Successfully Copied

शान्तिका लागि अग्रणी तीन महिला

स्वीडेनको नोबेल समितिले विश्व शान्तिका लागि महिलाहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै अरबी देशका तीनजना महिलालाई गौरवशाली नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्‍यो । यी तीन विशेष महिलामा लाइबेरियाकी राष्ट्रपति एलेन जानसन सरलिफ,

स्वीडेनको नोबेल समितिले विश्व शान्तिका लागि महिलाहरूको भूमिकालाई महत्वपूर्ण बताउँदै अरबी देशका तीनजना महिलालाई गौरवशाली नोबेल शान्ति पुरस्कारबाट सम्मानित गर्‍यो । यी तीन विशेष महिलामा लाइबेरियाकी राष्ट्रपति एलेन जानसन सरलिफ, लाइबेरियाकै क्रान्तिकारी लिमा गबोबी तथा आफ्नो देशको तानाशाही शासकको विरोधमा अहिंसक आन्दोलन गर्ने यमनकी तवककुल कारमान छन् ।

नोबेल समितिका अध्यक्षले पुरस्कारको घोषणा गरी यी महिलाहरूलाई राजनीतिक क्रान्तिका अग्रदूत बताउँदै भनेका थिए–जबसम्म सामाजिक प्रगतिका लागि महिलाहरू पुरुषको काँधमा काँध मिलाएर हरेक स्तरमा प्रयत्नशील हुँदैनन् तबसम्म हामीले संसारमा जनतन्त्र र स्थायी शान्ति स्थापना गर्न सक्दैनौं । एलेनले पुरुष प्रधान समाजमा पनि आफ्नो देशको निरंकुश शासकका विरुद्ध फलामजस्तै अडिग भएर त्यहाँ एउटा प्रगतिशील जनतान्त्रिक शासन स्थापना गरेकी छिन् । त्यसैले उनलाई लाइबेरियाली जनता लौह महिलाका नामबाट चिन्छन् । २००५ मा जब उनी राजनीतिमा आइन्, त्यतिबेला लाइबेरिया भोकमरी र अशान्तिबाट गुज्रिरहेको थियो । १४ वर्षको गृहयुद्धका बेला अस्पताल र शैक्षिक संस्था प्राय: नष्ट भैसकेका थिए । खेतीबारी र सबै कलकारखाना बन्द थिए । राजधानी मोनरोबियाका सडकहरूमा फोहोरमैलाका पहाड देखापर्न थालिसकेका थिए । शिक्षकहरू देश छाडेर अन्यत्रै गैसकेका थिए । बिजुली–पानी वा स्वस्थकर खानाजस्ता आवश्यक कुराहरू पनि उपलब्ध थिएनन् । यस्तो समयमा सरलिफले जब राष्ट्रपतिको पदको चुनाव लड्ने तयारी गरिन् तब लाइबेरियाका हजारौं महिला उनको समर्थनमा सडकमा उत्रिए ।

सरलिफ राष्ट्रपति पदको चुनावमा लाइबेरियाको जोर्ज बिह नामका लोकप्रिय फुटबल खेलाडीलाई पराजित गरी भारी बहुमतले विजयी भएकी हुन् । उनले त्यस्तो सरकारको नेतृत्व गरेकी थिइन् जसको न कुनै निश्चित नीति थियो न त धन र साधन–स्रोत नै । उनले सबैभन्दा पहिले संसारका सबै प्रगतिशील देशलाई लाइबेरियाको विकासमा आर्थिक सहयोग गर्न अपिल गरिन् । उनले अमेरिका र युरोपेली राष्ट्रहरूलाई आफूले आफ्नो देश र देशवासीलाई विकासको बाटोमा डोर्‍याउन चाहेको कुरामा विश्वस्त तुल्याइन् । परिणामस्वरूप लाइबेरियाको ५० खर्ब अमेरिकी डलरको पुरानो ऋण मिनाहा भयो र उनले आफ्नो देशको विकास कार्यक्रमका लागि पुन: नयाँ कर्जा प्राप्त गरिन् । सबैभन्दा पहिले उनले आफ्नो देशमा बन्द भएका स्कुल पुन: सञ्चालन गर्न लगाएर छ कक्षासम्म नि:शुल्क शिक्षाको नीति लागू गरिन् । लाइबेरिया छाडेका शिक्षकहरू उनको काम देखेर स्वदेश फर्कन थाले । सरलिफले बन्द भएका अस्पतालहरूलाई पुन: संचालनमा ल्याइन् र तिनमा नयाँ चिकित्सकहरू नियुक्त गरियो । गरिब र विपन्नवर्गका लागि नि:शुल्क स्वास्थ्योपचारको व्यवस्था मिलाइयो ।

