गोला, ठूल्ठूला, गुच्चाजस्ता काला चम्किला आँखा, डल्लो–डल्लो ठिक्कको मिलेको नाक, पातला लाम्चा रसिला ओठ, टलक्क दाँतका लस्कर लिएर मुस्कुराउने मुख, हल्का चिरिएर झुन्डिएको सुहाउँदिलो चिउँडो, काला केशका पौंस हल्लाएर फैलिएको चौडा निधार र यी सप्पैलाई साह्रै सुहाउँदो आधार दिने गोरो छाला । मेरा आँखाका लेन्सले पहिलोपल्ट उनको टेक लिँदा दिमागमा यति सुन्दर तस्बिर खिपियो कि, म त्यसैलाई हेरेर एक्लैएक्लै खुसी हुन थाल्ने भएँ एक्कासि ।
बाह्रको बोर्ड परीक्षा आउन पन्ध्र दिनजति मात्र थियो । परीक्षा केन्द्रित भएर साथीहरूले खोलेको च्याट ग्रुप ‘एक्जाम प्रिपेरेसन वन्ली’ मा त्यही परीक्षाको चाहिँ कुरा हुँदैनथ्यो । फ्लर्टिङ, पोइन्टिङ, गसिपिङ आदिमा केटाकेटीहरूको अनलाइन खिचडी पाक्थ्यो । केटाहरूले मलाई फ्लर्ट गरेर दिव्यामा प्वाइन्ट गरेपछि केटीहरूमाझ हाम्रो गसिप चल्न थालिसकेका बेला म फुत्त निस्किएको थिएँ ग्रुपबाट । इन्टरनेट र फेसबुकबिना पनि रमाउन सकिन्छ भन्ने अपत्यारिलो समयको साक्षी म स्वयम् बन्दै थिएँ । केटाहरू सोच्दै थिए, म रातारात पढन्ते बन्नुपछाडिको एकमात्र कारण मेरा बाबाले नेटको तार छिनाल्दिनु नै थियो । नत्र दिव्याले पनि अलिअलि देखाउन थालेको इन्टेरेस्टलाई किन पो बेवास्ता गर्थें होला ?
त्यतातिर मेरो ध्यान खिचिनुभन्दा अघि नै मेरो दिमागले उनको अनुहार खिचेको थियो । अनि म दिवास्वप्न देख्ने गरिएको मेरो पहिलो प्रेममा पर्दिएँ ।
कतिखेर उज्यालो होला र उनलाई देखुँलाको छटपटीले निद्रालाई छलेपछि बाध्य भएर फिजिक्सको सोल्युसन बुक निकालें । अक्षर नाच्दै थिए पानामा । तैपनि केही कुरा त बुझेझैं भयो । हिजो भए किबोर्डमा औंला नचाउँदै ठिक्क हुन्थ्यो । उनैको प्रेमको उत्प्रेरणाले सुध्रिएँ कि क्या हो ? सम्झेर अझ माया उर्लेर आयो ।
हिजो त झुक्किएर छिटो उठेको थिएँ । आज त अलार्मले कानै तान्दियो । उठें हत्तपत्त । कामधाम सकेर साबुन दलेर मुख धोएँ र चम्कने प्रयास गरें । अब भान्सामा पसेर कालो चिया खाएझैं गरी उनको पर्खाइमा रहनु थियो ।
छोरो छिटो उठ्न थाल्यो, परीक्षाको चिन्तामा होला–मख्ख ममीको मुहार उज्यालिएको थियो । म भने चियाको चुस्कीसँगै उनको बाटो हेरिरहेको थिएँ । चप्पल पड्किएको आवाज भर्याङका खुड्किला हुँदै माथि चढ्दै थियो । आवाजको मात्रासँगै मुटुको धड्कन पनि तेज हुँदै गयो । आँखा चिम्लिएँ । आवाज रोकिएपछि खोलें । उनी चप्पल खोलेर भान्साभित्र छिरिसकेकी थिइन् ।
उनले विनायक कम्प्लेक्स लेखिएको नीलो जुटको झोलाबाट एकलिटरे पेप्सीको बोतल निकालिन् र सेतो कन्चन दूध हाम्रो दिउरेमा खन्याइदिइन् । ममी दूधको कराई चम्चीले कोर्न व्यस्त रहेका बेलामै उनलाई नियालिरहेँ एकटकले । जादुयीआँखा अनि झिम्झिम् गर्ने परेली । छिनछिनमा आफैं चोसिएर मुस्कुराउने पातला ओठ । मैले हेरेको चाल पाएर उनको दिलमा ठोक्कियो कि क्या हो उनले पनि दूध खन्याइसकेर एक नजर फ्याँकिन् मतिर । आँखा जुधे । उनलाई के भयो थाहा भएन तर म भने कहालिएँ । च्युँच्युँ हुँदै कता हो कता बतासिएँ ।
बोतलको बिर्को कसेर उनी जानै लागेकी थिइन्, ममीले रोक्नुभयो, कालो चिया पिएर जाऊ न इसारा ।
