख्दा नरमाइलो लाग्ने खनाल बताउँछिन् । त्यसरी बेहोस हुँदा कतिपय परिवारका कुनै पनि सदस्य साथमा नहुँदा गार्हो भएका घटनाहरू पनि देखेकी छिन् उनले ।
अर्याल भन्छिन्–साथीहरू वा परिवारसँग मन्दिर आउनुपर्छ साथै शरीरले थेग्न नसक्ने गरी निराहार व्रत बस्नु, घाममा लाइन बस्नु पनि उपुयुक्त होइन । समूह–समूहमा तीज गीत गाउँदै नाचिने क्षणहरूले पशुपतिको वातावरणलाई उत्सवमय बनाउँछन् । रातो पहिरनमा तथा गहना लगाएका बूढी आमाहरू तीजमा नाचेको देख्दा आफूलाई पनि नाचूँ–नाचूँ लाग्ने श्रद्ा बताउँछिन् ।
नेपाल टेलिभिजनकी अनिता बिन्दुलाई तीजमा पशुपतिबाट लाइभ कार्यक्रम चलाउँदा एक प्रकारको आनन्द आउँछ । हरेक उमेरका महिलाहरू श्रद्धा र विश्वास बोकेर पशुपतिमा पूजा गरी समूह–समूहमा नाच–गान गर्दै आ–आफ्ना दु:ख–पीडा भुलेको देख्दा कार्यक्रम चलाउने क्रममा आफूमा समेत ऊर्जा थपिने अनिताले बताइन् । उनलाई त्यहाँ आएका महिलाहरूले समाचार भन्ने नानी होइन भनेर प्रश्न गर्दा खुसी लाग्छ । कतिले त नानी तिमीले समाचार भनेको सार्है मनपर्छ भन्छन् । कतिपयले टिभीबाट यहाँको व्यवस्था राम्रो भएन सुनाइदिनू है पनि भन्छन् । धेरैजसो वृद्धाले दर्शन गर्न नपाएको, पूजा सामग्री फालिदिएको गुनासो गरेको देख्दा ज्येष्ठ नागरिकहरूका लागि छुट्टै लाइनको व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ अनितालाई ।
पशुपतिमा तीजमा ३० वर्षभन्दा माथिका महिलाको संख्या धेरै देखिने अनिताको अनुभव छ । भर्खर विवाह भएका महिलाहरू घरमा के भन्लान् भनेर पनि आएका हुन्छन् साथै मलाई पूजाआजा गर्न आउँदैन, नाच्न–गाउन आउँदैन, भोकै बस्नु हुुँदैन तर व्रत बस्नु परिहाल्यो जस्ता कुरा गर्ने भक्तजन पनि उत्तिकै हुने अनिताले बताइन् । तीजका दिन पशुपतिमा रातो पहिरनमा सजिएका महिलाहरू मात्र देख्न पाइन्छ । तीज पहिरनमा सजिएर महिलाहरूले नाचगान गरेको देख्दा रमाइलो महसुस हुने हिमालयन टिभीकी सुषमा श्रेष्ठ बताउँछिन् । स्वजना, मनीषा, अनिता र श्रद्ा जस्तै सुषमा पनि तीजमा पशुपति क्षेत्रबाट लाइभ कार्यक्रम चलाउँदा आफै पनि तीजको लहरमा बहकिन्छिन् । सुषमालाई पनि शरीरले धान्न नसकेर लडेका महिलाहरू देख्दा बरू चोखो खाएर व्रत बसे हुन्थ्यो जस्तो लाग्छ ।