गृहयुद्धको समयमा लाइबेरियाका ७५ प्रतिशत महिला बलात्कार तथा यौनशोषणको सिकार भैसकेका थिए । सरलिफले यो समस्यासित लड्न बलात्कारविरुद्ध कडा कानुन तर्जुमा गरिन् र महिलालाई आत्मनिर्भर बनाउन रोजगारका नयाँ योजनाहरू लागू भए । उनको योजनाको परिणामस्वरूप महिलाहरू आफ्नो अधिकारका लागि जागरुक हुन थाले । बैंकबाट कर्जा लिएर स्वरोजगारतर्फ उन्मुख हुन थाले र धेरै हदसम्म आत्मनिर्भर पनि । एउटी महिलाले सरलिफप्रति आभार प्रकट गर्दै आफ्ना भावना यसरी व्यक्त गरेकी थिइन्–‘अब मेरो श्रीमान्ले मलाई पिट्न सक्दैन, हामीले आफ्नो अधिकार बुझ्न थालेका छौं, अब हाम्रो यौनशोषण पनि हुँदैन ।’

सरलिफको जन्म २९ अक्टुवर १९३८ मा लाइबेरियाको राजधानी मोनरोबियामा भएको थियो । त्यहीँ उनले अर्थशास्त्रमा डिग्री पनि हासिल गरिन् । उनको विवाह १७ वर्षको उमेरमा जेम्स सरलिफसँग भएको थियो र मोनरोबियाबाट अर्थशास्त्रमा डिग्री प्राप्त गरेपछि उनी उच्च अध्ययनका लागि आफ्ना श्रीमान्सित अमेरिका गइन् । अर्थशास्त्रमा विशेष रुचि भएका कारण उनले मेडिसन विजनेस कलेजबाट एबीए गरिन् र पछि युनिभर्सिटी अफ कोलोराडोबाट अर्थशास्त्रमा एमएको डिग्री पनि प्राप्त गरिन् । आफ्नो देशको अर्थव्यवस्था र प्रशासनलाई बलियो बनाउने कुरामा रुचि भएकै कारण उनले जोन एफ केनेडी स्कुलबाट पब्लिक एडमिनिस्ट्रेसनमा एमएको डिग्री पनि पाइन् ।

अमेरिकाबाट स्वदेश फर्किएपछि १९७२ देखि १९५३ का बीच उनले राष्ट्रपति विलियम टोलवर्टको सरकारमा सहायक वित्तमन्त्रीका रूपमा पनि काम गरिन् तर टोलवर्टको आर्थिक नीतिसित असहमतिका कारण उनले राजीनामा दिइन् । आर्थिक मामिलामा राम्रो दख्खल भएका कारण १९७९ मा उनलाई पुन: वित्त मन्त्रालयको भार सुम्पियो । उक्त पदमा उनी अप्रिल १९८० सम्म मात्र रहन सकिन्, कारण त्यतिबेला सेमुअल डो नामक एकजना सैनिक अधिकारीले तत्कालीन सरकारविरुद्ध विद्रोह गरी सत्ता कब्जा गरे ।

नोबेल शान्ति पुरस्कारको घोषणापछि संचारकर्मीहरूसित प्रतिक्रिया दिँदा उनले भनेकी थिइन्–‘यदि तपाईं मेरो उपलब्धिका बारेमा जान्न चाहनुहुन्छ भने तपाईंले मेरो जीवनीमा ध्यान दिनुपर्ने हुन्छ । यो स्थानसम्म पुग्न मैले ठूलै मूल्य चुकाउनुपरेको छ, जसका बारेमा अधिकांश मानिसलाई आभास पनि छैन । यो पुरस्कार मेरो लामो संघर्षपूर्ण जीवनको परिणाम हो ।’ उनले यो भनाइबाट आफ्नो जीवनको त्यो समयतर्फ इंगित गरेकी थिइन् जब १९८० मा सेमुअल डोको सरकारले उनलाई जेलमा हालेको थियो र त्यतिबेला एक सैनिकले उनको बलात्कार गर्ने प्रयाससमेत गरेको थियो । १९८० र १९९० को दशकमा उनले लाइबेरियाको तानाशाही शासनको डटेर सामना गरेकी थिइन् । त्यसैले उनलाई देश निकालासमेत गरियो । फलस्वरूप एक समय उनले शरणार्थी जीवन बिताउनुपर्‍यो । यसबीच उनले स्वदेश फर्कने अनेकौं असफल प्रयास गरिन् तर उनी २००३ मा मात्र लाइबेरिया फर्कन सकिन् र अन्तत: एउटा लामो संघर्षपछि २००६ मा उनी देशकै प्रथम महिला राष्ट्रपति बन्न सफल भइन् ।

