Successfully Copied

घरमा सजिलै तरकारी खेती

घरवरिपरि सानो ठाउँ, बारी वा कौसीमा सजिलै तरकारी उत्पादन गर्न सकिन्छ ।

हिजोआज बजारमा पाइने तरकारीमा रासायनिक औषधि प्रयोग गरिएको पाइन्छ जुन मानव स्वास्थ्यका लागि हानिकारक छ । यो कुरा बुझेकाहरू केही महँगो मूल्य तिरेरै भए पनि अर्गानिक तरकारी खरिद गर्छन् । यद्यपि अलिकति जमिन र परिश्रम गर्ने जाँगर छ भने तरकारीमा खर्च हुने पैसा जोगाउन सकिन्छ । घरवरिपरि सानो ठाउँ, बारी वा कौसीमा सजिलै तरकारी उत्पादन गर्न सकिन्छ ।

धेरै मानिसलाई घरमा तरकारी खेती गर्न झन्झटिलो र बढी मेहनतयुक्त काम लाग्छ । त्यसैले उनीहरू आफूसँग भएको ठाउँ त्यत्तिकै खेर फाल्छन् । अलिकति मात्र ध्यान दिने हो भने आफैंले उब्जाएको ताजा तरकारी खान कुनै समस्या हुँदैन । वर्षामा तरकारी खेती गर्न सजिलो पनि छ । वर्षामा बोटबिरुवाका लागि अलग्गै पानीको व्यवस्था गरिरहनु पर्दैन । 

गोलभेंडा

वर्षामा गोलभेंडाका बिरुवा सजिलै उमार्न सकिन्छ । गोलभेंडाको बीउ छर्न सबैभन्दा पहिले माटो तयार गरी क्यारी बनाउने । क्यारीलाई १५ इन्चसम्म अग्लो बनाई गोलभेंडाको बीउ  छर्ने वा घरमै पाकेर फुटेका गोलभेंडालाई सुकाएर जमिनमुनि राख्न सकिन्छ । त्यसबाट केही दिनमै गोलभेंडाका बिरुवा देखिन थाल्छन् । गोलभेंडाको बिरुवालाई सहारा दिन लौरो प्रयोग गर्न सकिन्छ । 

हेल्दी टिप्स

गोलभेंडाबाट भिटामिन ए, बी, सी, डी, क्याल्सियम तथा आइरन पाइन्छ ।

सतर्कता 

गोलभेंडामा छिट्टै कीरा लाग्छ । त्यसैले समय–समयमा बेसार र खरानी मिसाएर बोटमा छर्किनुपर्छ । 

रामतोरिया

रामतोरियाका लागि माटो मिसाई क्यारी तयार गर्ने । रामतोरियाको बीउ वा बिरुवा रोप्न सकिन्छ । क्यारीमा रोप्दा रामतोरियाको जरामा पानी पुग्न पाउँदैन र रामतोरियाको गुणस्तर पनि राम्रो हुन्छ । एउटा बिरुवादेखि अर्काे बिरुवाबीचको दूरी १५ देखि २० सेन्टिमिटर हुनुपर्छ ।

हेल्दी टिप्स

रामतोरियाबाट प्रोटिन, कार्बाेहाइड्रेट, भिटामिन ए, सी तथा बी २ प्राप्त हुन्छ । 

जानकारी 

रामतोरियाको बियाँलाई सुकाएर रोस्ट गरी पिसेर कफीको विकल्पमा रूपमा प्रयोग गर्न सकिन्छ । यस्तो चलन विभिन्न देशमा छ । 

 

भान्टा

भान्टा वर्षभरि सजिलै फलाउन सकिने तरकारी हो । भान्टाको बिरुवालाई दुई तरिकाले उमार्न सकिन्छ । पहिलो भान्टाको बीउलाई जमिनभित्र राखेर ४० दिनसम्म पर्खने । बिरुवा उम्रिएपछि त्यसलाई अर्काे माटोमा रोपेर भान्टा फलाउन सकिन्छ । भान्टाको बिरुवाबीच ६० सेन्टिमिटरको दूरी कायम राख्नुपर्छ भने पहिले नै जमिनमा ६० सेन्टिमिटरको दूरी बनाई बीउ रोप्न सकिन्छ । 

हेल्दी टिप्स

भान्टामा भिटामिन ए, बी, सी, डी, क्याल्सियम आदि प्रशस्त मात्रामा पाइन्छ । भान्टा स्वास्थ्यका लागि फाइदाजनक तरकारीमध्ये एक हो । 

जानकारी

भिटामिन सीले भरिपूर्ण भान्टाले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । रोगप्रतिरोधी प्रणाली कमजोर भएकाहरूका लागि भान्टा एकदमै फाइदाजनक छ । 

लौका

लौका घरमा फलाउन सबैभन्दा सजिलो तरकारीमध्ये एक हो । यद्यपि यसको लहरा फैलन भने प्रशस्त ठाउँ चाहिन्छ । लौकालाई लौराको सहायताले कौसीमा फैलन दिन सकिन्छ अथवा पातलो बाँसको छत तयार गर्न सकिन्छ । लौकाको बिरुवा उमार्न आधा मिटर माटो खनेर केही बीउ हाल्ने । आधा फिटको दूरीमा बीउ रोपेर त्यसमाथि माटो हाली छोप्ने । केही दिनभित्र स–साना बिरुवा देखा पर्न थाल्छन् । 

हेल्दी टिप्स

लौकाबाट प्रोटिन, कार्बाेहाइड्रेट, भिटामिन ए, फस्फोरस, क्याल्सियन, आइरन, म्याग्निसियम, जिंक आदि प्राप्त हुन्छ ।

जानकारी 

लौकालाई ६ महिनासम्म राख्न सकिन्छ । नुनपानीमा डुबाएर राख्दा लौका ताजा रहन्छ ।

करेला

लौकाजस्तै करेला पनि लहरे तरकारी हो । यसको खेती खासगरी नदी वा खोलाको किनारमा राम्रो हुन्छ । घरको कौसी वा बारीमा पनि सजिलै करेला फलाउन सकिन्छ । यसलाई पनि बीउ राखेर वा बोट रोपेर हुर्काउन सकिन्छ । 

हेल्दी टिप्स

करेला भिटामिन ए, सी, काँपर, म्याग्निज, सेलोनियम, प्रोटिन आदि पोषण तत्वले भरिपूर्ण हुन्छ ।

विशेषता

करेला स्वादमा तीतो भए पनि यो स्वास्थ्यका दृष्टिले भने निकै फाइदाजनक तरकारी हो । डायविटिज, मोटोपन, रक्तचाप, आँखाको कमजोरी आदि भएकाहरूलाई करेला उत्तम मानिन्छ । 

सावधानी

तरकारी बारीको निरीक्षण, गोडमेल हरेक हप्ता गर्ने । सुख्खा र अनावश्यक बिरुवा उखेलेर फाल्ने । यसो गर्दा तरकारी बढ्न पूरा पोषण मिल्छ । 

घरमा सजिलै फलाउन सकिने तरकारी

१.फर्सी 

२. घिरौला

३. स्कुस

४. करेला

५. बरेला

६. चटेला

७. भान्टा

८. रामतोरिया

९. लौका

१०. गोलभेंडा

११. बाबरी

१२. सागहरू

१३. हरियो खुर्सानी 

१४. धनियाँ आदि । 

 Image