‘हतार छ आन्टी ।’ भने पनि उनले गति सुस्त पारिन् । ममीले सानो कपमा कालो चिया दिनुभयो । कुर्सीमा बसेर दुवै कुइना टेबलमा अड्याउँदै उनले चिया सुक्र्याएको हेरिरहेँ चोर आँखाले । बैजनी रंगको कुर्ता टिमिक्क मिलेको थियो । बेइमान नजर तल–तल सरेर मनलाई पनि बेइमान बनाउन खोज्दै थियो, उनका आँखाको उज्यालोले इमान्दार राखिराख्यो ।
चाँडो उठ्नु, कालो चिया सुक्र्याउँदै उनलाई नियाल्नु । ममी र उनका गन्थन–मन्थन सुन्नु । उनको गाईगोठमा कतिवटा गाई ब्याएका छन् र के–के पाए ? तिनको खबर लिनु । कहिलेकाहीँ उनले कोसेली ल्याएको कुराउनी मिठ्याउनु । मैले मुख मुठ्याएको उनले मजा मानेर हेर्दा झिमिक्–झिमिक् आँखा झिम्क्याइदिनु । उनले लाजले अनुहार रातो पार्दै मामुलाई हेर्नु । मामु त्यतिबेला सधैं दूधको कराई चम्चीले कोर्दै हुनु । उनी उठ्नुभन्दा अघि म तलको आफ्नो कोठामा झर्नु र उफरमा कहिले ‘मुसुक्क हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लाने भो’ त कहिले ‘इसाराले बोलाउनु पर्दैन’ गीत थर्काउनु । उनी तल झर्दा गीत सुनेर मेरो कोठातिर हेर्नु र आँखा जुध्नु । ज्यानै लाने मुस्कान साट्नु र इसारैले बात गर्दै बिदा हुनु ।
बस् । यो दैनिकीबाट गुज्रिँदै जानु जति मजाको प्रेम–सुरुवात पाए अरू के खोज्नु ?
प्रेमको पोखरी भरिएर अब खोल्सो बन्ने तयारीमा थियो । खोल्सोले नदी बनेर सागरमा समाहित हुने लक्ष्य लिइरहेको थियो । दिनमा आँखा खोलेरै, रातमा आँखा चिम्लिेरै उनको चित्रलाई मनको भित्तामा प्रोजेक्सन गरिरहेँ । सम्भवत: उनी पनि गर्दै थिइन् होली । नत्र दिन–प्रतिदिन दुवैका आँखा अनिँदोले लाटिने देखिने मात्रा बढ्दैनथ्यो । तैपनि तिनै लोलाएका आँखा हाम्रा लागि नशा थिए । मुस्कानमादक थिए । बेलाबखत सुनिने आवाजका टुक्राहरू अमृत थिए । पहिले कम बोल्ने उनी निकै बोल्न थालेकी थिइन् ममिसँग । भान्साका वस्तुमा अब निकै चासो राख्ने भएको थिएँ म पनि । सायद यस्तै–यस्तै माध्यमबाट हामीलाई एक–अर्कासँग पोखिनु थियो । अरू उपायको खोजी भने गर्दै थियो मनले ।
तर अपसोस् । अरू उपाय आउनुअघि नै ग्रहण लाग्न थाल्यो हाम्रो मायामा । उनले ल्याएको दूध एक दिन फाटिदियो । पहिलो दिन त्यसै फाट्यो भनी कुराउनी बनाएर खायौँ । घरकै दूध भएकाले फाटे पनि पोकाको झैँ गन्हाएको थिएन । दोस्रो दिन पनि फाट्यो । अब भने दूधसँगै उनी र मलाई जोड्ने मायाको टेप पनि अलिकति फाट्यो । त्यसलाई पनि हामीले कुराउनी बनाएर खायौँ ।
जब तेस्रो पटक दूध फाट्यो तब ममीको धीरताले बाँध भत्कायो, ‘के गरेर ल्याउँछौँ दूध ? सधैं फाट्छ । भाँडाकुँडा अलिक सफा गरेर ल्याऊ ।’ उनले गोरो छालामा संकोचको रातो पोत्दै स्वीकृतिको भावमा टाउको हल्लाइन् ।
चौथो दिन दूध नफाटोस् भनी रातभरि गरेको प्रार्थना पनि काम लागेन । फाट्यो । मामुले पनि कति सहनु अब, भन्नुभयो, ‘यसरी त चल्दैन इसारा । अब भोलि एकपटक हेरौँ । फेरि फाट्यो भने नल्याउँदा हुन्छ । बरु पोकाकैले काम चलाउँछौँ ।’
उनले रुन्चे स्वरमा भनिन्, ‘खोइ आन्टी, बोतल पनि नयाँ नै हो । अन्त त फाटेको भन्या छैनन् ।’ उनको यो स्वरमा दूध फाटेको भन्दा पनि अर्कै खाले चिन्ताको ध्वनि मिसिएको थियो । त्यो ध्वनिको भाव मबाहेक अरू कसले पो बुझ्थ्यो र ?
