Successfully Copied

घरमै रोजगारी

आजको यो युगमा आफ्नो आर्जनले घरखर्च चलाएर मात्र पनि पुग्दैन ।

महँगी बढ्दो छ । सामान्य आयले घरखर्च धान्न कठिन छ । आजको यो युगमा आफ्नो आर्जनले घरखर्च चलाएर मात्र पनि पुग्दैन । छोराछोरीको शिक्षादेखि आफ्नो पोजिसन मेन्टेनका लागि समेत आय आर्जनको बलियो स्रोत जरुरी छ । हाम्रो समाजमा एकजनाको कमाइमा पूरै परिवार निर्भर हुनुपरेको अवस्था पनि छ । यसबाट आर्थिक संकट आउने र पारिवारिक संरचना नै खलबलिन सक्ने सम्भावना उत्तिकै छ । आर्थिक आधार राम्रो नभए कुनै पनि परिवार सुखी र खुसी हुन सक्दैन । यस्तो अवस्थामा परिवारका अधिकांश सदस्य आयमूलक काममा लाग्नु राम्रो हुन्छ ।

हामीकहाँ श्रीमान् कमाइका लागि जाने र श्रीमती घरमै बस्ने चलन छ । यसले श्रीमतीलाई परनिर्भर त बनाउँछ नै, घरको आर्थिक स्रोत पनि खुम्चन पुग्छ । बरू दुवैजना आयआर्जनको बाटोमा लाग्ने हो भने परिवारमा आर्थिक समृद्धि ल्याउन सकिन्छ । यद्यपि दम्पती नै रोजगारीमा लागेपछि परिवारको हेरचाहमा समस्या आउन सक्छ । बालबालिकाको रेखदेख पनि त गर्नुपर्‍यो । अझ यस्तो अवस्थामा अर्काको अधीनमा रहेर १० देखि ४ बजेसम्मको समयसीमामा काम गर्न सम्भव हुँदैन । यस्तो अवस्थामा के गर्ने त ?

जहाँ इच्छा, त्यहाँ उपाय । यदि आफूमा काम गर्ने तत्परता र दृढता छ भने आयआर्जनको काममा लाग्न सकिन्छ, त्यो पनि घरभित्रै । आफ्नो परिवारको रेखदेख गरेर करियर पनि अघि बढाउन सकिन्छ ।

शिक्षण

शिक्षिकाका रूपमा काम गर्न कुनै विद्यालयमा आबद्ध हुनुपर्छ भन्ने छैन । घरैमा विद्यार्थी भेला गरेर ट्युसन पढाउन सकिन्छ । त्यति मात्र होइन, अहिलेको जमानामा अनलाइनमार्फत दूरदराजका विद्यार्थीलाई पनि पढाउन सकिन्छ । जमाना सूचना प्रविधिको छ । यसमा नजोडिने विद्यार्थी सायदै छन् । त्यसैले अनलाइनको माध्यम अपनाएर पनि पठनपाठन गर्न सकिन्छ । काउन्सिलिङ

घरमै बसेर पैसा कमाउने उत्तम विकल्प हो–काउन्सिलिङ । अहिलेको जमानामा धेरैजसो विद्यार्थी आफ्नो पढाइ एवं करियरका सम्बन्धमा परामर्श लिन चाहन्छन् ।

आफ्नो बौद्धिक, आर्थिक क्षमता, रुचिअनुसार उचित विषय तथा शैक्षिक संस्था छनोट गर्न सकिरहेका हुँदैनन् । यतिबेला उनीहरूलाई  सही परामर्शको आवश्यकता हुन्छ । यी विद्यार्थीहरूलाई आवश्यक परामर्श उपलब्ध गराएर पनि आयआर्जन गर्न सकिन्छ । अनलाइनमार्फत समेत यो काम गर्न सकिन्छ । खासगरी शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीहरूमा रहेको अन्योल हटाउने काम गर्न सकिन्छ । पढाइ मात्र होइन, त्यसपछि उनीहरूले रोज्ने करियरसम्बन्धी परामर्श दिन सकिन्छ । यसैगरी अनलाइनमै कुनै समस्या झेलिरहेका, डिप्रेसनका सिकार भएकाहरूलाई समेत सही परामर्श दिन सकिन्छ ।

ट्रान्सलेटर

यदि एकभन्दा बढी भाषाको ज्ञान छ, विषयमा बलियो पकड छ भने ट्रान्सलेटर अर्थात् अनुवादकका रूपमा काम गर्न सकिन्छ । कतिपय कम्पनीले घरमै बसेर काम गर्न पनि यस्तो जिम्मेवारी दिइरहेका हुन्छन् । यसमा देशको मात्र होइन, विदेशको समेत काम गर्न सकिन्छ । यो क्षेत्रमा आउन भाषासम्बन्धी राम्रो ज्ञान हुनुका साथै तेज पनि हुनु जरुरी छ ।

 