लाइबेरियाकी अर्की क्रान्तिकारी महिला नेतृ लिमा गबोबीको सामाजिक जीवन २००२ मा मोनरोबियाको माछा बजारस्थित एउटा फुटबल मैदानबाट प्रारम्भ भएको थियो । आफ्नो देशको गृहयुद्ध र तानाशाहहरूको अत्याचारबाट वाक्क भएकी लिमाले जबसम्म आफ्नो देशका महिलाहरूले देशको उन्नतिका लागि प्रयास गर्दैनन् तबसम्म यो पुरुषप्रधान देशमा सुख–शान्ति हुन कठिन छ भन्ने महसुस गरेपछि सेतो कपडा लगाएर फुटबल मैदानमा बस्न थालिन् । उनका राम्रा विचार देखेर सहरका अन्य महिला पनि सेतो पोसाकमा उनका साथ बस्न थाले र केही दिनमै त्यहाँ महिलाहरूको एउटा ठूलो समूह एकत्रित हुन पुग्यो । उनी आफ्ना श्रीमान्लगायत अरूका श्रीमान् तथा नाबालिगहरूलाई गृहयुद्धमा प्रयोग नगरियोस् भन्ने चाहन्थिन् । यो अराजकतामा ती महिलाका श्रीमान् एवं बालबालिकाहरू दैनिक रूपमा मरिरहेका थिए । तिनलाई विनाशबाट जोगाउन लिमाको यो अहिंसक आन्दोलन विस्तारै देशभरि फैलियो । त्यतिबेला लाइबेरियामा चाल्र्स टेलरको शासन थियो । उनका सैनिकहरू ट्रकमा भरिएर हरेक दिन त्यही फुटबल मैदान भएर जान्थे । ती सैनिकलाई ती निहत्था महिलाहरूमा गोली बर्साउन गाह्रो कुरा थिएन तर सारा खतराका बाबजुद लिमा तथा उनका महिला साथीहरू मैदानमा डटेर रहे । लिमाको शक्तिको अनुभव निरंकुश तानाशाहहरूलाई त्यतिबेला भयो जब २००३ मा हजारौं महिलाले र्‍याली निकालेर गृहयुद्धविरुद्ध नारावाजी गरे । उक्त र्‍याली मनोरोबियाको टाउन हलसम्म पुग्यो । त्यहाँ लिमाले आफ्ना साथीहरूलाई सम्बोधन गर्दै भनेकी थिइन्–‘हामी लाइबेरियाका महिलाहरू आफूमाथि बलात्कार तथा अत्याचार हुन दिँदैनौं । हामी हाम्रा सन्तानलाई गृहयुद्धको आगोमा होमिन दिने छैनौं र न त यौनशोषण हुन दिनेछौं ।’ लिमाले सैनिक नेताहरूलाई चेतावनी दिँदै महिलाहरूलाई देशमा शान्ति बहाली नभएसम्म आफ्ना श्रीमान्सित यौन सम्बन्ध नराख्नसमेत अपिल गरिन् । लिमाको यो आन्दोलनले अन्तत: रंग ल्यायो र आपसमा लडिरहेका सैनिक नेताहरूलाई संवादका माध्यमबाट शान्ति सम्झौता गर्न बाध्य बनायो । लिमाको आन्दोलनका कारण नै अन्तत: सरलिफ २००६ को आम चुनावमा विजयी भएर लाइबेरियाकी प्रथम महिला राष्ट्रपति बन्न सफल भएकी हुन् ।