त्यो दिन मामुले अरू दिनभन्दा बढी कराई कोरेर दूध बसाउनुभएको थियो । तैपनि फाटेरै छाड्यो । दूध फाट्नु त सामान्य थियो तर मेरो मन दिनदिनै धरधरी च्यातिनु कहाँ सामान्य थियो ?
बेलुकीको खाना रुचेन । सधैँ बेसिनसम्म त थाल पुर्याउँथे, त्यस दिन लथालिङ्ग छाडिदिएँ । मामुले कराउँदा पनि नसुनी तल झरेर कोठा बन्द गरी घोप्टिएँ । किन यही बेला फाट्न थालेको दूध पनि ? उनीसँग बोली सम्पर्कको सूत्र बनाइसकेर फाटेको भए पनि माया त फाट्न पक्कै दिन्नथेँ । टाउको टन्टन् गर्न थाल्यो । भुइँचालोको चालजस्तो एक्कासि अनियन्त्रित भएर काँप्दै थियो मुटु । दूधसँगै फाट्दै गएको मेरो माया चुँडिने भयो त भोलि ?
तनाबले पसिनाको बिबिरा उमारेपछि खरो भयो । एक बोतल पानी घुट्क्याएँ । अनि एक्कासि दिमागमा केही क्लिक गरेजस्तो भयो । गुगलमा गएर प्रश्न गरें, दूध किन फाट्छ ? दर्जनौँ उत्तर सरसर्ती हेर्दै गएँ । सबैले दूधमा अम्लीयपनको मात्रा बढी हुनुलाई दोषी ठहराइरहेका थिए । मेरो मन भने अम्लीयपनको कारण खोतल्न खटियो ।
रातको एक बजे, सडकमा बेलाबखत गुडिरहेका सवारीहरूको आवाजबाहेक सब सुनसान थियो । मेरो बढेको सासले कोठामा इको निकाल्न खोज्दै थियो, थामेर फेरें । बिस्तारै ढोका खोलें । बैठक कोठाको काँटीमा झुन्ड्याइएको चाबी निकालें, गेट खोलें । माथि गएँ । भान्साको ढोका खोलें र भित्तामा छाम्दै ट्युबलाइट बालें ।
जीवनमा चियाको कपसम्म पखालेको थिइन । खाएका भाँडा बेसिनसम्म पुर्याउने अनुशासनमा बल्ल त अभ्यस्त हुँदै थिएँ, तर त्यतिबेला त्यो काम आँट्ने ऊर्जा कहाँबाट आयो ? त्यो जाँगर कहाँबाट जाग्यो ? आफैँलाई थाहा थिएन । कराई निकालेँ । बेसिनमा बिसाएँ । साबुन अनि स्टिल झुस निकालेर कराई घोट्न थालेँ । वर्षौंदेखि चम्चीले कोरिँदा ननिख्रिएको दूधको छालीको माम्री रुखको बोक्राजस्तो टाँसिएको थियो कराईमा । सानोतिनो बलले त्यो जानेवाला थिएन । दस मिनेट जोड लगाएर घोटेपछि पखालेँ । बल्ल केही सफा देखियो । फेरि दोस्रो चरणको सफाइ सुरु गरेँ । आधा सफा देखियो तर मलाई चित्त बुझ्नु थियो । तेस्रो पटकको सफाइमा बल्ल टल्कियो, टलक्क ।
सब सामान दुरुस्त राखेर सरक्क फर्किएँ उही चोरकै चालमा ।
त्यस दिन बिहान उठिन । यदि दूध फेरि फाटे आफ्नो अनि उनको मन फाटेको हेर्ने सामथ्र्य थिएन ममा ।
त्यसपछिको कहानीमा धेरै थोक छ, तर हाल यो कथा मेरी इशुलाई हाम्रो पहिलो एनिभर्सरीको उपहारस्वरूप लेख्दैछु । हिजोआज जब कहिलेकाहीँ झुक्किएर दूध फाट्छ, तब ममी, म र इशु ढल्ने गरी हाँस्छौँ अनि कराई कोर्ने जिम्मा मेरो भागमा आउँछ ।