Successfully Copied

आमरूपमा हेर्दा फरक समुदायजस्ता देखिने तेस्रो लिंगीहरूको तीज मनाउने प्रक्रिया पनि विशेष तथा फरक छ । तीजको रौनकमा सामान्य नेपाली दिदीबहिनीहरूभन्दा बढी रंगिने तेस्रो लिंगी समुदायका कतिपय सुन्दरी पानी पनि नपिई व्रत बस्छन् । तेस्रो लिंगी युवती लुसिया (नाम परिवर्तन) भन्छिन्–‘राम्रो र असल पति पाऊँ भनेर विगत ५ वर्षदेखि व्रत बस्दै आएकी छु । धर्मप्रति आस्था भएकैले म पानी नपिई व्रत बस्छु । मलाई फल प्राप्त हुन्छ जस्तो पनि लाग्छ ।’

तेस्रो लिंगी भूमिका श्रेष्ठ भन्छिन्–उनीहरूको समुदायका मानिसको तीज मनाउने शैली अलि फरक छ । आमनारी अघिल्लो दिन दर खाएर तीजका दिन व्रत बस्छन् भने उनीहरू तीजकै दिन मस्त खाएर नाचगान गर्छन् । तीजकै दिन पारेर यो समुदायले ब्लु डायमण्ड सोसाइटी (नीलहीरा समाज) को कार्यालयमा तीज कार्यक्रम राख्छ जहाँ तेस्रो लिंगी मात्र होइन जोकोही आएर नि:शुल्क भोजन तथा नाच–गान गरी रमाइलो गर्न सक्छन् । भूमिका भन्छिन्–हाम्रो समुदायमा कतिपय साथी छन् जो पानी त के थुक पनि ननिली व्रत बस्छन् तर मलाई व्रतमा विश्वास छैन । म भोको बसेर धर्म हुन्छ भन्ने मान्यताबाट टाढै छु । यसै पनि हामी तेस्रो लिंगी समुदायकाहरू शारीरिक, मानसिक तथा भावनात्मक पीडामा रुमल्लिइरहेका छौं । यस्ता चाड–पर्वलाई हामीले खुसी हुने अवसर बनाउनुपर्छ । अर्को कुरा यो संस्कार–संस्कृतिको निरन्तरता एवं जर्गेना पनि हो । 

तेस्रो लिंगीहरू तीज सुरु हुनुभन्दा एक महिनाअगावैदेखि ब्युटिपार्लर जाने, स्पा जाने, बुटिक चहार्ने आदि काम गर्छन् । यो चाडमा उनीहरू को भन्दा को कम शैलीमा प्रस्तुत हुन्छन् । त्यति मात्र होइन यो अवसरमा कसले कति हेभी लेहेंगा, साडी र एसेसरिज लगाएको छ भन्ने कुरामा प्रतिस्पर्धा नै चल्छ उनीहरूबीच । उनीहरू तीजकै लागि भनेर राता–हरिया पहिरन बनाउने, छड्के तिलहरी किन्ने, चुरा–धागो एवं पोतेको जोहो गर्ने, पार्लर गएर सुन्दर बन्नेजस्ता क्रियाकलापमा पनि निकै समय खर्चिन्छन् ।  तीजको अवसरमा विभिन्न स्थानमा तेस्रो लिंगी मिस तीज प्रतियोगिता पनि संचालन हुन्छ । यस्ता पर्वका अवसरमा यो समुदाय सामाजिक सेवामा पनि सक्रिय हुन्छ ।

टिना भन्छिन्–‘तीजमा सिंगारिन मन लाग्छ जसले मलाई पूर्ण नारी भएको महसुस गराउँछ । म तीजमा सोर्‍ह शृंगार गर्न रुचाउँछु ।’ भूमिका भन्छिन्–यस्ता सांस्कृतिक पर्व वा अवसर भनेका हामीभित्र भएका शारीरिक, मानसिक, भावनात्मक सबै पीडा भुलेर तनाव मुक्त भै खुसीमा रमाउने अवसर हुन्  तसर्थ यस्तो संस्कृतिलाई निरन्तरता दिँदै सबैले खुसी मनाउनुपर्छ । 

 Image