वेव डिजाइनर

सूचना प्रविधिको बढ्दो प्रयोगले यो क्षेत्रमा रोजगारीको अवसर पनि सिर्जना गरेको छ । अत: यसैसँग सम्बन्धित वेव डिजाइनरका रूपमा काम गरेर पर्याप्त आम्दानी गर्न सकिन्छ । यसका लागि कुनै कम्पनीमा आबद्ध भैरहनु पर्दैन । स्वतन्त्र रूपमा घरमै बसेर सबै काम गर्न सकिन्छ । त्यसो त कतिपय कम्पनीहरूले यस्ता व्यक्ति पनि हायर गर्छन्, जो घरमै बसेर काम गर्न सक्छन् । वेव डिजाइन गरेर देशमा मात्र होइन विदेशमा समेत बिक्री गर्न सकिन्छ । अहिले विश्वभरि यस किसिमको जनशक्तिको उच्च माग छ ।

मेडिकल ट्रांस्क्रिप्टनिस्ट

डाक्टरको मेडिकल भ्वाइस रेकर्डिङ सुनेर त्यसलाई लिखित रूपमा प्रस्तुत गर्नु यो प्रोफेसनको मुख्य जिम्मेवारी हो । यसमा बिरामीको मेडिकल रिपोर्टको हिस्ट्रीदेखि डिस्चार्ज समरीका साथै अन्य डकुमेन्ट पनि सामेल हुन्छ । ठूला–ठूला डाक्टर, फिजिसियन मेडिकल ट्रांस्क्रिप्टनिस्टमै निर्भर हुन्छन् । यो पेसामा आउन मेडिकल टर्मिनोलोजी, ट्रिटमेन्ट असेसमेन्ट, डाइग्नास्टिक प्रोसिजर, अनाटोमी तथा फिजियोलोजीका सम्बन्धमा राम्रो दख्खल हुनुपर्छ ।

 

कल सेन्टर रिप्रेजेनटेटिभ

कल सेन्टर भन्नासाथ ठूला–ठूला अफिस र त्यसमा थुपै्र व्यक्ति कानमा हेडफोन लगाएर कस्टमरसँग गफ गरिरहेको सम्झना आउँछ । यद्यपि सधै यस्तै हुनुपर्छ भन्ने छैन । ठूला कम्पनीहरूले घरमै बसेर काम गर्न आफ्नो रिप्रेजेनटेटिभ बनाउन सक्छन् । यो प्रोफेसनका लागि कम्पनीको सबै जानकारी र इलेक्ट्रोनिक ग्याजेट्स प्रयोगसम्बन्धी ज्ञान हुनुपर्छ । यो काम घरमै बसेर गर्न सकिन्छ ।

टेक सपोर्ट स्पेशलिस्ट

प्राविधिक समस्याको समाधान निकाल्ने क्षमता भएकाहरूले यो क्षेत्रमा भाग्य चम्काउन सक्छन् । यो कामका लागि घरमै बसेर फोन तथा अनलाइनको माध्यम अपनाउन सकिन्छ । यसमा मानिसहरूलाई आफ्नो क्षमतासम्बन्धी सानोतिनो जानकारी दिन विज्ञापन पनि गर्न सकिन्छ ।

 

ट्राभल एजेन्ट

आफ्नो सानो रुमबाट पनि यो विजनेस सुरु गर्न सकिन्छ । यसमा धेरै पढाइ–लेखाइ पनि जरुरी छैन । घरको पूरै काम गरेर पनि यो काम गर्न सकिन्छ । इन्टरनेटको जमानामा ट्राभल एजेन्सी चलाउन थप सजिलो छ । यो कामका लागि कम्प्युटर, ल्यापटप तथा इन्टरनेट प्रयोग गर्नुपर्छ ।

 

रिसर्च असिस्टेन

कतिपय कम्पनीले आफ्नो स्पेशल प्रोजेक्टका लागि होम रिसर्च असिस्टेन्ट राख्ने गरेका छन् । यसका लागि उनीहरूले बढी पेमेन्ट पनि दिन सक्छन् । कम्प्युटर, ल्यापटपको प्रयोग राम्रोसँग गर्न सक्ने हुनुपर्छ । कुनै पनि विषयको जानकारी इन्टरनेटमार्फत लिन सक्ने हुनुपर्छ । यो  कामका लागि स्मार्टनेसका साथै तेज पनि हुनुपर्छ ।

केही महत्वपूर्ण कुरा

  • आफ्नो कामका लागि एउटा लिस्ट तयार गरौं ।
  • वर्क सेड्युलमा अनुशासन पालना गरौं ।
  • डेटलाइन पालना गरौं ।
  • कामका लागि निश्चित समय तय गरौं ।
  • आफ्ना साथीभाइ एवं क्लाइन्टलाई जानकारी गराऔं ।
  • परिवार एवं नातेदारलाई पनि यसका सम्बन्धमा बताऊँ ।
  • घरमै काम गर्दा पनि सतर्कता र अनुशासन कायम गरौं ।
  • आफ्नो कामप्रति इमान्दार रहौं ।
  • घरको कामबाट फुर्सद हुनासाथ यो काममा केही समय बिताऊँ ।

                                                                  

 Image