Successfully Copied

हाम्रो तीज

नेपाली महिलाहरूको चाड तीज नजिकिरहेको छ । अरु बेला जतिसुकै व्यस्त भए पनि आफ्नो कामबाट समय निकालेर चाडको मज्जा लिने समय हो यो । चीनमा बालरोगसम्बन्धी अध्ययन गरिरहेकी डा. रक्षा कोइराला तीजको आगमनसँगै खुसी लाग्ने बताउँछिन् ।

नेपाली महिलाहरूको चाड तीज नजिकिरहेको छ । अरु बेला जतिसुकै व्यस्त भए पनि आफ्नो कामबाट समय निकालेर चाडको मज्जा लिने समय हो यो । चीनमा बालरोगसम्बन्धी अध्ययन गरिरहेकी डा. रक्षा कोइराला तीजको आगमनसँगै खुसी लाग्ने बताउँछिन् । पहिलो महिनावारी भएदेखि तीजको व्रत बस्दै आएकी डा. कोइरालाले अहिलेसम्म यसलाई निरन्तरता दिइरहेकी छिन् । डा. कोइराला भन्छिन्–दरका दिन मीठा–मीठा परिकार खाने चलन हुँदा चीनमा पनि मन मिल्ने नेपालीहरूसँग एकै ठाउँमा भेला भएर दर खाइन्छ र तीजको मज्जा लिइन्छ ।’ काठमाडौंमा तीजका दिन शिव मन्दिर जाने रक्षा चीनमा पनि उक्त दिन मन्दिर पुग्छिन् । तीजको व्रतमा उनी फलफूल, जुस तथा पानी मात्र पिउँछिन् । काठमाडौंमा हुँदा धेरै पटकको तीज उनले अस्पतालका बिरामी तथा स्टाफसँग मनाएकी छिन् । जतिसुकै व्यस्त भए पनि वर्ष दिनमा एकपटक आउने चाड रमाइलोसँग मनाउनुपर्ने उनको ठहर छ । रक्षा आफ्नो शरीरलाई दु:ख दिएर भन्दा फलफूल तथा पानी खाएर व्रत बस्नुपर्ने मान्यता राख्छिन् । 

यसैगरी वयोधा हस्पिटलकी इन्डोक्राइनोलोजिस्ट डा. मनीषा मिश्र पनि विगत पाँच वर्षदेखि तीजको व्रत बस्दै आएकी छिन् । विवाहअघि पञ्चमीको मात्र व्रत बस्दै आएकी डा. मिश्र विवाहपछिका हरेक तीजमा निराहार व्रत बस्छिन् । निराहार व्रतले श्रीमान्को आयु लामो हुने विश्वास नभए पनि मम्मीहरू व्रत बसेको देखेर नै उनले देखासिकी गरेकी हुन् । व्यस्त पेसा भए पनि केही समय निकालेर उनी आफ्ना लागि तीजका पहिरन किन्छिन् । दिदीबहिनी तथा साथीहरूलाई चुरा पनि उपहार दिन्छिन् । त्यसैगरी डा. मिश्रले हस्पिटलका साथी, घर तथा माइतीमा दर खाने–ख्वाउने गर्दै आएकी छिन् । महिलाको चाड तीजलाई व्यग्रताका साथ पर्खिने गरेको उनी बताउँछिन् ।

क्षेत्रीय कृषि व्यवसायी योजना विज्ञ–कृषि उद्यम केन्द्र, हिमाली आयोजनाकी डा. नम्रता पाण्डे तीजलाई महिलाको जीवनमा हरियाली ल्याउने पर्व मान्छिन् । उनका अनुसार वर्ष दिनका अव्यक्त भावना खुलेर व्यक्त गर्ने दिन पनि यही हो । आफ्नो सौभाग्यको कामना गर्ने यो दिनलाई उनी हातभरि राता चुरा लगाएर मनाउँछिन् । दिदीबहिनी भेला गरेर नाचगान गर्न र दर ख्वाउन पाउँदा डा. पाण्डे असाध्यै रमाउँछिन् । डा. पाण्डे मन्दिर दर्शन गर्न जाने, पानी पनि नखाई निराहार व्रत बस्ने कुरामा कट्टर छैनन् । श्रीमान्को आयु बढाउन तथा सफलताका लागि व्रत होइन प्रेमपूर्ण सहकार्य प्रभावकारी हुने उनको धारणा छ ।

तीजका दिन मात्र व्रत बस्दा श्रीमान्लाई राम्रो हुने कुरा उनलाई पटक्कै विश्वास छैन । डा. पाण्डे भन्छिन्–वर्षभरि एक–अर्काप्रति गरिने विश्वास र प्रेम नै वास्तविक रूपमा व्रत हो । महिनौं दिनअघिदेखि तीज मनाउने चलनले दर खाने दिनको महत्व घटाउँदै लगेको उनले बताइन् । अरू दिन साथी तथा दिदीबहिनीहरूकहाँ गए पनि दर खाने दिन भने आमाको हातले पकाएको दर खाँदा नम्रतालाई असाध्यै रमाइलो लाग्छ । पञ्चमीका दिन दिदीबहिनी भेला भएर  घरमै पूजा गर्ने उनको चलन छ । तीजका दिन रातो साडीमा सजिने डा. नम्रता तीजकै लागि भनेर नयाँ पहिरन भने खरिद गर्दिनन् । चाडपर्वलाई महँगो नबनाई सुलभ एवं सहज रूपमा मनाउनुपर्ने धारणा डा. पाण्डेको छ । 

 

 Image