लिमाको जन्म १९७२ मा लाइबेरियाको एउटा गाउँमा भएको थियो । १७ वर्षको उमेरमै उनी मोनरोविना आएकी थिइन् । १९९० मा गृहयुद्ध सुरु हुनुपूर्व नै उनले मानसिक समस्या भएकाहरूलाई मनोवैज्ञानिक तरिकाले सल्लाह दिने प्रशिक्षण लिएकी थिइन् । अहिले उनी विमेन पिस एण्ड सिक्योरिटी नेटवर्क एग्जिक्युटिभ डाइरेक्टर पदमा कार्यरत छिन् । उनको जीवनमा आधारित ‘प्रे द डेविल ब्याल टु हेल’ शीर्षकको एउटा वृत्तचित्र पनि निर्माण भएको छ ।

यनमकी ३२ वर्षीया पत्रकार तथा राजनीतिज्ञ तवककुल कारमान नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने सबैभन्दा कम उमेरकी महिला हुन् । उनको जन्म ७ फेब्रुअरी १९७९ मा यमनको तेस्रो ठूलो नगर तेजमा भएको थियो । तेजलाई इस्लामी शिक्षाका लागि एउटा महत्वपूर्ण केन्द्र पनि मानिन्छ । महिला पत्रकारहरूको अधिकार रक्षाका लागि उनले २००५ मा ‘विमेन जर्नलिस्ट विद आउट चेन्स’ को स्थापना गरेकी थिइन् र आज पनि उनी त्यसको अध्यक्ष छिन् । कारमान यमनको विपक्षी दल अल इस्लाहकी सदस्य पनि हुन् ।

२००७ मा उनले पूर्ण स्वतन्त्रता माग गर्दै तानाशाही शासनविरुद्ध संसद् भवन तथा गरिब यमनीहरूको हितको रक्षाका लागि पनि आवाज उठाएकी थिइन् । जब यसै वर्षको जनवरीमा उनले देशका युवा–युवतीलाई जम्मा गरी राष्ट्रपति अलि अब्दुला सलिहको राजीनामा माग गर्दै र्‍यालीको आयोजना गरिन् तब उनलाई गिरफ्तार गरियो । यमनीहरू जब कारमानको रिहाइको माग गर्दै कडा रूपमा प्रस्तुत भए तब सरकार उनलाई रिहा गर्न बाध्य भयो । केही समय पहिलेसम्म तीन सन्तानकी आमालाई यमनबाहिर कसैले चिनेको थिएन । सोही वर्ष उनले तानाशाही सरकारविरुद्ध आन्दोलन सुरु गरिन् । लाखौं समर्थककै कारण उनी कम समयमै ‘अरब स्प्रिग’ नामबाट संसारभर चर्चित अहिंसक जनतान्त्रिक आन्दोलनको प्रतीक बन्न पुगिन् । उनी यमनकी प्रथम महिला हुन्, जसले महिलाहरूको गुलामीको प्रतीक हिजाबलाई त्याग गरी आफ्नो शिरमा मात्र एउटा गुलाबी रंगको स्कार्फ बाँध्न थालिन् । उनको सम्मानमा नोबेल शान्ति पुरस्कार घोषणा भएपछि मानव अधिकार, स्वतन्त्रता र जनतन्त्रका लागि उठेको आवाज अझ बलियो भयो ।

तवककुलले यो सम्मानका लागि नोबेल समितिलाई आभार प्रकट गर्दै भनेकी छिन्–‘यो विश्वभरका अरबीहरूको विजय हो र यसबाट यमनका तानाशाह अली अब्दुला सलिहको शासन समाप्त गर्न मद्दत प्राप्त हुनेछ । तवककुल आफ्नो निर्भीकताका लागि यमनभर प्रसिद्ध छिन् र देशका जनता उनलाई प्रेमपूर्वक क्रान्तिकी जननी भन्छन् । उनको अल इस्लाह पार्टीका अन्य कट्टरपन्थी नेताहरूसित संघर्ष चल्छ तर उनले पार्टी छोड्नुको साटो त्यसभित्रै रहेर आफ्नो संघर्ष जारी राख्ने निधो गरेकी छिन् ।

अहिंसक आन्दोलनका लागि उनलाई महात्मा गान्धी, नेलसन मण्डेला र मार्टिन लुथर किङजस्ता नेताहरूबाट प्रेरणा प्राप्त भएको छ । उनी यमनका नाम चलेका वकिल तथा राजनीतिज्ञ अब्दुल सलाम कारमानकी छोरी हुन् र राजनीति उनलाई आफ्ना बुबाबाट विरासतमा प्राप्त भएको हो । उनी देशमा एकदिन जनताद्वारा चुनिएको लोकतान्त्रिक सरकार स्थापित हुनेछ भन्ने कुरामा ढुक्क छिन् ।

 

 Image